चेतनाको चन्द्रमा
तोमनाथ उप्रेती
मनको महासागरमा उठ्छन् तरङ्ग,
इच्छाका झिल्का जताततै छरिन्छन् रंग।
एकचोटि चम्कियो मोहको बिजुली,
बुझिएन आत्माको मौन दीपशिखा सजग।
चञ्चल छ यो चित्त, वनको वायुझस्तै,
बेलाबेला उदास, बेलाबेला गाजजस्तै।
इन्द्रियहरूको उन्मादमा नाच्छ नित्य,
तर साँचो सुख त मौन आत्माको मन्त्र जस्तै।
मन त पवन हो—न देखिने, तर दिशामा घचघच्याउने,
इच्छा त्यसको रथ, जो मृग–मरीचिका पछ्याउने।
तर गीता भन्छ—”कर्म गर, फलको लोभ नगर”,
त्यही नीति बनोस् अन्तर्यात्राको अमर समर।
मनलाई जित्नु भनेको आकाश समाउनु होइन,
तर मनको बादल पार गरेर चन्द्र–चेतना देख्नु हो।
ध्यान बनोस् दीपक, सास बनोस् मन्त्र,
जहाँ आत्मा आफैंमा होस् समर्पित केन्द्र।
शरीर त छायाँ हो, आत्मा हो सूर्य–स्रोत,
साँच्चो ज्योति त भित्रै छ, बाहिर त केवल भ्रान्तिको पोत।
अल्झिन्छौं शब्दमा, भुलिन्छौं मौनमा—
तर दिव्य मार्ग त तिमी–भित्रकै शान्त क्रन्दनमा।
राग, द्वेष, लोभ, मोह—यी सबै इच्छाका खोल,
मन त त्यसै बग्दछ जब सम्म नहुँछ विवेकको तीरको तोल।
त्यसैले बन हृदयलाई तपोवन,
जहाँ सासमा गुन्जियोम्–नाम, र स्पन्दन होस् साक्षात् शिव–स्वरूप जन।
जीवनको सार होइन केवल सास फेरिनु,
यो त यात्रा हो—स्वयंलाई स्वयंभूमा फेरिनु।
अन्ततः, जब इच्छा होस् केवल परम–प्रेममा विलीन,
त्यसै क्षण आत्मा गुञ्जन्छ—”सत्यम् शिवम् सुन्दरम्”।
(रतुवामाई ५ मोरङ)
प्रतिक्रिया