निर्वासनको किनारमा उभिएकी शेख हसीना
तोमनाथ उप्रेती
इतिहासका केही पात्रहरू समयका प्रश्न बन्छन्। उनीहरूका निर्णयले राष्ट्रको दिशा बदल्छ। उनीहरूका सफलताले आशा जन्माउँछन्। उनीहरूका असफलताले पुस्तालाई सोच्न बाध्य बनाउँछन्। शेख हसीना त्यस्तै एक पात्र हुन्। उनको जीवन राजनीतिक यात्रा होइन। यो शक्ति, संघर्ष, स्मृति, विश्वास, एक्लोपन, निर्वासन र समयको कठोर न्यायबीचको दीर्घ संवाद हो।
उनको जन्म एउटा सामान्य परिवारमा भएन। उनी इतिहासको गर्भबाट जन्मिइन्। उनका पिता थिए बङ्गलादेशका राष्ट्रपिता। स्वतन्त्रताको महानायक। एउटा नयाँ राष्ट्रको सपना देख्ने दूरदर्शी नेता। बाल्यकालदेखि उनले राष्ट्रलाई घरजस्तै देखिन्। राजनीतिलाई सत्ता होइन, जिम्मेवारीका रूपमा बुझिन्। तर इतिहासले उनलाई फूलको बाटो दिएन। इतिहासले उनलाई काँडाको मुकुट पहिरायो।सन् १९७५। समयले आफ्नो अनुहार परिवर्तन गर्यो। बङ्गलादेशको आकाश केवल रातो भएन। इतिहास नै रगतले लेखियो। बन्दुकका आवाजले बिहानको मौनता च्यातिदियो। एउटा राष्ट्रले आफ्ना संस्थापकलाई गुमायो। एउटा परिवारले आफ्ना प्रियजनहरूलाई गुमायो। एउटा छोरीले आफ्नो सम्पूर्ण संसार गुमाइन्।उनका पिता मारिए। उनकी माता मारिइन्। भाइबहिनीहरू मारिए। एउटै रातले एउटा वंशलाई मौन बनाइदियो। घर अब घर रहेन। त्यो स्मृतिको भग्नावशेष बन्यो। भित्ताहरू बोल्न छोडे। आँगनले पाइला चिन्न छोड्यो। समयले त्यहाँ फूल होइन, केवल शोक रोप्यो।
मानिसको जीवनमा केही क्षण यस्ता हुन्छन्, जहाँ आँसुको पनि भाषा हराउँछ। पीडा यति विशाल हुन्छ कि शब्दले त्यसलाई बोक्न सक्दैन। त्यस रात शेख हसीनाले केवल आफ्ना प्रियजनहरू गुमाएकी थिइनन्। उनले आफ्नो बाल्यकाल गुमाइन्। आफ्नो सुरक्षित संसार गुमाइन्। आफ्नो निर्दोष हाँसो गुमाइन्। एकै रात उनी उमेरले होइन, दुःखले ठूलो भइन्।दर्शन भन्छ दुःख मानिसको सबैभन्दा कठोर गुरु हो। सुखले सुविधा दिन्छ। दुःखले चेतना दिन्छ। सुखले विश्राम दिन्छ। दुःखले आत्मालाई जागृत बनाउँछ। जब सबै सहारा टुट्छन्, तब मानिसले आफ्नै अन्तरात्माको हात समाउन सिक्छ। सायद त्यही क्षणदेखि उनको जीवन व्यक्तिगत अस्तित्वभन्दा माथि उठेर इतिहाससँग गाँसियो।
निर्वासन देश छोड्नु मात्र होइन। त्यो आफ्नै स्मृतिसँग जीवन बिताउने कठिन साधना हो। शरीर सीमापार पुग्न सक्छ। तर आत्मा कहिल्यै मातृभूमिबाट निर्वासित हुँदैन। प्रत्येक साँझ सम्झनाले ढोका ढकढक्याउँछ। प्रत्येक बिहान अनुपस्थित अनुहारहरूको मौन उपस्थितिले हृदय भरिन्छ। स्मृतिहरू कहिल्यै मर्दैनन्। तिनीहरू केवल मौन हुन्छन्। अनि मौनताभित्र अझ स्पष्ट बोल्छन्।त्यो रक्तरञ्जित रातले उनलाई एउटा गहिरो सत्य बुझायो सत्ता क्षणभङ्गुर हुन्छ। परिवार पनि समयको अधीनमा हुन्छ। शरीर पनि नश्वर हुन्छ। तर विचार, आदर्श र स्मृतिहरूलाई गोलीले मार्न सक्दैन। मृत्युले मानिसलाई समाप्त गर्न सक्छ। तर उसको अर्थलाई समाप्त गर्न सक्दैन।त्यस दिनदेखि शेख हसीनाको यात्रा एउटा व्यक्तिको यात्रा मात्र रहेन। त्यो नियतिसँगको संवाद बन्यो। पीडासँगको सहयात्रा बन्यो। इतिहाससँगको मौन प्रतिज्ञा बन्यो। किनकि कहिलेकाहीँ जीवनले मानिसलाई एउटा यस्तो प्रश्न दिन्छ, जसको उत्तर आँसुले होइन, सम्पूर्ण जीवनले दिनुपर्छ।निर्वासन आत्माको परीक्षा हो। देशभन्दा टाढा रहँदा पनि उनको चेतनामा बङ्गलादेश धड्किरह्यो। स्मृतिहरूले उनलाई कहिल्यै छोडेनन्। प्रत्येक बिहान एउटा प्रश्न हुन्थ्यो। “के म फेरि आफ्नो माटोमा फर्किनेछु?” त्यो प्रश्न नै उनको राजनीतिक यात्राको ऊर्जा बन्यो।
समय फेरियो। उनी स्वदेश फर्किइन्। लाखौँ मानिसको आशा बोकेर राजनीतिमा उभिइन्। उनले केवल निर्वाचन लडिनन्। उनले इतिहाससँग संवाद गरिन्। अनेक चुनौती आए। अनेक विरोध उठे। तर उनी बारम्बार जनमतबाट प्रधानमन्त्री बनिन्। पाँच पटक। लोकतान्त्रिक प्रक्रियाबाट। जनताको विश्वासले उनलाई पुनःपुनः नेतृत्वको केन्द्रमा पुर्यायो।उनको शासनकालमा बङ्गलादेशले तीव्र आर्थिक परिवर्तन अनुभव गर्यो। गरिबी घट्यो। पूर्वाधार विस्तार भयो। उद्योग बढे। महिलाको सहभागिता सुदृढ भयो। निर्यातमुखी अर्थतन्त्रले नयाँ गति पायो। अन्तर्राष्ट्रिय मञ्चमा बङ्गलादेशको पहिचान बलियो बन्यो। समर्थकहरूका लागि उनी विकासको प्रतीक बनिन्। उनीहरूले उनलाई स्थायित्वको नेतृत्व माने।तर इतिहासको अर्को अनुहार पनि हुन्छ। जहाँ प्रशंसा हुन्छ, त्यहाँ आलोचना पनि जन्मिन्छ। विपक्षीहरूले उनको शासनलाई कठोर भने। अभिव्यक्ति स्वतन्त्रतामाथि प्रश्न उठाए। मानव अधिकारका बहस चर्किए। राजनीतिक ध्रुवीकरण गहिरियो। लोकतन्त्रको स्वरूपमाथि विवाद बढ्यो। शक्ति जतिसुकै उज्यालो देखिए पनि त्यसले लामो छायाँ पनि बनाउँछ।
सन् २०२४। समय फेरि मोडियो। विद्यार्थी नेतृत्वको आन्दोलन उठ्यो। सडक बोल्न थाल्यो। युवाको असन्तुष्टि राष्ट्रिय आन्दोलनमा बदलियो। लामो शासन अन्त्य भयो। शेख हसीना सुरक्षा खोज्दै भारत पुगिन्। फेरि निर्वासन। इतिहासले उनीमाथि पुरानो अध्याय दोहोर्यायो। फरक यति मात्र थियो पहिलो निर्वासनमा उनी पीडित छोरी थिइन्। दोस्रो निर्वासनमा उनी अपदस्थ प्रधानमन्त्री थिइन्।निर्वासनले मानिसलाई दुईवटा कुरा दिन्छ। मौनता। अनि आत्मसंवाद। राजनीतिक भीडबाट टाढा हुँदा मानिस आफ्नै अन्तरात्मासँग बस्न बाध्य हुन्छ। त्यहाँ ताली हुँदैन। नाराबाजी हुँदैन। केवल स्मृति हुन्छ। निर्णयहरूको प्रतिध्वनि हुन्छ। समयको कठोर ऐना हुन्छ।त्यसपछि अदालतको फैसला आयो। मानवता विरुद्धको अपराधमा अनुपस्थितिमै मृत्युदण्ड। उनी दोषी ठहरिइन्। तर उनले त्यो निर्णय अस्वीकार गरिन्। उनले त्यसलाई राजनीतिक रूपमा प्रेरित प्रक्रिया भनिन्। उनले आफू निर्दोष रहेको दाबी गरिन्। इतिहासमा यस्ता क्षणहरू धेरै आएका छन्। जहाँ अदालतले एउटा निर्णय दिन्छ। राजनीतिले अर्को व्याख्या गर्छ। र अन्तिम निर्णय भविष्यका पुस्ताले गर्छन्।
उनले सार्वजनिक रूपमा भनिन् म मृत्युसँग डराउँदिन। यो वाक्य साहसको अभिव्यक्ति मात्र होइन। यो राजनीतिक अस्तित्वको घोषणा पनि हो। मृत्युको भयभन्दा स्मृतिबाट मेटिने भय धेरै ठूलो हुन्छ। सायद त्यसैले नेताहरू केवल बाँच्न चाहँदैनन्। उनीहरू इतिहासमा रहन चाहन्छन्।उनले यसै वर्ष स्वदेश फर्किने प्रतिबद्धता व्यक्त गरेकी छन्। उनले षड्यन्त्रको जाल तोड्दै फेरि मातृभूमिमा पाइला टेक्ने विश्वास व्यक्त गरेकी छन्। यो घोषणा केवल राजनीतिक रणनीति पनि हुन सक्छ। व्यक्तिगत संकल्प पनि हुन सक्छ। तर यसभित्र एउटा निर्वासित आत्माको गहिरो तिर्खा पनि सुनिन्छ। जन्मभूमि मानिसका लागि केवल भूगोल हुँदैन। त्यो स्मृतिको पहिलो भाषा हो।उनको जीवनले एउटा गम्भीर सत्य सिकाउँछ। सत्ता स्थायी हुँदैन। आज सिंहासन हुन्छ। भोलि निर्वासन हुन्छ। आज जयजयकार हुन्छ। भोलि मौनता हुन्छ। आज हजारौँ समर्थक हुन्छन्। भोलि केवल आफ्नै अन्तरात्मा साथमा हुन्छ। समयभन्दा ठूलो शासक संसारमा अर्को छैन।
शेख हसीनाको जीवन विरोधाभासहरूको संगम हो। उनी विकासको प्रतीक पनि बनिन्। विवादको केन्द्र पनि बनिन्। उनी लोकतान्त्रिक चुनावबाट निर्वाचित नेता पनि रहिन्। लोकतान्त्रिक मूल्यहरूमाथि प्रश्न उठाइएकी शासक पनि बनिन्। उनी राष्ट्रनिर्माताकी छोरी पनि हुन्। निर्वासनको यात्रु पनि हुन्। इतिहासले मानिसलाई कहिल्यै एउटै रंगले चित्रित गर्दैन।मानव जीवन नदीजस्तै हो। नदीले केवल फूल बगाउँदैन। उसले ढुङ्गा पनि बगाउँछ। शेख हसीनाको जीवन पनि त्यस्तै नदी हो। त्यसमा विजयका लहर छन्। पीडाका भँगाला छन्। आशाका किनार छन्। विवादका भँवर छन्। तर नदी बग्न छोड्दैन। जीवन पनि अघि बढिरहन्छ।सायद भविष्यमा इतिहासले उनलाई फेरि नयाँ आँखाले पढ्नेछ। प्रशंसाले मात्र होइन। आलोचनाले मात्र पनि होइन। समग्रतामा। किनभने महान् जीवनीहरू अन्तिम निष्कर्ष होइनन्। तिनीहरू निरन्तर खुलिरहने पुस्तक हुन्। शेख हसीनाको जीवन पनि त्यस्तै एउटा खुला पुस्तक हो, जहाँ प्रत्येक अध्यायले सत्ता भन्दा ठूलो सत्य, र समय भन्दा गहिरो मानव नियतिको कथा सुनाइरहेको छ।
प्रतिक्रिया