logo
  • २०८२ चैत्र २६ | Thu, 09 Apr 2026
  • सीमाः महिला चेतना, नारी मनेविज्ञान र प्रेमको दार्शनिक आयाम

    सीमाः महिला चेतना, नारी मनेविज्ञान र प्रेमको दार्शनिक आयाम

     सीमाः महिला चेतना, नारी मनेविज्ञान र प्रेमको दार्शनिक आयाम

     

    तोमनाथ उप्रेती

     

    (१) बिषय प्रवेश

    ‘सीमा’ नाटक समकालीन नेपाली नाटककार अर्जुन नेपालको सशक्त कृति हो। खोटाङको हाँचुरमा जन्मिएका र मोरङको बुढीगङ्गा–१ स्थायी ठेगाना भएका लेखक नाटक विधाका सशक्त सर्जक हुन्।यो कृति पुर्वाञ्चल साहित्य प्रतिष्ठान, विराटनगरबाट २०८२ साल चैत्र २१ मा प्रकाशित भएको हो। नाटकमा प्रेम, मानवता र सामाजिक असमानताको विषयलाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। विशेषतः महिला स्वतन्त्रता र स्वनिर्णयको अधिकारलाई केन्द्रमा राख्दै यसले आधुनिक समाजको यथार्थ चित्रण गर्दछ ।

    ‘सीमा’ समकालीन नेपाली नाट्य साहित्यमा एक सशक्त हस्तक्षेप हो। खोटाङको हाँचुरबाट उदाएको सर्जकले मोरङको बुढीगङ्गामा बसेर समाजको बदलिँदो मनोविज्ञानलाई नाट्य भाषामा अनुवाद गरेका छन्। यो नाटक समयको दस्तावेज हो। सात दृश्यहरूमा विभाजित संरचनाले जीवनका सात तहहरू उघार्छ। प्रत्येक दृश्य एउटा दर्पण हो। प्रत्येक संवाद एउटा प्रश्न हो।

     (२) कथावस्तु :

    ‘सीमा’ मूलतः त्रिकोणात्मक प्रेमकथामा आधारित छ, जहाँ सीमा, सञ्जय र सुवासबीचको भावनात्मक द्वन्द्वले कथा अगाडि बढ्छ। प्रेम यहाँ सरल रेखा होइन यो वृत्त हो। घुमिरहन्छ। फर्किरहन्छ। अन्ततः आफ्नै केन्द्रमा ठोक्किएर आत्मालाई घाइते बनाउँछ। सीमाको मन दुई ध्रुवबीच अड्किएको छ सञ्जयको वैभव र सुवासको संवेदनामा। एकातिर भौतिक आकर्षण, अर्कोतिर आत्मिक स्पर्श। यही द्वन्द्व नै नाटकको प्राण हो।

    ‘सीमा’ नाटकको द्वन्द्वलाई वैश्विक नाट्य परम्परासँग तुलना गर्दा, विलियम शेक्सपियरका कृतिहरूमा देखिने प्रेमको त्रासदीसँग साम्य देखिन्छ। ‘रोमियो एण्ड जुलियटमा प्रेम सामाजिक संरचना, परिवारको वैमनस्य र बाह्य दबाबसँग ठोक्किन्छ। पात्रहरू आफ्नो प्रेमलाई बचाउन संघर्ष गर्छन्, तर सामाजिक नियम र नियतिले उनीहरूलाई विनाशतर्फ धकेल्छ।

    त्यस्तै, ‘सीमा’ मा प्रेम बाह्य दबाब भन्दा निर्णयहीनता, मोह, आकर्षण र जिम्मेवारीबीचको संघर्ष जस्ता आन्तरिक द्वन्द्वसँग ठोक्किन्छ। सीमा दुई प्रेमीबीच फस्छिन्, तर अन्ततः आफ्नो अस्तित्व र स्वतन्त्रताको बाटो रोज्छिन्।

    दार्शनिक दृष्टिले, दुबै नाटकले प्रेम भावना मात्र होइन, निर्णय, जिम्मेवारी र मानव अस्तित्वसँग गहन सम्बन्धित छ भन्ने देखाउँछ। प्रेमले पीडा, द्वन्द्व र रूपान्तरण जन्माउँछ, जसबाट पात्र र दर्शक दुवै चेतना र आत्म–ज्ञानको अनुभव गर्छन्।

    त्यस्तै, हेनरिक इब्सेनका नाटकहरूमा पात्रहरूको आत्मसंघर्ष प्रमुख हुन्छ सीमामा पनि सीमाको अन्तर्द्वन्द्व नै कथाको मूल शक्ति बनेको छ। उनको निर्णयहीनता, प्रेम र सामाजिक दबाबबीचको द्वन्द्वले नाटकलाई दार्शनिक र भावनात्मक आयाम प्रदान गरेको छ।

    दार्शनिक दृष्टिले हेर्दा, अरस्तुको क्याथार्सिस(भावनात्मक शुद्धीकरण / मनको शुद्धि) सिद्धान्त ‘सीमा’ नाटकमा सजीव हुन्छ। प्रेमको मोह, आन्तरिक द्वन्द्व र पीडाबाट पात्रले गुज्रिएपछि अन्ततः आत्मशुद्धि र चेतना प्राप्त गर्छ। यस प्रक्रियाले दर्शकलाई पनि भावनात्मक शुद्धि र आत्म–प्रतिबिम्बको अनुभव गराउँछ।

