दूधको यात्रामा भेटिएको कर्मको तीर्थ(नियात्रा)
तोमनाथ उप्रेती
मोरङको दम्राभिट्टातर्फ यात्रा गर्दै जाँदा रातले गाउँलाई आफ्नो निस्तब्ध काखमा राखेको थियो। आकाशमा केही तारा बाँकी थिए। सडक सुनसान थियो। टाढाबाट कुकुर भुकेको आवाज सुनिन्थ्यो। कतै कुखुराले पहिलो पटक बास दियो। घडीले बिहानको तीन बजेको संकेत गर्दै थियो। त्यहाँ बिहान केवल सूर्यसँग आउँदैनथ्यो। त्यहाँ बिहान श्रमसँगै जाग्थ्यो।दम्राभिट्टाको शीतल हावाले शरीर छोइरहेको थियो। खेतका पातहरूमा शीतका थोपा टल्किरहेका थिए। ती थोपाहरू बिहानको प्रकाश नआउँदै पनि चम्किन तयार थिए। मलाई लाग्यो मानिसको जीवन पनि यस्तै हुनुपर्छ। उज्यालो आउनुअघि नै उज्यालोको प्रतीक्षा गर्न सक्ने। त्यही मौन बिहानमा प्रमिलाको घरभित्र बत्ती बल्यो। एउटा दिनको आरम्भ भयो। प्रमिलाको आँखा खुलेको थियो। तर त्यो केवल निद्राबाट जागरण थिएन। त्यो कर्तव्यको जागरण थियो।
घरको अर्को कुनामा कुल प्रसाद सानो निलो डायरी लिएर बसिरहेका थिए। डायरीमा किसानहरूको नाम थियो। दूधको मात्रा थियो। हिसाब थियो। तर मलाई त्यो सानो डायरी एउटा सामान्य लेखा पुस्तिका मात्र लागेन। त्यसमा गाउँको श्रम लेखिएको थियो। किसानको पसिना लेखिएको थियो। परिवारको आशा लेखिएको थियो। राष्ट्रको एउटा सानो अर्थतन्त्र लेखिएको थियो। मानिस कहिलेकाहीँ ठूला पुस्तकमा देश खोज्छ। तर देश त यस्ता साना डायरीका पानामा पनि बाँचिरहेको हुन्छ।बिहान विस्तारै गाउँमा फैलिँदै थियो। कच्चा बाटोमा साइकलको घन्टी बज्न थाल्यो। दूधका भाँडा बोकेर किसानहरू आउँदै थिए। कसैको हातमा स्टिलको बाल्टिन थियो। कसैको हातमा प्लास्टिकको भाँडो। ती भाँडामा केवल दूध थिएन। त्यहाँ परिवारको खर्च थियो। छोराछोरीको पढाइ थियो। औषधिको पैसा थियो। भोलिको आशा थियो। एउटा किसानको पसिनाले अर्को परिवारको बिहानसँग सम्बन्ध जोडिरहेको थियो। यही सम्बन्ध नै समाज हो। यही सम्बन्ध नै अर्थतन्त्र हो। यही सम्बन्ध नै राष्ट्रको मौन संरचना हो।
डेरि उधोगमा मानिसहरू जम्मा हुन थाले। तौल गरिन्थ्यो। मापन गरिन्थ्यो। नाम लेखिन्थ्यो। भाँडा खाली हुन्थे। जीवन पनि शायद यस्तै रहेछ। हामी दिनभरि आफूलाई रित्त्याउँछौँ। श्रम गर्छौँ। दिन्छौँ। थाक्छौँ। अनि भोलिपल्ट फेरि भरिनका लागि आशाको घर फर्कन्छौँ। मैले कुल प्रसादलाई किसानहरूसँग कुरा गरिरहेको देखें। उनको स्वरमा आदेशभन्दा अपनत्व बढी थियो। किसानको दूध तौलिँदै थियो। तर त्यससँगै उसको श्रमको सम्मान पनि तौलिनुपर्थ्यो। सायद कुनै पनि व्यवसायको सबैभन्दा ठूलो पूँजी विश्वास हो।
गाईहरू उनीहरूका आफ्नै थिएनन्। तर गाईको दूधसँग उनीहरूको सम्बन्ध गहिरो थियो। किसानले उत्पादन गर्थे। सङ्कलन केन्द्रले जोड्थ्यो। डेरीले त्यसलाई नयाँ स्वरूप दिन्थ्यो। बजारले उपभोक्तासम्म पुर्याउँथ्यो। यो एउटा श्रृंखला थियो। एउटा जीवनचक्र। मलाई लाग्यो स्वावलम्बन भनेको एक्लै सबै कुरा गर्नु होइन। एकअर्काको श्रमलाई सम्मानपूर्वक जोड्नु हो। किसान बिना डेरी अधुरो थियो। डेरी बिना किसानको उत्पादनको बजार अधुरो थियो। उपभोक्ता बिना उत्पादनको अर्थ अधुरो थियो। समाज वास्तवमा पारस्परिक निर्भरताको सुन्दर दर्शन रहेछ।
सूर्य उदाउन थालेपछि दूध सङ्कलन केन्द्रको वातावरण बदलियो। सेतो दूधको सतहमा पहेंलो किरण पर्यो। त्यो दृश्य साधारण थियो। तर मलाई असाधारण लाग्यो। सेतो दूध र पहेंलो घामको भेटमा श्रम र आशाको रंग मिसिएको थियो। पाँच जना कर्मचारी आ–आफ्नो काममा व्यस्त थिए। कसैले भाँडा उठाइरहेको थियो। कसैले तौलिरहेको थियो। कसैले सफा गरिरहेको थियो। कसैले हिसाब मिलाइरहेको थियो। श्रमका हातहरू सधैँ चम्किला हुँदैनन्। कहिलेकाहीँ तिनमा चोटका डाम हुन्छन्। कहिलेकाहीँ तिनमा दूधको गन्ध बस्छ। तर यिनै हातहरूले समाजलाई चलाइरहेका हुन्छन्।
म उनीहरूसँगै डेरी प्लान्टतर्फ लागेँ। गाउँबाट सङ्कलित दूध अब अर्को यात्रामा थियो। किसानको गोठबाट सङ्कलन केन्द्रसम्म। सङ्कलन केन्द्रबाट उत्पादन कक्षसम्म। त्यहाँबाट बजारसम्म। अनि बजारबाट घरघरको भान्सासम्म। एउटा दूधको बूँदले पनि कति यात्रा गर्दोरहेछ! त्यसको यात्रामा कति हात जोडिन्छन्! कति मानिसको जीवन जोडिन्छ! त्यस क्षण मलाई लाग्यो हाम्रो जीवन पनि एउटै ठूलो यात्राको अंश हो। हामी कसैको यात्रामा उत्पादनकर्ता हौँ। कसैको यात्रामा सहयोगी हौँ। कसैको यात्रामा उपभोक्ता हौँ।डेरीको सानो उत्पादन कक्षभित्र दूध उम्लिरहेको थियो। बाफ माथितिर उठ्दै थियो। त्यो बाफमा मलाई श्रमको गन्ध आयो। प्रमिला दूधको काममा व्यस्त थिइन्। उहाँको हातमा अभ्यासको आत्मविश्वास थियो। उम्लिरहेको दूधले मलाई जीवनको एउटा दर्शन सम्झायो। ताप बिना परिवर्तन हुँदैन। कष्ट बिना परिपक्वता आउँदैन। दूध पनि ताप पाएपछि अर्को रूप लिन सक्छ। दही बन्छ। पनीर बन्छ। घिउ बन्छ। जीवन पनि परिस्थितिको तापबाट गुज्रन्छ। मानिसले दुःखलाई पीडा ठानेर हेर्ने कि रूपान्तरणको अवसर ठानेर हेर्ने? यही प्रश्नले जीवनको अर्थ बदलिदिन्छ।
कुल प्रसाद दूधको तापक्रम र मापनमा ध्यान दिइरहेका थिए।प्रमिला उत्पादनको प्रक्रियामा व्यस्त थिइन्। एउटा सानो ठाउँभित्र दुई जीवनले ठूलो दर्शन बाँचिरहेका थिए। कर्मलाई पूजा बनाउने दर्शन। श्रमलाई सम्मान बनाउने दर्शन। उत्पादनलाई स्वाभिमान बनाउने दर्शन। उनीहरूका लागि यो व्यवसाय मात्र थिएन। परिवारको जीवन पनि थियो। समाजसँगको सम्बन्ध पनि थियो। देशमै केही गर्न सकिन्छ भन्ने विश्वास पनि थियो। म सोच्दै थिएँ,राष्ट्रप्रेम सधैँ ठूलो भाषणमा किन खोज्ने? एउटा मानिसले आफ्नो काम इमानदारीपूर्वक गर्नु पनि त राष्ट्रप्रेम हो।
त्यही घरमा रिजन र कामनाको उपस्थिति अर्को यात्राको संकेत थियो। बालबालिका भविष्यका यात्रु हुन्। उनीहरूले पुस्तकबाट शिक्षा पाइरहेका थिए। तर जीवनबाट पनि सिकिरहेका थिए। श्रमको मूल्य सिकिरहेका थिए। समयको महत्व सिकिरहेका थिए। परिवारको जिम्मेवारी बुझिरहेका थिए। पढाइ र कामलाई एकअर्काको विरोधी होइन, जीवनका दुई पक्षका रूपमा देखिरहेका थिए। शिक्षा मानिसलाई सोच्न सिकाउँछ। श्रमले मानिसलाई जीवन बुझ्न सिकाउँछ। यी दुवैको मिलनले मात्र व्यक्तित्व पूर्ण हुन सक्छ। रिजनले डेरी र घरका अन्य काममा सहयोग गरिरहेको दृश्य देख्दा मलाई आफ्नो बाल्यकालको सम्झना आयो। श्रमसँग परिचित बालबालिका जीवनका कठिनाइसँग पनि परिचित हुन्छन्। उनीहरूलाई उपलब्धि सजिलै प्राप्त हुने वस्तुजस्तो लाग्दैन। कामनाको सहयोगी हातमा पनि एउटा भविष्य देखिन्थ्यो। त्यो आत्मनिर्भर नेपालको सम्भावनासँग पनि जोडिएको थियो। अभिभावकले छोराछोरीलाई असफलतामा धैर्य, श्रममा सम्मान र मानिसप्रति करुणा सिकाए भने मात्र शिक्षा जीवनसँग जोडिन्छ।
दिउँसो बिस्तारै साँझतर्फ ढल्दै थियो। डेरीमा कामको गति भने रोकिएको थिएन। दही जमाउन तयारी भइरहेको थियो। पनीर काटिँदै थियो। क्रीम अलग पारिँदै थियो। घिउको सुवास वातावरणमा फैलिँदै थियो। प्रमिला स्टिलको भाँडामा दहीको स्थिरता हेरिरहेकी थिइन्। कुल प्रसाद हिसाब मिलाइरहनुभएको थियो। मलाई लाग्यो जीवनमा पनि दहीजस्तै स्थिरता आवश्यक रहेछ। दूधजस्तै तरल भएर मात्र जीवन चल्दैन। कहिलेकाहीँ मनलाई पनि जम्न दिनुपर्छ। विचारलाई परिपक्व हुन दिनुपर्छ। हतारमा बनाएको निर्णय स्वादिलो हुँदैन।
