नैतिक आचरण र विवेकशील चिन्तनबाट जीवनको रूपान्तरण
तोमनाथ उप्रेती
मानव जीवन कर्म र विचारको निरन्तर प्रवाह हो। जीवनको सफलतासँग जोडिएको मूल सूत्र नैतिक कर्म र विवेकशील विचारमा निहित हुन्छ। जब विचारहरू पवित्र हुन्छन्, तब कर्म पनि पवित्र हुन्छ र जब कर्म नैतिक हुन्छ, तब जीवन स्वतः उन्नत, सन्तुलित र सार्थक बन्छ। विचार र कर्म जीवनका दुई पंख हुन् जसले मानिसलाई उच्चतम लक्ष्यतर्फ उड्न सक्षम बनाउँछन्।
विचार नै कर्मको बीज हो। मनमा जुन विचार जन्मिन्छ, त्यो नै पछि क्रियामा परिणत हुन्छ। यदि मनमा द्वेष, ईर्ष्या वा अहंकारको विचार पलाउँछ भने, त्यसको फल कर्ममा नकारात्मक रूपमा प्रकट हुन्छ। नैतिक कर्म मानव आत्माको मौलिक गुण हो। कर्मको नैतिकता तब देखिन्छ जब मानिस अरूको कल्याणलाई आफ्नो व्यक्तिगत स्वार्थभन्दा अगाडि राख्छ।
मानव जीवन चेतना, मूल्य र उद्देश्यको समन्वय हो। मानिसले आफ्नो जीवनलाई अर्थपूर्ण, सन्तुलित र सफल बनाउन खोज्दा उसले दुई महत्वपूर्ण आधारहरूमा टिक्नुपर्छ—नैतिक आचरण र विवेकशील चिन्तन। यी दुई तत्वहरू समग्र सामाजिक रूपान्तरणका पनि मूल प्रेरक शक्ति हुन्।
नैतिक आचरणले सत्य, इमानदारी, उत्तरदायित्व, करुणा र सहिष्णुतामा आधारित व्यवहारलाई जनाउँछ। यस्तो आचरणले व्यक्तिलाई समाजमा विश्वासिलो, सम्मानित र प्रेरणादायी बनाउँछ। जब मानिसले आफ्नो व्यवहारलाई नैतिक मूल्यहरूद्वारा निर्देशित गर्छ, तब ऊ आफ्नो स्वार्थमा सीमित रहँदैन, बरु अरूको हित र समाजको कल्याणतर्फ पनि उन्मुख हुन्छ। नैतिक आचरणले व्यक्तिगत चरित्रलाई सुदृढ बनाउँदै सामाजिक सम्बन्धहरूलाई पनि बलियो बनाउँछ।
तर, केवल नैतिकता पर्याप्त हुँदैन यसलाई सही दिशामा प्रयोग गर्न विवेकशील चिन्तन आवश्यक हुन्छ। विवेकशील चिन्तनले सही र गलत, उचित र अनुचितबीच भेद गर्न सक्ने बौद्धिक क्षमता हो। यो सोचले मानिसलाई आवेग, भ्रम वा बाह्य दबाबबाट मुक्त गराउँदै तर्क, अनुभव र मूल्यको आधारमा निर्णय गर्न सक्षम बनाउँछ। जब विवेकशील चिन्तन सक्रिय हुन्छ, तब मानिसले क्षणिक लाभभन्दा दीर्घकालीन हितलाई प्राथमिकता दिन्छ।
नैतिक आचरण र विवेकशील चिन्तनको समन्वयले जीवनमा सन्तुलन ल्याउँछ। यसका साथै, यी दुई तत्वहरूले आत्मविकासको मार्ग पनि प्रशस्त गर्छन्। नैतिक आचरणले आत्मअनुशासन र आत्मसंयमको विकास गर्छ भने विवेकशील चिन्तनले आत्मचिन्तन र आत्ममूल्यांकनको क्षमता बढाउँछ। जब मानिसले आफ्ना गल्तीहरूलाई स्वीकार गरेर सुधार गर्ने साहस राख्छ, तब ऊ निरन्तर उन्नतितर्फ अघि बढ्छ। यस्तो प्रक्रिया नै वास्तविक रूपान्तरण हो—जहाँ बाह्य परिवर्तनभन्दा भित्री परिष्कार बढी महत्वपूर्ण हुन्छ।
सामाजिक दृष्टिले पनि, नैतिकता र विवेकशीलताको प्रभाव अत्यन्त महत्वपूर्ण हुन्छ। जब समाजका सदस्यहरू नैतिक र विवेकशील हुन्छन्, तब त्यहाँ भ्रष्टाचार, अन्याय र विभेदका सम्भावनाहरू घट्छन्। यसको सट्टा, विश्वास, सहकार्य र समानताको वातावरण विकास हुन्छ। यस्ता समाजहरू दिगो विकास र शान्तिको आधार बन्न सक्छन्।
विवेक सत्य र असत्य, उचित र अनुचित, क्षणिक र शाश्वतबीचको भिन्नता बुझ्ने शक्ति हो। विवेकशील विचारले मानिसलाई क्षणिक लाभप्रति आकर्षित हुन दिँदैन। उपनिषद्मा भनिएको छ—“श्रेयश्च प्रेयश्च मनुष्यमेतः।” अर्थात्, जीवनमा दुई बाटा हुन्छन्—श्रेय (शाश्वत हित) र प्रेय (क्षणिक सुख)। विवेकशील व्यक्ति प्रेयको मोह त्यागी श्रेयको बाटो रोज्छ। यस्तो विचारले जीवनलाई स्थिरता, गम्भीरता र आत्मिक उन्नति दिन्छ।
यदि विचार विवेकशील भए तर कर्म दुर्बल रहे भने जीवन अधुरो हुन्छ; यदि कर्म त शक्तिशाली भए तर विचार अज्ञानले भरिएको भए, त्यो कर्म विनाशकारी बन्छ। त्यसैले कर्म र विचारबीच सन्तुलन आवश्यक छ। भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई भनेका थिए—“योगः कर्मसु कौशलम्।” अर्थात्, कर्ममा कुशलता नै योग हो। तर यो कुशलता बाह्य दक्षता होइन, विचारको विवेकसँग जोडिएको दक्षता हो।
आजको भौतिकतावादी समाजमा मान्छेले विचारलाई स्वार्थमा र कर्मलाई तर्कविहीन प्रतिस्पर्धामा सीमित गरेको छ। यसले समाजमा नैतिक संकट, भ्रष्टाचार र असन्तुलन ल्याइरहेको छ। यस्तो अवस्थामा विवेकशील विचार र नैतिक कर्मद्वारा मात्र सन्तुलन फर्काउन सकिन्छ। यदि युवा पुस्ताले विवेकलाई मार्गदर्शक र कर्मलाई धर्मशक्ति बनायो भने समाज स्वतः न्यायपूर्ण र समृद्ध बन्नेछ।
समाजको समुन्नतिको मूल आधार व्यक्तिको कर्म र विचार हुनुपर्दछ। तर विडम्बनापूर्ण रूपमा आज पनि हाम्रो समाजमा जात, थर र जन्मका आधारमा मानिसको मूल्यांकन गरिन्छ। यस्तो सोचले प्रतिभाहरूलाई दबाउँछ सामाजिक अन्याय र विभाजनलाई बढावा दिन्छ।
कसैको जन्म कुन वर्ग, जात वा थरमा हुन्छ भन्ने कुरा नियतिको परिणाम हो। जन्म भनेको केवल जैविक प्रवेशद्वार हो, जुन आत्माले रोजेको हुँदैन। तर जन्मपश्चात् जीवनलाई अर्थ दिने शक्ति भने व्यक्तिको सोच र कर्ममा निहित हुन्छ। यही कारण, मानव जीवनको वास्तविक मूल्यांकन जन्मका बाहिरी आवरणमा होइन, उसको आन्तरिक चेतना र सामाजिक योगदानमा हुनुपर्छ।
मानिसले समाजमा दिएको योगदान, सेवाभाव र सत्य–न्यायप्रतिको प्रतिबद्धता नै उसको असली परिचय हो। जो आफ्नो श्रम, विचार र आचरणमार्फत समाजलाई उज्यालो दिन्छ, ऊ नै सच्चा सम्मानको अधिकारी हुन्छ। यदि मूल्यांकनको मापदण्ड नैतिकता, विवेक र कर्मशीलता हुन्छ भने मात्र समाज समावेशी, न्यायपूर्ण र अग्रगामी बन्न सक्छ।
शिक्षा केवल अक्षरज्ञान मात्र होइन, समान दृष्टिको दर्पण हो। यसले मानिसलाई विभाजन होइन, एकता देख्न सिकाउँछ। जब शिक्षा सबैलाई समान अवसर दिन्छ, तब समाजमा जन्मभन्दा बढी विचारको महत्त्व हुन्छ। कर्मप्रधान समाजको आवश्यकता यतिखेर छ—जहाँ सबैलाई आफ्नो क्षमता अनुसार योगदान गर्ने स्वतन्त्रता होस् र योगदानका आधारमा सम्मान प्राप्त होस्। यही हो समतामूलक समाजको आधार।
