इच्छाको सीमाभन्दा पर चेतनाको अनन्त क्षितिज
तोमनाथ उप्रेती
मानव जीवन इच्छाको सूक्ष्म धागोले बाँधिएको एउटा जटिल यात्रा हो। जन्मदेखि मृत्युसम्म मानिस कुनै न कुनै चाहना, आकांक्षा, अपेक्षा र लक्ष्यको पछि दौडिरहेको हुन्छ। राम्रो जीवनको इच्छा, सम्मान प्राप्त गर्ने चाहना, समृद्ध बन्ने आकांक्षा, ज्ञान हासिल गर्ने उत्सुकता र सुखको खोज यी सबै मानव अस्तित्वका स्वाभाविक आयाम हुन्। इच्छाविहीन जीवन सम्भवतः गतिहीन हुन सक्छ किनकि इच्छा नै प्रयत्नको प्रारम्भिक प्रेरणा हो। तर जब इच्छा जीवनको साधनबाट जीवनकै उद्देश्य बन्न पुग्छ, तब त्यही इच्छा बन्धनमा रूपान्तरित हुन्छ। मानिस आफूले चाहेको वस्तुको मालिक हुन खोज्दा अन्ततः आफ्नै चाहनाको दास बन्न पुग्छ।
इच्छा आफैँमा नकारात्मक होइन। मानव सभ्यताको विकासका धेरै उपलब्धि इच्छाकै परिणाम हुन्। राम्रो समाज बनाउने इच्छा, रोगमुक्त जीवनको खोज, ज्ञानको विस्तार, न्यायपूर्ण शासनको आकांक्षा र प्रकृतिलाई बुझ्ने जिज्ञासाले मानव प्रगतिलाई गति दिएका छन्। समस्या इच्छाको अस्तित्वमा होइन, इच्छासँगको हाम्रो सम्बन्धमा हुन्छ। जब इच्छा विवेकद्वारा निर्देशित हुन्छ, त्यो सिर्जनात्मक ऊर्जा बन्न सक्छ; जब इच्छा विवेकमाथि हावी हुन्छ, त्यो असन्तोष, प्रतिस्पर्धा, लोभ र मानसिक अशान्तिको स्रोत बन्न सक्छ।आधुनिक उपभोक्तावादी समाजमा इच्छाको विस्तार झन् तीव्र भएको छ। बजारले मानिसका आवश्यकता मात्र पूरा गर्दैन उसले नयाँ–नयाँ चाहना पनि निर्माण गर्छ। एउटा वस्तु प्राप्त गरेपछि अर्को वस्तुको आवश्यकता महसुस हुन्छ। एउटा उपलब्धि हासिल गरेपछि अर्को उपलब्धि अपरिहार्य जस्तो लाग्छ। सामाजिक सञ्जालले अरूको जीवनसँग निरन्तर तुलना गर्ने वातावरण सिर्जना गरेको छ। परिणामतः मानिससँग उपलब्ध वस्तुको मूल्यभन्दा आफूले प्राप्त गर्न नसकेको वस्तुको अभाव बढी अनुभूत हुन सक्छ। इच्छा बढ्दै जाँदा सन्तुष्टि घट्ने यस्तो विरोधाभास आधुनिक जीवनको महत्वपूर्ण मनोवैज्ञानिक चुनौती हो।
मानिसको चेतनाको एउटा विशेषता भविष्यतर्फ प्रक्षेपित हुनु हो। हामी अहिलेभन्दा राम्रो भोलिको कल्पना गर्छौं। यही क्षमताले सभ्यता निर्माण गरेको छ। तर भविष्यको निरन्तर खोजीमा वर्तमानको जीवन हराउन सक्छ। यो प्राप्त भएपछि म सुखी हुनेछु भन्ने धारणा मानिसको मनमा बारम्बार जन्मिन्छ। तर एउटा इच्छा पूरा भएपछि अर्को इच्छा जन्मन्छ। यसरी सुखलाई भविष्यमा सार्दै जाँदा वर्तमान क्षण निरन्तर अधुरो महसुस हुन सक्छ। चेतनाको परिपक्वता भनेको भविष्यको लक्ष्य त्याग्नु होइन वर्तमानको अनुभवलाई पनि पूर्ण रूपमा स्वीकार गर्न सिक्नु हो।
दार्शनिक दृष्टिले इच्छा र स्वतन्त्रताको सम्बन्ध अत्यन्त गहिरो छ। स्वतन्त्रता आफ्नै आन्तरिक आवेगमाथि विवेकपूर्ण नियन्त्रण राख्न सक्ने क्षमतासमेत हो। यदि मानिस कुनै वस्तु नपाउँदा अत्यधिक विचलित हुन्छ, प्रशंसा नपाउँदा आफ्नो मूल्य गुमेको ठान्छ वा अरूको सफलताले आफ्नो अस्तित्वमाथि प्रश्न उठाउँछ भने बाह्य रूपमा स्वतन्त्र भए पनि ऊ आन्तरिक रूपमा बन्धित हुन सक्छ। त्यसैले चेतनाको वास्तविक स्वतन्त्रता इच्छा समाप्त गर्नुमा होइन, इच्छालाई बुझ्नु र त्यससँग स्वस्थ सम्बन्ध स्थापित गर्नुमा निहित हुन्छ।इच्छा, आवश्यकता र लोभबीचको अन्तर छुट्याउनु आवश्यक छ। आवश्यकता जीवनका आधारभूत पक्षसँग सम्बन्धित हुन्छ; इच्छा आवश्यकताभन्दा परको आकांक्षा हो; लोभ भने प्राप्त वस्तु पर्याप्त हुँदाहुँदै पनि अझ बढी चाहिरहने असन्तुष्ट मनोवृत्ति हो। सभ्य समाजको चुनौती यही भिन्नता पहिचान गर्नु हो। अर्थतन्त्रले उत्पादन र उपभोग बढाउन सक्छ, तर चेतनाले प्रश्न गर्नुपर्छ—हामीलाई वास्तवमा कति आवश्यक छ? विकासको उद्देश्य जीवनलाई सहज बनाउनु हो कि जीवनलाई वस्तुको अनन्त खोजमा बाँध्नु?
चेतनाको अनन्त क्षितिजको अर्थ संसार त्याग्नु होइन। बरु संसारसँगको सम्बन्धलाई परिष्कृत गर्नु हो। परिवार, पेशा, सम्पत्ति, सफलता, प्रतिष्ठा र सामाजिक जिम्मेवारी जीवनका महत्वपूर्ण पक्ष हुन्। समस्या यी कुरामा होइन, यिनलाई आफ्नो सम्पूर्ण अस्तित्वको मापनदण्ड बनाउनुमा हुन्छ। जब व्यक्तिले आफ्नो मूल्यलाई केवल पद, पैसा वा प्रतिष्ठासँग जोड्छ, तब तीमध्ये कुनै एउटा गुम्दा उसको आत्मविश्वास पनि भत्किन सक्छ। चेतनाको परिपक्वता भनेको बाह्य उपलब्धि र आन्तरिक मूल्यबीच सन्तुलन स्थापित गर्नु हो।
आत्मबोध यही सन्तुलनको केन्द्रमा हुन्छ। आत्मबोध भनेको आफूलाई अरूको दृष्टिबाट मात्र नभई आफ्नै अन्तर्दृष्टिबाट बुझ्ने क्षमता हो। म के चाहन्छु? किन चाहन्छु? यो इच्छा मेरो आफ्नै हो कि समाजले ममाथि आरोपित गरेको हो? मैले खोजिरहेको सफलता वास्तवमै मेरो मूल्यसँग मेल खान्छ कि केवल तुलना र प्रतिस्पर्धाको परिणाम हो? यस्ता प्रश्नले इच्छाको सतहमुनि लुकेको मनोवैज्ञानिक संरचना उजागर गर्न सक्छन्। आत्मबोध बढ्दै जाँदा मानिस आफ्ना चाहनालाई अन्ध रूपमा पछ्याउनुको सट्टा तिनको प्रकृति बुझ्न थाल्छ।ध्यान, आत्मनिरीक्षण र मौनता यस प्रक्रियाका उपयोगी अभ्यास हुन सक्छन्। आधुनिक जीवन निरन्तर सूचना, आवाज र गतिविधिले भरिएको छ। मानिस बाहिरी संसारसँग जोडिन यति व्यस्त हुन्छ कि आफ्नै अन्तर्मनसँग संवाद गर्ने समय कम हुँदै जान्छ। केही समय मौन रहनु, आफ्ना विचार र भावनालाई निरीक्षण गर्नु तथा तत्काल प्रतिक्रिया दिनुभन्दा पहिले सोच्नुले चेतनाको गहिराइ बढाउन सक्छ। यसको उद्देश्य संसारबाट भाग्नु होइन, संसारसँग अझ सजग ढङ्गले सम्बन्ध स्थापित गर्नु हो।
शिक्षाले पनि इच्छाको परिष्कारमा महत्वपूर्ण भूमिका खेल्छ। ज्ञानको उद्देश्य केवल रोजगारी प्राप्त गर्नु वा प्रतिस्पर्धामा अगाडि बढ्नु मात्र होइन। शिक्षा व्यक्तिलाई आफ्नो चाहना, मूल्य र जीवनको अर्थबारे सोच्न सक्षम बनाउने प्रक्रिया पनि हो। आलोचनात्मक सोचले मानिसलाई विज्ञापन, सामाजिक दबाब र समूह–मानसिकताबाट प्रभावित इच्छालाई पुनः परीक्षण गर्न सिकाउँछ। नैतिक शिक्षाले म के प्राप्त गर्न सक्छु? भन्ने प्रश्नसँगै मैले प्राप्त गरेको शक्तिको प्रयोग कसरी गर्नुपर्छ? भन्ने प्रश्न पनि उठाउँछ।समाजमा प्रतिष्ठाको खोज पनि इच्छाको एउटा शक्तिशाली रूप हो। मानिस अरूको स्वीकृति चाहन्छ। सम्मान र प्रशंसा मानव मनका स्वाभाविक आवश्यकताहरू हुन्। तर यदि व्यक्तिको आत्ममूल्य अरूको प्रशंसामा निर्भर हुन्छ भने उसको चेतना बाह्य प्रतिक्रियाको बन्धक बन्न सक्छ। सामाजिक सञ्जालको युगमा लाइक, फलोअर र प्रशंसाले आत्ममूल्यको कृत्रिम मापन सिर्जना गर्न सक्छन्। चेतनाको स्वतन्त्रता भनेको प्रशंसालाई अस्वीकार गर्नु होइन; प्रशंसा र आलोचना दुवैभन्दा पर आफ्नो आन्तरिक मूल्यबोध कायम राख्नु हो।
इच्छाको सीमाभन्दा पर पुग्नु भनेको महत्वाकांक्षा त्याग्नु पनि होइन। उच्च लक्ष्य राख्नु, उत्कृष्टता खोज्नु र समाजका लागि केही योगदान गर्ने आकांक्षा मानव विकासका सकारात्मक पक्ष हुन्। फरक यति हो कि चेतनशील व्यक्तिले सफलतालाई आफ्नो सम्पूर्ण पहिचान बनाउँदैन। ऊ सफलता प्राप्त गर्दा विनम्र रहन सक्छ र असफल हुँदा पूर्ण रूपमा भत्किँदैन। उसको लक्ष्य हुन्छ, तर लक्ष्यले उसको अस्तित्वलाई नियन्त्रण गर्दैन। यही सम्बन्धले महत्वाकांक्षालाई स्वस्थ र सिर्जनात्मक बनाउँछ।व्यक्तिगत चेतनाको विस्तार सामाजिक चेतनासँग पनि जोडिन्छ। जब मानिस आफ्नै इच्छाभन्दा पर अरूको पीडा, अधिकार र आवश्यकतालाई देख्न थाल्छ, तब चेतना व्यक्तिगत सीमाबाट सामाजिक क्षितिजतर्फ विस्तार हुन्छ। परोपकार, सहानुभूति, न्याय, वातावरण संरक्षण र सार्वजनिक उत्तरदायित्व यस्तै विस्तारित चेतनाका अभिव्यक्ति हुन्। मलाई के चाहिन्छ? बाट समाजलाई के आवश्यक छ? भन्ने प्रश्नतर्फको यात्रा नै चेतनाको नैतिक विस्तार हो।
पर्यावरणीय संकटले पनि इच्छाको सीमाबारे गम्भीर प्रश्न उठाएको छ। पृथ्वीका स्रोत सीमित छन्, तर मानव उपभोगका आकांक्षा निरन्तर विस्तार भइरहेका छन्। अनन्त आर्थिक वृद्धि र सीमित प्राकृतिक स्रोतबीचको तनावले दिगो विकासको अवधारणालाई जन्म दिएको छ। त्यसैले भविष्यको सभ्यताले केवल अधिक उत्पादन र अधिक उपभोगको होइन, विवेकपूर्ण उपभोग र जिम्मेवार जीवनशैलीको पनि खोजी गर्नुपर्नेछ। इच्छाको संयम यहाँ व्यक्तिगत सद्गुण मात्र नभई विश्वव्यापी आवश्यकता बन्न पुग्छ।
चेतनाको अनन्त क्षितिज वास्तवमा बाहिरको कुनै भौगोलिक स्थान होइन; यो मानिसको आन्तरिक सम्भावनाको रूपक हो। मानिसले आफ्नो विचार, भावना, पूर्वाग्रह, भय र इच्छालाई बुझ्दै जाँदा उसको आत्मबोधको क्षेत्र विस्तार हुन्छ। उसले आफूलाई केवल एउटा पेशा, एउटा पद, एउटा सम्पत्ति वा एउटा सामाजिक पहिचानमा सीमित देख्न छाड्छ। चेतना व्यापक हुँदै जाँदा जीवनप्रतिको दृष्टिकोण पनि गहिरो र उदार बन्छ।यस यात्रामा सबैभन्दा ठूलो चुनौती आफ्नै मनसँग सामना गर्नु हो। बाह्य संसारका बन्धन पहिचान गर्न अपेक्षाकृत सजिलो हुन्छ; तर आफ्नै इच्छाले सिर्जना गरेका बन्धन अदृश्य हुन्छन्। मानिसले आफू स्वतन्त्र भएको ठानिरहँदा पनि सामाजिक स्वीकृति, उपभोग, प्रतिष्ठा, तुलना र भयको प्रभावमा बाँचिरहेको हुन सक्छ। त्यसैले आत्ममुक्तिको पहिलो चरण बाह्य संसारलाई दोष दिनु होइन, आफ्नै चेतनाभित्र हेर्नु हो।
त्यसैले इच्छाको सीमाभन्दा पर चेतनाको अनन्त क्षितिजतर्फको यात्रा संसारबाट पलायनको यात्रा होइन, संसारलाई नयाँ दृष्टिले हेर्ने यात्रा हो। यो आफूलाई नकार्ने होइन, आफूलाई गहिरोसँग बुझ्ने प्रक्रिया हो। यसले मानिसलाई “मसँग के छ?” भन्ने प्रश्नबाट “म वास्तवमा को हुँ?” भन्ने प्रश्नतर्फ लैजान्छ। अन्ततः चेतनाको उज्यालो त्यहीँ प्रकट हुन्छ जहाँ इच्छा जीवनको स्वामी नभई साधन बन्छ, जहाँ सफलता आत्ममूल्यको एकमात्र आधार हुँदैन, जहाँ वर्तमानलाई भविष्यको लोभले निल्दैन र जहाँ व्यक्तिको सुख अरूको पीडामाथि निर्माण हुँदैन।मानव जीवनको वास्तविक विस्तार बाह्य वस्तुको सङ्ख्या बढाउनुमा मात्र होइन, चेतनाको गहिराइ बढाउनुमा छ। इच्छाले क्षितिजतर्फ दौडाउँछ, चेतनाले त्यो क्षितिजको अर्थ बुझ्न सिकाउँछ। इच्छाको सीमाभन्दा पर पुगेपछि मानिसले जीवन त्याग्दैन बरु जीवनलाई अझ सजग, सन्तुलित, अर्थपूर्ण र मानवीय ढङ्गले बाँच्न सिक्छ। यही आत्मबोधको यात्रा अन्ततः व्यक्तिगत स्वतन्त्रताको मात्र होइन, न्यायपूर्ण समाज र दिगो सभ्यताको आधार पनि बन्न सक्छ।
आध्यात्मिक दृष्टिले, इच्छारहित जीवन चेतनाको स्वच्छता र उज्यालो सुनिश्चित गर्ने माध्यम हो। प्रत्येक इच्छा एक प्रकारको मानसिक ढाँचा हो, जसले चेतनालाई निश्चित सीमा भित्र बाँध्छ। जब यी बन्धनहरू हटाइन्छन्, चेतना स्वतन्त्र हुन्छ। स्वतन्त्र चेतनाले न व्यक्तिको आत्मविकास सम्भव बनाउँछ,तर समाज र राष्ट्रको हितमा पनि क्रियाशील योगदान पुर्याउँछ। यही कारणले महाभारत र भगवद्गीतामा इच्छारहित कर्म र स्वार्थविहीनता महत्वपूर्ण तत्वका रूपमा राखिएका छन्।
नेपालजस्तो सामाजिक र राजनीतिक द्वन्द्वले भरिएको परिवेशमा इच्छारहित चेतनाको अभ्यास अझै महत्त्वपूर्ण हुन्छ। युवा पुस्ताले व्यक्तिगत लाभको खोजमा ध्यान केन्द्रित गर्दा सामाजिक उत्तरदायित्व र नैतिकता पछाडि पर्छ। तर जब चेतनाले इच्छा मुक्तता पाउँछ, तब न्याय, पारदर्शिता र सत्यको मार्ग स्वतः उद्घाटित हुन्छ। वर्तमान सन्दर्भमा, जहाँ डिजिटल प्रविधि र सामाजिक मिडियाले चेतनामा प्रभाव पार्छ, इच्छारहित दृष्टिकोणले मात्र भ्रम, द्वन्द्व र असमानताको सामना गर्न सक्षम बनाउँछ।जहाँ आत्मकेंद्रित इच्छा र स्वार्थ हराउँछ, त्यहाँ चेतना मुक्त, उज्यालो र द्रढ बन्छ। चेतनाको उज्यालोले आन्तरिक शान्ति प्रदान गर्दैन, सामाजिक, नैतिक र आध्यात्मिक जीवनमा पनि मार्गदर्शन गर्दछ। यही कारणले धार्मिक ग्रन्थ,महापुरुषको जीवन र इतिहासले स्पष्ट देखाउँछन् त्यागले चेतनामा प्रकाश ल्याउँछ, र जहाँ चेतनाको प्रकाश फुल्छ, त्यहाँ शान्ति, आनन्द र सृष्टिको कल्याण निश्चित हुन्छ।
इच्छारहित जीवन व्यक्तिगत लाभका लागि होइन, समग्र मानव समाजका लागि पनि महत्त्वपूर्ण छ। जब व्यक्ति आफ्नो इच्छाबाट मुक्त हुन्छ, उसले आफ्नै लाभका लागि होइन, अरूको भलो र समाजको हितका लागि कर्म गर्न थाल्छ। यसरी जन्मिने संवेदनशीलता, करुणा र सहिष्णुताले सामाजिक सम्बन्धलाई सुदृढ बनाउँछ र न्याय, समानता र सहयोगको वातावरण सिर्जना गर्छ। यस दृष्टिकोणले परिवार, समुदाय र राष्ट्रमा स्थायित्व र समृद्धि सुनिश्चित गर्छ।आध्यात्मिक दृष्टिले, इच्छारहित जीवन चेतनाको शुद्धता र उज्यालो कायम गर्ने आधार हो। यो ध्यान, योग वा ध्यानाभ्यासमा सीमित छैन। यो दैनिक व्यवहार, निर्णय प्रक्रिया र सामाजिक अन्तरक्रियामा पनि लागू हुने जीवनदर्शन हो। व्यक्ति जब आफ्नो स्वार्थ र मोह त्याग्छ, तब उसले आत्मनिरीक्षण, सकारात्मक सोच र विवेकपूर्ण दृष्टिकोण अपनाउन सक्षम हुन्छ। यो चेतनाको विकासले व्यक्ति मात्र होइन, समाज र राष्ट्रलाई पनि दिगो शान्ति र समृद्धितर्फ अग्रसर बनाउँछ।
इतिहास र धर्मग्रन्थहरूले इच्छारहित जीवनको महत्त्व बारम्बार उल्लेख गरेका छन्। महाभारत, भगवद्गीता,रामायण र बुद्धका शिक्षाहरूले यही सिद्धान्त प्रस्तुत गर्छन् कि मनको अन्धकार—स्वार्थ, क्रोध, अहंकार र मोह अन्त्य गर्न सकिए मात्र चेतनाको उज्यालो फुल्छ। जब मनमा अनावश्यक मोह, लोभ र स्वार्थ हराउँछन्, तब चेतना स्वतन्त्र र स्पष्ट हुन्छ। यस्तो स्पष्ट चेतनाले मानिसलाई विवेकपूर्ण निर्णय लिन, नैतिक मूल्यको पालना गर्न र जीवनका चुनौतीहरूसँग धैर्यपूर्वक सामना गर्न सक्षम बनाउँछ।
( उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)
प्रतिक्रिया