प्रेम र आत्माको पर्व(कविता)
– तोमनाथ उप्रेती
प्रेम—कसैको आँखामा झल्केको आकाशजस्तै, जुन आकाश कहिले निउरो हुन्न, कहिले पूर्ण हुन्छ।
प्रेम—कसैको हाँसोमा लुकाएको होसको हिलो, जसले हृदयको मरुभूमिमा हरियो घाँस उमारिदिन्छ।
तर प्रेम—कसैको शब्दमा गहिरिएको गहिराइ पनि हो, जसमा कहिले तलाउ बन्न पुगिन्छ, कहिले डुब्नु पनि पर्छ।
जीवनको एउटा उमेर आउँछ, जब शिशिरका शीतल हावाहरू प्रेमको झोकाले चल्छन्। ती झोकाहरूले बालिकाको बालहृदयलाई चिहानबाट बग्ने पानीजस्तै बगाउँछन्। कक्षा सातको नानी जब कक्षामा खाजा खाने बेलामा उसको अनुहार हेर्छे, त्यो बेला एक झुल्को हाँसोले उसको कापीमा कविता लेखाउँछ। यही प्रेम हो, जसले औंलालाई अक्षर बनाउँछ, अक्षरलाई शब्द बनाउँछ, र शब्दलाई सृष्टि बनाउँछ।
तर प्रेम सधैं पुष्प मात्रै हुँदैन।
कहिले काँडाले पनि छोपिन्छ।
कहिले ‘म तिमीलाई माया गर्दिन’ भन्ने वाक्यको काँडामा मुटु चिथारिन्छ।
त्यो बेला आँशु लुकेको ओछ्यानको सिरानीले मात्र थाहा पाउँछ।
आँशु झर्ने बेलामा आकाश पनि निलो नै हुन्छ, तर हृदयको आकाश कालो हुन्छ।
त्यो आँशु पखाल्दा, प्रेमको अर्को अर्थ खुल्छ—परिवर्तन।
साँचो प्रेमले कहिलेकाहीँ नपाउँदाको पीडा दिएर पनि चेतना जगाउँछ, चेतना बढाउँछ।
जीवनको आँधिहरूले मनका रुखहरू ढलाउँछन्।
एकपटक प्रेम पत्रमा अस्वीकृतिको हावा लाग्छ।
फेरि हिम्मत गरेर भन्न जान्छ,
र अर्को पटक स्वीकृति आउँछ।
यही प्रेमको विडम्बना—जहाँ अस्वीकृति र स्वीकृतिले मनलाई लहरजस्तै उचाल्छ र ओराल्छ।
तर प्रेमको त्यो स्वीकृति पनि कहिल्यै पुरा हुँदैन,
किनकि समाजको जात, धर्म र संस्कारको साँकलमा प्रेमको पखेटा अड्किन्छ।
‘माया गर्छु’ भन्ने ओठले, ‘जात मिल्दैन’ भन्ने वाक्य उचार्छ।
त्यो वाक्य सुनिसकेपछि मुटु भाँचिन्छ।
भाँचिएको मुटुले आत्महत्याको बाटो खोज्छ।
सलको गाँठो कसिन्छ, सास थुनिन्छ, नसाहरू खिचिन्छ।
त्यही बेला आमा बोल्छिन्, “छोरी, ढोका खोल।”
त्यो आवाज ईश्वरको आवाज बनेर आउँछ।
सल फुकिन्छ।
मृत्युको मुखबाट जीवन फर्किन्छ।
त्यो पलमा आत्माले भन्छ—
“माया केवल प्रेमीको शब्दमा होइन, आमाको स्वरमा छ।”
“जिन्दगी केवल प्रेमिकासँग होइन, बाबाको काँधमा छ।”
तब बुझिन्छ—आफूलाई माया गर्नु नै प्रेमको सर्वोच्च रूप हो।
जब प्रेममा परेर नपाउँदाको पीडाले तिमीलाई रुवाउँछ,
त्यो आँशुले तिमीभित्र आत्मशक्तिको नदी बगाउँछ।
त्यो नदीले तिमीलाई धुँवाधार बनाउँछ, जसले जीवनका हरेक पीडालाई धोइदिन्छ।
हास्य पनि यहीँ छ—
तिमी प्रेममा परेर फेसबुकमा ‘आधा नाम’ राखेर खाता खोल्छौं,
तर अन्त्यमा थाहा हुन्छ, त्यो खाता बन्द हुँदा पनि तिमी बाँचिरहन्छौ।
आखिर फेसबुकको पासवर्ड हराउँछ, तर आत्माको पासवर्ड आफूसँगै हुन्छ।
त्यसैले प्रेमले सिकाउँछ—तिमी गफ गरेर रात बिताउन सकौ,
तर जिन्दगी आफ्नै बाबाको पसिना र आमाको आँशुले अघि बढ्छ।
प्रेमले सिकाउँछ—जीवनमा सबै कुरा पाउनु प्रेम होइन।
कहिलेकाहीँ नपाउनु नै साँचो प्रेमको परिचय हुन्छ।
जसरी बोटले आफ्ना फलहरू कसैलाई दिएर नस्वाद लिन्छ,
त्यसरी प्रेमले दिएको पीडा आत्मालाई मिठास दिन्छ।
हास्य लाग्छ, जब प्रेमीलाई पाउन मोबाइल खोसिन्छ,
तर बाँच्नका लागि बाबाको हात नछोडिन्छ।
हास्य लाग्छ, प्रेमिका गुमाउँदा रोएर सिरानी भिजाउँछौ,
तर भोलिपल्ट स्कूल जानुपर्छ भनेर तिमी नै उठ्छौ।
यही हास्यले सिकाउँछ—
जीवनको नाटकमा प्रेम एउटा पृष्ठ हो,
तर आत्माको अध्याय बाँकी छ।
परिवारको माया त्यो अध्यायको पहिलो र अन्तिम वाक्य हो।
यो कथा केवल एउटा किशोरीको प्रेम कथा होइन,
यो कथा हो—जीवनको आत्म–प्रेमको शिक्षाको।
यो कथा हो—मृत्युबाट जीवनमा फर्किएको जागरणको।
यो कथा हो—हास्य र आँशुको बीचको गहिरो पुलको।
जिन्दगी भनेको अन्त्य नभएको यात्रा हो,
जहाँ प्रेमले बदलिन्छ—प्रेरणामा,
र प्रेरणा बदलिन्छ—आत्म–जागरणमा।
प्रेम आफैमा खराब होइन, तर प्रेमले कहिलेकाहीँ हरेक कुरा सिकाउँछ—
जब सबैबाट धोका पाइन्छ,
आफ्नै परिवारले दिने मायाले बचाउँछ।
जब हरेक सपना टुट्छ,
त्यो टुक्रा टुक्राबाट पुनः नयाँ सपना बन्ने शक्ति आत्मामा नै हुन्छ।
त्यही भएर अन्त्यमा भनिन्छ—
“प्रेमको अन्त्यमा आत्म–प्रेम फुल्छ।”
“आफ्नै बाबाआमाको माया नै साँचो प्रेमको सागर हो।”
“र अन्ततः, जीवन भनेको बाँचिरहनु नै हो, प्रेम गर्नु नै हो, र सधैं हाँसिरहनु नै हो।”
(रतुवामाइ ५ मोरङ)
प्रतिक्रिया