logo
  • २०८३ कार्तिक १२ | Wed, 28 Oct 2026
  • मोरङको साहित्यिक विरासत: अतीतदेखि वर्तमानसम्मको सिर्जनायात्रा

    मोरङको साहित्यिक विरासत: अतीतदेखि वर्तमानसम्मको सिर्जनायात्रा

    मोरङको साहित्यिक विरासत: अतीतदेखि वर्तमानसम्मको सिर्जनायात्रा

     

     

    तोमनाथ उप्रेती

    पृष्ठभूमि

    मोरङको साहित्यिक विरासत नेपाली साहित्यको विकासक्रमसँग गहिरोसँग गाँसिएको एउटा महत्त्वपूर्ण सांस्कृतिक अध्याय हो। विराटनगरलाई केन्द्र बनाएर प्रारम्भ भएको साहित्यिक चेतनाले समयसँगै मोरङका विभिन्न भूगोल, पुस्ता र सामाजिक समुदायलाई सिर्जनात्मक संवादमा जोड्दै आएको देखिन्छ। प्रारम्भिक कालमा साहित्य शिक्षा, सामाजिक जागरण र सार्वजनिक चेतनाको माध्यमका रूपमा विकसित भयो। त्यसपछि कविता, कथा, उपन्यास, निबन्ध, नाटक, गजल, समालोचना, अनुसन्धान तथा भाषाशास्त्रका विविध विधामा स्रष्टाहरूको उल्लेखनीय उपस्थिति देखापर्यो।

    कृष्णप्रसाद कोइरालादेखि सुरु भएको मानिने यस सिर्जनायात्रालाई मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला, बालकृष्ण पोखरेल, देवकुमारी थापालगायत अग्रज स्रष्टाहरूले समृद्ध तुल्याए। पछिल्ला पुस्ताले त्यस समृद्ध परम्परालाई नयाँ विषय, शैली र सौन्दर्यबोधसँग जोड्दै निरन्तरता दिएका छन्। साहित्यिक संस्था, पुस्तकालय, वाचनालय, प्रकाशन गृह तथा साहित्यिक पत्रकारिताले पनि यस यात्रालाई संस्थागत आधार प्रदान गरेका छन्।

    आज डिजिटल प्रविधिको विस्तारसँगै मोरङको साहित्य नयाँ माध्यम र नयाँ पाठकसमक्ष पुगिरहेको छ। तथापि, समृद्ध साहित्यिक इतिहासको व्यवस्थित अभिलेखीकरण, अग्रज स्रष्टाको योगदानको पुनःमूल्याङ्कन र नयाँ पुस्ताबीच प्रभावकारी पुस्तान्तरण अझ आवश्यक देखिन्छ। यस सन्दर्भमा मोरङको साहित्यिक विरासतको अध्ययन वर्तमानको मूल्याङ्कन र भविष्यको साहित्यिक दिशाबोधका लागि समेत महत्त्वपूर्ण बौद्धिक प्रयत्न हो।

     

    साहित्यिक भूगोलको निर्माण

    मोरङको साहित्यिक इतिहास आधुनिक नेपाली साहित्यको विकासक्रमसँग अभिन्न रूपमा जोडिएको छ। विराटनगरलाई केन्द्र बनाएर विकसित भएको साहित्यिक चेतनाले पूर्वी नेपालमा सिर्जना, पत्रकारिता, शिक्षा र सामाजिक जागरणलाई एउटै बौद्धिक प्रवाहमा बाँधेको देखिन्छ। औद्योगिक विकास र राजनीतिक चेतनासँगै यहाँ साहित्यिक गतिविधिले पनि संस्थागत रूप ग्रहण गर्यो। त्यसैले मोरङको साहित्य सामाजिक परिवर्तनको दस्तावेज हो। शिक्षा, लोकतान्त्रिक चेतना, पत्रकारिता, पुस्तकालय, प्रकाशन र साहित्यिक संस्थाहरूको सामूहिक प्रयत्नबाट यसको स्वरूप निर्माण भएको हो। उपलब्ध साहित्यिक अभिलेखले मोरङमा आधुनिक साहित्यिक गतिविधिको प्रारम्भ बीसौँ शताब्दीको प्रारम्भिक दशकहरूसँग जोडिएको देखाउँछ। यस यात्राको केन्द्रमा विराटनगर रह्यो। तर यसको प्रभाव रंगेली, बेलबारी, उर्लाबारी, विराटचोकलगायतका भूगोलमा पनि विस्तार हुँदै गयो।

