शून्यको यात्रामा
तोमनाथ उप्रेती
क्रोधको ज्वालामा जल्छ जीवन,
अहंकारको छायामा हराउँछ मानवता।
स्वार्थको ऐनामा आफैलाई हेर्दै,
भूलिन्छ अरूको पीडा, करुणाको कथा।।
सार्वजनिक जीवनको साँचो धर्म के हो?
सेवामा निष्ठा, व्यवहारमा सरलता।
नरम शब्द, शुद्ध दृष्टि, धैर्यको श्वास,
यिनै हुन् सुशासनका गहना, समाजको सम्पदा।।
क्रोध हृदयको आँधी हो, विवेकको क्षय हो,
मौनताको आँखा खोल्दा मात्र देखिन्छ उपाय।
लामो श्वास, मौनको मुस्कान, क्षमाको गन्ध,
यिनै हुन् आगो निभाउने शीतल बयार।।
अहंकारको पहाड भत्काउने छ शक्ति नम्रताको,
सत्यको बाटो हिड्ने छ कदम आत्मचिन्तनको।
हात समाएर लिनेछ जिम्मेवारीको शपथ,
सार्वजनिक जीवनको सौन्दर्य नै हो सरलता।।
मनको भीडमा मौन खोज्दै गर प्रार्थना,
प्रेम, करुणा, विवेकले भरि शून्यताको पूजा।
क्रोधको आगो निभाउँदा फुल्छ चेतनाको बगैँचा,
जहाँ शान्ति फुल्छ, मानवता गुञ्जिन्छ निरन्तर।।
पद, प्रतिष्ठा, शक्ति सबै छ क्षणिक,
शून्य भएर बाँच्छ आत्मा, बिनाको घमण्ड।
जब कर्तव्य हुन्छ प्रेमको स्पर्शमा,
तब सार्वजनिक जीवन बन्छ साँचो साधना।।
शून्यको यात्रामा फेर्नु छ दृष्टि,
क्रोध र अहंकारको पिंजरा तोडेर उड्नु छ आत्मामा।
जुन दिन सेवाको सुवास आउनेछ श्वासमा,
त्यो दिन हामी साँचो अर्थमा हुनेछौँ मुक्त र सजग।।
प्रतिक्रिया