जन्म त नियतिको देन हो—मानव नियन्त्रणबाहिरको सत्य। तर योगदान भने मानिसकै चेतनाबाट जन्मिएको फल हो। श्रम, सोच र समाजप्रतिको उत्तरदायित्व नै उसको असली अनुहार हो। इतिहासका पानाहरूले पनि जन्मका सन्दर्भलाई होइन, कर्मका महिमालाई स्मरण गरेका छन्। बुद्ध, गान्धी, मदर टेरेसा—यी सबै जन्मले होइन, कर्मले महान् बने।
तर हाम्रो समाज अझै पनि जन्म, जात र थरका अदृश्य शृङ्खलामा बाँधिएको छ। कतिपयले केवल परिवारको प्रतिष्ठाका आधारमा सम्मान पाउँछन्, जबकि समाजका लागि जीवन अर्पण गर्ने साधारण मान्छेहरू ओझेलमा पर्छन्। यस्तो दृष्टिले विषमता मात्र बढाउँछ र नविन सोचलाई दबाउँछ। जातपातले ग्रसित समाजमा समानता र न्याय केवल कल्पना मात्र रहन्छ।
साँचो समतामूलक समाजमा शिक्षा, स्वास्थ्य, रोजगारी र न्याय सबैका लागि समान हुन्छ। त्यहाँ मूल्यांकन केवल कर्म, सोच र योगदानका आधारमा हुन्छ। विविधताको सम्मान हुन्छ, र सबैलाई आत्म–गौरवसहित बाँच्न सक्ने वातावरण मिल्छ। त्यस्तो समाजमा मान्छे “म कुन जातको हुँ?” भन्दा बढी “म कुन कर्मले चिनिन्छु?” भन्ने प्रश्नलाई प्राथमिकता दिन्छ।
जातपात मुक्त समाज निर्माण सजिलो छैन। यो यात्रालाई सम्भव बनाउन शिक्षा, कानुनी संरचना र सामाजिक चेतनाको बल चाहिन्छ। प्रत्येक मानिसले आफ्नो दृष्टिकोणलाई शुद्ध पार्नुपर्छ। जब चेतनाको दियो भित्र प्रज्वलित हुन्छ, तब बाहिरी विभाजनको अन्धकार हराउँछ।
आज पनि हाम्रो समाज जन्मका आधारमा मानिसलाई उच्च र तल्लो ठान्छ। यो सोच केवल अन्याय मात्र होइन, मानवताको आत्मामा प्रहार हो। तर साँचो मानवता त्यही हो—जहाँ व्यक्तिलाई उसका कर्म र विचारका आधारमा मात्र मूल्यांकन गरिन्छ। जब हामी जन्मभन्दा योगदानलाई सम्मान गर्न थाल्छौँ, तब मात्र समता, न्याय र करुणामा आधारित नयाँ युगको सुरुवात हुन्छ।
प्रत्येक व्यक्तिको सोच, क्षमता र लगन फरक हुन्छ। कसैले शिक्षामा योगदान दिन्छ, कसैले सेवामा, कसैले विज्ञान वा सिर्जनात्मक क्षेत्रमा। यस्ता कर्मशील मानिसहरूलाई जात वा थरले होइन, तिनका कर्म र विचारले पहिचान दिनुपर्छ। उदाहरणको लागि, डा. बाबासाहेब आम्बेडकर जन्मले दलित भए तापनि उनका योगदानले भारतको संविधान निर्माता बन्न सफल भए। उनले समाजको सोच परिवर्तन गर्न ज्ञान, संघर्ष र समर्पण प्रयोग गरे।
जात र थरको आधारमा मानिसबीच भेदभाव गर्नु अमानवीय मात्र होइन, समाजको विकासको बाधक पनि हो। यस्तो सोचले प्रतिभा दबिन्छ, अवसरहरू गुम्छन् र नविन विचारहरू फुल्न पाउँदैनन्। त्यसैले, अबको समाजमा हामीले यस्तो वातावरण बनाउनुपर्छ जहाँ सबैलाई समान अवसर मिलोस्, जहाँ मानिसको मूल्यांकन उसले गरेको काम, समाजप्रतिको उत्तरदायित्व र सकारात्मक सोचका आधारमा होस्।
हामीले आफ्ना बच्चाहरूलाई सुरुदेखि नै जातपात होइन, कर्मको महत्व बुझाउनु आवश्यक छ। विद्यालय, मिडिया र सामाजिक संस्थाहरूले पनि यसबारे जनचेतना फैलाउनुपर्छ। धर्म, संस्कृति वा परम्पराको नाममा हाम्रा सोचहरू पिछडिनु हुँदैन।समावेशी र न्यायपूर्ण समाज निर्माणको आधार कर्म, विचार र योगदान नै हुन्। यिनै मूल्यहरूको सम्मान गर्ने हो भने मात्र हामी एक सभ्य, समता मूलक र विकसित राष्ट्रतर्फ अघि बढ्न सक्छौं। जातीय भेदभाव हटाएर कर्मशीलता र योगदानको आधारमा समाज चलाउने समय अब आइसकेको छ।
कुनै पनि समाजको प्रगतिको आधार उसमा रहेका कर्मशील नागरिकहरू नै हुन्। कर्मशील नागरिक भनेको ती व्यक्ति हुन्, जो आफ्नो कर्तव्य, जिम्मेवारी र भूमिकालाई इमान्दारीपूर्वक पूरा गर्छन्। उनीहरू शिक्षा, कृषि, उद्योग, व्यापार, विज्ञान, प्रशासन, सेवा र सिर्जनात्मक क्षेत्रमा निरन्तर क्रियाशील रहन्छन्। यस्ता नागरिकहरूले आफ्नो व्यक्तिगत विकाससँगै समाजको समग्र विकासमा पनि योगदान पुर्याउँछन्।
कर्मशीलता शारीरिक श्रम मात्र होइन, नैतिक चेतना, इमान्दारी, समयको सम्मान र सामाजिक उत्तरदायित्वप्रतिको निष्ठासँग पनि जोडिएको हुन्छ। जब नागरिकहरू आफ्नो कामप्रति समर्पित हुन्छन्, तब समाजमा अनुशासन, सहकार्य र समृद्धिको वातावरण सिर्जना हुन्छ। त्यसैगरी, यस्ता नागरिकहरूले लोकतान्त्रिक मूल्य, सामाजिक न्याय र समावेशी विकासलाई पनि मजबुत बनाउँछन्।
अल्छी, बेपरवाह र अरूमा निर्भर रहने प्रवृत्तिले समाजलाई पच्छाडि पार्छ, जबकि कर्मशील प्रवृत्तिले नयाँ सम्भावनाहरू जन्माउँछ। त्यसैले कुनै पनि राष्ट्र या समाजले समुन्नति चाहन्छ भने उसले कर्मशील नागरिकहरूको संख्या बढाउनु पर्छ र तिनीहरूको प्रेरणा र योगदानलाई सम्मान गर्न जान्नुपर्छ। यही हो साँचो प्रगतिको मूल सूत्र।तर जब समाजमा जात, थर वा जन्मका आधारमा मानिसको मूल्यांकन गरिन्छ, तब कर्मशीलता ओझेलमा पर्छ र समाज विभाजित हुन्छ। यस्तो अवस्थामा योग्य, इमानदार र परिश्रमी व्यक्तिहरूले न्याय र अवसरबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ।
समावेशी समाज यस्तो समाज हो जहाँ सबै वर्ग, जात, लिंग, र क्षेत्रका व्यक्तिहरूलाई समान अवसर र सम्मान प्राप्त हुन्छ। यसका लागि मुख्य शर्त हो—कर्मशीलताको मूल्यांकन र सम्मान। जो व्यक्ति परिश्रम गर्छ, सकारात्मक सोच बोकेको छ, र समाजमा योगदान दिन इच्छुक छ, उसलाई जातपात हेरेर होइन, क्षमताका आधारमा अघि बढ्न सक्ने अवसर दिनुपर्छ।
हाम्रो शिक्षा, प्रशासन, नीति निर्माण र सामाजिक व्यवहारमा पनि यो सोचलाई आत्मसात् गर्न जरुरी छ। जब हामी कर्मशीलतालाई सम्मान गर्छौँ, तब हामी समानता र न्यायको मार्गमा अघि बढ्छौँ। यसरी मात्रै हामी समावेशी, न्याययुक्त र समृद्ध समाज निर्माणतर्फ अग्रसर हुन सक्छौँ, जहाँ सबै नागरिकले गर्वका साथ जीवन यापन गर्न सक्छन्।
जात, थर वा जन्मको आधारमा व्यक्तिको मूल्यांकन गर्ने सोचले समाजमा अन्याय, विभाजन र असमानता जन्माउँछ। यस्तो सोचले समाजलाई पछि धकेल्छ, योग्य व्यक्तिहरूको क्षमता दबाउँछ, र सामूहिक प्रगतिमा बाधा पुर्याउँछ। यसैले आजको युगमा समाजलाई अगाडि बढाउने हो भने जन्मको होइन, कर्म, सोच र योगदानको आधारमा मूल्यांकन गरिने प्रणालीलाई आत्मसात् गर्नुपर्छ।
हामीले हाम्रो शिक्षा प्रणालीमा समता र समावेशीताको मूल्यलाई प्राथमिकता दिनुपर्छ, प्रशासनमा निष्पक्षता र पारदर्शिता सुनिश्चित गर्नुपर्छ, र नीति निर्माणमा सबै वर्गको प्रतिनिधित्वलाई स्थान दिनुपर्छ। सामाजिक व्यवहारमा पनि समानता, आदर र सहिष्णुताको भावना विकास गर्नु अत्यावश्यक छ।जब हामी कर्मशीलता, नैतिकता र योगदानलाई प्राथमिकता दिन थाल्छौँ, तब समाजमा विभाजन होइन, एकता बलियो बन्छ। त्यसैगरी, सबै नागरिकलाई समान अवसर दिने वातावरण बन्यो भने मात्र हामी समावेशी, न्याययुक्त र समतामूलक समाजको निर्माण गर्न सक्षम हुन्छौँ।त्यसैले अब समय आएको छ—हामीले पुराना विभेदकारी सोच त्यागेर नयाँ चेतना अपनाउने। कर्म, विचार र योगदानलाई सम्मान गर्ने समाज नै एक सभ्य, प्रगतिशील र आत्मगौरवयुक्त राष्ट्रको जग हो। कर्मशीलताको सम्मान भनेको सामाजिक समावेशीकरणको पहिलो पाइला हो, जुन हरेक सभ्य राष्ट्रको मेरुदण्ड हो।यही हो समावेशी समाज निर्माणको सही दिशा।
नैतिक कर्म र विवेकशील विचार जीवन निर्माणको मूल आधार हुन्। विचारले कर्मलाई दिशा दिन्छ र कर्मले विचारलाई फलदायी बनाउँछ। दुवैबीचको सन्तुलनले मात्र जीवनलाई शाश्वत मूल्य, गहिरो अर्थ र आन्तरिक शान्ति दिन सक्छ। जसरी बीज र पानीको सहकार्यले बिरुवा हुर्कन्छ, त्यसरी नै नैतिक कर्म र विवेकशील विचारको एकता जीवनलाई सफल, सन्तुलित र सार्थक बनाउँछ।
जीवन निर्माणको महान् शिल्पी हामी आफैं हौं। हाम्रो हातमा रहेको उपकरण नै—विचारको विवेक र कर्मको नैतिकता हो। यसैलाई अपनाउँदा मात्र मानव जीवन एउटा पवित्र साधना र समाज एउटा समृद्ध उद्यान बन्न सक्छ। आजको युगमा, जहाँ प्रविधि र भौतिक प्रगति तीव्र रूपमा अघि बढिरहेको छ, त्यहाँ नैतिकता र विवेकशीलताको आवश्यकता अझ बढेको छ। यदि मानिसले भौतिक उपलब्धिलाई मात्र प्राथमिकता दिन्छ भने त्यसले अन्ततः असन्तुलन र असन्तुष्टि निम्त्याउन सक्छ। त्यसैले, भौतिक प्रगति र नैतिक विकासबीच सन्तुलन कायम गर्नु आवश्यक छ।
जीवनको वास्तविक रूपान्तरण बाह्य उपलब्धिहरूमा होइन, भित्री चेतनाको परिष्कारमा निहित हुन्छ। नैतिक आचरणले जीवनलाई सही दिशा दिन्छ भने विवेकशील चिन्तनले त्यसलाई सन्तुलित र प्रभावकारी बनाउँछ। जब यी दुई तत्वहरू एकअर्कासँग समन्वित हुन्छन्, तब मानिसले केवल सफल मात्र होइन, सार्थक र प्रेरणादायी जीवन जिउन सक्छ।
(उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका प्रमुख कोष नियन्त्रक हुन ।)
प्रतिक्रिया