लोकेन्द्र प्रसाद यादव
लहान। सिरहाको ग्रामीण बस्तीमा नेपाली सेनाको श्री नं. २७ वाहिनी अड्डा, चोहर्वा व्यारेक, सिरहाले नागरिक–सैनिक सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले सिरहा जिल्लाको सुखिपुर नगरपालिका–१० दहिपौडीमा बृहत् सचेतना तथा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ।
“नागरिक सहयोग सेवा” कार्यक्रमलाई प्रभावकारी बनाउने लक्ष्यअन्तर्गत प्रमुख सेनानी समिर श्रेष्ठको कमान्डमा टोलीसहित स्वास्थ्य सेवासम्बन्धी विभिन्न संस्थाहरुको सहकार्यमा स्थानीय श्री जनता माध्यमिक विद्यालयमा शिविर सञ्चालन गरिएको हो।
उक्त शिविरमा श्री नं. २७ फिल्ड एम्बुलेन्स गुल्मका चिकित्सक, सगरमाथा चौधरी आँखा अस्पताल, प्रादेशिक अस्पताल सिरहा, लहान, फुलकमारी महतो मेमोरियल अस्पताल, नेपाल रेडक्रस सोसाइटी रक्तसञ्चार सेवा केन्द्र लहान, एनसिसी अलुमनाइ एशोसिएसन नेपाल तथा हिमालय सुगर मिल प्रा.लि. को सक्रिय सहभागिता रहेको थियो।
शनिबार आयोजित शिविरमा सर्पदंश, भर्ना छनोट, शीतलहर, आगलागी जस्ता दैविक प्रकोपसम्बन्धी सचेतनामूलक कार्यक्रमसँगै आँखासम्बन्धी, दाँत, छाला, प्रसूति तथा जेनरल ओपीडी सेवासहित रक्तदान कार्यक्रम समेत सञ्चालन गरिएको नेपाली सेना चोहर्वा व्यारेकका प्रमुख सेनानी समिर श्रेष्ठ जानकारी दिनुभयो।
सो शिविरमार्फत महिला २१६ र पुरुष २४४ गरी जम्मा ४६० जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका हुन्। स्थानीय बिपन्न समुदायलाई लक्षित गरी गरिएको यो पहलले समुदायमा सेनाप्रति विश्वास, पहुँच र सकारात्मक सोच अभिवृद्धि गर्न मद्दत पुगेको नेपाली सेनाले जनाइएको छ।

स्वास्थ्य शिविरको अवलोकन तथा निरीक्षण गर्न सिरहाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल,श्री नं. २७ वाहिनी अड्डाका सहायक रथी नारायण बहादुर थापा, सुखिपुर नगरपालिका नगरप्रमुख रामअवतार यादव लगायतले गरेको थियो। नेपाली सेनाद्वारा सञ्चालन गरिएको स्वास्थ्य सेवा तथा जनसचेतना कार्यक्रमले ग्रामीण क्षेत्रका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको स्थानीयवासीहरूले बताएका छन्।
प्रतिक्रिया