    (३) पात्रचित्रण : मनोविज्ञानको सूक्ष्म चित्र

    ‘सीमा’ एक चेतना हुन्। उनी द्वन्द्वको प्रतीक हुन्। निर्णयहीनताको प्रतिरूप हुन्। सीमाले प्रेम, सामाजिक दबाब र आन्तरिक मोहबीच निरन्तर संघर्ष गर्छिन्। उनका निर्णयहरू जीवनको मार्गनिर्देशन गर्ने शक्तिशाली संकेत हुन्।

    यो चरित्र निर्माण विश्व नाट्य परम्परासँग साम्य राख्छ। विलियम शेक्सपियरका त्रासदीका नायक–नायिकाहरू जस्तै, ह्याम्लेट वा म्याकबेथ जस्तै सीमा पनि निर्णय र अनिर्णयबीच फस्छिन्। ह्याम्लेट जस्तै उनी पनि आफ्ना भित्री द्वन्द्व र संकल्पहीनताका कारण घटनाहरूको गति र परिणाममा प्रभाव पार्छिन्।

    सीमाको आन्तरिक द्वन्द्वले बाह्य नियति निर्धारण गर्छ जसले नाटकलाई दार्शनिक विमर्श बनाउँछ। प्रेम, मोह, सामाजिक संरचना र आत्म–ज्ञानबीचको यो अन्तर्सम्बन्धले सीमालाई नेपाली नाट्य जगतमा अद्वितीय र सशक्त बनाएको छ।

    सञ्जय आधुनिकताको प्रतिनिधि हुन्। धन, शक्ति र स्वामित्वको अहंकार उनका प्रमुख विशेषताहरू हुन्। उनी प्रेमलाई अधिकार ठान्छन्। मान्छे मात्र होइन, सम्बन्ध पनि आफ्नो स्वामित्वमा रहेको अनुभव गर्छन्। यस दृष्टिले उनी व्यक्तिवादी र वर्गीय मानसिकताको प्रतिक हुन्।

    उनको चरित्र जर्ज बर्नार्ड शॉका नाटकहरूमा देखिने सामाजिक वर्गीय घमण्डसँग मेल खान्छ। शॉका पात्रहरूले समाजको असमानता, शक्तिको गलत प्रयोग र वर्गीय मतभेद मार्फत प्रेम र सम्बन्धको मूल्यांकन गर्छन्। सञ्जय पनि यस्तै प्रवृत्तिको प्रतिनिधि बनेका छन्।

    धन र शक्ति मात्र व्यक्तित्वको मूल्य होइन। प्रेममा स्वामित्व र अधिकारको भ्रमले द्वन्द्व जन्माउँछ। प्रेम स्वतन्त्रता, समझदारी र आत्मीयता आधारित हुनुपर्छ, तर सञ्जयको दृष्टिकोणले सम्बन्धमा दबाब, मोह र असमानताको गहन प्रभाव देखाउँछ। यसले नाटकमा सामाजिक चेतना र प्रेमको दार्शनिक विमर्शलाई अझ गहन बनाउँछ।

    सुवास पूर्णतः भिन्न पात्र हुन्। उनी कवि हुन्। संवेदना हुन्। उनका शब्द र भावनाले जीवनको गहन आयामलाई उजागर गर्छ। प्रेम र आत्मीयता यहाँ आकर्षण होइन अनुभूति र चेतनाको माध्यम बनेका छन्।

    यो चरित्र निर्माण रवीन्द्रनाथ ठाकुरका कृतिहरूमा देखिने आध्यात्मिक प्रेमी झैँ लाग्छ। ठाकुरका पात्रहरू जस्तै, सुवास पनि शब्दमै बाँच्छन्। अनुभवमै हराउँछन्। उनी प्रेमलाई भौतिकता वा स्वामित्वको दृष्टिले हेर्दैनन्। उनी प्रेमको शुद्धता, संवेदना र आत्मिक आयाममा जीवन बिताउँछन्।

    दार्शनिक दृष्टिले, सुवासको चरित्रले सच्चा प्रेम मोह होइन, चेतना, अनुभव र आत्म–खोजको प्रक्रिया हो भन्ने देखाउँछ। सीमासँगको द्वन्द्व र संवेदनाले नाटकमा भावनात्मक गहिराइ र दार्शनिक आयाम थपेको छ।

    सरिता नाटकमा मौन साक्षीको भूमिका निर्वाह गर्छिन्। उनी कथाको सक्रिय पात्र नभए पनि घटनाहरूको अवलोकन र विश्लेषण मार्फत पाठक र दर्शकलाई कथा बुझ्ने माध्यम बनिन्। उनको मौनता गहन समझदारी र अन्तर्दृष्टिको प्रतीक हो।

    यस दृष्टिले, सरिता इब्सेनका यथार्थवादी नाटकहरूमा देखिने मौन दर्शक/निःशब्द पर्यवेक्षक पात्रसँग मेल खान्छ। इब्सेनका नाटकमा यस्तो पात्रले नै सामाजिक यथार्थ, द्वन्द्व र पात्रहरूको आन्तरिक संघर्षलाई प्रष्ट बनाउँछ। सरिता पनि सीमाको प्रेम, द्वन्द्व र निर्णयको प्रक्रियामा मौन रूपमा उपस्थित रहँदै कथाको दार्शनिक आयाम उजागर गर्छिन्।

