logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  •   बाह्य विजय र आन्तरिक विजयको अन्तर

      बाह्य विजय र आन्तरिक विजयको अन्तर

    बाह्य विजय र आन्तरिक विजयको अन्तर

                                                                      तोमनाथ उप्रेती

     

    युद्ध केवल सीमामा हुँदैन, यो हाम्रो मनमा हुन्छ। शरीरको बाहिरी रणभूमि भन्दा गहिरो, यो अन्तरात्माको अँध्यारो गल्लीमा लडिन्छ। जब राष्ट्रहरूले शान्तिको भाषणसँगै आक्रमण गर्छन्, त्यो युद्ध हो। जब धर्मको नाममा घृणा फिँजाइन्छ, त्यो पनि युद्ध हो। यो युद्धको आवाज बारुदको विस्फोट मात्र होइन, यो मौनताको गर्जन हो, जसलाई केवल आत्माले सुन्छ।

    हाम्रो चेतना नै वास्तविक रणभूमि हो। अहंकार र करुणा त्यहाँ भिड्छन्। प्रतिशोध र क्षमा आमनेसामने हुन्छन्। घृणा र प्रेम त्यहीँ संघर्ष गर्छन्। यो लडाइँमा सेना छैन, तर हतियार छन्—शब्द, दृष्टि, र विचार। जुन हृदय जितिन्छ, त्यहीँ शान्ति बस्छ। विजयको मूल्य यहाँ रक्तपात होइन, मूल्य हो आन्तरिक रूपान्तरण। अहंकार पराजित हुँदा करुणा जन्मिन्छ, प्रतिशोध हराउँदा क्षमा फूलझैँ फुल्छ, घृणा पग्लिँदा प्रेमको नदी बग्छ। यो युद्ध अन्तहीन जस्तो लाग्छ, तर प्रत्येक क्षण यसको दिशा बदल्न सकिन्छ। हाम्रो रोजाइ नै यसको परिणाम हो।

    साँचो वीरता यहाँ देखिन्छ। जो आफ्नो क्रोधलाई बाँध्छ, ऊ विजेता हो। जो घृणाभन्दा प्रेम रोज्छ, ऊ शान्तिदूत हो। सीमानामा जितिएको युद्ध अस्थायी हुन्छ, तर अन्तरात्मामा जितिएको युद्ध अनन्त हुन्छ। तर मानवता सधैं यो युद्ध जित्न असफल भएको छ, किनकि हामीले बाह्य शत्रुलाई परास्त गर्ने प्रयासमा आन्तरिक शत्रुलाई बलियो बनाइरहेका छौं। जब हामी प्रतिशोधलाई नै न्याय ठान्छौं, जब हामी आफ्नो पीडालाई उपचार होइन, हतियार बनाउँछौं, तब हामी आत्माको उज्यालोलाई अन्धकारले ढाक्न दिन्छौं।

    मध्यपूर्वका युद्धहरू यसको उदाहरण हुन्—इजरायल र इरानको तनाव, हमास र इजरायलको संघर्ष—यी सबै इतिहासका नाङ्गा पानाहरू हुन्। शान्तिको मूल्य बुझ्न हामी विनाश भोग्दैछौं। हरेक आक्रमणमा एक आमा रोइरहेकी हुन्छिन्, हरेक प्रतिशोधमा एक बालकको भविष्य नष्ट भइरहेको हुन्छ। र हामी ती आवाजहरूलाई सुन्न असफल हुन्छौं, किनकि हाम्रो कानमा अहंकारको गर्जन बजिरहेको हुन्छ।

    शान्ति केवल युद्धविरामको सम्झौतामा भेटिँदैन। यो हाम्रो अन्तरात्मामा जन्मन्छ—जब हामी क्षमा गर्न सिक्छौं, जब हामी पीडालाई करुणामा रूपान्तरण गर्छौं। यो बाहिरी युद्ध जितेर होइन, भित्री युद्ध जितेर प्राप्त हुने मुक्ति हो। जब हाम्रो चेतनामा शान्ति स्थापना हुन्छ, संसार आफैंमा शान्त हुँदै जान्छ। किनकि हाम्रो चेतनाको उज्यालो नै विश्वशान्तिको वास्तविक प्रकाश हो। युद्ध केवल बारुदको गर्जन होइन, यो मानव आत्माको क्रूर परीक्षा हो, जसमा मानवता प्रायः हारेको हुन्छ।