साँझ पर्दा भोलिपल्टका लागि प्याकेजहरू तयार हुन थाले। विराटनगर र रंगेलीका पसलतर्फ जाने दूध, दही, पनीर र अन्य उत्पादनहरू छुट्याइँदै थिए। पाँच जना कर्मचारी अझै काममै थिए। कसैको हातमा सानो चोटको दाग थियो। कसैको निधारमा पसिनाको चमक। तर उनीहरूको अनुहारमा थकानसँगै सन्तोष पनि थियो। श्रमले शरीरलाई थकाउँछ। तर अर्थपूर्ण श्रमले आत्मालाई बलियो बनाउँछ। शायद यही कारण हो कि सेवा र श्रमबीच गहिरो सम्बन्ध छ। आफूभन्दा ठूलो उद्देश्यसँग जोडिएको काम कहिल्यै केवल काम मात्र रहँदैन।त्यही बेला मैले कुल प्रसादलाई ग्राहकसँग फोनमा कुरा गरिरहेको देखें। उहाँ बिल र हिसाबमा व्यस्त हुनुहुन्थ्यो। तर व्यापारभित्र पनि एउटा सम्बन्ध थियो। बजारमा उत्पादन पुर्याउनु केवल बिक्री थिएन। गुणस्तरको जिम्मेवारी पनि थियो। किसानप्रतिको उत्तरदायित्व पनि थियो। उपभोक्ताप्रतिको विश्वास पनि थियो। मलाई लाग्यो नैतिकता मन्दिरको विषय मात्र होइन। बजारको पनि विषय हो। व्यापारमा इमानदारी हुनु पनि आध्यात्मिकता हो। उत्पादनमा शुद्धता हुनु पनि नैतिकता हो। श्रमिकको सम्मान गर्नु पनि धर्म हो।
रात नजिकिँदै गर्दा मैले प्रमिलालाई चुपचाप काम गरिरहेको देखें। उहाँले मनमनै प्रार्थना गरेझैँ लाग्यो। शायद हरेक श्रमिकको हृदयमा कुनै न कुनै प्रार्थना हुन्छ। किसानले राम्रो मौसमको प्रार्थना गर्छ। व्यापारीले विश्वासको। श्रमिकले सम्मानको। आमाले सन्तानको स्वास्थ्यको। प्रमिलाको श्रममा पनि त्यही मानवीय प्रार्थना थियो। दूध जसको घरमा पुग्छ, उसको जीवनमा स्वास्थ्य र सन्तोष पुगोस भन्ने भाव। त्यही क्षण मलाई लाग्यो कामलाई पवित्र बनाउने कुरा बाहिरी विधि होइन। त्यसको पछाडि रहेको भावना हो।
धेरै युवाहरू विदेशतर्फ जाने सपना देखिरहेका छन्। त्यो सपना गलत होइन। जीवनले सबैलाई आफ्नै बाटो रोज्ने अधिकार दिएको छ। तर देशमै बसेर पसिना बगाउने मानिसहरूको यात्रालाई पनि उत्तिकै सम्मान गर्नुपर्छ। कुल प्रसाद र प्रमिलाको जीवनले मलाई एउटा मौन प्रश्न सोध्यो के स्वाभिमान ठूलो सम्पत्तिमा हुन्छ? कि आफ्नै माटोमा इमानदारीपूर्वक श्रम गर्न सक्नुमा पनि हुन्छ? उत्तर उनीहरूको जीवनमै थियो। माटोको गन्धसँग सम्बन्ध राखेर पनि सम्मानपूर्वक बाँच्न सकिन्छ। उत्पादन गरेर पनि सपना देख्न सकिन्छ। श्रम गरेर पनि आत्मा उज्यालो बनाउन सकिन्छ।
भोलिपल्ट बिहानका लागि गाडी तयार थियो। उत्पादनहरू बजारतर्फ जाने प्रतीक्षामा थिए। त्यो गाडीलाई हेर्दा मलाई सामान्य ढुवानीको साधन मात्र देखिएन। त्यो एउटा यात्राको निरन्तरता थियो। किसानको गोठबाट सुरु भएको यात्रा अब शहरको पसल हुँदै मानिसको घरसम्म पुग्दै थियो। त्यो यात्रामा गाउँ र शहर जोडिएका थिए। उत्पादन र उपभोग जोडिएका थिए। पसिना र स्वास्थ्य जोडिएका थिए। एउटा सानो व्यवसायले कति जीवनसँग सम्बन्ध बनाउँदोरहेछ भन्ने कुरा त्यहीँ देखिन्थ्यो। पछाडि फर्केर डेरीतिर हेरेँ। दिनभरि आवाजले भरिएको ठाउँ अहिले केही शान्त थियो। तर त्यो शान्तिभित्र पनि भोलिको काम निदाइरहेको थिएन। बिहान फेरि तीन बजे कसैको आँखा खुल्नेछ। कुखुरा फेरि बास्नेछ। निलो डायरी फेरि खुल्नेछ। किसानहरू दूध लिएर आउनेछन्। कर्मचारीहरू काममा जुट्नेछन्। दूध फेरि यात्रा गर्नेछ। जीवन फेरि कर्मको चक्रमा घुम्नेछ।
त्यही बाटो हुँदै फर्कँदा मैले महसुस गरेँ, तीर्थ सधैँ नदीकिनार वा मन्दिरमा मात्र हुँदैन। जहाँ श्रमलाई सम्मान गरिन्छ, त्यो ठाउँ पनि तीर्थ हो। जहाँ किसानको पसिनाले मूल्य पाउँछ, त्यो ठाउँ पनि पवित्र हुन्छ। जहाँ परिवारले श्रमलाई शिक्षासँग जोड्छ, त्यहाँ भविष्यको उज्यालो हुन्छ। जहाँ व्यवसायमा इमानदारी हुन्छ, त्यहाँ नैतिकता हुन्छ। जहाँ आफ्नो कामलाई केवल कमाइ होइन, जिम्मेवारी ठानिन्छ, त्यहाँ कर्मयोग जीवित हुन्छ।
दम्राभिट्टाको त्यो बिहान मेरो स्मृतिमा एउटा नयाँ दर्शन बनेर बस्यो। दूधको सेतो रंगले शुद्धताको अर्थ सम्झायो। घिउको सुवासले श्रमको मिठास सम्झायो। दहीको स्थिरताले धैर्यको पाठ पढायो। पनीरको रूपान्तरणले परिवर्तनको दर्शन दियो। किसानको पसिनाले स्वाभिमानको मूल्य सम्झायो। कुल प्रसाद र प्रमिलाको यात्राले कर्मको वास्तविक अर्थ देखायो। राष्ट्र निर्माण सधैँ ठूला भवन र भाषणबाट सुरु हुँदैन। त्यो त बिहान तीन बजे खुल्ने एउटा आँखाबाट पनि सुरु हुन सक्छ। एउटा किसानको बाल्टिनबाट पनि। एउटा इमानदार डायरीबाट पनि। एउटा सानो डेरीबाट पनि।
म घर फर्कँदै गर्दा पूर्वतिर फेरि अर्को उज्यालोको कल्पना गरिरहेको थिएँ। जीवनको सबैभन्दा ठूलो तीर्थ शायद यही हो आफ्नो कर्मलाई पवित्र बनाउनु। आफ्नो श्रमलाई सम्मान गर्नु। अरूको श्रमप्रति कृतज्ञ हुनु। र आफूले गर्ने सानो कामभित्र पनि समाज र राष्ट्रको ठूलो अर्थ देख्नु। दम्राभिट्टाको त्यो बिहानले मलाई यही सिकायो जुन हातले इमानदारीपूर्वक श्रम गर्छ, त्यो हात खाली हुँदैन। त्यसमा भविष्यको बीउ हुन्छ। जुन मनले सेवामा आनन्द भेट्छ, त्यो मन गरिब हुँदैन। र जुन यात्राले मानिसलाई आफूभन्दा ठूलो उद्देश्यसँग जोड्छ, त्यो यात्रा कहिल्यै समाप्त हुँदैन।
प्रतिक्रिया