धर्मको नाममा बलि : आस्थाको प्रतीक कि अमानवताको अभ्यास?
तोमनाथ उप्रेती
मानव सभ्यताको विकासक्रमसँगै धर्म, संस्कृति र परम्पराले गहिरो स्थान ओगटेका छन्। धर्मलाई मानिसले आध्यात्मिक शान्ति, नैतिक मार्गदर्शन र आत्मिक उन्नतिको प्रमुख स्रोतका रूपमा लिएको छ। तर, कतिपय धार्मिक अभ्यासहरू यस्ता छन् जसले मानवता र करुणाको मूल्यलाई चुनौती दिन्छन्। पशुबलि त्यस्तै एउटा अभ्यास हो, जसलाई कतिले आस्थाको प्रतीक मान्छन् भने कतिले अमानवताको अभ्यासको रूपमा लिन्छन्। नेपालसहित दक्षिण एशियाका विभिन्न समाजमा यो विषय अझै गहिरो बहसको मुद्दा बनेको छ।मानव सभ्यताको मूल मूल्य करुणा, दया र अहिंसामा आधारित छ। कुनै पनि निर्दोष जीवलाई मारेर धार्मिक कर्म सम्पन्न गर्ने अभ्यासले मानवताको नैतिक जगलाई प्रश्न गर्छ। पशुबलि गर्ने दृश्यले समाजका बालबालिका र अन्य संवेदनशील मानिसहरूमा हिंसात्मक प्रभाव पनि पार्छ।
धर्मको नाममा बलि दिने अभ्यास एक गम्भीर प्रश्न हो—के धर्मले हिंसालाई मान्यता दिन्छ, वा करुणा र दयालाई? आस्था र परम्पराले मार्ग देखाए पनि तिनलाई समयअनुसार परिष्कृत नगरेसम्म धर्मको सार हराउँछ। आजको मानव सभ्यताले प्रेम, अहिंसा र करुणालाई उच्च मूल्य मान्छ। त्यसैले, पशुबलि आस्थाको प्रतीक भन्दा पनि अमानवताको अभ्यास नबनोस् भन्ने सुनिश्चित गर्नुपर्छ।धर्मलाई हिंसाबाट होइन, अहिंसाबाट बलियो बनाउन सकिन्छ। आस्थालाई बलिदान होइन, करुणा र सेवामा रूपान्तरण गर्न सकिन्छ। यही हो मानवता र धर्मबीचको वास्तविक समन्वय।
पशुबलि संस्कृतिबाट विकसित एक प्राचीन धार्मिक तथा सांस्कृतिक अभ्यास हो, जुन विभिन्न समाज र धर्महरूमा देखिन्छ। यो संस्कार धार्मिक विश्वास र देवताप्रति श्रद्धा प्रकट गर्ने माध्यम मानिन्छ। तर आधुनिक समयमा पशुबलि विषयले ठूलो विवाद पाएको छ, किनभने यसले धर्म, सभ्यता र मानवताको मूल्यहरूसँग ठोस द्वन्द्व सिर्जना गरेको छ।
धार्मिक दृष्टिले, पशुबलि देवताप्रति कृतज्ञता र आस्था देखाउने कर्म हो। तर पशुबलिमा जनावरको जीवन नष्ट हुनु मानवताको विरोध मानिन्छ। अहिलेको विश्वले मान्छेको अधिकार र जीवनमूल्यलाई केन्द्रमा राख्दै पशु अधिकारको संरक्षण गर्नुपर्नेमा जोड दिएको छ। यसले सभ्यता र मानवताको नयाँ मापदण्ड तय गरेको छ। पशुबलि गर्ने संस्कारलाई कतिपयले धार्मिक स्वतन्त्रताको हिस्सा भनेका छन् भने धेरैले यसलाई क्रूरता र अमानवीयता ठानेका छन्।विशेष गरी, पशुबलिले जनावरमाथि भएको दया र सहानुभूतिको भावना कमजोर पार्छ र यसले निन्दनीय हिंसा र पीडाको रूप लिन्छ। यसले पशु अधिकार र संरक्षणका सिद्धान्तहरूसँग स्पष्ट द्वन्द्व देखाउँछ। अतः पशुबलिको प्रचलनलाई मानवतावादी दृष्टिकोणबाट पुनः मूल्यांकन गरी वैकल्पिक, दयालु तथा सभ्य विधिहरू अपनाउनु आवश्यक छ। यसरी मात्र धर्म र सभ्यताको सन्तुलन कायम राख्न सकिन्छ।
आजको समयमा मानवअधिकार र पशु अधिकारको विषयमा बढ्दो चासो छ भने नेपालमा हजारौँ निर्दोष जनावरहरू बलिको नाममा सामूहिक रूपमा मारेको अवस्था छ। धार्मिक परम्पराको नाममा गरिने यस्तो क्रूरता अमानवता, असभ्यता र धर्मको गलत बुझाइ हो। जातीय असमानता र हिंसाजस्ता सामाजिक समस्यासँग जोडिएको यो प्रथा वसुधैव कुटुम्बकम् र मानवताविरोधी छ।दशैं, तिहारमा लाखौँ जनावरहरूको बलि गरिनु हिन्दू धर्मको वास्तविकता विपरीत छ र यो प्रथा हिन्दूत्वको उपहास पनि हो। वेद, गीता जस्ता शास्त्रहरूले अहिंसा र करुणालाई प्राथमिकता दिएका छन् र बलि प्रथा कुनै पनि ग्रन्थले समर्थन गरेको छैन। बलि प्रथा पुराणको दन्त्य कथा र अन्धविश्वासमा आधारित हो।
सबै प्राणीप्रति करुणा, शाकाहारी भोजन र योगमार्फत पवित्र जीवन जिउनु नै सच्चा धर्म हो। धर्मको नाममा हिंसा र बलि गर्नु धर्मविरुद्धको कार्य हो। धार्मिक सिद्धान्तले अहिंसालाई सर्वोच्च धर्म ठानेको छ र बलि प्रथालाई गलत मान्छ।मांसाहार र बलि तामसिक कर्म हुन् जसले नकारात्मक परिणाम ल्याउँछन्। चलन चाहे पुरानो होस् या राजाले लगाएको, जुन कुरा वेद, उपनिषद्, पुराण आदि शास्त्रमा उल्लेख छैन, त्यो सनातन हिन्दू धर्मको हिस्सा होइन।
हामी मानिसहरू दया, माया र सबै जीवप्रति प्रेम लिएर आएका हौं, न कि हिंसा गर्न। देवी–देवताले रगतका बलि माग्दैनन्, न त निर्दोष पशुको हत्या गरेर खुशी हुन्छन्। पशुबलि प्रथा धार्मिक चेतनाको अभाव र गलत विश्वास हो, जसले हाम्रो संस्कृतिमाथि प्रश्न उठाउँछ। सच्चा धर्म अहिंसामा आधारित हुन्छ।
धर्म भनेको आफूलाई उजागर गर्ने बाटो हो। अब हामीले सोच्नुपर्छ — हामी कुन बाटो रोज्ने? सभ्य समाज निर्माण गर्ने कि असभ्य समाज? अन्धविश्वासमुक्त बाटो अपनाउने कि अन्धविश्वासलाई प्रश्रय दिने? अहिंसाको बाटो हिँड्ने कि हिंस्रक बन्ने बाटो? परम्परा र संस्कारका नाममा गर्दै आएको बलि प्रथा केवल कुआस्था र कुविश्वास मात्र हो। श्रद्धा र भक्तिले चढाएको फलफूल, नैवेद्य देवीदेवताले ग्रहण गर्छन् र आशीर्वाद दिन्छन्, तर मासु र बलि प्रथा धर्मको विपरित छन्।
धर्मको मूल अहिंसा हो। त्यो अहिंसा धर्मलाई मनले खुब चिन्तन गरी विचार गर्नु। पुनः यो अहिंसा धर्मलाई कर्मले र वचनले सम्यक आचरण गर्नुपर्छ।पूजाउपासनाको निहुँमा अबोध प्राणीको हिंसा गर्नु मातृस्वरुप, न्यायस्वरुप, वात्सल्यस्वरुप एवं शक्तिस्वरुप देवीदेवताको घोर अपमान होइन ? आफूमा भएका वा जगतमा भएका काम, क्रोध, लोभ, मोह, मद, मात्सर्य जस्ता दुर्गुणहरुलाई जस्ताको तस्तै राखी बिचरा ती ईश्वरका लाटासुधा, निरीह, अबोध प्राणीहरुमाथि खुँडा, खुकुरी, तरबार, चुप्पी र अन्य के के हो के के हतियार चलाउनु मूढता होइन ? कायरता होइन ?
पशुबलि अन्त्य गर्नका लागि साँस्कृतिक पुर्नजागरण कार्यक्रमलाई अभियान कै रूपमा लग्नु पर्ने आवश्यकता देखिन्छ । तर पशुबलि प्रथालाई सधैं सधैंका लागि निमिट्यान्न वा उन्मूलन गर्नका लागि हामीले आफूभित्र रहेको कुप्रवृत्ति तथा अमानवीय गुणको बलि दिनसक्नु पर्छ । यसो गर्न सकेमा मात्र शान्तिपूर्ण र सभ्य समाजको निर्माण गर्न सकिन्छ ।धर्मको सहि तरीकाले पालना गर्दै सभ्य र समुन्नत समाजको सपना देख्ने हो भने यी सम्पुर्ण कूरीतिहरू हटाउनु या कम्तिमा सुधारको सुरुवात गर्न अत्यावश्यक छ। मठ मन्दिरहरुमा गरिने पशुबध तुरुन्त अन्त गरिनु पर्छ । उत्कृष्ट हिन्दू वाङमय तारतामागर, वेद, उपनिषद् र गीताले देखाएको दर्शनलाई निर्विरोध लागू गरौं । विश्व जनमञ्चलाई सभ्य र सु–संस्कृत भई संपूर्ण प्राणी हाम्रै सन्तान भन्ने नारा स्थापित गरौं । धार्मिक पाखण्ढता तथा रुढीवाद विरुद्ध एक हौं । पशुबलिको कलंकलाई मेटाउन चेतना बढाउँदै लग्नु नितान्त आवश्यक छ।
आजको युगमा धर्मको वास्तविक अभ्यास भनेको हिंसा होइन, बरु सहिष्णुता, प्रेम र सहयोग हो। प्राणीमात्र होइन, सम्पूर्ण सृष्टिप्रति दया राख्न सक्नु नै मानवताको सर्वोच्च गुण हो भन्ने सन्देश गीता, उपनिषद्, बौद्ध दर्शन र अन्य धेरै धर्मशास्त्रहरूले दिएका छन्। त्यसैले, धर्मकै नाममा निर्दोष प्राणीको हत्या हुनु धार्मिक मूल्यभन्दा बढी अमानवताको अभ्यास हो भन्ने मत बलियो हुँदै गएको छ।
सांस्कृतिक रूपमा परम्पराको सम्मान गर्नुपर्ने भए पनि समाजलाई समयअनुसार परिष्कृत गर्नु आवश्यक हुन्छ। विगतका धेरै अभ्यासहरू आज त्यागिएका छन्—उदाहरणका लागि सती प्रथा, जातीय विभेद र छुवाछूत। त्यस्तै, बलिको अभ्यासलाई पनि वैज्ञानिक, मानवीय र नैतिक दृष्टिले पुनः विचार गर्न सकिन्छ।धार्मिक श्रद्धा त्याग्न आवश्यक छैन, तर त्यसको अभ्यासलाई अहिंसात्मक बनाउन सकिन्छ। आज धेरै मन्दिरहरूले पशुबलिको सट्टा फलफूल, फूल, अक्षता वा दुग्धजन्य वस्तु चढाउने अभ्यासलाई प्रोत्साहित गरेका छन्। यसले श्रद्धालाई सुरक्षित राख्दै धर्मलाई करुणा र मानवतासँग जोड्छ।सरकार, धार्मिक अगुवा र समाजका सचेत युवाहरूले यस विषयमा खुलेर बहस गर्नुपर्ने आवश्यकता छ। यदि धर्मलाई नैतिकता, शान्ति र मानवताको प्रतीक बनाउनु छ भने, बलिको अभ्यासलाई क्रमशः परिमार्जन गर्नुपर्छ।
प्रतिक्रिया