आत्म–साक्षात्कार र सामाजिक मान्यता
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
व्यक्तिगत विकास र सामाजिक व्यवहारको अध्ययनमा आत्म–साक्षात्कार एउटा महत्वपूर्ण अवधारणा हो। आत्म–साक्षात्कारले व्यक्तिलाई आफ्नो आन्तरिक मूल्य, क्षमता र सीमाहरूबारे बुझाइ दिन्छ, जसले व्यक्तित्वको स्थायित्व र मानसिक सन्तुलनमा योगदान पुर्याउँछ। जब व्यक्ति आफ्नो आन्तरिक चेतना र नैतिक मूल्यप्रति सचेत हुन्छ, तब उसले आफ्ना कार्य, निर्णय र सम्बन्धहरूलाई थप जिम्मेवार र सम्मानजनक तरिकाले व्यवस्थापन गर्न सक्छ।
सामाजिक मान्यता वा सम्मान समुदाय, परिवार र समाजमा व्यक्तिको योगदान, व्यवहार र नैतिकताप्रति प्राप्त स्वीकृति हो। आत्म–साक्षात्कारले व्यक्तिलाई आफ्नो वास्तविकता बुझ्न र स्वाभाविक रूपमा सकारात्मक सामाजिक व्यवहार अपनाउन उत्प्रेरित गर्दछ, जसले समाजमा सम्मान कमाउने अवसर सिर्जना गर्छ।
वर्तमान समाजमा जहाँ व्यक्तित्व, नैतिकता र सामाजिक स्वीकृतिको मूल्य निरन्तर चुनौतीमा छ, त्यहाँ आत्म–साक्षात्कारको भूमिका अझ बढी महत्वपूर्ण छ। आत्म–साक्षात्कारले व्यक्तिलाई आन्तरिक सन्तोष र आत्म–सम्मान दिन्छ भने सामाजिक मान्यता प्राप्त गर्न सक्षम बनाउँछ। व्यक्तिको आन्तरिक चेतना, विवेक र नैतिक अभ्यासले मात्र वास्तविक सम्मान र स्थायित्व ल्याउँछ। आत्म–साक्षात्कार भनेको आफ्नो वास्तविक स्वभाव, कर्म, मनोवृत्ति र जीवनको उद्देश्यको गहिरो समझ हासिल गर्नु हो। यसले व्यक्तिमा आन्तरिक सन्तुलन, स्थायित्व र समाजसँग सहअस्तित्वको क्षमता विकास गर्दछ।
महाभारतमा अर्जुनको जीवन पनि आत्म–साक्षात्कारको महत्वपूर्ण उदाहरण हो। कौरव र पाण्डवबीचको युद्धको पूर्वार्धमा अर्जुनले नैतिक द्वन्द्व महसुस गरे। उनले आफ्ना कर्तव्य, परिवार र धर्मबीचको विरोधाभास बुझ्न कृष्णसँग मार्गदर्शन मागे। कृष्णले उनलाई कर्मयोग, ज्ञानयोग र भक्ति योग सिकाए। यस शिक्षाले देखाउँछ कि व्यक्तिगत विवेक, नैतिक निर्णय र आध्यात्मिक जागरण समाजमा सम्मान र स्थायित्वका लागि अपरिहार्य छन्। युद्धले अर्जुनको बाह्य स्थिति बदल्यो, तर उनको आन्तरिक अनुशासन, विवेक र कर्मयोगले उनलाई महान् व्यक्तित्व बनायो।
हिन्दू दर्शनमा सतो, रजो र तमो गुणको अवधारणा आत्म–साक्षात्कारको महत्वपूर्ण आधार हो। सतो गुणले मनलाई निर्मल, शान्त र विवेकी बनाउँछ। रजो गुण इच्छाशक्ति, क्रोध र मोहसँग सम्बन्धित छ। तमो गुण अज्ञानता, हिंसा र आलस्यको प्रतीक हो। जब व्यक्ति सतो गुणको विकासमा केन्द्रित हुन्छ, तब उसको निर्णय, व्यवहार र सम्बन्ध सबै सकारात्मक र सम्मानजनक हुन्छ। तमो गुणको अधीन व्यक्तिले मात्र भौतिक लाभ सोच्ने, क्रूरता देखाउने र समाजमा द्विविधा निम्त्याउने काम गर्छ। मिथकहरू, जस्तै राजा जनक र युधिष्ठिरका कथाहरू, यो सिद्धान्तलाई स्पष्ट गर्छन्—आत्म–साक्षात्कार र नैतिक अभ्यासले मात्र व्यक्तिको स्थायी सम्मान र समाजमा विश्वास कायम राख्छ।
आत्म–साक्षात्कारले सामाजिक सम्मानमा प्रभाव पार्छ। जब व्यक्ति आफ्नो आन्तरिक दोष, लोभ, मोह, क्रोध र अहंकारमाथि नियन्त्रण गर्छ, तब उसको व्यवहार समाजसँग सामञ्जस्यपूर्ण हुन्छ। उदाहरण स्वरूप, रामायणमा श्रीरामले वनवास र लङ्काकाण्डमा आफ्नो धर्म र न्यायको मार्ग छोडेनन्। उनले सामाजिक नियम र व्यक्तिगत कर्तव्यबीच सन्तुलन कायम राखे। यसले देखाउँछ कि आन्तरिक अनुशासन र आत्म–साक्षात्कारले मात्र समाजमा विश्वास र सम्मान जन्माउँछ।
आत्म–साक्षात्कार सामाजिक संरचना र नैतिक समाजको आधार हो। असली शक्ति, दौलत वा बाह्य प्रतिष्ठाले स्थायी सम्मान दिन सक्दैन। सत्य, नैतिकता, संयम, करुणा र धर्मसंगत कर्मले मात्र व्यक्ति समाजमा प्रतिष्ठित हुन्छ। आत्म–साक्षात्कारको अभ्यासले व्यक्तिको व्यवहारलाई समाजमैत्री, न्यायपरक र स्थायित्वयुक्त बनाउँछ।
बुद्धले दुःख, तृष्णा, कर्म र पुनर्जन्मको सम्बन्ध विश्लेषण गरे। चार आर्यसत्य र अष्टाङ्गिक मार्गले देखाउँछ कि जीवनको स्थायित्व र सम्मान केवल बाह्य साधनमा निर्भर छैन। व्यक्तिले आत्म–अनुशासन, विवेक र नैतिक निर्णयलाई जीवनमा लागू गर्दा मात्र सामाजिक सम्मान र व्यक्तिगत मानसिक शान्ति प्राप्त हुन्छ।
सफलता बाह्य वैभव र सामग्री सम्पन्नतामा निर्भर हुँदैन। दीर्घकालीन सफलता प्राप्त गर्न आन्तरिक विवेक, आत्म–साक्षात्कार र निर्णय क्षमताको विकास आवश्यक हुन्छ। आधुनिक समाजमा मानिसहरू प्रायः क्षणिक सन्तुष्टि र भौतिक आकर्षणको पछि लाग्छन्, तर ती साधनहरू दीर्घकालीन स्थायित्व र सन्तोष प्रदान गर्न असमर्थ हुन्छन्। वास्तविक सफलता भनेको आफ्नो मूल्य, क्षमताको पहिचान र विवेकपूर्ण निर्णयको संयोजनबाट प्राप्त हुन्छ।
आत्म–साक्षात्कारले व्यक्तिलाई आफ्ना शक्तिशाली पक्ष र कमजोरीहरूको ज्ञान दिन्छ। जब व्यक्ति आफ्ना उद्देश्य र सीमाहरूलाई स्पष्ट रूपमा बुझ्छ, तब उनी जीवनका चुनौतीहरू सामना गर्न सजिलो हुन्छ। उदाहरणका लागि, कुनै व्यवसायी वा विद्यार्थीले आफ्नो क्षमता अनुसार लक्ष्य निर्धारण गर्दा, उनी असफलताको डर कम गर्छन् र दीर्घकालीन दृष्टिकोणमा स्थिर रहन्छन्। आत्म–साक्षात्कारले लक्ष्य स्पष्टता मात्र होइन, भावनात्मक नियन्त्रण, समय व्यवस्थापन र प्राथमिकतामा स्पष्टता पनि प्रदान गर्दछ।
विवेकपूर्ण जीवनका विभिन्न विकल्प र परिस्थितिहरूमा तर्कसंगत निर्णय लिन सक्नु हो। उत्साह वा बाह्य प्रभावमा आधारित निर्णयहरू अस्थायी लाभ दिन सक्छन् तर दीर्घकालीन सफलता सुनिश्चित गर्दैनन्। विवेकपूर्ण मार्ग अपनाउँदा व्यक्ति आफ्नो दीर्घकालीन हित, समाजको भलाइ र नैतिक मूल्यहरूको समन्वयमा निर्णय लिन्छ। यसले न व्यक्तिगत जीवनमा सन्तोष ल्याउँछ, तर सामाजिक सम्बन्धमा स्थायित्व र भरोसा पनि बढाउँछ।
आत्म–साक्षात्कारले व्यक्तिलाई आफ्ना वास्तविक चाहना र आवश्यकताहरू बुझ्न सहयोग गर्छ भने विवेकपूर्ण मार्गले ती चाहना र आवश्यकतालाई यथार्थपरक र न्यायसंगत तरिकाले कार्यान्वयन गर्ने क्षमता दिन्छ। यसको परिणाम स्वरूप, व्यक्ति सफलता प्राप्त गर्दैन, तर आफ्नो जीवनमा सन्तुलन, शान्ति र सामाजिक उत्तरदायित्व पनि हासिल गर्छ।
आजको समय ‘प्रतिक्रिया’ प्रधान भएको युग हो। सामाजिक सञ्जालको प्रभाव, तिव्र सञ्चार प्रविधि र आत्मकेन्द्रित जीवनशैलीका कारण मानिसहरू सानो अपमान, आलोचना वा असहमतिको सामना गर्नासाथ तत्काल प्रतिक्रिया जनाउँछन्। कसैले केही कटु कुरा भन्यो भने झैँ त्यसको जवाफ तुरुन्तै दिइन्छ, कहिलेकाहीँ त आवश्यकता भन्दा बढी आक्रोशका साथ। आत्मसंयम, धैर्य र विवेक जस्ता गुणहरू क्रमशः ओझेलमा पर्दै गएका छन्।
यस प्रवृत्तिले समाजमा असहिष्णुता बढाएको छ। विचार विमर्शको सट्टा आरोप-प्रत्यारोपले स्थान लिएको छ। मानिस आजभोलि आफ्नो ‘ईगो’ अर्थात् अहंकारमा यति धेरै बाँधिएको छ कि सानो आलोचना वा असहमति पनि उसलाई आत्मसम्मानमाथिको आक्रमणजस्तै लाग्न थाल्छ। स्वाभाविक रूपमा, मानिसमा आत्मगौरव हुनु सकारात्मक कुरा हो, तर जब त्यो गौरव अहंकारमा परिणत हुन्छ, तब उसले यथार्थ बुझ्न सक्दैन। आलोचनालाई सुधारको अवसरको रूपमा होइन, आक्रोशको कारणको रूपमा लिन थालिन्छ। परिणामस्वरूप, सम्बन्ध बिग्रन्छ, संवाद अवरुद्ध हुन्छ र मानसिक तनाव बढ्छ।
जब ईगोले सोचलाई नियन्त्रण गर्छ, तब मानिस आफ्नो दृष्टिकोणलाई मात्र सत्य ठान्न थाल्छ। अरूको सुझाव, प्रतिक्रिया वा आलोचना सुन्नु उसलाई अपमानजनक लाग्छ। यस्तो अवस्थामा आत्ममूल्यांकन असम्भवजस्तै बन्छ। आध्यात्मिक दृष्टिले हेर्दा, यथार्थसँग सामञ्जस्य गर्न, विनम्रता आवश्यक हुन्छ। विनम्रता बिना न त सहिष्णुता जन्मन्छ, न त विवेक।
जीवनमा आलोचना आवश्यक छ — त्यो ऐना हो, जसले हाम्रो कमजोरी देखाउँछ। तर त्यो ऐनालाई तोड्ने होइन, चिन्नु र सुधार्नु आवश्यक हुन्छ। जब मानिसले आफ्नो ईगोको सीमा पार गर्न जान्छ, तब ऊ आलोचनालाई पनि आत्मविकासको साधन बनाउँछ। त्यसैले, साँचो आत्मसम्मान अहंकारमा होइन, आत्मबोध र आत्मनियन्त्रणमा आधारित हुन्छ। यही चेतनाले मानिसलाई मानसिक रूपमा समृद्ध र परिपक्व बनाउँछ।
tomnath [email protected]
प्रतिक्रिया