    दार्शनिक दृष्टिले, सरिताले दर्शकको आँखाको भूमिका खेल्छिन्। उनी समाज, प्रेम र नैतिकता सम्बन्धी अन्तर्दृष्टि दिन्छिन्। उनका दृष्टान्तले नाटकलाई केवल प्रेमकथा नभई गहन सामाजिक र भावनात्मक विमर्श बनाउँछ।

    नेपाली सन्दर्भमा, दिलबहादुरको चरित्र बौद्धिकताको प्रतीक हो। उनले नाटकमा विचारको मार्गनिर्देशन गर्छन् र पात्रहरूको भावनात्मक तथा नैतिक द्वन्द्वमा स्पष्टता ल्याउँछन्। यस दृष्टिले उनी बालकृष्ण समका नाटकमा देखिने विद्वान पात्रहरू जस्तै छन्, जसले कथा मात्र अघि बढाउँदैनन्, सामाजिक र दार्शनिक विमर्शलाई पनि उजागर गर्छन्।

    त्यस्तै, शक्तिकुमार राजनीति र सामाजिक संरचनाको प्रतिनिधि हुन्। उनी समाजको वास्तविकता, शक्ति र जिम्मेवारीसँग सम्बन्धित निर्णयमा सक्रिय छन्। दिलबहादुर र शक्तिकुमार दुवै नाटकलाई व्यक्तिगत प्रेमकथामा सीमित नराखी, सामाजिक, बौद्धिक र दार्शनिक विमर्शको माध्यम बनाउँछन्। उनीहरूको उपस्थितिले ‘सीमा’ लाई नेपाली नाट्य परम्परामा शैक्षिक र चेतनाप्रद नाटकको दर्जा दिलाएको छ।

    (४) संवाद र शैली :

    नाटकको सबैभन्दा सुन्दर पक्ष यसको शैली हो। यसमा पद्य र गद्य, कविता र यथार्थको मिश्रण छ। यही संयोजनले पात्र र कथा दुवैलाई अनुभूतिको स्तरमा पुर्याउँछ। दृश्य मात्र होइन, भित्री अनुभवको अनुभव गराउँछ। उदाहरणका लागि, सुवासका संवादहरू कविता जस्ता बग्ने नदी हुन्। उनी बोल्दैनन्, बग्छन्। प्रत्येक शब्दमा संवेदना छ। प्रत्येक वाक्यमा संगीत छ। उनका अभिव्यक्तिहरूले भावनालाई छुन सक्छन्, तर तर्कलाई बाध्य पार्दैनन्। यसले नाटकलाई भावनात्मक गहिराइ दिन्छ।

    त्यसैगरी, सीमाका संवादहरू द्वन्द्वका प्रतीक हुन्। फुट्ने ऐना जस्तै, प्रत्येक वाक्य टुक्रिएको छ। प्रत्येक भाव अस्थिर छ। सीमामा रहेको असमञ्जस, निर्णयहीनता र पीडा भाषामै प्रतिध्वनित हुन्छ। यसले पाठकलाई पात्रको मानसिक स्थिति प्रत्यक्ष अनुभव गराउँछ, केवल देखाउँदैन।

    संवादका छोटो वाक्यमा गहिरो अर्थ छ। अनावश्यक शब्द छैनन्। कृत्रिमता छैन, सच्चा भावनाको अभिव्यक्ति छ। प्रत्येक शब्दले अर्थ बोकेको छ। यसले पाठकलाई सक्रिय सोचमा लगाउँछ। यस शैलीले नाटकलाई दृश्यभन्दा माथि पुर्याउँछ। पाठक पात्रका निर्णय, भावनात्मक उतार-चढाव, सामाजिक दबाब र आन्तरिक द्वन्द्व सबै भित्रै महसुस गर्छ। सादा शब्दमा गहन अर्थ, सरल अभिव्यक्तिमा तीव्र प्रभाव—यही नै नाटकको वास्तविक शक्ति हो।

    छोटो वाक्य, सादा भाषा, गहन अर्थ यी तीनैको संगमले नाटकलाई पाठकसँग प्रत्यक्ष संवेदनशील बनाउँछ, जसले अनुभव मात्र होइन, चिन्तन र आत्मअन्वेषण पनि उत्पन्न गराउँछ।

     (५) प्रेमको दार्शनिक आयाम :

    प्रेम यहाँ भावना होइन। यो अस्तित्वको प्रश्न हो।“के प्रेम चयन हो? कि नियति?”—यही प्रश्न ‘सीमा’ को केन्द्रमा धड्किरहेको छ। सीमाले दुई जनालाई प्रेम गर्ने प्रयास गर्छिन्। परिणाम—दुवै गुमाउँछिन्। यसले देखाउँछ, प्रेम सम्भावना होइन, यो उत्तरदायित्व हो। प्रेमको प्रत्येक निर्णयले जीवनको दिशा निर्धारण गर्छ।

    यो दार्शनिक द्वन्द्वलाई विश्व नाट्य परम्परासँग तुलना गर्दा, शेक्सपियरका त्रासदीहरू स्मरणीय हुन्छन्। रोमियो एन्ड जुलियटमा प्रेम सामाजिक अवरोध, परिवारको वैमनस्य र सामाजिक नियमसँग जुध्छ र अन्ततः मृत्युमा परिणत हुन्छ। त्यहाँ प्रेम अपरिहार्य, अपरिवर्तनीय नियति हो। पात्रहरू आफैँले नियन्त्रण गर्न सक्दैनन्। जीवनको परिणाम बाह्य शक्तिहरूले निर्धारण गर्छन्।

    तर सीमामा प्रेम आन्तरिक निर्णयसँग जुध्छ। सीमा आफ्ना भावनाहरू, मोह र विवेकबीच फस्छिन्। नियति बाह्य होइन यो भित्री मन, निर्णय र जिम्मेवारीमा छ। प्रेमको सफल वा असफल परिणाम उनका आफ्नै विकल्प र आन्तरिक संघर्षबाट आउँछ।

    दार्शनिक दृष्टिले, शेक्सपियरमा नियति बाह्य हुन्छ भने सीमामा नियति भित्री हुन्छ। यसले प्रेम, स्वतन्त्रता र व्यक्तिगत जिम्मेवारीबीचको गहन द्वन्द्व उजागर गर्छ, जसले नाटकलाई भावनात्मक नभई दार्शनिक विमर्श बनाउँछ।

    त्यस्तै, इब्सेनका नाटकहरूमा पात्रहरूले आफ्नै छनोटको परिणाम भोग्छन्। ए डल्स हाउस मा नोराले पारिवारिक र सामाजिक दबाबको सामना गर्दै स्वतन्त्रताको निर्णय लिन्छिन्। उनको निर्णय व्यक्तिगत अधिकारको लागि होइन समाज र नैतिकतासँगको द्वन्द्वको परिणाम हो।

    सीमा मा पनि यस्तै दृष्टान्त देखिन्छ। सीमा दुई प्रेमीबीचको द्वन्द्व, मोह र निर्णयहीनता सामना गर्छिन्। प्रेममा असफलता भोगेपछि उनी बाह्य दबाब र आन्तरिक मोहभन्दा माथि उठेर आत्मसंयम र आत्मपहिचानको बाटो रोज्छिन्।

    दार्शनिक दृष्टिले, दुवै नाटकले प्रेम मात्र जीवनको उद्देश्य होइन स्वतन्त्रता, चेतना र आत्म–ज्ञान मानव अस्तित्वका प्रधान आयाम हुन् भन्ने स्पष्ट देखाउँछन्। पात्रहरूले प्रेममा हार भोगे पनि आफ्नै मूल्य र अस्तित्वलाई बचाउँछन्। यसले दर्शक र पाठकलाई आत्म–विमर्श र जीवन मूल्यको गहन अनुभव गराउँछ।

    दार्शनिक दृष्टिले, जाँ–पोल सार्त्रेको अस्तित्ववादसँग ‘सीमा’ को सम्बन्ध स्पष्ट देखिन्छ। सार्त्रे भन्छन् मानिस स्वतन्त्र छ, तर आफ्ना निर्णयको पूर्ण जिम्मेवारी लिनुपर्छ। यस सिद्धान्तअनुसार, मानव जीवन विकल्पहरूको श्रृंखला मात्र हो, जसले नै उसको अस्तित्व निर्माण गर्छ।

    सीमामा प्रेम यही स्वतन्त्रता र जिम्मेवारीबीचको तनाव हो। सीमा सञ्जय र सुवासका दुई प्रेमीबीच फस्छिन्। उनको हृदयले स्वतन्त्रता खोज्छ, तर निर्णयको परिणामको भार तिर्नुपर्छ। प्रेमले आनन्द मात्र प्रदान गर्दैन। यो पीडा पनि हो। प्राप्ति मात्र होइन। गुमाउने प्रक्रिया पनि प्रेमको अनिवार्य अंग हो।

    यस दृष्टिले, प्रेम भावनात्मक अनुभव मात्र होइन, जीवनको दार्शनिक अभ्यास हो। प्रेमले पात्रलाई रूपान्तरण गर्छ। चेतना र आत्म–ज्ञानमा पुर्याउँछ।  प्रेमले मुक्ति दिन्छ तर त्यो मुक्ति सधैं पीडाको बाटो हुँदै आउँछ।

     (६) अरस्तुको त्रासदी सिद्धान्तसँग तुलना

    अरस्तुले त्रासदीको मूल उद्देश्य भावनात्मक शुद्धीकरण बताएका थिए। ‘सीमा’ यही दार्शनिक आधारमा उभिएको देखिन्छ। यहाँ त्रासदी बाह्य दुर्घटनाबाट होइन, आन्तरिक त्रुटिबाट जन्मिन्छ।

    सीमाको दोष निर्णयको कमजोरी हो। उनी प्रेमलाई स्पष्ट दिशामा लैजान सक्दिनन्। द्वन्द्वमा अड्किन्छिन्। यही अलमल नै उनको पतनको कारण बन्छ। परिणाम एकाकीपन बढ्छ। सम्बन्धहरू टुट्छन्। आत्मा थाक्छ। तर यही पीडाबाट जन्मिन्छ आत्मसंयम। यही बिन्दुमा त्रासदी आफ्नो उच्चतम अर्थमा पुग्छ। किनकि अन्त्य विनाश होइन परिवर्तन हो। सीमा बाह्य सम्बन्ध गुमाएर भित्री चेतना भेट्छिन्।

    दर्शक यो यात्रामा भावनात्मक रूपमा संलग्न हुन्छ। उनी रोइरहन्छ। सोचिरहन्छ। आफ्नै जीवनसँग तुलना गर्छ। अन्ततः एक प्रकारको शुद्धीकरण अनुभव गर्छ। सीमाले त्रासदी दुःख होइन यो आत्मबोधको प्रक्रिया हो, पीडामार्फत प्राप्त हुने एक गहन शान्ति हो भन्ने देखाउँछ।

     (७) विश्व नाट्य परम्परासँग संवाद

    ‘सीमा’ मा प्रेम व्यक्तिगत द्वन्द्व मात्र होइन समाजसँगको संघर्ष पनि मूल विषयवस्तु हो। सीमाको कथा जस्तै, इब्सेनका नाटकहरूमा पात्रहरू आफ्नो व्यक्तिगत इच्छासँगै सामाजिक संरचनासँग भिड्छन्। इब्सेनका नाटकहरूमा जस्तो, सीमामा पनि समाजको नियम, वर्गीय भेदभाव र परम्परागत सोचले पात्रहरूलाई चुनौती दिन्छ।

    त्यसैगरी, विचारको तीखोपन पनि स्पष्ट छ। शाँका नाटकहरूमा जस्तो सीमाले पाठक र दर्शकलाई सामाजिक मूल्य, नैतिकता र व्यक्तिगत स्वतन्त्रताको विषयमा सोच्न बाध्य बनाउँछ। संवाद र पात्रको अन्तरक्रियाले विचारशील विमर्श उत्पन्न गर्छ।

    नेपाली नाट्य परम्परामा हेर्दा समको सामाजिक यथार्थले सीमामा स्पष्ट प्रभाव पारेको देखिन्छ। समका नाटकहरू, विशेषगरी मुकुन्द  इन्दिरा समाजको असमानता, वर्गीय भेदभाव र न्यायको प्रश्न उठाउँछन्। उनले पात्रहरूको द्वन्द्व र संघर्षमार्फत सामाजिक यथार्थलाई जीवित बनाउँछन्।

    ‘सीमा’ पनि यसै परम्परामा उभिएको छ। यहाँ ग्रामीण–सहरी, धनी–गरिब, उच्च–निम्न वर्गबीचको अन्तरद्वन्द्व मार्मिक रूपमा प्रस्तुत गरिएको छ। सञ्जय र सुवासबीचको भिन्न सामाजिक पृष्ठभूमि, सीमाको परिवारको संघर्ष र प्रेमको द्वन्द्वले समाजिक असमानता मात्र होइन, त्यसबाट उत्पन्न भावनात्मक र नैतिक चुनौतीलाई पनि उजागर गर्छ।

    दार्शनिक दृष्टिले, सम र अर्जुन नेपाल दुवै नाटककारले समाज र प्रेमलाई अलग–अलग तर समान गहिराइमा देखाएका छन्। समले पात्रमार्फत न्याय र सामाजिक चेतना प्रस्तुत गर्छन् भने अर्जुन नेपालले प्रेम, आत्मसंयम र व्यक्तिगत जिम्मेवारीको माध्यमबाट सामाजिक यथार्थलाई उजागर गरेका छन्। सीमामा सीमाको निर्णयहीनता, प्रेम र पीडाले यही गहन भावनात्मक संरचना प्रस्तुत गरेको छ। पात्रको भित्री अनुभूति र मनोवैज्ञानिक द्वन्द्वलाई प्रष्ट बनाउँछन्। प्रेम भावना मात्र होइन पीडा, असफलता र आत्मसंयम पनि प्रेमको अंग हुन्।

    नेपाली नाट्य परम्परामा अशेष मल्ल र गोपालप्रसाद रिमाल पनि सामाजिक चेतना र मानवीय संवेदनामा केन्द्रित छन्। मल्लले समाज, राजनीति र वर्गीय द्वन्द्वलाई सक्रिय रूपमा प्रस्तुत गर्छन् भने रिमालले भावनात्मक र नैतिक द्वन्द्वमा जीवनको सार खोज्छन्। अर्कोतर्फ, अर्जुन नेपालद्वारा रचित ‘सीमा’ आधुनिक नाटकमा संवाद र शैलीको अभिनव प्रयोग र भावनाको सूक्ष्मता झल्किन्छ। यहाँ पात्रको भित्री द्वन्द्व, निर्णयहीनता र संवेदनशीलता सजीव देखिन्छ।दुबैमा समाज र व्यक्तिको द्वन्द्व देखिन्छ, तर रिमालमा सामाजिक चेतना र नैतिकता, नेपालमा संवेदनशील अनुभव र शैलीगत प्रयोग मुख्य केन्द्रबिन्दु हो।

    सीमा भावनात्मक, सामाजिक र दार्शनिक विमर्शको सजीव नाटक बनेको छ। पात्रहरूको द्वन्द्व, भित्री अनुभूति र सामाजिक परिवेशले नेपाली नाट्य परम्परामा नयाँ आयाम थपेको छ।

    यसरी, सीमाले वैश्विक र नेपाली नाट्य परम्परालाई एकसाथ समेटेको छ। सामाजिक यथार्थ, विचारको तीखोपन र भावनात्मक गहिराइको संयोजनले नाटकलाई सामाजिक चेतना र दार्शनिक अनुभूतिको स्रोत बनाएको छ। नाटकले दर्शक र पाठक दुवैलाई सोच्न, अनुभूति गर्न र आफ्नै जीवनसँग तुलना गर्न बाध्य पार्छ।

     (८) सामाजिक यथार्थ :

    सीमा’ नाटकमा धनी र गरिबबीचको खाडल स्पष्ट देखिन्छ। सञ्जयको घर वैभव र सम्पन्नताले भरिएको छ, जहाँ सुविधा र सामाजिक प्रतिष्ठा अति प्रष्ट छन्। अर्कोतिर, सीमाको घर साधारण जीवन, सीमित स्रोत र निरन्तर चुनौती जस्ता संघर्षपूर्ण छ। यही भौतिक फरकले प्रेम र सम्बन्धमा द्वन्द्व उत्पन्न गर्छ।

    तर नाटकको मुख्य आवाज वर्गीय भेदभाव होइन। मुख्य विषय महिला स्वतन्त्रता हो। सीमा आफ्नो जीवनको निर्णय आफैं लिन चाहन्छिन्। उनी दुई प्रेमीबीचको द्वन्द्व, सामाजिक दबाब र पारिवारिक अपेक्षाको सामना गरेर अन्ततः विवाह नगर्ने निर्णय गर्छिन्।

    यो व्यक्तिगत निर्णय होइन।यो विद्रोह हो। सामाजिक परम्परा र पुरुषप्रधान संरचनाविरुद्धको स्पष्ट घोषणा हो। सीमाको निर्णयले पाठक र दर्शकलाई चुनौती दिन्छ के महिला स्वतन्त्रता केवल अधिकार हो, कि सामाजिक जिम्मेवारी पनि हो?

    नेपाली नाट्य परम्परामा यस्तो निर्भीक महिला पात्र दुर्लभ छन्। अधिकांश नाटकमा महिला पात्र समाजको नियम, परम्परा र पुरुषप्रधान संरचनामा बाँधिएका हुन्छन्। तर सीमा फरक छ।उनी प्रेमको पात्र मात्र होइनन् उनी आफ्नो अस्तित्व, आत्मसम्मान र स्वायत्तताको प्रतिक हुन्। उनको निर्णय, प्रेमको असफलता र अन्तिम प्रण विवाह नगर्ने निर्णय सिर्फ व्यक्तिगत मात्र होइन, सामाजिक सन्देश पनि हो।

    सीमाको द्वन्द्व, पीडा र स्वतन्त्रता दर्शकलाई समाज, प्रेम र आत्म–ज्ञानको गहन विमर्शमा लगाउँछ। यसले प्रेम भावनात्मक अनुभूति होइन यसको आधार आत्म–सन्मान, निर्णयको स्वतन्त्रता र जिम्मेवारी हो भन्ने देखाउँछ।

    सीमा विद्रोह, आत्मनिर्णय र सामाजिक समानताको प्रतीक हो। नाटकले स्पष्ट देखाउँछ सर्वोच्च प्रेम भनेको आफैंलाई र अरूको स्वतन्त्रता तथा स्वाभिमानलाई सम्मान गर्नु हो। नेपालको ‘सीमा’ नेपाली नाट्य परम्परामा महिला चेतनाको सशक्त दस्तावेज बनेको छ, जसले पाठक र दर्शक दुवैलाई सोच्न बाध्य पार्छ र सामाजिक मूल्यबारे प्रश्न उठाउँछ।

     (९) महिला चेतना :

    सीमा परम्परागत पात्र होइनन्। उनी निर्णय लिने पात्र हुन्। जीवनका चुनौती र प्रेमका द्वन्द्वबीच उनी आफ्नो बाटो आफैं रोज्छिन्। निर्णयको परिणाम स्वीकार्ने उनको क्षमता नाटकको मूल शक्ति हो।

    इब्सेनकी नोरा जस्तै सीमा पनि अन्ततः स्वतन्त्रताको बाटो रोज्छिन्। नोराले ए डल्स हाउसमा घर र सम्बन्धको पर्खाल तोडिन्। आफ्नै पहिचान र आत्मसम्मान खोजिन्। यसैगरी, सीमा पनि प्रेम र सामाजिक दबाबको पर्खाल भत्काउँछिन्।

    दुवै पात्रले सामाजिक संरचना, परम्परा र पुरुषप्रधान अपेक्षालाई चुनौती दिन्छन्। नोराको विद्रोह व्यक्तिगत स्वतन्त्रताको प्रतीक हो भने सीमाको निर्णय व्यक्तिगत मात्र होइन, सामाजिक चेतनाको आवाज पनि हो। उनीहरूले प्रेम, विवाह र सम्बन्धको सामाजिक सीमाहरूमाथि प्रश्न उठाउँछन्।

    दार्शनिक दृष्टिले, दुवै पात्र स्वतन्त्रताको अधिकार र त्यससँग जोडिएको जिम्मेवारी बुझ्छन्। प्रेम, सम्बन्ध र समाजसँगको द्वन्द्व मानव अस्तित्व र आत्म–पहिचानको दार्शनिक अभ्यास हो। नेपालले सीमा मार्फत नेपाली नाट्य परम्परामा यो चेतना जीवित बनाएका छन्, जसले दर्शकलाई सोच्न र प्रश्न उठाउन बाध्य पार्छ।

    सीमाको चरित्रले नेपाली नाट्य क्षेत्रमा महिला चेतनाको सशक्त दस्तावेज प्रस्तुत गरेको छ। उनी विद्रोह मात्र होइनन् आत्मनिर्णय, आत्म–सम्मान र आत्म–पहिचानको प्रतीक हुन्।

    यो नाटक प्रेम, सामाजिक असमानता र व्यक्तिगत स्वतन्त्रतालाई सँगै जोडेर प्रस्तुत गरेको छ। सीमा पात्रले देखाउँछ—सच्चा शक्ति निर्णयमा, जिम्मेवारीमा र आफ्नो अस्तित्वको सम्मानमा निहित छ। सीमा कथा होइन। यो चेतना हो। यो विद्रोह हो। र सबैभन्दा महत्वपूर्ण यो महिला स्वतन्त्रताको साहित्यिक घोषणा हो।

     (१०) द्वन्द्व र उत्कर्ष:

    नाटकको चरम बिन्दु सीमाको विवाह नगर्ने निर्णय प्रणमा छ । यो व्यक्तिगत निर्णय होइन। यो दार्शनिक, सामाजिक र अस्तित्वगत घोषणा हो। सीमाले देखाउँछिन् कि असफल प्रेम, सामाजिक दबाब, वर्गीय भेदभाव सबैको सामना गर्दै पनि आत्म–पहिचान र स्वतन्त्रता सर्वोपरि हुनुपर्छ।

    यो निर्णय अन्त्य होइन आरम्भ हो। निर्णयले द्वन्द्व समाप्त गर्दैन, तर रूपान्तरण ल्याउँछ। प्रेम, पीडा र असमञ्जसलाई नयाँ आयाम दिन्छ। यही रूपान्तरणले पात्रको भित्री चेतना विकास गर्छ। यसैमा त्रासदीको शुद्धीकरण र अस्तित्वको अर्थ निहित छ।

    सीमाको प्रण जाँ–पोल सार्त्रे र अल्बेर कामुका अस्तित्ववादी विचारसँग मेल खान्छ। सार्त्रे भन्छन् “मानव स्वतन्त्र छ, तर आफ्नो निर्णयको जिम्मेवार पनि।” सीमा स्वतन्त्र छन्, तर निर्णयले उनको जीवन र सम्बन्धलाई परिभाषित गर्छ। अन्ततः सीमाको प्रणले देखाउँछ जीवन परिणाम मात्र होइन यो निर्णय, उत्तरदायित्व र आत्म–सत्यको खोज नै जीवनको वास्तविक अर्थ हो। नाटक दर्शकलाई सोच्न बाध्य बनाउँछ के असफलता मात्र अन्त्य हो, कि त्यसबाट जन्मिने चेतना पनि नयाँ आरम्भ हो?

    (११) सन्देश : मानवता र मित्रताको पुनर्स्थापना

    ‘सीमा’ नाटकले एक गहन दार्शनिक सन्देश दिन्छ प्रेमभन्दा माथि मानवता छ। प्रेम भावनाको उच्चतम रूप हुन सक्छ, तर मानवता नै स्थायी मूल्य हो। यहाँ प्रेम क्षणिक, आकर्षण अस्थायी र भावनात्मक द्वन्द्व अस्थिर देखिन्छ।

    सीमा र पात्रहरूद्वारा चित्रित मित्रता भने स्थायी छ। मित्रता आत्मीयता हो निर्णय, समर्थन र समझदारीको प्रतिबिम्ब। प्रेममा सम्भावित मोह र प्रतिस्पर्धा हुन्छ, तर मित्रता स्वतन्त्र र शुद्ध हुन्छ। यही दृष्टिले नाटकले मानवीय सम्बन्धको दार्शनिक मूल्य प्रष्ट बनाउँछ।जीवनका क्षणिक मोह, द्वन्द्व र आकर्षणको बीचमा मानवता, मित्रता र आत्मीयता स्थायी आधारको रूपमा प्रस्तुत गरिएको छ।

    सीमाको दार्शनिक सार यो हो जीवनको मूल्य प्रेममा मात्र होइन, सम्बन्ध र मानवतामा निहित छ। प्रेम क्षणिक हुन सक्छ, तर मित्रता र मानवता अनन्त र स्थायी छन्। यही दृष्टिकोणले नाटकलाई साहित्यिक मनोरञ्जन नभई गहन दार्शनिक शिक्षामा परिणत गरेको छ।

    (१३) कमजोरीहरू

    नेपालको ‘सीमा’ आधुनिक नेपाली नाट्य साहित्यमा महत्वपूर्ण योगदान हो, तर यसमा केही सीमितता पनि देखिन्छन्। नाटकको त्रिकोणात्मक प्रेम कथा भावनात्मक रूपमा गहिरो भए पनि कहिलेकाहीँ अत्यधिक जटिल र संवादहरू पुनरावृत्तिपूर्ण लाग्छन्। सीमाको निर्णयहीनता र आन्तरिक द्वन्द्व स्पष्ट भए तापनि, अन्य पात्रहरूको भावनात्मक विकास समान रूपमा प्रस्तुत नभएर कथाको प्रभाव कहिलेकाहीँ कमजोर हुन्छ। सञ्जय र सुवासबीचको द्वन्द्व प्रकट भए तापनि उनीहरूको सामाजिक र आर्थिक पृष्ठभूमि पर्याप्त विकसित नभएकोले द्वन्द्वको गहिराइ पूर्ण रूपमा अनुभव गरिँदैन। सरिता जस्ता पात्रहरू मौन साक्षीको रूपमा प्रभावशाली भए तापनि, उनको सक्रियता सीमित भएकोले कथाको गति केही दृश्यमा सुस्त देखिन्छ। नाटकको भाषा र शैली प्रभावशाली भए तापनि भावनाको अतिभार र कथानकको समानान्तर संरचनाले पाठक वा दर्शकलाई पूर्ण रूपमा संलग्न गराउन कहिलेकाहीँ चुनौती पैदा गर्छ।

    नाटकमा सञ्जय र सुवासबीचको द्वन्द्व प्रकट भए पनि केही दृश्यमा उनीहरूको सामाजिक, आर्थिक र पारिवारिक पृष्ठभूमि पर्याप्त रूपमा विकसित छैन। यसले पात्रहरूको निर्णय र व्यवहारको कारण स्पष्ट देखिन सकेको छैन। द्वन्द्वको गहिराइ र भावनात्मक प्रभाव कहिलेकाहीँ कमजोर लाग्छ। पाठक वा दर्शकले पात्रहरूको मनोविज्ञान र सम्बन्धको जटिलता पूर्ण रूपमा बुझ्न सक्दैनन्। विशेषगरी सञ्जयको धन र शक्ति र सुवासको संवेदनशीलता र चेतनाको पारस्परिक द्वन्द्व प्रष्ट भए पनि, त्यसको सामाजिक सन्दर्भ पर्याप्त देखाइएको छैन। यसले कथाको दार्शनिक र भावनात्मक प्रभावमा कमी ल्याउँछ।

    नाटकमा सरिता पात्र मौन साक्षीको रूपमा प्रभावशाली छन्। उनी घटनाहरूको अवलोकन र विश्लेषण मार्फत पाठक वा दर्शकलाई कथाको दार्शनिक आयाम बुझाउँछिन्। तर, केही दृश्यमा उनीसँग कथा अघि बढाउने सक्रिय भूमिका नहुँदा कथाको गति सुस्त देखिन्छ। सरिताको मौनता प्रभावशाली भए तापनि, उनका क्रियाशीलता वा संवादले कथालाई थप तनाव र द्वन्द्वको माध्यमबाट अघि बढाउन सकेको छैन। यसले दृश्यहरूको गतिशीलता कम गर्छ र दर्शक वा पाठकलाई पूर्ण रूपमा संलग्न गराउन कहिलेकाहीँ चुनौती सिर्जना गर्छ।

    नाटकको भाषा र शैली अत्यन्त प्रभावशाली छन्। संवादहरू सादा र गहिरा छन्, पात्रहरूको भावनात्मक द्वन्द्व मार्मिक रूपमा प्रस्तुत गरिएको छ। तर केही दृश्यमा भावनाको अतिभारले कथालाई बोझिलो बनाउँछ र दर्शक वा पाठकले सम्पूर्ण रूपमा संलग्न हुन कठिनाइ महसुस गर्छन्। साथै, नाटकको समानान्तर कथानक संरचनाले कतिपय घटनाहरूको प्रगति ढिला गराउँछ र कथाको गति सुस्त देखिन सक्छ। यी पक्षहरूले शैली र भावनाको सौन्दर्यमा सानो अवरोध सिर्जना गर्छ। त्यसैले, ‘सीमा’ नाटक शैली, संवाद र भावनामा समृद्ध भए तापनि, यसमा पात्र विकास, द्वन्द्वको सन्तुलन र कथानक संरचनामा सुधार गर्न सकिने ठाउँ रहेको देखिन्छ। यदि यी पक्षहरू सन्तुलित रूपमा प्रस्तुत गरिए, नाटक अझ प्रभावशाली, दार्शनिक र दर्शकलाई पूर्ण रूपमा संलग्न पार्ने क्षमता राख्ने थियो।

    (१४) निष्कर्ष :

    ‘सीमा’ आत्मखोजको यात्रा हो। नाटकले पाठक र दर्शकलाई आफ्नो भित्री संसारसँग सामना गराउँछ। प्रेम, द्वन्द्व र पीडाका पात्रहरू मार्फत नेपालले समाजको ऐना प्रस्तुत गरेका छन्।

    नाटकको सौन्दर्य यसको शैलीमा छ। नेपालले पद्य र गद्यको संयोजन, प्रेम र दर्शनको संगम प्रस्तुत गरि नयाँ स्वर दिएका छन्। सुवासका कविता झैँ संवाद, सीमाका द्वन्द्वपूर्ण संवाद, छोटा वाक्य र गहन अर्थले नाटकलाई अद्वितीय बनाउँछ।

    ‘सीमा’ कथात्मक द्वन्द्व होइन। यो मानवीय सम्बन्ध, समाजको असमानता, महिला स्वतन्त्रता र आत्म–पहिचानको दार्शनिक विमर्श हो। पात्रहरूको द्वन्द्वले प्रेम, मित्रता र मानवताको स्थायित्वबारे गहन प्रश्न उठाउँछ। अन्ततः नाटकले सोध्छ—“सीमा कहाँ छ? प्रेममा? समाजमा? कि हाम्रो आफ्नै मनमा?” यो प्रश्नले दर्शकलाई आफ्नै जीवन, मूल्य र सम्बन्धको मूल्याङ्कन गर्न बाध्य पार्छ। प्रेम क्षणिक छ, समाजको दबाब अस्थायी छ, तर भित्री चेतना र आत्म–ज्ञान स्थायी छन्। यो चेतना, आत्म–खोज र सामाजिक विमर्शको एक सशक्त दस्तावेज हो, जसले नेपाली नाट्य जगतमा नयाँ दिशा र गहन प्रभाव छोडेको छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ चैत्र २६, बिहीबार ०७:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP