भित्री उज्यालो र विश्व–हृदयको सम्बन्ध
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
भित्री उज्यालो र विश्व–हृदयको सम्बन्ध मानव चेतनाको सूक्ष्म दार्शनिक आयाम हो। जब मानिस आफ्नो भित्री संसारतर्फ फर्किन्छ, उसले व्यक्तिगत विचार, भावना र अनुभवहरू मात्र देख्दैन उसले अस्तित्वको मूल स्पन्दनलाई पनि महसुस गर्न थाल्छ। यही स्पन्दनलाई भित्री उज्यालो भन्न सकिन्छ। यो एक यस्तो जागरण जसले अज्ञान, भय र सीमितताबाट माथि उठ्ने क्षमता दिन्छ।
मानव जीवन सामान्यतया बाह्य उपलब्धि, सम्बन्ध र वस्तुहरूको वरिपरि घुमिरहेको हुन्छ। तर यी सबै क्षणिक हुन्छन्। जब बाह्य आश्रयहरू कमजोर बन्छन्, तब मानिस भित्रतर्फ फर्किन्छ। यही फर्काइ आत्म–अन्वेषणको सुरुवात हो। यहाँ भित्री उज्यालो चेतनाको नै प्राकृतिक अवस्था हो, जुन ध्यान, अनुभव र आत्म–चिन्तनबाट क्रमशः प्रकट हुन्छ।
२१औँ शताब्दीको विश्व–व्यवस्था तीव्र परिवर्तन, प्रविधिगत क्रान्ति, भू–राजनीतिक प्रतिस्पर्धा र आर्थिक पुनर्संरचनाले आकार लिइरहेको छ। शक्ति–सन्तुलनका परम्परागत केन्द्रहरू क्रमशः पुनःपरिभाषित भइरहेका छन्, र तथाकथित “परिधीय” राष्ट्रहरू जसलाई इतिहासले उपनिवेश, निर्भरता वा विकास–असमानताको छायामा राख्यो आज नयाँ आत्मपहिचानको खोजीमा छन्। यस्तो संक्रमणकालीन परिप्रेक्ष्यमा आत्म–जागरण राष्ट्रिय स्वाभिमान, नीतिगत विवेक र वैश्विक उत्तरदायित्वसँग जोडिएको चेतनात्मक रूपान्तरण हो। जब व्यक्ति, समाज र राष्ट्रले आफ्नो अन्तर्मनका सीमितता अहंकार, भय, स्वार्थ र असुरक्षा पहिचान गरी तिनलाई परिष्कृत गर्छन्, तब उनीहरू परनिर्भर मानसिकताबाट मुक्त भई सहअस्तित्वको उच्चतर मार्गमा अघि बढ्न सक्छन्। परिधीय विश्वव्यवस्थामा आत्म–जागरणको अर्थ हो आफ्नो सांस्कृतिक आत्मा जोगाउँदै विश्वसँग सम्वाद गर्ने क्षमता विकास गर्नु।
असमानता २१औँ शताब्दीको विश्वव्यवस्थाको केन्द्रीय चुनौती हो। उत्तर–दक्षिण विभाजन, प्रविधिगत पहुँचमा असमानता, जलवायु संकटको असमान प्रभाव, ऋण–निर्भरता र व्यापारिक असन्तुलनले परिधीय राष्ट्रहरूलाई संरचनागत दबाबमा राखेको छ। तर यी बाह्य संरचनाहरूको जरा चेतनामा पनि छ। जब राष्ट्रहरू शक्ति–प्रभुत्वको मनोवृत्तिबाट प्रेरित हुन्छन्, तब सहकार्यभन्दा प्रतिस्पर्धा, साझेदारीभन्दा नियन्त्रणलाई प्राथमिकता दिन्छन्। यही मनोवृत्तिले विश्वशान्ति र न्यायमा अवरोध सिर्जना गर्छ। त्यसैले आत्मजागरणको यात्रा व्यक्तिगत स्तरबाट सुरु भए पनि यसको प्रभाव कूटनीति, विकास नीति र अन्तर्राष्ट्रिय सम्बन्धसम्म फैलिन्छ। परिधीय राष्ट्रहरूले यदि आत्मविश्वास, नैतिकता र पारदर्शितामा आधारित शासन–संरचना निर्माण गर्न सके भने, उनीहरू केवल सहायताग्राही होइन, समाधान–प्रदाता साझेदारका रूपमा उभिन सक्छन्।
समभाव र विश्वबन्धुत्व २१औँ शताब्दीको बहुध्रुवीय विश्वका लागि अपरिहार्य मूल्य हुन्। जब जात, धर्म, भाषा वा भूगोलका आधारमा विभाजनलाई राजनीतिक साधन बनाइन्छ, तब आन्तरिक अस्थिरता बाह्य हस्तक्षेपका लागि अवसर बन्छ। परिधीय राष्ट्रहरूको अनुभवले देखाउँछ कि आन्तरिक एकता कमजोर हुँदा बाह्य शक्तिको प्रभाव बढ्छ। त्यसैले सामाजिक समावेशिता, समानता र न्याय राष्ट्रिय सुरक्षा र दीर्घकालीन स्थायित्वका आधार हुन्। बुद्धको करुणा, हिन्दू दर्शनको “वसुधैव कुटुम्बकम्”, इस्लामको रहमत, र ख्रिस्तीय प्रेम–दर्शन जस्ता आध्यात्मिक शिक्षाले विश्वबन्धुत्वको साझा आधार दिन्छन्। यी मूल्यहरूलाई व्यवहारिक नीति—समावेशी शिक्षा, लैङ्गिक समानता, सामाजिक सुरक्षा र कानुनी न्याय—मार्फत कार्यान्वयन गर्दा मात्र आन्तरिक सुदृढता सम्भव हुन्छ।
डिजिटल युगले परिधीय राष्ट्रहरूलाई अवसर र जोखिम दुवै दिएको छ। सूचना–प्रविधिले सीमाहरूलाई भौतिकभन्दा बढी मानसिक बनाइदिएको छ। तर डिजिटल असमानता, साइबर–सुरक्षा जोखिम र दुष्प्रचारले सामाजिक सन्तुलनलाई चुनौती दिन्छ। यस्तो अवस्थामा आत्म–जागरणको अर्थ डिजिटल विवेक पनि हो—सूचनाको सत्यापन, जिम्मेवार अभिव्यक्ति र प्रविधिको नैतिक प्रयोग। यदि विज्ञान र प्रविधि मानवताको सेवामा प्रयोग भए, भने परिधीय राष्ट्रहरूले नवप्रवर्तन, शिक्षा र उद्यमशीलताको माध्यमबाट विकास–गति तीव्र बनाउन सक्छन्। तर यदि प्रविधि विभाजन, निगरानी र नियन्त्रणको साधन बन्यो भने, असमानता झन् गहिरिन्छ। त्यसैले २१औँ शताब्दीको विश्व–व्यवस्थामा नैतिक विज्ञान र मानवीय प्रविधि–नीति अपरिहार्य छन्।
जलवायु परिवर्तन र महामारीले देखाएको छ कि विश्व–समस्याहरू सीमाभित्र सीमित रहँदैनन्। परिधीय राष्ट्रहरू प्रायः न्यून योगदानका बाबजुद उच्च प्रभाव भोगिरहेका छन्। यसले विश्व–न्यायको प्रश्न उठाउँछ। आत्म–जागरण यहाँ पनि सान्दर्भिक छ के विश्वसमुदायले साझा उत्तरदायित्व स्वीकार्छ? के शक्तिशाली राष्ट्रहरूले ऐतिहासिक दायित्व बुझ्छन्? विश्वबन्धुत्वको वास्तविक परीक्षा यिनै संकटहरूमा हुन्छ। हरित प्रविधि साझेदारी, जलवायु–वित्त, स्वास्थ्य–सहकार्य र ज्ञान–आदानप्रदानले मात्र दिगो समाधान सम्भव छ। परिधीय राष्ट्रहरूले पनि सुशासन, पारदर्शिता र उत्तरदायित्व सुनिश्चित गर्दै प्राप्त स्रोतहरूको सदुपयोग गर्नुपर्छ। यसरी नै वैश्विक विश्वास निर्माण हुन्छ।
आर्थिक कूटनीति र क्षेत्रीय सहकार्य परिधीय विश्वव्यवस्थाको अर्को महत्वपूर्ण आयाम हो। एकल निर्भरताले जोखिम बढाउँछ। विविध साझेदारीले सन्तुलन ल्याउँछ। दक्षिण–दक्षिण सहकार्य, क्षेत्रीय व्यापार सम्झौता र सांस्कृतिक आदानप्रदानले परिधीय राष्ट्रहरूलाई सामूहिक आवाज दिन सक्छ। तर यी प्रयासहरू सफल हुन आन्तरिक राजनीतिक स्थिरता, नीति–निरन्तरता र नैतिक नेतृत्व आवश्यक हुन्छ। जब नेतृत्व स्वार्थभन्दा सेवा–भावमा प्रेरित हुन्छ, तब राष्ट्रिय हित र वैश्विक उत्तरदायित्वबीच सन्तुलन सम्भव हुन्छ। आत्म–जागरणको यही राजनीतिक रूपान्तरणले परिधीय राष्ट्रहरूलाई विश्व–व्यवस्थामा सम्मानित स्थान दिलाउन सक्छ।
यस उज्यालोको विस्तार व्यक्तिगत स्तरमा सीमित रहँदैन। जब व्यक्ति आफ्नो भित्री सत्यसँग जोडिन्छ, उसले अरूलाई पनि त्यसै दृष्टिले देख्न थाल्छ। यहाँबाट विश्व–हृदयको अवधारणा जन्मिन्छ जहाँ सम्पूर्ण मानवता एउटै भावनात्मक र चेतनात्मक क्षेत्रमा जोडिएको हुन्छ। यो हृदय समग्र अस्तित्वको साझा संवेदनशील केन्द्र हो।
भित्री उज्यालो र विश्व–हृदयबीचको सम्बन्ध मूलतः एकता र करुणाको सम्बन्ध हो। जब मानिस आफैभित्र उज्यालो हुन्छ, ऊ अलगावको भावना भन्दा पर जान्छ। उसले आफूलाई अरूबाट छुट्टिएको अस्तित्व होइन, बरु एउटै जीवन प्रवाहको हिस्सा रूपमा बुझ्छ। यही अनुभूतिले विश्वबन्धुत्वलाई जन्म दिन्छ।भित्री उज्यालो व्यक्तिगत चेतनाको जागरण हो भने विश्व–हृदय त्यसको सामूहिक विस्तार हो। एउटा भित्र जन्मिन्छ, अर्को बाहिर फैलिन्छ। जब यी दुबै मिल्छन्, तब मानव जीवन आध्यात्मिक यात्रामा रूपान्तरण हुन्छ जहाँ आत्मा र संसारबीच कुनै दूरी रहँदैन, केवल एकता रहन्छ।
प्रतिक्रिया