logo
  • २०८२ चैत्र ५ | Thu, 19 Mar 2026
  • श्रीमद्भगवत गीताको शिक्षाले व्यक्तित्व विकासमा मिल्ने सफलता

    श्रीमद्भगवत गीताको शिक्षाले व्यक्तित्व विकासमा मिल्ने सफलता

    श्रीमद्भगवत गीताको शिक्षाले व्यक्तित्व विकासमा मिल्ने सफलता

     

    तोमनाथ उप्रेती

    उपसचिव, नेपाल सरकार

    सोच नै व्यवहारको आधार हो भन्ने कुरा श्रीमद्भगवत गीताको मूल शिक्षामध्ये एक हो। व्यक्ति जस्तो सोच्दछ, ऊ उस्तै बन्छ। शुभ विचारले मन, बुद्धि र आत्मालाई शुद्ध बनाउँछ र व्यवहारमा शान्ति, सद्भाव र सहनशीलता प्रकट हुन्छ। नकारात्मक सोचले मोह, राग, द्वेष र अहंकार जन्माउँछ, जसले व्यक्ति पथभ्रष्ट बनाउँछ। श्रीकृष्णले गीतामा भनेजस्तै, जो व्यक्ति शुद्ध चिन्तन, निष्काम कर्म र समर्पण भावले जीवन जिउँछ, उसले मोक्ष प्राप्त गर्न सक्छ। शुभ चिन्तन आत्मिक उन्नतिको आधार हो, जसले आत्मज्ञानको प्रकाश फैलाउँछ र जीवनलाई दिव्य र पवित्र बनाउँछ। त्यसैले शुभ सोच नै मुक्ति प्राप्तिको मार्ग हो।

    श्रीमद्भगवद्गीता हिन्दू दर्शनको मेरुदण्ड मानिन्छ, जसले मानव जीवनका सबै पक्षमा प्रभाव पार्दछ। गीता धार्मिक ग्रन्थ मात्र होइन, यो एक जीवनशैली हो—जहाँ सदाचार, नैतिकता र सामाजिक जिम्मेवारीको समन्वय पाइन्छ। गीता जीवनका द्वन्द्व, दुःख–सुख, मोह–माया र कर्मका रहस्यहरू उजागर गरेर व्यक्तिलाई आत्मबोधको दिशामा अघि बढ्न प्रेरित गर्छ।

    श्रीमद्भगवत गीतामा भनिएको छ – “मनुष्य आफू जस्तो सोच्दछ, ऊ उस्तै बन्छ।” जसरी चित्तको वृत्ति हुन्छ, त्यसै अनुसार व्यक्ति आचरण गर्दछ। सकारात्मक सोचले सदाचार, आत्मबल र ज्ञानको मार्ग खोल्छ, भने नकारात्मक सोचले मोह, भय र अधर्मतिर डोर्याउँछ। श्रीकृष्णले अर्जुनलाई सन्देश दिनुहुन्छ कि मन स्थिर, शुद्ध र भगवानमा एकनिष्ठ भएमा मनुष्य दिव्य गन्तव्यतर्फ अग्रसर हुन्छ। आत्मा शुद्ध र अनन्त छ, तर मनको दास बनेर भ्रममा पर्छ। त्यसैले श्रीकृष्णले मन, बुद्धि र श्रद्धालाई शुद्ध बनाएर कर्ममा समर्पित हुन प्रेरित गर्नुभएको छ। सोच नै व्यवहारको आधार भएकाले शुभ चिन्तनले मुक्ति दिन्छ।

    गीतामा श्रीकृष्णले अर्जुनलाई कर्मयोग, भक्तियोग र ज्ञानयोगका माध्यमबाट जीवनमा सन्तुलन र उत्तरदायित्वको महत्व सिकाउँछन्। उनले हरेक व्यक्तिलाई आफ्नो कर्तव्य निष्ठापूर्वक गर्न, फलको आशा नगरी कर्ममा अडिग रहन आग्रह गरेका छन्। यही सन्देश आजको समाजका लागि अत्यन्त सान्दर्भिक छ—जहाँ नैतिक मूल्यहरू क्षीण हुँदै गइरहेका छन्।

    सामाजिक सुधारको दृष्टिकोणले गीता जात–पात, लोभ, घृणा, र हिंसाबाट मुक्त समाजको परिकल्पना गर्छ। यसले आन्तरिक शुद्धि र सार्वभौमिक प्रेमको भावनालाई जागृत गराउँछ। गीता अनुशासन, आत्मसंयम र आत्मविकासको शिक्षा दिन्छ, जसले व्यक्तिगत परिवर्तनमार्फत सामाजिक रूपान्तरण सम्भव बनाउँछ।

    श्रीमद्भगवत गीता हिन्दू धर्मको पवित्रतम ग्रन्थहरूमध्ये एक हो, जुन भिष्मपर्व अन्तर्गत महाभारतबाट लिइएको दार्शनिक ग्रन्थ हो। करिब ५००० वर्षअघि, कलियुगको प्रारम्भतिर कुरुक्षेत्रको युद्धभूमिमा, भगवान् श्रीकृष्णले अर्जुनलाई जीवन, धर्म, कर्तव्य र मोक्षको मार्गदर्शन स्वरूप यो दिव्य सन्देश दिएका थिए। यस ग्रन्थमा १८ अध्याय र ७०० पद्यात्मक संस्कृत श्लोकहरू छन्। भगवद्गीताले मानव जीवनमा धर्म, कर्म, ज्ञान, भक्ति र योगको समन्वयद्वारा आत्मशुद्धि र मोक्षप्राप्तिको मार्ग प्रस्तुत गर्दछ।

    गीताको प्रथम अध्याय अर्जुन विषादयोग हो, जहाँ अर्जुन आफ्नो स्वजनहरूसँग युद्ध गर्न नचाहँदा श्रीकृष्णले ज्ञान उपदेश दिन सुरु गर्नुहुन्छ। त्यसपछि क्रमशः कर्मयोग, भक्तियोग, र ज्ञानयोगका विविध आयामहरू प्रस्तुत गर्दै अन्ततः पूर्ण समर्पण र भगवानप्रतिको शरणागतिको भावमा गीताको निष्कर्ष प्रस्तुत हुन्छ।

    श्रीमद्भगवत गीता एकेश्वरवादको उत्कृष्ट प्रतीक हो। यसले आत्मा नाशरहित छ भनी पुष्टि गर्छ र शरीरलाई नाशवान् वस्तु ठान्दछ। आत्मा सदा अजर, अमर, अविनाशी र शुद्ध छ। यस ज्ञानले मोह, भय, लोभ जस्ता नकारात्मक वृत्तिहरूबाट मुक्ति दिलाउँछ। गीताले निष्काम कर्मको सिद्धान्त अघि सार्दछ — न त फलको आशामा, न त स्वार्थको वशमा कर्म गरिनुपर्छ, बरु केवल कर्तव्यको निष्ठाले कर्म गरिनुपर्छ।

    भगवद्गीता भन्छ– “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन” अर्थात् तिमीलाई केवल कर्म गर्ने अधिकार छ, फलमा होइन। यसले मानवलाई कर्मयोगको बाटोमा दृढ बनाउँछ। गीताको सार यही हो कि जीवनमा जे–जस्तो परिस्थिति आए तापनि धर्म र कर्तव्य पालन गर्नु नै मनुष्य धर्म हो। शुभ–अशुभको भाव नराखी, समता भावले सबैलाई भगवानको अंश ठान्दै सेवा गर्नु नै भक्ति हो।

    गीताले संसारको अनित्यतालाई स्पष्ट गर्दै साँचो आनन्दको स्रोत केवल परमात्मामा लीन भएर प्राप्त हुने बताउँछ। इन्द्रियजन्य सुख क्षणिक छन्, त्यसैले तिनमा आसक्ति नराखी परम आनन्दको खोज आत्मा र परमात्माको एकताको माध्यमबाट गरिनुपर्छ। यो अवस्था प्राप्त गर्न योग, आत्मसंयम, र ज्ञान आवश्यक छन्। योग भनेको केवल आसन मात्र होइन, मन, इन्द्रिय र चित्तको पूर्ण नियन्त्रण हो। योगी आफ्नो चित्तलाई स्थिर राखेर अनन्त परमात्मामा लीन हुने प्रयास गर्छ।

    श्रीमद्भगवत गीताको विशेषता भनेको यसले सबै वर्ग, जात, उमेर, र सामाजिक अवस्थाका मानिसहरूलाई समान रूपमा मार्गदर्शन गर्ने हो। यो केवल सनातन धर्मका लागि होइन, सम्पूर्ण मानवजातिको नै आध्यात्मिक शिक्षाशास्त्र हो। यसको ज्ञानले मानिसलाई जीवनको सत्य अर्थ बुझ्न मद्दत गर्छ। अर्जुन जस्तो वीर योद्धा पनि मोह, माया, संकोच र असमञ्जसमा परेका थिए, तर श्रीकृष्णको दिव्य उपदेशले उनलाई कर्तव्यमा दृढ बनायो।

    गीताको ज्ञान अनुसार आत्मा अविनाशी छ, त्यसैले जन्म, मरण, वृद्धावस्था आदि आत्माका लागि केवल परिवर्तनहरू मात्र हुन्। जस्तो मानिसले पुरानो लुगा त्यागेर नयाँ लुगा लगाउँछ, आत्मा पनि एक शरीर त्यागेर अर्को ग्रहण गर्छ। यसकारण मृत्युबाट डराउनु आवश्यक छैन। सत्य ज्ञान प्राप्त गर्न कर्म, भक्ति र ध्यानको समन्वय गर्नुपर्छ।

    श्रीमद्भगवत गीता भन्छ– मनुष्य आफू जस्तो सोच्दछ, ऊ उस्तै बन्छ। त्यसैले राम्रो सोच, असल कर्म, सत्य बोल्ने बानी र श्रद्धापूर्वक भक्ति गर्नुपर्छ। जीवनको प्रत्येक कर्म भगवानलाई अर्पण गरेर कर्म गर्नाले मानिस मुक्तिको बाटोमा अग्रसर हुन्छ। जब मनुष्य भगवानको शरणमा जान्छ, तब उनी समस्त पापहरूबाट मुक्त हुन्छ।

    गीताले बताएअनुसार: “सर्वधर्मान् परित्यज्य मामेकं शरणं व्रज” अर्थात् सबै धर्महरू छोडेर केवल मेरो शरणमा आऊ, म तिमीलाई सम्पूर्ण पापहरूबाट मुक्त पार्नेछु।

    श्रीमद्भगवत गीता एक धार्मिक ग्रन्थ नभई एक जीवनदर्शन हो — जसले मानिसलाई असल जीवन जिउन, सदाचार अपनाउन, कर्तव्यमा निष्ठावान रहन, र आध्यात्मिक मुक्तिको मार्ग पहिल्याउन प्रेरित गर्दछ। यो ग्रन्थले मानव आत्मालाई चेतनाको उच्चतम स्तरमा पुर्याउने सूत्र दिएको छ। यही कारणले गीता युग–युगसम्म सबैका लागि मार्गदर्शक बनिरहनेछ।

    श्रीमद्भागवत गीताले मानव जातीलाई उत्कृष्ट सन्देश प्रवाह गर्दै जीवन जिउन सहज बनाएको छ । किन व्यर्थ चिन्ता गर्छौ? कोदेखि व्यर्थै डराउदछौ? तिमीलाई कसले मार्छ? आत्मा न जन्म लिन्छ न मर्छ।जे भयो, त्यो राम्रो भयो। जे हुँदैछ, त्यो राम्रै हुँदैछ । जे हुनेछ, त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर , वर्तमान चलिरहेको छ ,तिम्रो के गएको छ र तिमी रुन्छौ? तिमीले के लिएर आएका थियौ र तिमीले के  हरायौ? तिमीले के पैदा गरेका थियौ र नाश भयो? तिमीले केही लिएर आएका थिएनौ। जे पायौ, यहीँबाट पायौ। जति दियौ, यहीं नै दियौ। खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आप्नो सम्झेर मग्न भैरहेका छौ। यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो।परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आप्नो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ। यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ भन्ने दिव्य सन्देशहरु गीताले सिकाएको छ ।

    कर्मयोग, भक्तियोग तथा ज्ञानका विभिन्न अवस्थाहरूलाई सार्वजनिक प्रशासकहरुले आत्मिकरण गर्नु पर्दछ ।मानव जातीले भौतिक सुखको धेरै चहाना गर्दछ।  कर्म गर्ने तर फलको आशा नगर्ने सोचले हामीहरु आप्mनो कर्मभूमिमा  अगाडि बढ्नु पर्दछ।  हामीले गर्ने प्रत्येक कार्यको साक्षी दृष्टा भगवान हुनुहुन्छ । त्यसैले असल काम गर लाभको लालसा र मोहमा नलाग, अनात्मरुपी भगवान प्राप्त गर्नका लागि आत्मारुपी देह त्याग र मोक्षको प्राप्ति सम्भव छ भन्ने कुरा भागवत गीताको दिव्य सन्देशलाई हामीले हरदम आत्मसाथ गर्नु पर्दछ ।  त्यसैले हामीले कम गर्दा फलको लोभ गर्ने नभई असल कर्ममा जोड दिनुपर्ने कुरामा भागवत गीताको दिव्य सन्देशले जोड दिन्छ ।भागवत गीतामा बताइएको कर्मयोग, भक्तियोग र ज्ञानयोगका सारगत कुराहरूलाई जीवनको उत्कृष्ट सन्देश मानी ग्रहण गर्नु पर्दछ ।

     (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन् । )

     

     

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ चैत्र ५, बिहीबार १९:०९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP