नेतृत्वको गोधूलि र राष्ट्रको आर्तनाद
तोमनाथ उप्रेती
अझै पनि कुहरोले छोपेको छ,
राष्ट्रको घाँटीमा अपवित्र शृङ्खलाहरूले बाँधेको छ,
जहाँ सत्ताका सिंहासनमा चढेर,
स्वार्थका रक्तपिपासुहरु गिद्धजस्तो ओर्लिरहेछन्,
र नीतिका काजलजस्ता अक्षरहरू,
अपराधका सन्धिहरूमा खल्तीभरि बिझाइरहेछन्।
नेतृत्वको शिरमा दिव्य तेज होइन,
शंकाको छायाले घेरिएको छ,
जहाँ पदवी काठको देवता बनेको छ,
र जनताको आर्तनाद,
अदालतका सिँढीहरूमा आँसुसँगै बसिरहेको छ।
हे नेताहरू!
तिमीहरू सत्ताको सिंहासनलाई ताज सम्झ्यौ,
तर त्यो त आज, जनताको श्रापले बनेको काँडाघारी हो।
तिम्रा छातीमा राष्ट्रको सास बस्छ,
र तिमीले बेवास्ता गर्दा
त्यही सास चिच्याएर कराउँछ–
“मेरो रगतको घाम,
किन तिमीले स्वार्थका बादलले छेक्यौ?”
भ्रष्टाचारको नदी,
नीतिहरूको गल्छी हुँदै बगिरहेको छ,
र राष्ट्रको आत्मा,
त्यसै नदीमा डुबेर निमोठिएको छ।
सत्ताका महलहरू सुनका छ,
तर भित्र घुनहरूले खाइरहेछन्,
र ती घुनहरू तिमीहरूकै लोभका सन्तान हुन्।
सत्तामा बस्नु भनेको,
देवताकै अंश बोकेर हिड्नु हो,
तर तिमीहरूले देवत्वलाई विक्री गर्यौ,
आफ्नो पापका सहरमा।
शासन–व्यवस्था भनेको
कुनै मन्दिरको मूर्ति होइन,
यो त सेवा गर्ने तपस्वीको गहिरो ध्यान हो।
तर तिमीहरूले त्यो ध्यानलाई
व्यापारका दलालहरूसँग साट्यौ,
र राष्ट्रको सपना,
तिमीहरूको निजी खल्तीमा कैद भएर,
शून्यतामा विलीन भयो।
हे नेताहरू!
त्याग भनेको केवल प्रचारको भाषा होइन,
त्यो त आत्म–आलोचनाको व्रत हो।
तिमीले आफ्नो लोभ र इष्र्या तागेर फाल्दा मात्र,
राष्ट्रले नयाँ बिहान देख्नेछ।
भ्रष्टाचारको विषालु वटवृक्ष,
निष्ठाहीन नेतृत्वका माटोमा पलाउँछ,
जहाँ तिमीहरूको कमजोरी नै
कर्मचारीका हातमा बिचौलिया बन्न पुग्छ।
र त्यहीँबाट,
न्यायका खगोलहरू कालो ग्रहणले छेकिन्छ।
राष्ट्रको देहमा घाउ छ,
त्यो घाउ कुनै विदेशी युद्धले दिएको होइन,
तिमीहरूको लोभ र अनुचित लालसाले दिएको हो।
नेतृत्व भनेको
कुनै पदवीको पहाड होइन,
यो त राष्ट्रको घाउमा मल्हम लगाउने साधना हो।
जुन दिन, तिमीहरूले
आफ्नो गालामा लाजको रङ्ग फेरि देख्नेछौ,
जुन दिन, तिमीहरूले
पद होइन, जनताको आँसु देख्नेछौ,
त्यो दिन, भ्रष्टाचारको जञ्जाल च्यातिनेछ,
र राष्ट्र शुद्ध हावामा सास फेरिनेछ।
सत्ताको सिंहासन छोड,
सेवाको शरण लिनुहोस्,
कानुनको डर होइन,
नैतिकताको डर विकास गर,
त्यो नै नेतृत्वको दिव्यता हो,
जसले भ्रष्टाचारको पहाड भत्काउँछ,
र राष्ट्रको भाग्यमा सूर्य उदाउँछ।
(रतुवामाई ५ मोरङ)
प्रतिक्रिया