logo
  • २०८३ आश्विन २३ | Fri, 09 Oct 2026
  • निराशाको अन्धकारमा उदाएको चेतनाको सूर्य

    निराशाको अन्धकारमा उदाएको चेतनाको सूर्य

    निराशाको अन्धकारमा उदाएको चेतनाको सूर्य

    तोमनाथ उप्रेती

    जीवनको यात्रामा मानिस अनेक असफलता, अपमान, अन्याय, गरिबी, एक्लोपन र निराशाको सामना गर्छ। यस्ता क्षणहरूमा उसको मन अन्धकारले ढाकिन्छ, आशा मर्न थाल्छ र भविष्य धुमिल देखिन्छ। तर यही अन्धकारभित्र मानव चेतनाको वास्तविक शक्ति सुप्त अवस्थामा लुकेको हुन्छ।जब पीडाले सीमा नाघ्छ, तब मानिस बाहिरी सहाराभन्दा भित्री विवेक र आत्मबलतर्फ उन्मुख हुन्छ। यही आत्मअन्वेषणको प्रक्रियाबाट चेतनाको सूर्य उदाउँछ। उसले जीवनको अर्थ, कर्तव्य र मूल्यबोधलाई नयाँ दृष्टिले बुझ्न थाल्छ। निराशाले मानिसलाई कमजोर होइन, अझ परिपक्व, सहनशील र संवेदनशील बनाउँछ।

    मानव जीवनको यात्रा केवल आनन्द र सुखको हो भन्ने भ्रम हो। वास्तवमा, प्रत्येक मान्छे आफ्नो जीवनमा दुःख, पीडा र चुनौतीहरूको सामना गर्न बाध्य हुन्छ। यिनै अनुभवहरूले मानिसको चेतना र आत्मालाई गहिराइमा डुबाउँछन्। तर यही गहिराइमा लुकेको अन्धकारले मात्र सृजनात्मक उज्यालोलाई जन्म दिन्छ। जसरी अँध्यारो माटोभित्र दबिएको बीउले मात्र अंकुरित भएर सुन्दर फूल फुलाउँछ, त्यस्तै मानव जीवनमा दुःखले मानिसको सिर्जनशील क्षमतामा उजागर हुने अवसर ल्याउँछ।दुःखले मानिसलाई भित्री आत्मासँग साक्षात्कार गराउँछ। मानिस जब आफ्नो पीडाको सामना गर्छ, उसले जीवनका गहिरा प्रश्नहरूको उत्तर खोज्न थाल्छ। अस्तित्व, मूल्य र उद्देश्यका प्रश्नहरूले सृजनात्मक सोच र कलात्मक अभिव्यक्तिको द्वार खोल्छ। यही प्रक्रियामा व्यक्तिले आफ्नो जीवनलाई अर्थपूर्ण बनाउने शक्ति पाउँछ।पीडाले मात्र मानिसलाई परिष्कृत बनाउँछ, र संघर्षको अँध्यारोमा नै प्रतिभा र सिर्जनशीलता अंकुरित हुन्छ। जीवनका कठिन क्षणहरू मानव चेतनालाई गहिराइमा डुबाउँछन् र त्यसैबाट उत्पन्न प्रकाशले समाज र संस्कृति दुवैलाई समृद्ध बनाउँछ।त्यसैले दुःख र पीडालाई केवल बाधा मात्र नभनी, उज्यालो सिर्जना गर्ने स्रोतको रूपमा हेर्नुपर्छ। अन्धकारभित्रै लुकेको उज्यालो नै मानव सभ्यता र सिर्जनाको वास्तविक प्रेरणा हो।

    दुःख आत्मा र चेतनाको गहिरो तहमा पुग्ने माध्यम हो। जब मानिस जीवनका कठिन मोडहरूमा पुग्छ, ऊ आफ्नो सतही इच्छाहरू र आकांक्षाहरूको परे जान थाल्छ। यही समयमा ऊ आफ्नो भित्री आवाज, संवेदना र अनुभूतिहरूसँग साक्षात्कार गर्छ। यही साक्षात्कारले सिर्जनाको बीज रोप्छ। साहित्य, संगीत, चित्रकला वा दर्शन—यी सबै क्षेत्रमा दुःखले कलाकारहरूलाई महान कृतिहरू सिर्जना गर्न प्रेरित गरेको छ।

    प्रोमेथियसले देवतासँग भएको आगो चोरेर मानवलाई दिए। यसलाई ‘अपराध’ मानियो र उनलाई शिलामा बाँधेर गिद्धले दैनिक कलेजो टोक्ने शाप दिइयो। यो अनन्त दुःख मानव सभ्यताको जन्मदाताको रूपमा पीडाको प्रतीक थियो। आगो अर्थात् ज्ञान, प्रविधि र सृजनशीलता, प्रोमेथियसको दुःखमार्फत मानवतामा प्रवाहित भयो। यसले देखाउँछ—सृष्टि प्रायः पीडाबाटै उदाउँछ।

    विलियम ब्लेकको कविताहरू, शेक्सपियरका त्रासदी नाटकहरू, बुद्धको आत्मज्ञान र टोल्सटायको यथार्थवादी साहित्य सबै दुःखको अनुभवबाट उत्पन्न भएका उदाहरणहरू हुन्। दुःखले मानिसलाई भित्रतिर फर्काउँछ, जहाँ ऊ आफ्नो आत्माको प्रतिबिम्ब नियाल्न थाल्छ।कल्पना गर्नुहोस्, एउटा बीउ अँध्यारो माटोभित्र दबिएको हुन्छ, तर त्यही अँध्यारोले उसलाई अंकुरित हुन मद्दत गर्छ। मानिसको जीवन पनि त्यस्तै हो—दुःखको अँध्यारोले उसलाई सिर्जनशीलताको उज्यालोमा डोहोर्याउँछ।समुद्रमन्थनमा देव र असुरले अमृत खोज्दा पहिला ‘कालकुट विष’ निस्कियो। भगवान् शिवले त्यो विष पिए, जसले उनको कण्ठ नीलो भयो। अमृत अर्थात् सृष्टिको श्रेष्ठ उपलब्धि पाउन पहिले विष अर्थात् दुःख सहनैपर्छ। जीवनको महान सिर्जना ‘विषको पीडा’ पार गरेर मात्र सम्भव हुन्छ।बुद्धले ज्ञान प्राप्त गरेपछि जीवनको मूल सत्य दुःख हो भन्ने उद्घोष गरे। जन्म, वृद्धावस्था, रोग र मृत्यु—सब दुःखका रूप हुन्। तर यही दुःख आत्मज्ञानको मार्ग हो। दुःखलाई बुझ्ने, स्वीकार गर्ने र रूपान्तरण गर्ने प्रक्रियाबाट निर्वाण सम्भव हुन्छ। यसैले बौद्ध दर्शनमा दुःख कुनै नकारात्मक अभिशाप होइन, आत्म–मुक्तिको ढोका हो।

    दुःखले जीवनका रंगहरू झन प्रखर बनाउँछ। जसरी रातको अँध्यारोले बिहानको सूर्यझुल्कोलाई अद्वितीय बनाउँछ, त्यस्तै, दुःखको गहिराइमा नै सिर्जनाको उज्यालो पाइन्छ। यही उज्यालो मानव चेतनाको सर्वोच्च उपलब्धि हो।दुःख सिर्जनाको उत्पत्तिस्थल हो। दुःखले मानिसलाई आफ्नो भित्री भावनाहरूलाई शब्द, चित्र, वा संगीतको रूप दिने अद्वितीय क्षमता दिन्छ । यो जीवनको प्रतिकूलतासँगको द्वन्द्वबाट जन्मिने शक्तिशाली साधन हो, जसले मानवता र सिर्जनशीलतालाई समृद्ध बनाउँछ।त्यसैले  दुःख सिर्जनाको स्रोत हो।

    दुःख मानव जीवनको अनिवार्य पाटो हो । संसारका सबै महान् रचनाहरू दुःखको गर्भबाटै जन्मिएका छन् । पीडा, वेदना र संघर्षले मानिसको मनलाई अनुभूति दिन्छ, जसले ऊभित्र सिर्जनात्मक चेतनाको द्वार खोलिदिन्छ । कवि, लेखक, चित्रकार, संगीतकार वा कुनै पनि सर्जकका अमर कृतिहरू हेर्दा प्रायः तिनीहरू कुनै न कुनै व्यक्तिगत वा सामाजिक पीडाको परिणाम देखिन्छन् ।

    दुःखले मानिसलाई संवेदनशील बनाउँछ, आत्म-परिक्षण गर्न सिकाउँछ र जीवनलाई गहिराइबाट बुझ्न मद्दत गर्छ । यस्तै गहिराइबाटै मौलिक सिर्जनाहरू जन्मन्छन् । जीवनमा आउने चोट, असफलता, गुमावट, अन्याय वा अपमानजस्ता अनुभवहरूले मानिसलाई सोच्न बाध्य पार्छ र भित्र लुकेको कलालाई उजागर गराउँछ ।दुःखको जरोमा जब व्यक्ति ध्यानपूर्वक पुग्छ, तब उसले आत्मा र चेतनाको स्पर्श गर्छ । यही स्पर्शबाट कविता, संगीत, चित्र वा दर्शनको जन्म हुन्छ । त्यसैले दुःख कुनै अभिशाप होइन, यो त एउटा रूपान्तरणको सम्भावना हो—जहाँ भित्रको अध्यारोलाई उज्यालोमा परिणत गर्न सकिन्छ ।दुःखले सशक्त आत्मा बनाउँछ, र यही सशक्त आत्माबाट सृजनाको गहिरो स्रोत प्रकट हुन्छ । त्यसैले भन्न सकिन्छ—दुःखले सिर्जनाको मार्ग खोल्छ, र मानवता त्यसैबाट समृद्ध हुन्छ ।मानव जीवनको आनन्द सधैं कुनै न कुनै दुःखको सिर्जनाको श्रोत हो यो विचारले जीवनलाई सम्पूर्णता दिने द्वन्द्वात्मक सत्यलाई उजागर गर्दछ । सुख र दुःख एकअर्काका अनिवार्य सहयात्री हुन्। मानवीय अस्तित्वको सार बुझ्न, यो आवश्यक छ कि हामी आनन्दलाई छुट्टै अनुभवका रूपमा मात्र नलिऔं । यसलाई दुःखको गहिरो भूमिमा उभिएर बुझ्नुपर्छ। जीवनको कुनै पनि क्षण पूर्ण रूपमा शुद्ध आनन्दको हो भने पनि त्यो समय, स्थान, र परिवेशको सन्दर्भमा दुःखको पृष्ठभूमिबाट मुक्त  रहेको हुँदैन ।

    आध्यात्मिक दृष्टिकोणले पनि दुःखलाई आत्मज्ञानको ढोकाको रूपमा लिएको छ । गीता भन्छ—“दुःखमय संसारमा आत्माको शुद्धि हुन्छ।” दुःखले मानिसलाई आफ्नै भित्री चेतनासँग साक्षात्कार गराउँछ, जसबाट सिर्जनाको मूल प्रेरणा जन्मिन्छ ।बुद्धले पनि दुःख देखेपछि आत्मज्ञानको खोज सुरु गरे ।दुःखले व्यक्तिलाई कल्पनाशक्ति र अभिव्यक्तिको आवश्यकता महसुस गराउँछ । जस्तै, एउटा बिउले अँध्यारो माटोभित्र संघर्ष गरेपछि मात्र अंकुरण गर्छ, मानिस पनि त्यसैगरी दुःखको माध्यमबाट आफ्नो क्षमताको स्रोत भेट्टाउँछ ।

    जीवनमा दुःख र आनन्द संगीतका सुर र तालजस्तै हुन्—यी दुवैको सन्तुलनले मात्र पूर्णता आउँछ । केवल सुखले आत्मसन्तुष्टि दिन सक्दैन; दुःखले मात्र मानिसलाई आफ्नो सीमाहरू पार गर्न प्रेरित गर्छ ।यसैले, दुःख कुनै अभिशाप होइन—यो त आत्मिक उन्नतिको माध्यम र सिर्जनात्मक यात्राको सशक्त प्रेरणा हो । यही दुःखले जीवनलाई गहिराइ, मूल्य र सौन्दर्य प्रदान गर्छ ।

    दुःखले मानिसलाई संघर्ष गर्न सिकाउँछ, र संघर्षकै क्रममा उसले आफ्नो क्षमताको सीमा र वास्तविक आनन्दको गहिराइ पत्ता लगाउँछ । दुःख मानव जीवनको शिक्षक हो, जसले मानिसलाई संघर्ष गर्न प्रेरित गर्छ । जीवनका कठिन क्षणहरूले मानिसलाई आफ्नो सीमितता र क्षमताको परीक्षण गर्न बाध्य पार्छ। यो संघर्षले उसलाई भौतिक र मानसिक रूपमा बलियो बनाउनुका साथै जीवनको वास्तविक आनन्द पत्ता लगाउन मद्दत गर्छ। कठिनाइले मानिसलाई आफ्नो लक्ष्यमा केन्द्रित राख्छ र अनावश्यक विलासिताबाट टाढा राखेर आत्मबोधको यात्रा आरम्भ गराउँछ । दुःखले मानिसलाई विनम्र र संवेदनशील बनाउँछ, जसले उसलाई आफूभित्रको शक्तिको पहिचान गराउँछ । संघर्षकै क्रममा  मानिसले सन्तोष र आत्मिक शान्ति पाउन सक्छ, जो वास्तविक आनन्दको स्रोत हो। (उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ आश्विन १८, आईतवार २१:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP