logo
  • २०८३ भाद्र २३ | Tue, 08 Sep 2026
  • पूर्वीय राज्यदर्शनको आध्यात्मिक आधार

    पूर्वीय राज्यदर्शनको आध्यात्मिक आधार

    पूर्वीय राज्यदर्शनको आध्यात्मिक आधार

    तोमनाथ उप्रेती

    उपसचिव,नेपाल सरकार

     

    मानव सभ्यताको विकाससँगै राज्य र शासन प्रणालीको अवधारणा पनि विकसित हुँदै आएको हो। शासनको मूल उद्देश्य केवल सत्ता सञ्चालन, कर सङ्कलन वा सुरक्षा व्यवस्थापन मात्र नभई न्याय, शान्ति, समृद्धि र नागरिकको समग्र कल्याण सुनिश्चित गर्नु हो। विश्वका विभिन्न सभ्यताले राज्य सञ्चालनका आ-आफ्नै दार्शनिक आधार निर्माण गरेका छन्। पश्चिमी राजनीतिक चिन्तनले राज्यलाई मुख्यतः शक्ति, कानुन, सामाजिक सम्झौता र संस्थागत व्यवस्थापनका आधारमा व्याख्या गरेको पाइन्छ भने पूर्वीय राज्यदर्शनले शासनलाई नैतिकता, धर्म, आत्मअनुशासन र आध्यात्मिक चेतनासँग अभिन्न रूपमा जोडेर हेरेको छ। यही कारणले पूर्वीय राज्यदर्शनमा राज्य लोकमंगलको साधन र नैतिक उत्तरदायित्वको केन्द्र मानिन्छ।

    पूर्वीय दर्शनमा शासनको आधार व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सार्वभौमिक कल्याणको भावनामा आधारित छ। वैदिक साहित्य, उपनिषद्, भगवद्गीता, बौद्ध दर्शन, जैन दर्शन, कन्फ्युसियसको नैतिक चिन्तन तथा ताओवादी जीवनदर्शनले शासकको पहिलो योग्यता  भित्री चेतना, आत्मसंयम र नैतिक चरित्रलाई मानेका छन्। यहाँ राजधर्मको अर्थ कुनै धार्मिक सम्प्रदायको पक्षपोषण होइन, बरु सत्य, न्याय, करुणा, उत्तरदायित्व र समदृष्टिमा आधारित शासन सञ्चालन हो। त्यसैले पूर्वीय परम्परामा आदर्श राजा त्यो हो, जसले आफ्ना व्यक्तिगत इच्छा र अहंकारलाई नियन्त्रण गरी सम्पूर्ण प्रजाको हितलाई सर्वोपरि राख्छ।

    प्राचीन भारतीय राज्यदर्शनमा ऋषि र राजाको सम्बन्ध ज्ञान र शक्तिको सन्तुलनका रूपमा चित्रित गरिएको छ। ऋषिले आध्यात्मिक तथा नैतिक मार्गदर्शन प्रदान गर्थे भने राजाले त्यसलाई व्यवहारमा उतारेर न्यायपूर्ण शासन सञ्चालन गर्थे। कौटिल्यको अर्थशास्त्र ले राज्य सञ्चालनका व्यावहारिक पक्षलाई जोड दिए पनि त्यसको अन्तिम उद्देश्य प्रजाको सुरक्षा, समृद्धि र स्थायित्व नै रहेको स्पष्ट पार्छ। त्यसैगरी भगवान् बुद्धले शासनमा करुणा, अहिंसा र मध्यम मार्गलाई महत्त्व दिए भने सम्राट अशोकले युद्धबाट होइन, धर्म, सहिष्णुता र नैतिक शासनबाट साम्राज्यलाई स्थायित्व दिने प्रयास गरे। यसले पूर्वीय शासनदर्शनमा आध्यात्मिक चेतना कुनै अमूर्त अवधारणा नभई सार्वजनिक नीति र प्रशासनको नैतिक मेरुदण्ड भएको पुष्टि गर्दछ।

    समकालीन विश्वमा विज्ञान, प्रविधि, कृत्रिम बुद्धिमत्ता, भूमण्डलीकरण र तीव्र आर्थिक प्रतिस्पर्धाले शासन प्रणालीलाई अभूतपूर्व चुनौतीहरू सामना गराइरहेका छन्। भौतिक विकास अभूतपूर्व रूपमा बढे पनि भ्रष्टाचार, नैतिक सङ्कट, शक्ति दुरुपयोग, सामाजिक असमानता, हिंसा, मानसिक तनाव तथा वातावरणीय संकट पनि उत्तिकै गहिरिँदै गएका छन्। यस्ता परिस्थितिमा कानुनी नियन्त्रण वा प्रशासनिक दक्षताले मात्र सुशासन सुनिश्चित गर्न सक्दैन। शासनमा नैतिक नेतृत्व, उत्तरदायित्व, आत्मसंयम र सार्वजनिक सेवाप्रतिको समर्पण अपरिहार्य बन्दै गएको छ। यही सन्दर्भमा पूर्वीय राज्यदर्शनमा प्रतिपादित आध्यात्मिक चेतना आधुनिक सुशासनका लागि पुनः सान्दर्भिक बौद्धिक आधारका रूपमा स्थापित हुँदै गएको छ।

    नेपालजस्ता बहुधार्मिक, बहुसांस्कृतिक र पूर्वीय सभ्यताको ऐतिहासिक निरन्तरता बोकेको मुलुकका लागि पनि यो विषय विशेष महत्त्वको छ। संविधानले लोकतान्त्रिक शासन प्रणालीलाई अंगीकार गरे पनि सुशासनको सफल कार्यान्वयन अन्ततः नैतिक नेतृत्व, सार्वजनिक उत्तरदायित्व र नागरिकप्रतिको सेवाभावमा निर्भर रहन्छ। त्यसैले पूर्वीय राज्यदर्शनको आध्यात्मिक आधारको अध्ययन केवल इतिहास वा दर्शनको विषय मात्र होइन, वर्तमान शासन प्रणालीलाई मूल्यपरक, उत्तरदायी र मानवकेन्द्रित बनाउने एउटा महत्त्वपूर्ण वैचारिक प्रयास पनि हो।

    पूर्वीय दर्शनले शक्ति केन्द्रित शासनलाई कर्तव्य केन्द्रित लोक–सेवामा रूपान्तरण गर्न जोड दिन्छ। धर्मले कर्तव्यलाई मार्गदर्शन गर्छ, जसले सुनिश्चित गर्छ कि निर्णय व्यक्तिगत स्वार्थ वा भयमा आधारित नहुन्। आत्मानुशासनले शासकलाई लोभ, क्रोध र मोहबाट मुक्त गर्दै विवेकपूर्ण निर्णय लिन सक्षम बनाउँछ। यही कारणले राम, अर्जुन, भीष्म र नारदजस्ता मिथकीय पात्रहरू केवल ऐतिहासिक नायक मात्र होइन, नैतिक र प्रशासनिक आदर्श पनि बनेका छन्।

    नेपाल जस्तो बहुसांस्कृतिक समाजमा, पूर्वीय दर्शनको मूल्य लागू गर्दा नीति निर्माण र प्रशासनिक निर्णयमा सामाजिक न्याय, समावेशिता र नैतिक स्थायित्व सुनिश्चित हुन्छ। पारिस्थितिक संरक्षण, शिक्षा, स्वास्थ्य र सामाजिक न्यायका कार्यक्रमहरू यदि केवल कानूनी बाध्यता नभई कर्तव्य र धर्मको आधारमा कार्यान्वित भए, तब शासनको प्रभावकारिता मात्र बढ्दैन, समाजमा नैतिक चेतना र विश्वास पनि बढ्छ।

    पूर्वीय दर्शनको पवित्र पृष्ठभूमिमा कर्म र शुद्धताको संगमले जीवनलाई सत्यताको सुवासित सन्देश दिन्छ। कर्मको कल्याणकारी कन्सेप्टले कर्तव्यपरायणताको कमल फुलाउँछ, जसले आत्माको आँगनमा उज्यालोको उदय गर्छ। शुद्धताको शिखरमा उभिएको जीवनले लोभ, लालच र लम्पटता लत्याएर दायित्व, धैर्य र धर्मका दिव्य दृष्टान्तहरू अंगाल्छ। पूर्वीय दर्शनले कर्मलाई  क्रियाकलाप होइन, कृतज्ञताको कर्मकाण्ड मान्छ, जहाँ प्रत्येक प्रयासले आत्मानुशासनको आलोक फैलाउँछ।

    नैतिकताको न्यानोपनले समाजमा सहिष्णुता, सदाचार र सद्भावको सुवास छर्छ। यो दर्शनले मानवीय मर्मलाई महसुस गराउँदै, पापको पर्दा पर्खेर बस्ने प्रवृत्तिलाई परास्त गर्छ। कर्म र शुद्धताको सहयात्राले व्यक्तिलाई स्वार्थको सानो साँचोबाट मुक्त गराएर समष्टिको सेवा गर्ने साहस दिन्छ। पूर्वीय मार्गदर्शनले सत्ताको स्वार्थ, स्वार्थको सत्ता र सत्ता स्वार्थको संगठित सञ्जाललाई नैतिकताको निर्भीक नशाले झस्काउँछ।

    जब हामी पूर्वीय दर्शनको शुद्धता र कर्मको करुणामा करिश्मा खोज्छौं, तब जीवन  बाँच्ने साधन होइन, आत्मोन्नतिको आकर्षक अवसर बन्छ। असल कर्मको आभाषले मनमा मोक्षको मन्जरी फुलाउँछ, र शुद्ध आचरणको आलोकले राष्ट्रलाई न्याय, शान्ति र समृद्धितर्फ लैजान्छ। पूर्वीय मार्गदर्शनले मानवता, मित्रता र मोहबिना कर्ममा केन्द्रित निष्ठाको शिक्षा दिन्छ, जसले जीवनलाई सत्कर्मको सुवास र शुद्ध आचरणको अनुशासनले सुगन्धित बनाउँछ।कर्म र शुद्धतामा आधारित पूर्वीय मार्गदर्शनले जीवनलाई गहिरो, गौरवपूर्ण र गरिमामय यात्रामा रूपान्तरण गर्छ।

    Bottom of Form

    पूर्वीय दर्शन संसारका प्राचीनतम र पवित्रतम परम्पराहरू मध्येको एक अमूल्य आभूषण हो, जसले जीवनको गहिरो गूढार्थ खोज्न साधकलाई साधन प्रदान गर्छ। यस दर्शनको दिव्य धरोहरमा सत्य, सत्कर्म, सदाचार र स्व-ज्ञानका सुवासित सूत्रहरू सँगालिएका छन्। सत्यलाई सर्वोपरी सर्वोच्चता दिँदै, पूर्वीय चिन्तनले मान्छेलाई मायाको मोहभञ्जन गरेर अज्ञानको अन्धकारबाट मुक्त गरी यथार्थताको उज्यालोमा उभ्याउँछ। कर्मको कञ्चन सिद्धान्तले कर्तव्यपरायणताको कान्तिकिरण फैलाउँदै भन्छ “हरेक कर्मको कठोर परिणाम हुन्छ।” सत्कर्मले सुखको सुवास ल्याउँछ भने कुकर्मले कष्टको काँडा कोप्याउँछ। त्यसैले कर्ममा कर्तव्य, करुणा र कन्फिडेन्स अनिवार्य हुन्छ।

    नैतिकता जीवनको ज्योतिर्मय ज्योति हो, जसले मानव सम्बन्धलाई सौहार्दताको सन्देश, समाजलाई सहिष्णुताको स्पर्श र प्रकृतिलाई प्रेमको प्रार्थना गर्न सिकाउँछ। पूर्वीय दर्शनले धर्म र नैतिकतालाई जीवनका अभिन्न अंग बनाउँदै आचरणलाई आदर्शताको आधार बनाउँछ। आत्मज्ञान, अर्थात् आत्माको अडिग अद्वितीयता पहिचान गर्नु, जीवनको परम प्राप्ति हो। आत्मज्ञानले मनुष्यलाई मोक्षको मार्गमा मार्गदर्शन गर्छ, जहाँ मोह, माया र मृत्युका मायाजालबाट मुक्त भई मुक्ति र ममत्वको अनुभव हुन्छ। यसरी पूर्वीय दर्शन कर्मको जिम्मेवारी, नैतिक आचरण र आत्मज्ञानमार्फत जीवनलाई सार्थक, सशक्त र सुगन्धित बनाउने मार्गचित्र प्रस्तुत गर्छ।

    पूर्वीय दर्शन जीवन, जगत र कर्मको गहन अध्ययन हो, जसले सत्य, ज्ञान, नैतिकता र आत्माको आध्यात्मिक अहमियतलाई उच्चतम प्राथमिकता दिन्छ। यसमा कर्मलाई जीवनको कञ्चन कडी मानिन्छ, जसले व्यक्तिको वर्तमान र भविष्यलाई निर्धारण गर्छ। कर्मको सिद्धान्तले मानवलाई सदाचार, सजगता र दायित्वबोधको दिशामा डोर्याउँछ। धर्म, संस्कार, योग, ध्यान र आत्मज्ञान पूर्वीय दर्शनका स्तम्भ हुन्, जसले जीवनलाई दिव्य दिशातर्फ डो-याउँछ।

    नेपाल र दक्षिण एसियाको संस्कृतिमा पूर्वीय दर्शनले मानव जीवन, सामाजिक संरचना र राष्ट्र निर्माणमा अद्वितीय योगदान पुर्याएको छ। हिन्दू, बौद्ध र जैन परम्पराहरूले मानवीय आचरणलाई नैतिक, आध्यात्मिक र सामाजिक आधारमा दृढ बनाउन मार्गदर्शन गरेका छन्। बौद्ध धर्मका चार आर्यसत्य र अष्टाङ्गिक मार्गले दुःखको कारण र यसको समाधानको स्पष्ट चित्रण प्रस्तुत गर्छन्। यसले व्यक्तिगत र सामाजिक जीवनमा शान्ति, सहिष्णुता र विवेकको संस्कार विकास गराउँछ। हिन्दू दर्शनले कर्म, धर्म र मोक्षको समन्वयद्वारा जीवनको अर्थ उजागर गर्छ। यसले स्पष्ट देखाउँछ कि व्यक्ति र राष्ट्र दुवै कर्मको परिणामप्रति उत्तरदायी हुनुपर्छ, र स्वार्थ, लोभ वा क्रोधले नेतृत्व र समाजमा अस्थिरता निम्त्याउँछ।

    पूर्वीय दर्शनले सहिष्णुता, सद्भाव, भाइचारा र सहकार्यमा जोड दिन्छ। यसले सामाजिक विभाजन—जाति, धर्म वा भाषाको आधारमा—भत्काउने मात्र होइन, नागरिक र राज्यबीचको दायित्व र अपनत्वको भावना स्थापना गर्छ। व्यक्तिले अहंकार, ईर्ष्या र मोह त्यागेर धर्म, कर्तव्य र सामाजिक उत्तरदायित्वको पालन गर्दा मात्र समाजमा नैतिक स्थिरता सम्भव हुन्छ। सार्वजनिक पदमा रहेका व्यक्तिले आफ्नो स्वार्थको सानो संसार छोडेर राष्ट्र र जनताको हितलाई सर्वोच्च प्राथमिकता दिनुपर्छ।

    पूर्वीय दर्शन राष्ट्र निर्माणमा नैतिक नेतृत्व र जिम्मेवार नागरिकताको महत्त्वलाई बलियो ढंगले उजागर गर्छ। वेद, भगवद्गीता र बुद्धका उपदेशहरूले शुद्ध आचरण, आत्मअनुशासन, निष्ठा र करुणाको मार्ग देखाउँछन्। यी मूल्यहरूले नेतृत्व र नागरिक दुवैलाई प्रेरित गर्दै राष्ट्रलाई स्वच्छ, पारदर्शी, निष्पक्ष र भ्रष्टाचारमुक्त बनाउन योगदान पुर्याउँछन्। कर्म र नैतिकताको दिव्य दीपमा जीवनलाई उज्यालो बनाउँदै, पूर्वीय दर्शनले राष्ट्र निर्माणको स्थायी आधार सृजना गर्न हामीलाई सतत् प्रेरित गर्छ।

    नेपालले संघीय लोकतान्त्रिक शासन प्रणालीमार्फत समावेशी विकास, दिगो शान्ति र सामाजिक न्यायको सपना बुनेको छ। तर यदि शासन सञ्चालनमा मानवीय मूल्यको अभाव छ भने, मूर्खता, व्यक्तिगत स्वार्थ र मतलबी प्रवृत्तिले राष्ट्रलाई अस्थिर बनाउँछ। पूर्वीय दर्शनले नागरिक र शासक दुवैलाई जिम्मेवारी, आत्मीयता, सहिष्णुता र भाइचाराको मार्ग देखाउँछ। कला, संस्कृति र संस्कारको सम्मान गर्दै यो दर्शनले समाजमा माया, दया, अहिंसा र सदाचारको वातावरण सिर्जना गर्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ भाद्र २१, आईतवार १२:३०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP