logo
  • २०८२ माघ २८ | Wed, 11 Feb 2026
  • जहाँ आत्मकेंद्रित इच्छा हराउँछ, त्यहाँ चेतनाको उज्यालो फुल्छ  

    जहाँ आत्मकेंद्रित इच्छा हराउँछ, त्यहाँ चेतनाको उज्यालो फुल्छ  

    जहाँ आत्मकेंद्रित इच्छा हराउँछ, त्यहाँ चेतनाको उज्यालो फुल्छ

    तोमनाथ उप्रेती

     

    आजको युगमा स्वार्थ, लोभ र ईर्ष्याले मानिसको अन्तरात्मा नै क्षीण बनाउँदै लगेको छ। व्यक्तिको सोचाइदेखि लिएर राष्ट्रको नीतिसम्म स्वार्थको प्रभाव देखिन्छ। हरेक निर्णय, सम्बन्ध र व्यवहारमा आत्मकेन्द्रित प्रवृत्तिले स्थान लिएको छ। जसका कारण समाजमा सहयोगभन्दा प्रतिस्पर्धा, करुणाभन्दा घृणा र समर्पणभन्दा स्वार्थ बढेको छ। स्वार्थले मानिसलाई कठोर, संवेदनहीन र विवेकहीन बनाउँछ। यस्तो वातावरणमा आत्मिक शान्ति त के, सामाजिक सद्भाव पनि सम्भव हुँदैन। जबसम्म हामीले स्वार्थ त्याग गर्ने संस्कार विकास गर्न सक्दैनौँ, तबसम्म न त साँचो मित्रता सम्भव हुन्छ, न त स्थायी शान्ति। यसैले, शान्तिको बाटो स्वार्थमुक्त हृदयबाट मात्रै सुरु हुन्छ।जब मानिस स्वार्थ त्याग गर्छ, तब उसको दृष्टिकोण व्यापक हुन्छ। उसले आफूभन्दा अरूको पीडा, भावना र अधिकार बुझ्न थाल्छ। त्याग र समर्पणबाट जन्मिने यही चेतना नै शान्तिको पहिलो फूल हो। परिवारमा स्वार्थभन्दा प्रेम, माया र समर्पण हावी भएमा त्यहाँ कलह होइन, मेलमिलाप हुन्छ। राष्ट्रमा नेताहरूले व्यक्तिगत लाभको सट्टा जनताको हितलाई प्राथमिकता दिए भने राजनीतिक स्थायित्व र समृद्धि सम्भव हुन्छ।

    मानव जीवनको यात्रा अनन्त इच्छाहरू र तिनका परिणामहरूले भरिएको हुन्छ। हरेक मानिसको मन आफ्नो स्वार्थ, इच्छा र आत्मकेंद्रित आकांक्षामा केन्द्रित हुन्छ। जबसम्म आत्मकेंद्रित इच्छा हाम्रो चेतनामा वास गर्छ, तबसम्म हामी जीवनका वास्तविक अर्थ, आन्तरिक शान्ति र सन्तोषबाट टाढा रहन्छौं। स्वार्थ, अहंकार र व्यक्तिगत चाहनाले चेतनालाई गम्भीर अन्धकारमा डुबाउँछन्। यस अन्धकारबाट मुक्त हुनु भनेको जीवनको सबैभन्दा ठूलो आध्यात्मिक उपलब्धि हो।

    स्वार्थ र आत्मकेंद्रित इच्छाले सम्बन्ध, समाज र विश्वमा असमानता र द्वन्द्व उत्पन्न गर्छ। गीता अनुसार, जब मानिस आफ्नो इच्छा र स्वार्थको सिकार हुन्छ, तब उसको कर्म अनियमित, मन अशान्त र जीवन अस्थिर हुन्छ। अर्जुन जस्तो वीर योद्धा पनि जब आफ्नो व्यक्तिगत मोह र स्वार्थमा फस्छ, तब युद्धभूमिमा नै द्वन्द्व र भ्रमको सामना गर्न बाध्य हुन्छ। श्रीकृष्णले अर्जुनलाई उपदेश दिए—“मनको अन्धकार हटाएर चेतनाको प्रकाश फुलाउँ।” यही आध्यात्मिक शिक्षा आजका आधुनिक मानिसका लागि पनि समान रूपमा प्रासंगिक छ।

    जहाँ आत्मकेंद्रित इच्छा हराउँछ, त्यहाँ चेतनाको उज्यालो फुल्छ। यो उज्यालो आन्तरिक चेतनाको प्रकाश हो। जब मनमा मोह, लोभ, क्रोध र अहंकारको अन्धकार हट्छ, तब प्रेम, करुणा, दया र सहिष्णुता स्वाभाविक रूपमा उत्पन्न हुन्छ। रामायणमा लक्ष्मणले केवल रामको आदेश मात्र मान्दैनन्; उनी रामको भावनात्मक अवस्था र उद्देश्यमाथि पनि संवेदनशील छन्। यही संवेदनशीलता र आत्मत्यागले चेतनामा उज्यालो ल्याउँछ र सम्बन्धहरू स्थायी, सुमधुर र सकारात्मक बनाउँछ।

    आत्मकेंद्रित इच्छाको अन्त्यको लागि  आत्मनिरीक्षण, ध्यान र संयम आवश्यक छ। जब मानिस आफ्नो मनको अन्धकार—स्वार्थ, ईर्ष्या, क्रोध, मोह—लाई चिनेर नियन्त्रण गर्छ, तब उसले चेतनामा उज्यालो फुल्न दिन्छ। योग, प्राणायाम, ध्यान र सकारात्मक मानसिक अभ्यास यस मार्गमा अटुट साधन हुन्। यी अभ्यासहरूले मनको चञ्चलता, भावनात्मक द्वन्द्व र स्वार्थप्रवृत्तिलाई शान्त पार्छन्।

    स्वामी विवेकानन्दले भनेका छन्—“मनको स्वामित्व नै मानिसको वास्तविक शक्ति हो।” जब मानिस आफ्नो इच्छालाई नियन्त्रण गर्छ, तब ऊ केवल शारीरिक वा भौतिक उपलब्धिमा मात्र केन्द्रित रहँदैन; ऊ मानसिक स्पष्टता, आध्यात्मिक स्थिरता र चेतनाको प्रकाशमा प्रवेश गर्छ। यही चेतनाले व्यक्ति मात्र होइन, समाज र मानव सम्बन्धमा पनि स्थिरता, सहयोग र सामंजस्य ल्याउँछ।

    पौराणिक दृष्टान्तहरूले पनि यही सत्य पुष्टि गर्छ। महाभारतमा दुर्योधनको अत्यधिक स्वार्थ र अहंकारले मात्र उसको विनाश सम्भव भयो। यदि उसले आफ्नो आत्मकेंद्रित इच्छा परित्याग गरेको भए, युद्धपूर्वक संघर्ष र विनाशबाट बच्न सक्ने सम्भावना थियो। यसले देखाउँछ—स्वार्थको अन्त्य केवल व्यक्तिगत जीवनका लागि होइन, सामाजिक र नैतिक स्थिरताका लागि पनि अनिवार्य छ।

    जहाँ चेतनाको उज्यालो फुल्छ, त्यहाँ जीवन उद्देश्यपूर्ण, सुखद र सार्थक हुन्छ। आत्मकेंद्रित इच्छा हटाइएपछि, मानिसले जीवनलाई मात्र आफ्नो होइन, अरूका भलो र सामाजिक हितका लागि पनि प्रयोग गर्न थाल्छ। यही चेतना नै कर्मयोगको आधार हो—जहाँ काम केवल व्यक्तिगत स्वार्थका लागि होइन, समाज र परमात्माको हितका लागि हुन्छ।

    स्वार्थविहीन चेतनामा दया, करुणा, सहिष्णुता र प्रेम स्वाभाविक रूपमा विकसित हुन्छ। मानिस अरूको पीडा महसुस गर्न सक्षम हुन्छ, अरूको सफलतामा आनन्द पाउँछ र नकारात्मक भावनालाई हटाएर जीवनलाई सकारात्मक बनाउँछ। यही मानसिक र आध्यात्मिक स्थिरताले जीवनमा असफलता, द्वेष र मनोवैज्ञानिक तनावलाई न्यून गर्छ।

    मनको स्थिरता र स्वार्थत्यागको अभ्यास जीवनको दैनिक संघर्षमा पनि मार्गदर्शन गर्छ। जब मानिस आफ्नो आत्मकेंद्रित इच्छालाई नियन्त्रण गर्छ, तब ऊ निर्णय, सम्बन्ध, संघर्ष समाधान र सामाजिक कार्यमा स्पष्टता, धैर्य र समझदारी देखाउँछ। यही दृष्टिकोणले जीवनमा स्थायी शान्ति, चेतनाको उज्यालो र व्यक्तिगत तथा सामाजिक सफलता सुनिश्चित गर्छ।

    आधुनिक जीवनमा हामी प्रायः बाह्य उपलब्धि, प्रतिष्ठा र भौतिक सुखमा ध्यान दिन्छौं। तर पौराणिक शिक्षाले देखाउँछन् कि केवल बाह्य प्राप्ति पर्याप्त छैन। जबसम्म हाम्रो मन स्वार्थ, अहंकार र आत्मकेंद्रित इच्छाबाट मुक्त हुँदैन, तबसम्म जीवन पूर्णता र चेतनाको उज्यालोमा प्रवेश गर्न सक्दैन। यही कारणले, ध्यान, योग, प्राणायाम र आत्मनिरीक्षणजस्ता साधनलाई जीवनको अपरिहार्य अभ्यास मानिएको छ।

    जहाँ आत्मकेंद्रित इच्छा हराउँछ, त्यहाँ चेतनाको उज्यालो मात्र फुल्दैन; त्यहाँ सामाजिक सम्बन्ध, मानवीय सहयोग, प्रेम र करुणा पनि फुल्छ। यसरी स्वार्थत्यागले जीवनलाई केवल व्यक्तिगत लाभको माध्यम मात्र नभई सामाजिक कल्याण र आध्यात्मिक उन्नतिको मार्ग बनाउँछ।जीवनको वास्तविक सफलता केवल बाह्य उपलब्धिमा होइन, आन्तरिक चेतना, मानसिक शान्ति, आत्मनिरीक्षण र स्वार्थत्यागमा निहित हुन्छ। जहाँ हामीले आफ्नो आत्मकेंद्रित इच्छालाई नियन्त्रण गर्छौं, त्यहाँ जीवन उज्यालो, शान्त, उद्देश्यपूर्ण र सार्थक बन्छ। चेतनाको उज्यालो फुल्ने यही स्थान हो—जहाँ अहंकार, स्वार्थ र व्यक्तिगत लालचले ठाउँ पाउँदैन, र मन प्रेम, करुणा, धैर्य र स्थिरताले भरिन्छ।

    आजको संसारमा यदि  रूपमा दृष्टिपात गरिन्छ भने, प्रष्ट देखिन्छ कि मानिसहरू भौतिक सम्पत्ति, जमीन–जायदाद र धनको लागि आफन्तसँगै शत्रुता गर्न पनि पछि पर्दैनन्। भाई–भाईबीच प्रेम र एकताको सट्टा ईर्ष्या, प्रतिस्पर्धा र स्वार्थको भावना मौलाएको छ। पद, प्रतिष्ठा र शक्ति प्राप्तिका लागि मानिसहरू मानवता बिर्सिएर जस्तोसुकै नीच र अमानवीय कार्य गर्न तत्पर छन्। नैतिक मूल्यहरू कमजोर बन्दै गएका छन्, र मानवीय सम्बन्धहरू स्वार्थको सिकार बनेका छन्। यस्तो प्रवृत्तिले समाजमा द्वन्द्व, अशान्ति र विघटन निम्त्याएको छ। आत्मकेन्द्रित सोच र लोभको कारण आजको समाज मूल्यहीनताको संकटमा फसेको देखिन्छ। घरमा सासु–बुहारी बीचको विवाद र अधिकारको संघर्षले वैमनस्य उत्पन्न गर्छ, जहाँ सासु त्याग गर्न चाहन्न र बुहारी हर हालतमा अधिकार प्राप्त गर्न चाहन्छ ।

    जहाँ स्वार्थ र आत्मकेंद्रित इच्छा हराउँछ, त्यहाँ मात्र चेतनाको उज्यालो फुल्छ। संसारिक मोह, लोभ, अहंकार र व्यक्तिगत स्वार्थले मानिसको मन र चेतनालाई अन्धकारमय बनाउँछ। जस्तो कि कुकुरले आफ्नो रोटीको टुक्रा समातेर अन्य कुकुरहरूको डरमा थकित भएर त्याग गर्नुपर्छ, त्यसैगरी मानिसले आफ्नो आत्मकेंद्रित इच्छा त्याग नगरेसम्म मानसिक र आध्यात्मिक शान्ति प्राप्त गर्न सक्दैन। त्यागले मात्र चेतनामा प्रकाश ल्याउँछ, प्रेम, करुणा र निस्वार्थ भावनाको विकास गर्छ।

    महाभारत, रामायण र बुद्धका जीवनका उदाहरणहरूले यही सत्य देखाउँछन्। भगवान श्रीरामले राजपाटको मोह त्याग गरेर वनवास स्वीकार गरे र मर्यादा पुरुषोत्तमको रूपमा प्रतिष्ठित भए। अर्जुनले सेनाको मोह छोडेर श्रीकृष्णलाई चयन गरे, जसले युद्धको नैतिक र आध्यात्मिक परिणाम सुनिश्चित गर्यो। सिद्धार्थले संसारिक मोहको त्याग गरे र बुद्धत्व प्राप्त गरे। आधुनिक कालका महात्मा गांधी, मदर टेरेसा जस्ता व्यक्तित्वहरूले आफ्नो व्यक्तिगत सुख र स्वार्थ त्यागेर मानवताका लागि जीवन समर्पित गरे।

    त्याग केवल भौतिक वस्तुमा सीमित छैन। समय, श्रम, भावना र व्यक्तिगत सुखको त्यागले मात्र चेतनालाई उज्यालो बनाउँछ। जब आत्मकेंद्रित इच्छा हराउँछ, तब मन स्थिर, संवेदनशील र सजग हुन्छ। यस अवस्थाले मात्र व्यक्ति आफ्ना कर्म र निर्णयमा स्पष्टता, जीवनमा सन्तुलन र समाजमा शान्ति ल्याउन सक्षम हुन्छ। त्यागले व्यक्तिगत जीवनमा प्रेम, सहिष्णुता र समझदारी विकास गर्छ भने सामाजिक जीवनमा समन्वय, सम्मान र सहयोगको वातावरण सिर्जना गर्छ।

    जहाँ आत्मकेंद्रित इच्छा र स्वार्थ हराउँछ, त्यहाँ चेतना मुक्त, उज्यालो र द्रढ बन्छ। चेतनाको उज्यालोले केवल आन्तरिक शान्ति प्रदान गर्दैन, सामाजिक, नैतिक र आध्यात्मिक जीवनमा पनि मार्गदर्शन गर्दछ। यही कारणले धार्मिक ग्रन्थ, महापुरुषको जीवन र इतिहासले स्पष्ट देखाउँछन्—त्यागले चेतनामा प्रकाश ल्याउँछ, र जहाँ चेतनाको प्रकाश फुल्छ, त्यहाँ शान्ति, आनन्द र सृष्टिको कल्याण निश्चित हुन्छ।

     

    ( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

     

     

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ माघ २३, शुक्रबार ०८:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP