ब्रह्मको स्वर (आध्यात्मिक कविता )
(तोमनाथ उप्रेती)
शून्यको छेउमा उभिएको म
अस्तित्वको प्रश्नमा हराएको एक कण
जहाँ शब्दहरू मौन छन्,
र मौन स्वयं मन्त्रजस्तो उच्चारित छ
“अहं ब्रह्मास्मि”।
देहको यो देउल मन्दिर होइन
तर श्वासभित्र लुकेको वेद हो
जहाँ आत्मा ज्वलन्त दीप बनिरहेछ
बुद्धि छायाँ जस्तै काँपिरहेछ।
संसार नाट्य हो र म अभिनेता
तर यो भूमिका पनि ब्रह्मको खेल
हेर, आँसु पनि नद हो
र हासो पनि उपनिषद्।
मलाई हराएपछि मात्रै म भेटिन्छु
‘म’ हराउँछ र ‘ऊ’ उदाउँछ
त्यो ‘ऊ’ जुन मभित्र सदा थियो
तर मकै पर्खालले ढाकेको थियो।
मसाल घुमाउँदा बनेको अग्निवृत्तझैँ
यो ‘म’ पनि चेतनाको भ्रम हो
नजिक गएर नियाल्दा
न म छ, न त मेरो
छ त केवल ऊ
जो श्वासमा छ, शून्यमा छ, सृष्टिमा छ।
पदार्थ हराउँछ
नाम हराउँछ, रूप हराउँछ
तर ऊ— अनन्त, अविनाशी
समस्त अनुभूतिको आधार रहन्छ।
मन्दिर ढल्यो, मूर्तिहरू चर्किए
तर ध्यानभित्र एउटा स्वर फुस्फुसायो
“सर्वं खलु इदं ब्रह्म।”
त्यो स्वर न बाहिर थियो, न भित्र
थियो त केवल अस्तित्वको धड्कन।
मन्दिर मभित्रै बनेको रहेछ
आरती मेरा कर्म हुन्
पुष्प मेरा विचार
र पूजा मेरो मौन।
जब अहंको नाद मेटिन्छ
शून्यमा शान्ति झर्छ
त्यो शान्ति होइन मौन
त्यो मौन होइन रिक्तता
त्यो रिक्तता होइन मृत्यु
त्यो मृत्यु होइन अन्त्य
त्यो नै ब्रह्म हो
अविनाशी, अखण्ड, अजन्म, अद्वितीय।
प्रतिक्रिया