    शान्ति कुनै सम्झौता मात्र होइन, आत्मिक आवश्यकता हो । जब युद्धले पेट्रोलियमका पाइपलाइनहरू छेड्छ, बजारको मूल्य आकासिन्छ र राष्ट्रहरू नाफा वा अहंकारका लागि युद्ध गर्छन्, त्यो क्षण मानव आत्मा नाङ्गो हुन्छ । युद्धमा राष्ट्रहरू केवल सीमाहरू र प्रभुत्वका लागि लडिरहेका हुँदैनन्, उनीहरूले आफ्नै अन्तरआत्मालाई पराजित गर्दैछन् । युद्धको एउटै क्षणमा एक शिशुको रोदन, आमाको हृदयविदारक चित्कार र एक जवानको मौन मृत्यु संसारका सबै युद्धको मूल्यभन्दा बढी हुन्छ । तर, हामी शक्ति र अस्तित्वका नाममा ती मूल्यहरू मोलबार गर्छौं ।

    मध्यपूर्वको भूमिमा हजारौं वर्षदेखि बहिरहेको रगतले एउटा कुरालाई पुष्टि गर्छ— मानवता अझै पनि आफ्नै छायाँसँग डराइरहेको छ । इजरायल र इरानको युद्ध केवल दुई देशको लडाइँ थिएन, त्यो एक सभ्यताको परीक्षा थियो । जब हरेक क्षेप्यास्त्रको मूल्य लाखौं डलर हुन्छ र त्यो एकपटकको विस्फोटमा समाप्त हुन्छ, त्यहाँ एक प्रश्न उठ्छ: के मान्छेहरू अझै बाँच्नका लागि लडिरहेका छन् कि मर्नका लागि लडिरहेका छन् ? मध्यपूर्वको भूमिमा हजारौं वर्षदेखि बहिरहेको रगतले एउटा कुरालाई पुष्टि गर्छ— मानवता अझै पनि आफ्नै छायाँसँग डराइरहेको छ । युद्धका नाममा हरेक घाउ, हरेक रगतको थोपा र प्रत्येक आमाको रुदनले हाम्रो चेतनालाई सम्झाइरहेको छ कि हामी अझै घृणालाई अङ्गाल्दैछौं, करुणालाई होइन । इजरायल र इरानको युद्ध केवल दुई देशको लडाइँ थिएन, त्यो सभ्यताको परीक्षा थियो, जसमा हतियारहरूले मात्र होइन, मानवताको सहिष्णुतालाई पनि परख गरिँदै थियो ।

    जब एक राष्ट्र आफ्नो सुरक्षाका लागि आक्रमण गर्छ, र अर्को राष्ट्र आफ्नो अस्तित्वका लागि जवाफ दिन्छ, तब प्रश्न उठ्छ— के हामी अझै बाँच्नका लागि लडिरहेका छौं कि मर्नका लागि ? जब हरेक क्षेप्यास्त्रको मूल्य लाखौं डलर पर्छ र त्यसको एकपल्टको विस्फोटले सयौं ज्यान लिन्छ, त्यतिबेला त्यो विस्फोटमा न त न्याय हुन्छ, न त विजयको अर्थ । युद्धको प्रत्येक विस्फोटले हाम्रो अन्तरआत्मामा करुणाको मौन आर्तनाद गुन्जाउँछ, जसलाई हामी हाम्रो अभिमानको आवाजले दबाइरहेका छौं ।

    युद्धको नाङ्गोपनमा मानिसको साँचो स्वरूप देखिन्छ । जहाँ सीमा, धर्म र राजनीतिक स्वार्थले हामीलाई विभाजित गर्छ, त्यहाँ हरेक मृत्युले हाम्रो एकताको सम्झना गराउँछ । मृत्यु न त मुस्लिम हुन्छ, न यहूदी, न ईसाई । मृत शरीरहरूको मौनता रगतको रङभन्दा गहिरो हुन्छ, जुन भन्छ— युद्ध केवल मृत्युलाई निम्त्याउँछ, जीवनलाई होइन ।

    आध्यात्मिक दृष्टिले युद्ध आत्माको विनाश हो। यो केवल शारीरिक मृत्यु होइन, चेतनाको पतन हो। हामी हरेक दिन अस्तित्वको युद्ध लडिरहेका छौं—तर विडम्बना के छ भने, त्यो युद्ध बाँच्नका लागि होइन, हार्नका लागि लडिन्छ। किनकि हाम्रो लडाइँ भय र अहंकारलाई पोषण दिन्छ, करुणा र दयालाई होइन।

    जबसम्म हामी आफ्नो मनको अनावश्यक क्रोध, मोह, र अहंकारलाई नियन्त्रण गर्न सक्दैनौं, तबसम्म बाह्य शत्रुहरूलाई परास्त गर्ने हाम्रो प्रयास सार्थक हुँदैन। बाहिरका शत्रु केवल हाम्रो मनको भय, द्वेष र कमजोरीको प्रतिबिम्ब हुन्। यदि हामीले आफ्नै मनलाई अनुशासित र विजय गर्न सकेनौं भने, हाम्रो बाहिरी विजय मात्र अस्थायी हुन्छ र पुनःपुनः हामी संघर्षको चक्रमा फँसिरहन्छौं।

    यसकारण, सबैभन्दा ठूलो युद्ध हाम्रो अन्तरमनमा हुन्छ। यसलाई जित्नु नै सच्चा विजय हो। जब हामी मनलाई शान्त, संयमित र करुणामय बनाउँछौं, तब बाह्य संसारमा पनि शान्ति स्थायी हुन्छ। बाह्य शत्रुहरूलाई जित्नु भन्दा आफ्नो मनको विजयले नै दीर्घकालीन स्थायित्व र शान्ति ल्याउँछ। यो गीता अनुसारको जीवन दर्शन हो, जसले जीवनलाई समृद्ध र सशक्त बनाउँछ।

    ऋग्वेद पनि भन्छ—असतो मा सद्गमय, तमसो मा ज्योतिर्गमय, मृत्योर्माऽमृतं गमय।”
    असत्यबाट सत्यतर्फ, अन्धकारबाट उज्यालतर्फ, मृत्युबाट अमरतर्फ—यो प्रार्थना नै युद्धको सही दिशा हो। तर हाम्रो दुर्भाग्य, हामी यसको विपरीत यात्रा गरिरहेका छौं—सत्यबाट असत्यमा, उज्यालाबाट अन्धकारमा।

    हामी बाह्य शत्रुहरूसँग लड्दै शान्ति खोज्छौं, तर गीता स्पष्ट भन्छ—साँचो शान्ति आत्मविजयमा छ। (गीता २.४७—”कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन”, तिम्रो अधिकार केवल कर्ममा छ, फलमा होइन।) युद्धमा हाम्रो ध्यान फल—विजय, प्रतिशोध—मा हुन्छ, कर्मको शुद्धतामा होइन। यही कारण, जिते पनि हारिन्छ।

    अहंकार हाम्रो सबैभन्दा ठूलो सेनापति हो, जसले भयलाई हतियार बनाउँछ। जबसम्म हामी आफ्नो छायाबाट डराइरहन्छौं, तबसम्म हामी आफैंसँग लडिरहन्छौं। बाहिरी युद्धहरू केवल यस भित्री असन्तुलनको नाटकीय रूप हुन्। वेदहरूको शिक्षा छ—”वसुधैव कुटुम्बकम्” (सारा संसार एउटा परिवार हो)। यदि हामीले यो दृष्टिकोण आत्मसात गर्न सकेनौं भने, युद्धहरू कहिल्यै अन्त्य हुँदैनन्।

    गीताको रणभूमि कुरुक्षेत्र वास्तवमा हाम्रो अन्तःक्षेत्र हो। त्यहाँका धनुष र बाण आज हाम्रा शब्द र विचार बनेका छन्। क्रोध, लोभ, मोह, र द्वेष हाम्रा शत्रु हुन्। यीलाई हराउनु नै धर्मयुद्ध हो। यो युद्ध जित्दा बाह्य संसारमा शान्ति छाउँछ, किनकि आन्तरिक शान्ति बाहिर फैलिन्छ।

    श्रीकृष्णको वचन अझै प्रासंगिक छ—”समत्वं योग उच्यते” (सन्तुलन नै योग हो)। जब भय र अहंकारको तुलामा करुणा र दया भारी पर्छन्, तब युद्धको आवश्यकता समाप्त हुन्छ। त्यसबेला बाह्य शत्रुहरू शत्रु जस्तो देखिँदैनन्, किनकि हामीले वास्तविक शत्रु—आफ्नो अज्ञान—लाई परास्त गरेका हुन्छौं।

    यसरी, आध्यात्मिक दृष्टिले युद्ध रोक्ने एकमात्र उपाय आत्मविजय हो। बाहिरी शान्ति केवल आन्तरिक विजयको प्रतिफल हो—जसरी गीता र वेदहरूले हजारौं वर्षअघि सन्देश दिएका थिए।

    हामीले बुझ्नुपर्ने कुरा के हो भने— शान्ति कुनै सम्झौता होइन, यो हाम्रो अन्तरआत्माको मौनताको आवाज हो । जब हामी हाम्रो छायाँसँग डरिन छोड्छौं र आफ्ना कमजोरी स्वीकार्छौं, तब मात्र करुणा जन्मन्छ । केवल करुणाले युद्धको अन्त गर्न सक्छ, किनकि करुणा नै शक्ति हो, जुन बिना रगत बगाइ विजय हासिल गर्न सक्छ । युद्ध कहिल्यै शक्तिको विजय होइन, त्यो चेतनाको पराजय हो । शान्ति नै जीवनको साँचो विजय हो ।

    युद्ध सधैं प्रतिशोधको रक्तरञ्जित नदी हो, जसको एउटा छालले अर्को छाललाई बोलाउँछ, एउटा मृत्युले अर्को मृत्युलाई निम्तो दिन्छ । यो एउटा अन्तहीन श्रृङ्खला हो, जहाँ घृणाले घृणालाई जन्माउँछ, हिंसाले हिंसालाई उब्जाउँछ । युद्धविरामका सम्झौताहरू केवल आँपको पातले सर्पको विष ढाक्ने प्रयत्न हुन्, वास्तविक उपचार होइन । किनकि ती घाउहरू जमिनमा होइन, मानव आत्माको आकासमा छन् । चेतनाको गहिराइमा छटपटाइरहेका ती घाउहरू कहिल्यै बाहिरी सन्धिहरूबाट निको हुँदैनन् ।

    जब इरानका धार्मिक नेताहरू यहूदीहरूलाई इतिहासको कुण्ठा र आस्थाको आवेगमा धपाउने धम्की दिन्छन्, जब इजरायल आफ्ना नागरिकको सुरक्षाका नाममा प्रतिशोधको घेरो कसेर आक्रमण गर्छ, तब मानवता मध्यरातको मौनतामा रुँदै कराउँछ— “यो पवित्रता होइन, यो पागलपन हो ।”

    कसरी हुन सक्छ युद्ध पवित्र, जब रक्तले रेखिएको भूमिमा शिशुहरूको करुण क्रन्दनले आकाश च्यात्छ ? आमाहरूका आँशुले पृथ्वी भिजाउँछन्, मृत्युलाई विजयको स्वरूपमा सजाएर राखिन्छ ? युद्धले कहिल्यै न्यायको सुगन्ध नल्याउँछ, केवल विजय र पराजयको भ्रमित धुवाँ फैलाउँछ, जसले करुणा र करारलाई कुहिन दिन्छ ।

    वास्तवमा युद्ध भनेको आत्माको युद्ध हो, जसमा हाम्रो अहंकार, लोभ र क्रोधले हाम्रो अन्तरआत्मालाई बन्दी बनाउँछ । जब हामी हाम्रो घृणालाई धर्मको मन्दिरमा पूजा गर्न थाल्छौं, तब हाम्रो चेतनाको ज्योति निभ्छ । युद्ध भनेको अन्धकारको त्यो गहिरो खाल्डो हो, जसमा घृणा र अभिमानले हात समाएर नाच्छन् । जब युद्धलाई धर्मको पर्दामा पवित्रता दिइन्छ, तब यो संसारको सबैभन्दा घातक पाप बन्छ ।

    हाम्रो साँचो युद्ध शत्रुसँग होइन, हाम्रो आन्तरिक अन्धकारसँग हो । जबसम्म यो अन्धकार हाम्रो अन्तरात्माको आकासमा बादल भएर बसिरहन्छ, तबसम्म शान्ति केवल एक कल्पना मात्र हुनेछ । हाम्रो हृदयमा सह-अस्तित्वको शंखनाद नगरेसम्म, करुणा र क्षमाको ज्योति बल्दैन ।

    युद्ध न त शक्तिको पर्व हो, न त वीरताको विजय; युद्ध भनेको चेतनाको चिहान हो। केवल करुणा र आत्मजागरणले मात्र यो रगतले रञ्जित वृत्तबाट हामीलाई मुक्ति दिलाउन सक्छ । शान्ति कुनै सम्झौताको दस्तावेज होइन, शान्ति चेतनाको परिष्कार हो, आत्माको अभ्युदय हो । जब हामी क्षमा गर्न सिक्छौं, जब हामी प्रतिशोधको सट्टा प्रेमको बाटो रोज्छौं, तब मात्र युद्धको यो यन्त्रणा चक्र चिरिएर शान्तिको सूर्य उदाउँछ ।

    जब मोसादको जासुसी कथामा एक सुन्दरी महिलाले इरानको उच्च अधिकारीलाई फसाउँछिन्, त्यो कथा केवल गुप्तचरको सफलताको कथा मात्र होइन, त्यो मानव कमजोरीको कथा पनि हो । युद्धका अगाडि मानिसहरू कति असहाय छन्, र आफ्नो कमजोरीका कारण कसरी आफैंमाथि विनाश निम्त्याउँछन् । युद्ध कहिल्यै हतियारबाट मात्र लडिँदैन, युद्ध मानिसको मोह, अभिमान र अज्ञानताबाट पनि लडिन्छ । इरानमा बनाइएका ड्रोनहरू इरानमै आक्रमण गर्छन्, र इरानी अधिकारीहरू आफैं आफ्नै विनाशका मार्गदर्शक बन्छन् । जब हामी हाम्रो कमजोरीलाई नचिनेरै हतियार बनाउँछौं, त्यसले सबैभन्दा पहिले हाम्रो नै अस्तित्व नष्ट गर्छ ।

    यस शताब्दीमा युद्धले आर्थिक विनाश मात्र निम्त्याउँदैन, युद्धले चेतनाको प्रदूषण निम्त्याउँछ । युद्धका बेला प्रत्येक राष्ट्रको सञ्चार माध्यमले आफ्नो विजयको कथा सुनाउँछ, विरोधीको राक्षसीकरण गर्छ । एकजना सैनिकको मृत्युलाई ‘शहादत’ भनिन्छ र अर्को पक्षको मृत्युलाई ‘सफा’ भनिन्छ । तर दुबैका आमा एउटै प्रकारको रुदन गर्छिन्, दुबैका सन्तानहरू बिनाबुवाको हुन्छन्, दुबैका पत्नीहरू विधवा हुन्छन् । त्यसैले युद्धले कुनै पनि पक्षको विजय गर्दैन, केवल मृत्युको ताण्डवलाई बढावा दिन्छ ।

    युद्धका लागि बनाइएका हतियारहरू उत्पादन गरेर राख्नु पनि विनाशको बीज रोप्नु हो । एकपटक ती हतियार बनिसकेपछि तिनको उपयोग गर्नुपर्छ भन्ने मानसिकता राष्ट्रहरूको अहंकार र अर्थनीतिमा बसिसक्छ । अनि युद्धले सहजै बहाना पाउँछ । युद्धले राष्ट्रहरूलाई शक्तिशाली बनाउँछ भन्ने भ्रममा हामी परिरहन्छौं, तर युद्ध राष्ट्रको आर्थिक र नैतिक दिवालियापनको मार्ग बनाइरहेको हुन्छ । हरेक बम, हरेक क्षेप्यास्त्र र हरेक ड्रोनको मूल्यमा लाखौं बालबालिकाको शिक्षाको भविष्य गुमिरहेको हुन्छ । जब राष्ट्रहरूले युद्धमा अर्बौं खर्च गर्छन्, त्यही समयमा सयौं बालबालिकाहरू भोकभोकै मर्दछन्, सयौं बिरामीहरू औषधिको अभावमा मर्दछन् ।

    युद्धविरामको खबरहरू संसारले आनन्दका साथ सुन्छ । किनकि युद्धका प्रत्येक दिनहरूले मानवताको धड्कनलाई रोकिरहन्छ । युद्धविराम हुनु भनेको केवल बन्दुक बन्द हुनु होइन, त्यो भनेको करुणाको पुनर्जागरण हुनु हो । युद्धविराम भनेको स्वासको पुनः प्राप्ति गर्नु हो, आकाशमा चरा फर्कनु हो, आमा र बच्चाको मुस्कान फर्किनु हो, अस्पतालमा शान्ति फर्किनु हो । युद्धविरामले शान्तिको संभावना दिन्छ, तर स्थायी शान्तिका लागि युद्धको मनोविज्ञानको उपचार आवश्यक छ ।

    स्थायी शान्ति केवल सम्झौताका हस्ताक्षरबाट आउँदैन, यो चेतनाको रूपान्तरणबाट जन्मन्छ । जबसम्म राष्ट्रहरू शक्ति प्रदर्शनलाई आफ्नो अस्तित्वको प्रमाण मान्छन्, तबसम्म युद्धको चक्र दोहोरिरहन्छ । युद्धविराम केवल घाउमाथि अस्थायी पट्टि लगाउने उपाय हो, तर त्यसले घाउको कारणलाई निको पार्दैन ।

    जबसम्म प्रतिशोधको श्रृङ्खला भङ्ग हुँदैन, शान्तिको बीज उम्रिँदैन । एक चोटले अर्को चोटलाई निम्तो दिन्छ, एक युद्धले अर्को युद्धलाई बोलाउँछ, र यही अनन्त चक्रमा मानवता थिचिन्छ । युद्धको सबैभन्दा ठूलो विडम्बना यही हो— विजयको भ्रममा हामी आफ्नो नैतिक हार स्वीकारिरहेका हुन्छौं ।

    शान्ति स्थायी हुनको लागि चेतनाको परिवर्तन अपरिहार्य छ । दया, करुणा र सह-अस्तित्वका सिद्धान्तहरूमा आधारित चेतना नै शान्तिको साँचो आधार हो । जब राष्ट्रहरू करुणालाई कमजोरी होइन, बलको रूपमा स्वीकार गर्छन्, तब मात्र युद्धको अन्त्य सम्भव हुन्छ ।

    साँचो शान्ति तब आउँछ जब घृणाको सट्टा करुणा छरिन्छ, जब प्रतिशोधको ठाउँमा क्षमाले बास गर्छ । जब हामी शत्रुलाई पराजित गर्नुको सट्टा आफ्नो घृणालाई पराजित गर्छौं, तब हामी विजेता बन्न सक्छौं ।

    शान्ति कुनै सम्झौतामा लेखिने शब्दहरू होइनन्, यो त हाम्रो हृदयमा बस्ने करुणाका कम्पन हुन् । जब राष्ट्रहरू आफ्नो आत्माको अन्धकारलाई पराजित गर्न तयार हुन्छन्, तब मात्र स्थायी शान्तिको सूर्योदय हुन्छ, र संसारले युद्धको चिहानबाट मुक्ति पाउँछ ।

    युद्ध विरुद्धको सबैभन्दा बलियो शस्त्र ‘सम्बन्ध’ हो । जब हामी शत्रुलाई पनि मानवको रूपमा हेर्छौं, तब युद्धको चाहना मर्छ । जब हामी प्रत्येक मृत शरीरलाई विजयको संकेत होइन, हाम्रो असफलताको संकेतका रूपमा हेर्छौं, तब हामी युद्ध रोक्ने क्षमता पाउँछौं । युद्ध रोक्नका लागि राजनीतिक साहस मात्र होइन, आध्यात्मिक साहस चाहिन्छ । किनकि युद्धको वास्तविक युद्धक्षेत्र संसद भवनहरू र सैन्य शिविरहरू होइनन्, युद्धको वास्तविक युद्धक्षेत्र मानव हृदय हो । जब हृदयमा शान्ति स्थापना हुन्छ, तब विश्वमा शान्ति आउँछ ।

    यो युद्ध, जसले तेस्रो विश्वयुद्धको खतरा निम्त्याउँथ्यो, तत्काल रोकिनु संसारका लागि सकारात्मक खबर हो । तर यदि हामी युद्धको कारणहरूलाई सम्बोधन गर्न असफल भयौं भने, नयाँ युद्धहरू अर्को भेषमा, अर्को ठाउँमा, अर्को राष्ट्रमा पुनः जन्मिन्छन् । त्यसैले युद्धको प्रतिरोध गर्नु भनेको आत्मा र चेतनाको संरक्षण गर्नु हो । युद्धको विकल्प शान्ति होइन, युद्धको विकल्प करुणा, समझदारी र दया हो । शान्ति भनेको केवल बन्दुक नचल्नु होइन, शान्ति भनेको हृदयमा घृणा नहुनु हो । शान्ति भनेको शत्रुता अन्त्य हुनु होइन, शत्रुता जन्माउने अहंकार र अज्ञानताको अन्त्य हुनु हो ।

    हामीले सिक्नुपर्ने पाठ यो हो कि युद्धले शान्ति ल्याउँदैन, केवल शान्तिको आवश्यकता र महत्त्वलाई उजागर गर्छ । युद्धले हाम्रो आत्मालाई परख गर्छ, र शान्तिको खोज हामीलाई मानव बनाउँछ । युद्धको विनाशले हाम्रो चेतनामा करुणाको बीज रोप्छ, र शान्ति त्यो बीजको फूल हो । शान्ति, सह-अस्तित्व र दया हाम्रो सभ्यताको साँचो विजय हुन् । युद्धविरामको घोषणा नभएसम्म हामी आफूलाई सभ्य समाज भन्न लायक हुँदैनौं, र जबसम्म युद्धका कारणहरूलाई नाश गरेर हामी शान्तिको संरचना खडा गर्दैनौं, तबसम्म युद्ध केवल समयको कुरा मात्र हुन्छ ।

    इरान–इजरायल युद्धविराम मानवताको विजय होइन, यो चेतावनी हो— यदि हामी युद्धको मानसिकता परिवर्तन गर्न असफल भयौं भने, युद्ध फेरि जन्मिन्छ । यो समय हो, जब हामी युद्ध र शान्तिबीचको विकल्प छनोट गर्नुपर्छ, र हाम्रो सभ्यताको भविष्य निर्माण गर्ने मार्ग रोज्नुपर्छ । यदि हामी साँच्चिकै शान्ति चाहन्छौं भने, युद्धको प्रत्येक बमको मूल्यमा एक विद्यालय खोल्नुपर्छ, प्रत्येक क्षेप्यास्त्रको मूल्यमा एक अस्पताल बनाउनु पर्छ, र प्रत्येक घृणाको क्षणमा एक करुणाको कथा लेख्नुपर्छ । केवल त्यसपछि, युद्धविराम साँचो अर्थमा शान्तिको यात्रा हुनेछ, र मानवता युद्धको यो यन्त्रणा चक्रबाट मुक्त हुनेछ ।

    इरान–इजरायल युद्धविरामलाई हामीले मानवताको विजयको रूपमा हेर्नु हुँदैन, यो केवल एउटा चेतावनी हो । जबसम्म हामी युद्धको मानसिकता परिवर्तन गर्न असफल हुन्छौं, युद्धको चक्र फेरि घुम्नेछ, नयाँ स्वरुपमा, नयाँ ठाउँमा, नयाँ पीडा लिएर । युद्ध केवल हतियारको टकराव होइन, यो हाम्रो चेतनाको अन्धकारसँगको लडाइँ हो ।

    यो समय हो, जब हामी युद्ध र शान्तिबीचको विकल्प रोज्नुपर्छ । यदि हामी साँचिकै सभ्य समाज बनाउने चाहना राख्छौं भने, घृणा र प्रतिशोधको बाटो छोडेर सह-अस्तित्व र करुणाको बाटो रोज्नुपर्छ । युद्धको प्रत्येक बमको मूल्यमा एक विद्यालय खोल्न सक्ने नैतिक साहस हामीले विकास गर्नुपर्छ । प्रत्येक क्षेप्यास्त्रको मूल्यमा अस्पताल बनाउने करुणा हामीले जन्माउनुपर्छ ।

    हामीले बुझ्नुपर्ने कुरा के हो भने, युद्धविरामको वास्तविक अर्थ शान्तिको यात्रा शुरु गर्नु हो, शान्ति केवल बन्दुकको मौनता होइन, यो हृदयको परिवर्तन हो । प्रत्येक घृणाको क्षणमा करुणाको कथा लेख्नुभनेको मानवताको पक्षमा युद्ध लड्नु हो।

    जबसम्म हामी यो सत्य स्वीकार्दैनौं कि युद्धले कहिल्यै समाधान ल्याउँदैन, तबसम्म शान्ति केवल एक स्वप्न हुनेछ । केवल करुणा, दया र मानवताको पुनर्जागरणबाट मात्र हामी युद्धको यो यन्त्रणा चक्रबाट मुक्त हुन सक्छौं । शान्ति कुनै सम्झौतामा सीमित विषय होइन, यो चेतनाको परिष्कार र सभ्यताको पुनर्निर्माणको बाटो हो ।

    हामीसँग अझै समय छ, युद्धको विकल्पमा शान्तिलाई रोज्ने, बमको सट्टा पुस्तकलाई अँगाल्ने र क्षेप्यास्त्रको सट्टा करुणालाई फैलाउने । केवल त्यसपछि युद्धविराम साँचो अर्थमा शान्तिको यात्रा बन्नेछ ।जब सम्म मानिसले आफ्नो मनका अनियन्त्रित भाव—क्रोध, लोभ, मोह, अहंकार—लाई पराजित गर्न सक्दैन, तबसम्म बाहिरी संसारमा शान्ति र विजय केवल क्षणिक र सतही हुन्छन्। बाहिरी शत्रुहरू केवल हाम्रो आन्तरिक कमजोरी र भयका छायाँ हुन्, जो हाम्रो चेतनाको अनभिज्ञता र असन्तुलनबाट उत्पन्न हुन्छन्। यसले बुझाउँछ कि साँचो युद्ध बाह्य अस्त्र–शस्त्रको टकराव मात्र नभएर आत्माको अनवरत संघर्ष हो, जहाँ जित त्यसले हो जसले आफ्ना अपकारक प्रवृत्तिहरूलाई पराजित गर्छ।

    यदि हामीले आफ्नो मनको गहन नियन्त्रण र अनुशासनमा असफलता जनायौं भने, बाहिरी विजयहरू केवल भ्रम हुन्, जसले सतत् मानसिक द्वन्द्वलाई जन्म दिन्छ। यस्ता विजयहरू छायाँ जस्तै हुन्छन्—छिटो हराउँछन् र फेरि अन्धकार थप्छन्। त्यसैले, अन्ततः सबैभन्दा महान युद्ध हाम्रो अन्तरमनको हो, जहाँ विजय नै आत्मा मुक्तिको आधार हो।

    मनलाई शान्त, संयमित, दयालु र विवेकी बनाउँदा मात्र वास्तविक स्थायित्व र दीर्घकालीन शान्ति प्राप्त हुन्छ। यो दार्शनिक सत्यले मानव जीवनलाई गहिरो अर्थ प्रदान गर्छ—जहाँ बाह्य संघर्षले सिमितता पाउँछ, र आन्तरिक विजयले अनन्तताको अनुभूति हुन्छ। गीता यसैलाई जीवन दर्शनको केन्द्र मान्छ, जसले हरेक व्यक्तिलाई आफ्ना आन्तरिक छायाँहरूसँग सामन्जस्य र शान्ति स्थापना गर्न उत्प्रेरित गर्दछ। यही ज्ञानले मात्र मनुष्यलाई सम्पूर्णता र समृद्धिको मार्गमा उन्मुख बनाउँछ।

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण २६, सोमबार ११:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP