logo
  • २०८२ चैत्र २ | Mon, 16 Mar 2026
  • चुनाव(हास्य लघुकथा)

    चुनाव(हास्य लघुकथा)

    चुनाव(हास्य लघुकथा)

     

    तोमनाथ उप्रेती

     

     

    आज त भाइ, म त साँचिकै “राष्ट्रिय सांस्कृतिक सुरक्षाबल” जस्तै देखिने तयारीमा थिएँ ।
    साइत्ते गोष्ठीमा जानु पर्ने—तर मनभित्र चाहिँ चुनावी सभाको र्याली चलिरहेको!

    “कमसेकम साइत्ते गोष्ठीमा जाँदा त दौरा सुराल, कोट टोपी र कमरमा खुकुरी भिरेर जाउँ,” भनेर सोचें। आखिर आगामी निर्वाचन आउँदैछ, नेताहरूले त अब भोट माग्न जाँदा “सांस्कृतिक पोशाक” लाई पनि घोषणापत्रमा राख्न थालेका छन् ।

    म सित एक जोरी दौरा सुराल, ढाका टोपी र तिनचाडा कोट थियो। ऐनामा हेर्दा त म आफूलाई झण्डै सांस्कृतिक अवतार जस्तै देखेँ । फरक यति मात्र—उहाँहरूलाई माइक दिइन्छ, मलाई चाहिँ माइक देखेपछि पनि कसैले “बस्नुस्, चिया खानुस्” मात्र भन्छन्।

    कमरमा खुकुरी भिरेर जाउँ कि भनेर सोचें—तर घरको मान्छेले भने, “यो साइत्ते गोष्ठी हो कि संविधान संशोधनको आन्दोलन?”
    मैले भनेँ, “हैन, चुनाव आउँदैछ नि! अहिले जो जसले जे भिर्दा पनि ‘संस्कृति संरक्षण’ भनेर फोटो खिचिन्छ।”

    अहिले त नेपालमा चुनावी मौसम भनेको असारको पानीभन्दा पनि छिटो आउँछ।
    हिजो मात्रै सुनें—एकजना उम्मेदवारले गाउँमा भोट माग्न जाँदा २० मिनेट भाषण, ३० मिनेट टिकटक लाइभ, अनि ४० मिनेट सेल्फी। जनता चाहिँ चिया पकाउँदै बसिरहेका ।

    साइत्ते गोष्ठीमा पुगेपछि पनि मलाई लाग्यो—अहिले सबैको नजर ममाथि छैन, मेरो टोपीमाथि छ।
    एकजना काका आएर फुस्फुसाए, “भाइ, कुन पार्टी?”
    मैले भनेँ, “कुन पार्टी? म त प्लेटको पार्टी खोज्दै आएको!”

    हाम्रो देशमा अब गोष्ठी, बिहे, पास्नी, ब्रतबन्ध—सबै ठाउँ चुनावी अभ्यासजस्तै भइसके।
    कोही भाषण दिन तयार, कोही नाराबाजी गर्न तत्पर, कोही सेल्फीमा “समृद्ध नेपाल” खोज्दै।

    म त सोच्दै थिएँ—यदि दौरा सुराल र खुकुरीकै आधारमा टिकट बाँडिन थाले भने, म त प्रत्यक्षतर्फको बलियो दाबेदार!
    तर हाय, यहाँ त टिकटभन्दा पहिले टिकटकमा भ्यु चाहिन्छ रे।

    त्यसैले भाइ, अन्ततः मैले खुकुरी झिकिनँ।
    किनकि अहिलेको चुनावी मैदानमा खुकुरीभन्दा धारिलो त “स्टाटस अपडेट” नै रहेछ!

    र मैले मनमनै भनें—
    “नेपालमा अब सांस्कृतिक पोशाकले होइन, सांस्कृतिक पोजले चुनाव जितिन्छ।”

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ चैत्र २, सोमबार २०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP