नैतिकताको प्रकाशमा उभिएको समाज
तोमनाथ उप्रेती
नैतिक समाज भन्नाले त्यस्तो समाजलाई जनाउँछ जसमा व्यक्तिहरूको आचरण, व्यवहार, र सम्बन्धहरू सत्य, ईमानदारी, सहिष्णुता, र मानव मूल्यमान्यतामा आधारित हुन्छन्। यस्तो समाजमा प्रत्येक सदस्यले आफ्नो व्यक्तिगत लाभ भन्दा बढी सामूहिक हित, सामाजिक न्याय र मानव कल्याणलाई प्राथमिकता दिन्छ। नैतिकता समाजको आधारस्तम्भ हो, जसले सामाजिक जीवनलाई सुव्यवस्थित, समृद्ध र स्थायी बनाउँछ। जब मानिसहरू आफ्नो आचरणमा नैतिक मान्यतालाई आत्मसात गर्छन्, तब हिंसा, ठगी, भ्रष्टाचार, भेदभाव र अन्य सामाजिक बुराइहरू घट्दछ। यसले समाजमा विश्वास, सद्भाव र सहयोगको वातावरण सिर्जना गर्छ।
नैतिक समाजले मानव जीवनका आधारभूत मूल्यहरू—सत्य, करुणा, दया, आदर, जिम्मेवारी, सहिष्णुता र कर्तव्यलाई प्रवर्द्धन गर्छ। यस्तो समाजमा बच्चाहरूलाई नैतिक शिक्षा दिइन्छ, युवाहरूलाई जिम्मेवार नागरिक बन्न प्रोत्साहित गरिन्छ, र बृद्ध व्यक्तिहरूको सम्मान गरिन्छ। प्रत्येक व्यक्तिले आफ्नो व्यक्तिगत स्वार्थसँगै सामाजिक हितलाई पनि महत्व दिन्छ भने समाजमा स्थायीत्व र समरसता कायम रहन्छ।
यस्ता समाजको जीवनशैलीमा पारस्परिक सहयोग, साझा उत्तरदायित्व र समान अवसरको महत्व उच्च हुन्छ। कानुन, नियम र प्रशासनिक प्रणाली मात्र समाजलाई व्यवस्थित राख्न पर्याप्त हुँदैन; व्यक्तिको आन्तरिक नैतिकता नै स्थायी समाज निर्माणमा निर्णायक भूमिका खेल्दछ। जब व्यक्ति नैतिक रूपमा सजग हुन्छन्, तब उनीहरू आफ्नै कार्यद्वारा समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्छन्।
नैतिक समाजको उज्यालोले अन्धकार र अनैतिकताबाट समाजलाई बचाउँछ। यसले भ्रष्टाचार, अत्याचार, अपवित्रता र अनैतिक प्रतिस्पर्धालाई कम गर्छ। यस्ता समाजमा मानिसहरू पारस्परिक सम्बन्धमा विश्वास र सम्मानको आधारमा जोडिन्छन्। शिक्षा, स्वास्थ्य, वातावरण र सामाजिक न्यायजस्ता क्षेत्रहरूमा पनि सुधार सम्भव हुन्छ। परिणामस्वरूप, यस्तो समाज दिगो विकास, सामाजिक शान्ति र मानव कल्याणतर्फ अग्रसर हुन्छ।
नैतिकताको प्रकाशमा उभिएको समाजका लागि हरेक नागरिकको आन्तरिक चेतना र मूल्य प्रणाली अत्यावश्यक छ। जब समाजका सदस्यहरूले सत्य, न्याय, दया, करुणा र सहिष्णुतालाई जीवनको मार्गदर्शक बनाउँछन्, तब समाजका सबै पक्षहरू उज्यालो र समृद्ध बनिरहेका हुन्छन्। यस्तो समाज मानवताका लागि आदर्श, प्रेरणादायी र स्थायी हुन्छ।
मानव समाजको विकास भौतिक समृद्धि, प्रविधिको प्रगति वा आर्थिक उन्नतिले मात्र मापन गर्न सकिँदैन । सभ्यताको वास्तविक मापदण्ड भनेको त्यस समाजको नैतिक स्तर हो । जहाँ सत्य, इमानदारी, करुणा, उत्तरदायित्व र अनुशासनको सम्मान हुन्छ, त्यही समाज वास्तवमै प्रगतिशील र सुसंस्कृत मानिन्छ । नैतिकता भनेको कुनै बाह्य दबाबबाट थोपरिएको नियम होइन; यो त मानव आत्माभित्रको चेतनाको आवाज हो, जसले सही र गलतको भिन्नता स्पष्ट गराउँछ ।
व्यक्ति–व्यक्ति बीचको विश्वास, संस्थाहरूको विश्वसनीयता र शासन व्यवस्थाको पारदर्शिता नैतिकताबाटै सुदृढ हुन्छन् । यदि व्यक्तिको चरित्र कमजोर भयो भने संस्थागत संरचना बलियो हुँदाहुँदै पनि समाज विघटनतर्फ उन्मुख हुन सक्छ । त्यसैले समाजको मेरुदण्ड भनेकै व्यक्तिको नैतिक चेतना हो ।
वर्तमान विश्वमा तीव्र प्रतिस्पर्धा, भौतिकवाद र व्यक्तिगत स्वार्थको बढ्दो प्रभावले नैतिक संकट सिर्जना गरिरहेको देखिन्छ । आर्थिक लाभका लागि अनैतिक कार्य, सामाजिक सम्बन्धमा असहिष्णुता र सार्वजनिक जीवनमा उत्तरदायित्वहीनता बढ्दै जानु यसका उदाहरण हुन् । यस्तो अवस्थामा नैतिकताको प्रकाश झन् आवश्यक हुन्छ, जसले अन्धकारमय प्रवृत्तिहरूलाई नियन्त्रण गर्दै समाजलाई सन्तुलन र सद्भावको मार्गमा अघि बढाउँछ ।
नैतिकताले सामाजिक संरचना, शैक्षिक प्रणाली, प्रशासनिक अभ्यास र राजनीतिक संस्कारलाई पनि मार्गदर्शन गर्छ । जब शिक्षाले चरित्र निर्माणलाई प्राथमिकता दिन्छ, शासनले पारदर्शिता अपनाउँछ र नागरिकले कर्तव्यबोधका साथ व्यवहार गर्छन्, तब नैतिकताको आधारमा उभिएको समाजको निर्माण सम्भव हुन्छ ।
नैतिकता र सदाचार कुनै एक व्यक्तिको निजी गुण मात्र होइनन्, यी सभ्य समाजका आधारस्तम्भ हुन्। जसरी मेरुदण्ड बिना मानव शरीर सीधा उभिन सक्दैन, त्यसरी नै नैतिकता र सदाचार बिना समाज दीर्घकालीन रूपमा टिक्न सक्दैन। नैतिकताले सही र गलतको विवेक दिन्छ भने सदाचारले त्यस विवेकलाई व्यवहारमा उतार्ने शक्ति प्रदान गर्छ।
सभ्य समाजमा नागरिकको आचरण, सोच र कर्म नै सामाजिक सम्बन्धको गुणस्तर निर्धारण गर्ने मुख्य तत्व हुन्। जब व्यक्ति सत्य, इमान, न्याय र करुणामा आधारित जीवनशैली अपनाउँछ, तब समाजमा विश्वास, सहकार्य र सद्भाव स्वतः विकसित हुन्छ। यसको विपरीत, नैतिक पतन हुँदा स्वार्थ, लोभ र हिंसाले समाजलाई कमजोर बनाउँछ, जसले अस्थिरता र अविश्वास जन्माउँछ।
नैतिकता र सदाचारले शासन प्रणालीलाई पनि मार्गदर्शन गर्छ। सदाचारी नेतृत्वले जनविश्वास कायम राख्छ र राज्यलाई सुशासनतर्फ डोर्याउँछ। शिक्षा, परिवार र संस्कारमार्फत नैतिक मूल्यको विकास हुँदा भावी पुस्ता जिम्मेवार र सचेत नागरिक बन्छन्।नैतिकता जीवनमा कसरी बाँच्ने, अरूसँग कसरी व्यवहार गर्ने, कस्तो निर्णय लिने भन्नेमा मार्गदर्शन गर्ने आधार हो। हामी दैनिक जीवनमा अनेक विकल्प र चुनौतीहरूसँग सामना गर्छौं। यी परिस्थितिहरूमा कसरी निर्णय गरिन्छ भन्ने कुरा नैतिकताले निर्धारण गर्छ। सत्य बोल्ने, इमानदार रहने, सहनशील र सहानुभूति राख्ने जस्ता व्यवहारहरू नैतिकताको व्यवहारिक रूप हुन्।
सैद्धान्तिक रूपमा सही लाग्ने कुरा व्यवहारमा लागू नगर्ने हो भने त्यसको कुनै अर्थ हुँदैन। उदाहरणका लागि, कसैले इमानदारीको व्याख्या त गर्छ तर व्यवहारमा घुस लिन्छ भने त्यो व्यक्ति नैतिक मानिँदैन। यसैले नैतिकता भन्नाले आत्मअनुशासन, विवेक, र जिम्मेवारीयुक्त आचरणको अभ्यास हो।
आजको समाजमा भ्रष्टाचार, भेदभाव, असहिष्णुता र अन्य सामाजिक विकृतिहरूको मुख्य कारण नै नैतिकताको कमी हो। जब व्यक्तिले विवेक र नैतिक मूल्यअनुसार व्यवहार गर्छ, तब मात्र समाजमा शान्ति, समावेशिता र समरसता सम्भव हुन्छ। सार्वजनिक सेवा, राजनीति, प्रशासन, शिक्षा वा कुनै पनि क्षेत्र होस्, त्यहाँ नैतिक दृष्टिकोणको अभावले गलत अभ्यासहरू जन्माउँछ। नैतिकताको व्यवहारिकता आत्म–नियन्त्रण, सेवा भाव, पारदर्शिता, निष्पक्षता र सत्यनिष्ठामा आधारित जीवन हो। जसले न आफूलाई मात्र अगाडि बढाउँछ, बरु समाजलाई पनि सकारात्मक दिशा दिन्छ।
नैतिकता आत्मिक बोध, विवेक र व्यवहारिक जीवनशैलीको समुच्चय हो। नैतिक दृष्टिकोणले जीवनमा स्थिरता, सम्मान, र दीगो शान्तिको आधार तयार गर्छ। त्यसैले हामीले नैतिकतालाई जीवनमा व्यवहारिक रूपमा आत्मसात गर्नु नै सच्चो अर्थमा नैतिक बन्ने बाटो हो।
आजको भौतिकवादी र प्रतिस्पर्धात्मक युगमा जहाँ लोभ, अहंकार र स्वार्थले मानवीय सम्बन्धलाई प्रभावित बनाएको छ, त्यहाँ विवेकपूर्ण सचेतना आवश्यक र अपरिहार्य बनिरहेको छ। यसले मात्र व्यक्ति र संस्थालाई गलत बाटोबाट जोगाउन सक्छ र नैतिक मूल्यमा आधारित जीवनशैली विकास गर्न प्रेरित गर्छ।
शिक्षा, धर्म, संस्कार र सामाजिक चेतनाका माध्यमबाट विवेकशील नागरिक तयार पार्न सकिन्छ। जब व्यक्तिहरू विवेक र नैतिकताको आधारमा व्यवहार गर्छन्, समाजमा भ्रष्टाचार, हिंसा, भेदभाव र अन्य सामाजिक विकृतिहरू घट्दै जान्छन्।यसरी हेर्दा विवेकपूर्ण सचेतना नै एक सशक्त, नैतिक र सभ्य समाज निर्माणको आधारस्तम्भ हो, जसले दीगो विकास र सामाजिक समरसता सुनिश्चित गर्न सक्दछ।
सदाचार नैतिक सिद्धान्तहरूको समष्टि हो जसले व्यक्तिको व्यवहार , क्रियाकलाप वा चालचलनको सञ्चालन तथा निर्देशन गर्दछ । प्रशासकीय कार्यलाई प्रभावकारी तथा दक्षतापूर्वक सम्पन्न गर्न दिशा निर्देश गर्ने मूल्य, मान्यता, नियम, कानुनको समष्टि प्रशासकीय आचरण हो । सर्वप्रथम प्रशियामा प्रशासकीय आचरण सम्बन्धी अवधारणाको विकास भएको पाइन्छ। सदाचार र नैतिकता हरेक मानिसले पालना गर्नुपर्ने असल व्यवहार वा आचरण हो ।
सदाचारका मान्यताका रूपमा वैधानिकता, सेवाभाव, निष्पक्षता, स्वच्छता, स्वार्थहीनता, इमानदारिता र सदाचारिता राख्न खोजिएको थियो । यी विषय कार्यान्वयन हुँदा समाज नै सभ्य हुने हो, प्रत्येक प्रत्येकप्रति जवाफदेही हुने हुन्, तर पनि आदर्श आचारसंहितामा सहमति बन्न सकेन । आचरणगत पक्षले सार्वजनिक पदाधिकारी तथा संस्थालाई आदर्श अवस्थामा पुर्याउन मद्दत गर्छन् । त्यसैले संस्थाका मूल्य घोषणा गर्ने र ती मूल्यअनुरूपका पदाधिकारीका आचरण व्यवस्थित गर्न नीति, नियम र आचारसंहिता लागू गर्ने, जिम्मेवारी वहन गर्दा निष्ठाको शपथ लिनेजस्ता कार्यहरू गरिन्छन् ।
नैतिकतो सुविचार, असल वा उत्तम आचरण, असल व्यवहार, स्वच्छता, निष्पक्षता, इमानदारी एवं सकारात्मक सोच हो । नैतिक मूल्यमान्यता, आदर्श र सिद्धान्त विपरीत गरिने नकारात्मक व्यवहार भ्रष्टाचार हो । पतित आचरण, दूषित मर्यादा, नियम, कानुन विपरीत नैतिक पतन हुने काम गरी घुस खाई पक्षपातपूर्ण व्यवहार भ्रष्टाचार हो। नैतिकता र उच्च इमानदारी देखाउनुपर्ने पदाधिकारीमाथि बारम्बार नैतिक आचरणका प्रश्न ठडिएका छन् । यस अवस्थामा सार्वजनिक प्रशासनमा नैतिक आचरणलाई संस्थागत गर्नुको विकल्प छैन । नीति, नियम र व्यवहारप्रति उच्चसतर्क रही गरिने उदाहरणीय चरित्र नैतिकता हो । नीति मार्ग अवलम्बन गरी लाभकारी हुनु नैतिकता हो ।
आचरण कुनै पनि व्यक्तिको दैनिक गतिविधिहरू र क्रियाकलापमा लागू हुने मूल्य, मान्यता, र नैतिकताको समष्टि हो। यसले के ठीक छ र के गलत भन्ने कुरा निर्देशन गर्दछ। प्रशासकीय आचरण भनेको प्रशासकीय कार्यलाई प्रभावकारी रूपमा गर्नका लागि अवलम्बन गरिने मूल्य, नियम र कानुन हो। नैतिक आचरण जीवनको महत्वपूर्ण पक्ष हो, जसले मानिसलाई उच्च मूल्यांकनको अवसर दिन्छ। नैतिक आचरणको अभ्यासले सकारात्मक चिन्तन र कर्ममा विश्वास बढाउँछ र मनको स्थिरता राख्न मद्दत गर्छ।
नैतिकता र आचरणमा सहनशीलता र धैर्यको अभ्यास गर्नु पर्छ, ताकि कलुषित विचारलाई हटाउन सकियोस। मनका इच्छा र कर्मलाई पवित्रतासँगै समायोजन गरेर सकारात्मक आचरण प्रदर्शन गर्नु महत्त्वपूर्ण छ। नैतिकता मानवको आचरणको मूल्यांकनको आधार बनाउँछ र यसले मानिसलाई आत्म–संयम र जिम्मेवारीको पाठ सिकाउँछ। समाजमा सकारात्मक परिवर्तन् ल्याउने सोच र चिन्तनले नैतिक आचरणलाई बलियो बनाउन मद्दत गर्छ।
सदाचार र नैतिक संस्कृति विकास गर्न पदाधिकारीको कार्यजिम्मेवारी स्पष्ट पार्ने, कार्यसम्पादन सूचक निर्धारण गर्ने, सेवा बडापत्र लागू गर्ने, नागरिक सहभागिता र दबाब प्रणालीलाई सशक्त बनाउने जस्ता उपायहरू अपनाइन्छन्। नागरिक चेतना, लोकतन्त्रको विकास र प्रविधिको प्रयोगले पनि सार्वजनिक प्रशासनलाई नैतिक र सदाचारी बनाउन सहयोग पुर्याएको छ।
सार्वजनिक सेवा वितरणमा नैतिकता र सदाचारयुक्त नेतृत्वले महत्वपूर्ण भूमिका खेल्छ। यसले कर्मचारीमा आत्मनियन्त्रण र उत्प्रेरणा बढाउँछ, ढिलासुस्ती, भ्रष्टाचार, र अधिकार दुरुपयोग जस्ता समस्यालाई निरुत्साहित गर्छ। यस्तो नेतृत्वले सेवा निष्पक्ष, छरितो र प्रभावकारी बनाउँछ। गोपनीयता, विश्वसनीयता र विकास निर्माणको कार्यमा समेत नैतिक आचरण अति आवश्यक हुन्छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख हुन्।)
प्रतिक्रिया