    कृष्णप्रसाद कोइराला र प्रारम्भिक साहित्यिक चेतना

    मोरङको आधुनिक साहित्यिक इतिहासमा कृष्णप्रसाद कोइरालाको नाम अग्रपङ्क्तिमा आउँछ। उपलब्ध साहित्यिक स्रोतहरूले वि.सं. १९७७ मा प्रकाशित ‘कृष्णविनोद’ लाई मोरङबाट प्रकाशित प्रारम्भिक साहित्यिक कृतिका रूपमा उल्लेख गरेका छन्। यस कृतिको विधागत स्वरूपबारे केही स्रोतमा फरक मत पाइए पनि यसको ऐतिहासिक महत्त्वमा भने विवाद न्यून छ। कृष्णप्रसाद कोइरालाको योगदान साहित्य सिर्जनामा मात्र सीमित थिएन। उनले शिक्षा र सामाजिक जागरणलाई पनि समान महत्त्व दिए। वि.सं. १९८१ मा स्थापित आदर्श विद्यालयले त्यस समयको सामाजिक संरचनामा नवीन चेतनाको सञ्चार गर्यो। विद्यालयसँग सम्बन्धित हस्तलिखित ‘चन्द्रोदय’ ले प्रारम्भिक साहित्यिक पत्रकारिताको आधार तयार गरेको उल्लेख पाइन्छ। यसबाट एउटा महत्त्वपूर्ण तथ्य स्पष्ट हुन्छ। मोरङमा साहित्यको जन्म पुस्तकभित्र मात्र भएको थिएन। त्यो विद्यालय, समाज र सार्वजनिक चेतनासँगै विकसित भएको थियो।

    गद्यको विस्तार र साहित्यिक क्षितिज

    प्रारम्भिक कवितात्मक चेतनासँगै मोरङमा गद्य साहित्यले पनि विस्तार पाउन थाल्यो। तत्कालीन बडाहाकिम शिवप्रताप शम्शेर थापाको ‘दुर्गेशनन्दिनी’ वि.सं. १९९० मा र शोभाचन्द्र खनालको ‘पाटलीपुत्र’ वि.सं. २००० मा प्रकाशित भएको साहित्यिक इतिहाससम्बन्धी स्रोतहरूमा उल्लेख छ। यसले मोरङमा कथा तथा उपन्यास लेखनको प्रारम्भिक आधार निर्माण भएको देखाउँछ। साहित्यिक विधाको यो विस्तार आफैँमा महत्त्वपूर्ण सांस्कृतिक घटना थियो। कविता भावको तीव्र अभिव्यक्ति थियो भने गद्यले समाज, इतिहास र चरित्रलाई विस्तृत आयाममा प्रस्तुत गर्ने अवसर दियो। यस चरणमा साहित्य क्रमशः व्यक्तिगत अनुभूतिको सीमाबाट बाहिर निस्केर सामाजिक यथार्थको अभिलेख बन्न थाल्यो।

    मोरङको साहित्यिक विकासमा कोइराला परिवारको भूमिका विशिष्ट रह्यो। कृष्णप्रसाद कोइरालापछि मातृकाप्रसाद कोइराला, विश्वेश्वरप्रसाद कोइराला र तारिणीप्रसाद कोइरालाजस्ता व्यक्तित्वले साहित्य, राजनीति र सामाजिक चेतनाबीचको सम्बन्धलाई बलियो बनाए। विश्वेश्वरप्रसाद कोइरालाले नेपाली आख्यानमा मनोवैज्ञानिक चेतनाको विशिष्ट आयाम थपे। ‘तीन घुम्ती’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’ र ‘मोदिआइन’ उनका चर्चित कृति हुन्। यसै कालखण्डमा महानन्द सापकोटा, बालकृष्ण पोखरेल, देवकुमारी थापा, डा. लक्ष्मण शास्त्री, डा. पिनाकीप्रसाद आचार्य, कालीप्रसाद रिजाल, डा. गणेश भण्डारीलगायतका स्रष्टाले भाषा, साहित्य, अनुसन्धान र सिर्जनालाई समृद्ध बनाए। महानन्द सापकोटाले भाषा र व्याकरणको क्षेत्रमा योगदान दिए। बालकृष्ण पोखरेलले भाषाशास्त्रीय अनुसन्धानलाई नयाँ उचाइ दिए। देवकुमारी थापाले कथा साहित्यमा विशिष्ट स्थान बनाइन्। यस पुस्ताले मोरङलाई सिर्जनाको केन्द्र मात्र बनाएन। नेपाली भाषाको बौद्धिक आधार निर्माणमा समेत योगदान पुर्यायो।

    लोकतान्त्रिक परिवर्तन र साहित्यिक चेतना

    वि.सं. २००७ को राजनीतिक परिवर्तनले नेपाली समाजमा नयाँ सार्वजनिक चेतना निर्माण गर्यो। त्यसको प्रभाव मोरङको साहित्यमा पनि स्पष्ट देखियो। साहित्य अब सौन्दर्य र भावनाको अभिव्यक्तिका साथै यसले लोकतन्त्र, सामाजिक न्याय, वर्गीय विभाजन, मानवीय स्वतन्त्रता र सांस्कृतिक पहिचानका प्रश्न उठाउन थाल्यो। यही परिवेशमा नरेन्द्र चापागाईं, कृष्णभूषण बल, दधिराज सुवेदी, इन्दिरा प्रसाईं, प्रमोद प्रधान, विवश पोखरेल, नवराज सुब्बा, लक्ष्मी उप्रेती, गङ्गा सुवेदी, सुमन पोखरेल, मधु पोखरेल, बलराम पोखरेललगायतका स्रष्टाले मोरङको साहित्यिक परम्परालाई निरन्तरता दिए।

    मोरङको साहित्यिक यात्रामा पुस्तान्तरण विचार, अनुभव, मूल्यबोध र सिर्जनात्मक चेतनाको निरन्तर हस्तान्तरण पनि हो। अग्रज साहित्यकारहरूले आफ्नो समयका सामाजिक, राजनीतिक र सांस्कृतिक यथार्थलाई साहित्यमा अभिव्यक्त गर्दै भावी पुस्ताका लागि एउटा सुदृढ सिर्जनात्मक आधार निर्माण गरे। उनीहरूका कृतिमा समाजका अन्तर्विरोध, मानवीय पीडा, आशा, संघर्ष, प्रेम, विसङ्गति र परिवर्तनका आकांक्षा विभिन्न रूपमा प्रतिध्वनित भएका छन्। यही परम्परालाई पछिल्ला पुस्ताले आफ्नो समयको नयाँ अनुभवसँग जोड्दै अघि बढाएका छन्।

    मोरङका समकालीन स्रष्टाहरूका सिर्जनामा बदलिँदो सामाजिक संरचना, प्रविधिको प्रभाव, पहिचानको प्रश्न, वैदेशिक रोजगारी, शहरीकरण, सामाजिक असमानता, लोकतान्त्रिक चेतना तथा मानवीय सम्बन्धका जटिल पक्षहरू अभिव्यक्त भइरहेका छन्। यसले यहाँको साहित्यलाई समयसँग संवाद गर्ने जीवन्त माध्यम बनाएको छ। अग्रजको अनुभव र नयाँ पुस्ताको नवीन दृष्टिबीचको संवादले साहित्यिक परम्परालाई गतिशील बनाउँछ।

    वास्तवमा एउटा पुस्ताले अर्को पुस्तालाई सिर्जनाको संस्कार, आलोचनात्मक दृष्टि र साहित्यप्रतिको उत्तरदायित्व पनि हस्तान्तरण गर्दछ। यही पुस्तान्तरण मोरङको साहित्यिक शक्तिको मूल आधार हो। यसलाई संरक्षण, अभिलेखीकरण र संस्थागत प्रोत्साहन दिन सकिएमा मोरङको साहित्यिक विरासत अझ समृद्ध, समावेशी र दीर्घजीवी बन्ने विश्वास गर्न सकिन्छ।

    साहित्यिक पत्रकारिताको ऐतिहासिक भूमिका

    मोरङको साहित्यिक पत्रकारिताको इतिहास नेपाली साहित्यिक पत्रकारिताको मोफसल विकाससँग अभिन्न रूपमा जोडिएको छ। विराटनगरलाई केन्द्र बनाएर विकसित भएको यस परम्पराले साहित्यिक सिर्जना, सामाजिक चेतना, शैक्षिक जागरण र सार्वजनिक विमर्शलाई एउटै बौद्धिक धरातलमा ल्याएको देखिन्छ। मोरङमा पत्रिका प्रकाशनको प्रारम्भिक इतिहास वि.सं. १९९४ सम्म पुग्ने अभिलेख भेटिन्छ। आदर्श माध्यमिक विद्यालयसँग सम्बन्धित ‘चन्द्रोदय’लाई मोरङको प्रारम्भिक पत्रिकाका रूपमा उल्लेख गरिए पनि यसको मूल प्रति तथा प्रकाशनसम्बन्धी पूर्ण अभिलेख अहिलेसम्म प्राप्त हुन नसकेको तथ्यगत सावधानी आवश्यक छ। उपलब्ध अनुसन्धानले यसलाई हस्तलिखित पत्रिकाका रूपमा र कृष्णप्रसाद कोइरालासँग सम्बद्ध प्रकाशनका रूपमा उल्लेख गरेको छ।

    मोरङको साहित्यिक पत्रकारिताको व्यवस्थित विकास भने वि.सं. २००९ पछि स्पष्ट रूपमा देखिन्छ। त्यस वर्ष भदौमा विराटनगरबाट ‘आदर्श-वाणी’ प्रकाशित भयो। यसको प्रधान सम्पादक आचार्य लक्ष्मण शास्त्री थिए। प्रकाशक आदर्श छात्र संघ, आदर्श विद्यालय, विराटनगर थियो। पत्रिका नेपाली र हिन्दी भाषामा प्रकाशित हुन्थ्यो। यसको आकार २०×१६ सेन्टिमिटर रहेको अभिलेख छ। पत्रिकामा विद्यालयका विद्यार्थी मात्र होइन, कक्षा दसपछि अध्ययन गर्ने तथा अन्य लेखकका रचनासमेत प्रकाशित हुन्थे। यस दृष्टिले ‘आदर्श-वाणी’ साहित्यिक प्रतिभा विकास गर्ने प्रारम्भिक सार्वजनिक मञ्चका रूपमा महत्त्वपूर्ण देखिन्छ।

    यसपछि मोरङमा साहित्यिक तथा अन्य प्रकृतिका पत्रिकाको संख्या र विषयगत दायरा विस्तार हुँदै गयो। प्रमोद प्रधानद्वारा गरिएको अनुसन्धानले मोरङको पत्रकारितालाई समाचार पत्रकारिता र ‘साहित्यिक तथा अन्य पत्रकारिता’का छुट्टाछुट्टै धारमा अध्ययन गरेको छ। उनको २०६१ मा प्रकाशित ‘मोरङमा पत्रकारिताको अर्धशताब्दी’मा पत्रपत्रिका, साहित्यिक पत्रिका, बुलेटिन र स्मारिकाको विस्तृत सूची तथा तिनका सम्पादकीय सामग्रीसमेत समेटिएका छन्। २२१ पृष्ठको उक्त अध्ययन मोरङको पत्रकारिताको करिब पाँच दशकको क्रमिक इतिहास अभिलेखीकरण गर्ने महत्त्वपूर्ण अनुसन्धानात्मक कृति हो।

    वि.सं. २०१२ पछि मोरङमा पत्रिका प्रकाशनले अझ व्यवस्थित रूप लिन थालेको अभिलेखले देखाउँछ। नेपाल पत्रकार महासंघ, मोरङका अनुसार ‘हुरी’ साप्ताहिकलाई त्यस कालखण्डको प्रारम्भिक पत्रिकाका रूपमा उल्लेख गरिएको छ। वि.सं. २०१४ मा ‘फिलिङ्गो’बाट दैनिक पत्रिका प्रकाशनको सुरुआत भएको तथा त्यही वर्ष ‘राजहंश’ नामक हिन्दी पत्रिका पनि प्रकाशित भएको अभिलेख छ। यसबाट साहित्यिक पत्रकारिता एक्लो धारा नभई समाचार, भाषा, संस्कृति र सामाजिक विमर्शसँग अन्तर्सम्बन्धित हुँदै विकसित भएको देखिन्छ।

    साहित्यिक पत्रकारिताको वास्तविक शक्ति भने नयाँ लेखक निर्माणमा देखिन्छ। पत्रिकाले पुस्तक प्रकाशन गर्न नसक्ने अवस्थामा रहेका लेखकलाई पहिलो सार्वजनिक मञ्च प्रदान गर्यो। कविता, कथा, निबन्ध, समालोचना, संस्मरण, व्यङ्ग्य र साहित्यिक टिप्पणीका माध्यमबाट नयाँ प्रतिभा पाठकसम्म पुग्न थाले। ‘आदर्श-वाणी’मा विद्यार्थी तथा अन्य लेखकका रचना प्रकाशित हुने तथ्यले पनि यस भूमिकालाई पुष्टि गर्छ। साहित्यिक पत्रिका केवल रचना छाप्ने माध्यम थिएनन्। ती लेखकीय प्रशिक्षणका अनौपचारिक विद्यालय पनि थिए।

    मोरङको साहित्यिक पत्रकारिताले भाषिक विविधतालाई समेत स्थान दिएको देखिन्छ। उपलब्ध अभिलेखअनुसार उर्लाबारीबाट प्रकाशित ‘सोलोई’ धिमाल भाषाको प्रारम्भिक तथा महत्त्वपूर्ण पत्रिकाका रूपमा उल्लेखित छ। ‘मैथिली’ मैथिली भाषासँग सम्बन्धित प्रारम्भिक पत्रिका तथा ‘हौली’ थारू भाषासँग सम्बन्धित प्रकाशनका रूपमा अभिलेखमा छन्। यसले मोरङको साहित्यिक पत्रकारितालाई  नेपाली भाषाको सीमित अभ्यासका रूपमा मात्र हेर्न नमिल्ने देखाउँछ। यहाँको पत्रकारिताले स्थानीय भाषिक र सांस्कृतिक बहुलतालाई पनि सार्वजनिक अभिव्यक्तिको स्थान दिएको थियो।

    यस यात्रामा पत्रिकाका अतिरिक्त भित्तेपत्रिकाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरे। मोरङमा बाल–भित्तेपत्रिका प्रकाशन वि.सं. २०४७ बाट सुरु भएको अभिलेख छ। यस्तो प्रकाशनले विद्यालय तहका विद्यार्थीलाई लेखन, सम्पादन र सार्वजनिक अभिव्यक्तिको प्रारम्भिक अभ्यास प्रदान गर्यो। यसबाट साहित्यिक पत्रकारिता पुस्तान्तरणको माध्यम बनेको देखिन्छ। विद्यार्थीले पत्रिका पढ्ने मात्र होइन, लेख्ने र सम्पादन गर्ने अवसर पनि पाए। फलतः साहित्यिक पत्रकारिताले पाठकसँगै भावी लेखक र सम्पादक निर्माणमा समेत योगदान गर्यो।

    समयक्रममा मोरङको साहित्यिक पत्रकारिता छापा माध्यमबाट विद्युतीय र डिजिटल माध्यमतर्फ पनि रूपान्तरित भएको छ। नेपाल पत्रकार महासंघ, मोरङका अनुसार पछिल्लो समय दैनिक, साप्ताहिक, मासिक र त्रैमासिक पत्रिकासँगै रेडियो, टेलिभिजन र अनलाइन सञ्चारमाध्यमको विस्तार भएको छ। वि.सं. २०७८ सम्म मोरङबाट विभिन्न आवधिकताका ३० पत्रिका नियमित प्रकाशनमा रहेको अभिलेख छ। साथै करिब १५ एफएम, एउटा टेलिभिजन र सूचना विभागमा दर्ता भएका तीन दर्जन हाराहारी अनलाइन सञ्चारमाध्यम सञ्चालनमा रहेको विवरण दिइएको छ।

    संस्था, पुस्तकालय र साहित्यिक सार्वजनिकता

    साहित्यिक आन्दोलन दीर्घकालीन हुन संस्थागत संरचना आवश्यक हुन्छ। मोरङमा यही संस्थागत आधार क्रमशः निर्माण भयो। आदर्श विद्यालय, पुस्तकालय, वाचनालय, साहित्यिक संस्था, प्रकाशन गृह र पुरस्कार प्रतिष्ठानहरूले साहित्यिक सार्वजनिकताको विकास गरे। नेपाली साहित्य समिति, देवकोटा पुस्तकालय, नेपाल राष्ट्रिय वाचनालय, विराट साहित्य संस्थान, पूर्वाञ्चल साहित्य प्रतिष्ठान, धरणीधर पुरस्कार प्रतिष्ठान, प्रतिभा पुरस्कार प्रतिष्ठान, आरोहण गुरुकुल, वाणी प्रकाशनलगायतका संस्थाहरूले विभिन्न कालखण्डमा साहित्यिक गतिविधिलाई गति दिएका छन्। साहित्यिक गोष्ठी, कृति विमोचन, पुरस्कार, अनुसन्धान, प्रशिक्षण र प्रकाशनले साहित्यलाई व्यक्तिगत साधनाबाट सामुदायिक अभ्यासमा रूपान्तरण गरे। पछिल्ला वर्षहरूमा मोरङका विभिन्न पालिकामा साहित्यिक संस्था र समूहहरूको सक्रियता अझ बढेको देखिन्छ। वि.सं. २०८२ मा भाषा, साहित्य, कला तथा संस्कृतिको विकासका लागि ‘कोसी साहित्य–कला प्रतिष्ठान नेपाल’ गठन हुनु यस संस्थागत विस्तारको पछिल्लो उदाहरण हो।

    विविध विधाको विकास

    मोरङको साहित्यिक यात्राको अर्को महत्त्वपूर्ण पक्ष विधागत विविधता हो। प्रारम्भमा कविता प्रधान देखिएको साहित्य क्रमशः कथा, उपन्यास, नाटक, निबन्ध, गजल, मुक्तक, हाइकु, समालोचना, भाषाशास्त्र, अनुसन्धान र अनुवादसम्म फैलियो। यसले साहित्यिक चेतनालाई बहुआयामिक बनायो। कवितामा भावबोध र प्रयोगधर्मिता देखियो। कथामा सामाजिक यथार्थ र मनोवैज्ञानिक संवेदना विस्तार भयो। समालोचनाले साहित्यको मूल्याङ्कन गर्ने बौद्धिक आधार तयार गर्यो। भाषाशास्त्रीय अनुसन्धानले नेपाली भाषाको संरचना र विकासबारे नयाँ दृष्टि प्रदान गर्यो। यसरी मोरङको साहित्य सिर्जनाको मात्र भूगोल रहेन। यो अध्ययन, विमर्श र अनुसन्धानको केन्द्र पनि बन्यो। साहित्यमा आएको यो बहुविध विस्तारले मोरङलाई राष्ट्रिय साहित्यिक नक्सामा स्थायी स्थान दिलाएको छ।

    पुस्तान्तरण र समकालीन साहित्य

    साहित्यिक इतिहासको जीवन्तता पुस्तान्तरणमा निर्भर हुन्छ। मोरङमा पनि अग्रजबाट मध्यपुस्ता र मध्यपुस्ताबाट नयाँ पुस्तामा साहित्यिक ऊर्जा सर्दै आएको छ। गोकुल अधिकारी, ज्योति जङ्गल, सीमा आभास, राधिका गुरागाईं, सविता गौतम, मनोज न्यौपाने, गण्डकी पुत्र, डम्बर घिमिरे, खेम नेपाली, कृष्ण पहाडी, शङ्कर खरेल, इरान राई,छबि बैरागी घिमिरे, तोमनाथ उप्रेती,बाबुराम पोखरेल, नेत्र खतिवडा, हेमसागर पोखरेल, उमेश लुइटेल, नानीमैयाँ अहाल, अम्विका खरेल उप्रेती, शैलेन घिमिरे, भम कोइराल, भवानिप्रसाद पोखरेल, लोचन रिजाल,डोमि कामत,जित बहादुर कटवाल,नवराज पोखरेल नवशीला, केशु विरही, रेखा सुवेदीलगायतका स्रष्टाले समकालीन साहित्यिक गतिविधिलाई सक्रिय बनाइरहेका छन्। पछिल्लो पुस्ताले परम्परागत विधासँगै डिजिटल माध्यमलाई पनि सिर्जनाको क्षेत्र बनाएको छ। अनलाइन पत्रिका, सामाजिक सञ्जाल, डिजिटल प्रकाशन र सार्वजनिक वाचनले पाठकको दायरा फराकिलो बनाएका छन्। इरान राईको ‘इतिहास’ जस्तो पछिल्लो कविता सङ्ग्रहको सार्वजनिक गतिविधिले मोरङमा नयाँ पुस्ताको साहित्यिक सक्रियता जारी रहेको देखाउँछ।

    साहित्यिक अन्तर्सम्बन्ध र समावेशी भूगोल

    मोरङको साहित्यलाई केवल यहाँ जन्मिएका साहित्यकारको सीमाभित्र राख्नु पर्याप्त हुँदैन। अध्ययन, रोजगारी वा अन्य सामाजिक कारणले मोरङमा बसेर सिर्जना गर्ने स्रष्टाहरूले पनि यसको साहित्यिक संस्कृतिलाई प्रभाव पारेका छन्। यसले साहित्यिक भूगोललाई नागरिकताको सीमाभन्दा व्यापक बनाउँछ। विराटनगरको औद्योगिक र शैक्षिक वातावरणले विभिन्न भूगोलका स्रष्टालाई आकर्षित गरेको थियो। त्यसैले मोरङको साहित्यिक इतिहास एक प्रकारको अन्तर्सांस्कृतिक संवादको इतिहास पनि हो। यहाँ पहाड, तराई, सीमा क्षेत्र र शहरी समाजका अनुभवहरू साहित्यमा भेटिन्छन्। विविध सामाजिक अनुभवको यही संगमले साहित्यलाई बहुस्वर बनाएको छ। नेपाली समाजको परिवर्तनशील अनुहारलाई नजिकबाट नियाल्न सकिने एउटा ऐना मोरङको साहित्य पनि हो।

    यद्यपि मोरङको साहित्यिक इतिहास गौरवपूर्ण छ, यसको वर्तमान अवस्थाबारे आलोचनात्मक आत्मसमीक्षा पनि आवश्यक छ। साहित्यिक क्षेत्रमा समूहगत आग्रह, पारस्परिक दूरी र संस्थागत विभाजन देखिनु सिर्जनात्मक वातावरणका लागि चुनौती हुन सक्छ। एउटै कार्यक्रममा एक स्रष्टालाई बोलाउने र अर्कोलाई उपेक्षा गर्ने प्रवृत्ति साहित्यिक लोकतन्त्रका लागि स्वस्थ संकेत होइन। साहित्य कुनै गुटको सम्पत्ति होइन। विचार, शैली र सौन्दर्यबोधमा मतभिन्नता स्वाभाविक हो। तर असहमति बहिष्कारमा रूपान्तरित हुनु हुँदैन। अग्रजको अनुभव र नयाँ पुस्ताको ऊर्जा एकअर्काका प्रतिस्पर्धी होइनन्। उनीहरू साहित्यिक उत्तराधिकारका सहयात्री हुन्। त्यसैले मोरङको आगामी साहित्यिक यात्राले समूहगत आग्रहभन्दा कृतिको गुणस्तर, विचारको मौलिकता र सिर्जनाको सामाजिक उत्तरदायित्वलाई प्राथमिकता दिन आवश्यक छ। यही आत्मसमीक्षाले साहित्यिक विरासतलाई अझ विश्वसनीय बनाउनेछ।

    निष्कर्ष :

    मोरङको साहित्यिक इतिहास एक शताब्दीभन्दा लामो चेतनायात्राको साक्षी हो। कृष्णप्रसाद कोइरालाको ‘कृष्णविनोद’बाट प्रारम्भ भएको मानिने यो यात्रा विद्यालय, हस्तलिखित पत्रिका, मुद्रित पत्रकारिता, साहित्यिक संस्था, पुस्तकालय, प्रकाशन र डिजिटल माध्यम हुँदै वर्तमानसम्म आइपुगेको छ। यस यात्रामा कोइराला परिवारदेखि महानन्द सापकोटा, बालकृष्ण पोखरेल, देवकुमारी थापा, दधिराज सुवेदी र अनेक अग्रज स्रष्टासम्मको योगदान स्मरणीय छ। नयाँ पुस्ताले यस विरासतलाई नयाँ संवेदना, नयाँ प्रविधि र नयाँ सौन्दर्यबोधसँग जोडिरहेको छ। साहित्यको इतिहास केवल विगतको गौरवगाथा होइन। त्यो वर्तमानको उत्तरदायित्व र भविष्यको सम्भावनासमेत हो। त्यसैले मोरङको साहित्यलाई संरक्षण मात्र होइन, आलोचनात्मक अभिलेखीकरण, अनुसन्धान, डिजिटल दस्तावेजीकरण र पुस्तान्तरण आवश्यक छ। हराएका वा ओझेलमा परेका स्रष्टाको पुनःखोज पनि उत्तिकै महत्त्वपूर्ण छ। साहित्यमा कसैको नाम स्थायी हुने आधार उसको सिर्जनाको दीर्घजीविता हो। यही चेतना आत्मसात् गर्न सके मोरङको साहित्यिक वटवृक्षले नयाँ पुस्ताका आवाजलाई अझ फराकिलो आकाश दिनेछ। त्यस अवस्थामा विराटनगर र समग्र मोरङ भविष्यको साहित्यिक सम्भावनाका जीवन्त प्रयोगभूमि पनि बन्नेछन्।

    (लेखक  नेपाल सरकारका उपसचिव हुन्)

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ कार्तिक १२, बुधबार २०:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP