logo
  • २०८२ चैत्र १ | Sun, 15 Mar 2026
  • अध्यात्म र मानवता एकतामा गीताको दार्शनिक दृष्टिकोण

    अध्यात्म र मानवता एकतामा गीताको दार्शनिक दृष्टिकोण

    अध्यात्म र मानवता एकतामा गीताको दार्शनिक दृष्टिकोण

    तोमनाथ उप्रेती

    उपसचिव, नेपाल सरकार

     

    श्रीमद्भागवत गीता हिन्दु धर्मको पवित्र तथा महाधर्ममध्ये एक हो।यो ऐतिहासिक हिन्दुग्रन्थ भिष्म पर्वबाट लिएको एक सानो ग्रन्थ हो।भागवत गीतामा श्रीकृष्णले अर्जुनलाई भन्नु भएको छ। परात्मा स्वरुप बासुदेव तिमी श्रीकृष्णका शरण पर तिमीलाई सबै पापको बन्धनबाट मुक्त गरिदिन्छु।वासुदेव संसारका सबै प्राणी आत्मा हुन्।जुन परमात्मासँग नित्य, युद्ध र अविनाशी छ।त्यसैले सबै आत्मा पनि अविनाशी छ।युद्ध र चेतना मात्र हो भनि बोध गरे सबै आफैमा छन्।आफू सबैमा छु भन्ने साक्षात्कार भएको अवस्थामा कसैका लागि कसैको शोक मोहमा फस्नु पर्दैन्।यसबाट मोक्ष प्राप्ती हुन्छ र यसका लागि शोक, लालसा,त्याग गरि भावनासँग मुक्त हुने भोग,योग,लालसा गरेमा अनित्य भोगबाट आशक्ति छुट्न गई भगवना भक्तिपूर्वक युक्त हुन्छ। भगवना अर्जुनको माध्यमबाट सबै साधकलाई दिनु भएको सन्देश पनि य िहो।जहाँ मात्रास्पर्श (प्राकृतिक अनित्य वस्तुमा ) आशक्ति छुटेर परमानन्दको प्राप्ति हुन्छ।

    जो पुरुष एकनाश बसेर चित्तलाई स्थिर गरेर कुनै पनि कुराको चिन्ता नगरि परब्रह्मालिन हुन्छ। उसका लागि धर्माधर्म,शुभाशुभ केहि नभई साक्षात्कार इश्वर मोक्ष तथा सत्यज्ञानको प्राप्ति हुन्छ । मानिसले सुखको असिम चाहना राख्द। तत्वदर्शी योगीहरुले जगतमा जति पदार्थ छन् तिनमा मन लगाउँदा जो तृप्ति र सुख मिल्दछ त्यो क्षणिक परिमाणी र अनित्य छ भन्ने कुरा देखाउँदछ। त्यसैले यी सबैबाट सुख पाउने अभिलासा छ । तर जो यी सबै जगतका पदार्थजन्य सृष्टि र नाराका कारण रुपमा छ त्यसमा नविन रुपमा आनान्दाभुती हुन्।त्यसलाई अनन्त र नित्य हुँदा उपदेयिता मुलुक मानिन्छ। त्यसैले योगीहरु आप्mनो शरिर भित्र नै त्यस अद्धितीय सर्वशक्ति कारणमा मन संयोग गर्ने अभ्यास गर्दछन्।त्यस सर्वशक्ति स्वरुप अद्धितीय तत्व नै परमात्मा हो।

    जब जब धर्मको हानि हुन्छ, अधर्मको वृद्धि हुन्छ त्यस बेलामा मैले आफुलाई प्रकट गरेको हुन्छु ।जसको हृदय पवित्र छ उनीहरू धन्य छन् । किनभने उनीहरूले ईश्वरको ज्ञान प्राप्त गर्छन् ।जसरी उदाउंदो सूर्यले रात्रिको अन्धकारलाई नाश गरी दिन्छ त्यसै गरी आत्माको ज्ञानले समस्त भ्रम निवारण हुनजान्छन् ।जसरी जीवात्माले यस शरीरमा कौमार्य, र्यौवन, र वार्धक्य प्राप्त गर्छ, त्यसै गरी उसले आफ्ना अन्य शरीर पनि प्राप्त गर्छ । यस विषयमा ज्ञानी मोहित हुंदैन ।जुन कार्य मेरो सेवाको रूपमा गरिन्छ, अनि त्यो पवित्र र पुनीत बन्न जान्छ ।विषयको चिन्तन गर्ने मानिसको तत्तत विषयमा आसक्ति हुन जान्छ । आसक्तिले कामना उत्पन्न हुन्छ, कामनाले क्रोध उत्पनन हुन्छ, क्रोधले अविवेक उत्पन्न हुनजान्छ । अविवेकले स्मृति भ्रम र स्मृतिभ्रमले बुद्धिनाश अनि बुद्धिनाशले मानिस पतन हुनजान्छ ।तर आत्म संयमवान मानिस रागद्वेषरहित भएर आफ्ना वशमा गरिएका इन्द्रियहरुद्वारा विषय भोग गर्दै अन्तःकरणको प्रसन्नतालाई प्राप्त गर्छ । गीताको सार यही हो ।

    श्रीमद्भागवत गीतामा श्री कृष्णले दिनुभएका दिव्य सन्देशहरु जीवन र जगत नियाल्ने अमूल्य रत्न हो । जसले मानवलाई उत्कृष्ट सन्देश प्रवाह गर्दै भनेको छ ,मोह या सुख शान्तिको अधीनमा नपर्नु ,शरीर नाशवान, आत्मा अविनाशी सम्झेर कर्तव्य पालना गर्नु ,निष्काममा भावले परहिताय गरी कर्तव्य पालना गर्नु ,तत्त्व ज्ञानको अनुभव गरी निःस्वार्थ भावले कर्म गर्नु ,सधैँ  सुखदुःखमा समान भाव हुनु ,अन्तस्करणमा समता राख्नु ,सबै कुरा भगवान् नै हो भनी स्वीकार्नु, सबैमा ब्रह्मभाव हुनु ,सधैँ भगवानको स्मरण गर्दै आप्mनो कर्तव्यको पालना गर्नु ,सबै मानिस भगवत प्राप्तिका अधिकारी हुन् भनी सम्झनु ,विलक्षण, विशेषता, सुन्दरता, महता, विद्वता बलबता आदि भगवानको नै अंश मानी भगवानको चिन्तन गर्नु ,यो चराचर जगत् भगवानको नै स्वरूप मानेर विराट रूप भगवानको दर्शन गर्नु अर्थात् जगत् नै भगवान्, भगवान् नै जगत् हो भन्नु ,शरीर, इन्द्रीय, मन, बुद्धिले आफूलाई भगवानमा अर्पण गर्नु ,संसारमा एक परमात्मा तत्त्व नै जान्न योग्य वस्तु हो भनी जान्नु ,सत्व, रज, तम यी तीनै गुणबाट अतीत भई अनन्य भक्ति गर्नु ।एक परमात्मा मानेर अनन्य भक्तिभावले उनको भजन गर्नु ,जन्म, मरणको चक्रबाट छुट्न दुर्गन दुराचारको त्याग गर्नु ,जुनसुकै शुभ कर्म गरे पनि भगवानको नाम स्मरण, उच्चारण गर्दै आरम्भ गर्नु ,भगवत शरणागती हुनु र भावले भगवानको शरणमा पर्नु ।

    श्रीमद्भागवत गीताले मनव जातीलाई उत्कृष्ट सन्देश प्रवाह गर्दै जीवन जिउन सहज बनाएको छ । किन व्यर्थ चिन्ता गर्छौ? कोदेखि व्यर्थै डराउदछौ? तिमीलाई कसले मार्छ? आत्मा न जन्म लिन्छ न मर्छ।जे भयो, त्यो राम्रो भयो। जे हुँदैछ, त्यो राम्रै हुँदैछ। जे हुनेछ, त्यो पनि राम्रै हुनेछ। तिमी भूतकालको पश्चताप नगर, भविष्यको पनि चिन्ता नगर , वर्तमान चलिरहेको छ ,तिम्रो के गएको छ र तिमी रुन्छौ? तिमीले के लिएर आएका थियौ र तिमीले के  हरायौ? तिमीले के पैदा गरेका थियौ र नाश भयो? तिमीले केही लिएर आएका थिएनौ। जे पायौ, यहीँबाट पायौ। जति दियौ, यहीं नै दियौ। खालि हात आएका थियौ, खालि हात नै गयौ, जे आज तिम्रो छ, त्यो हिजो अरु कसैको थियो, भोलि अरु कसैको हुनेछ। तिमी यसलाई आप्mनो सम्झेर मग्न भैरहेका छौ। यहीं खुसी नै तिम्रो दुःखको मूल कारण हो।परिवर्तन संसारको नियम हो। जसलाई तिमी मृत्यु सम्झन्छौ, त्यही जीवन हो। एक क्षणमै तिमी करोडपति बन्दछौ, दोश्रो क्षणमा तिमी दरिद्र बन्दछौ। मेरो, तिम्रो, सानो, ठूलो, आप्mनो, अर्काको भन्ने मनबाट हटाइदेऊ, अनि सबै तिम्रो हो, तिमी सबैका हौ। तिमी आफू आफै भगवानमा अर्पित हौ। यही नै सबभन्दा ठूलो सहारा हो। जसले ईश्वरको सहारालाई जान्दछ, त्यो डर, चिन्ता, शोकबाट सधैंका लागि मुक्त हुन्छ भन्ने दिव्य सन्देशहरु गीताले सिकाएको छ ।

    मानव सभ्यताको विकासको आधार  भौतिक प्रगतिमा मात्र छैन, यसको मूल स्रोत नै आध्यात्मिक चेतना र मानवताका साझा मूल्यहरूमा निहित छ। इतिहासमा यस्ता अनगिन्ती विभूतिहरू प्रकट भए जसले मानवतालाई उच्चतम सत्यतर्फ मार्गदर्शन गरे। तिनै मध्ये भगवान श्रीकृष्णको जीवन र शिक्षाले विश्वलाई अध्यात्म र मानवताको अभेद एकता बुझाउने अनुपम योगदान दिएको छ। श्रीकृष्णको दर्शन  धार्मिक अनुयायीकै लागि होइन, सम्पूर्ण मानव जातिका लागि एक सार्वभौमिक सत्य हो, जसले समय, भूगोल र संस्कृतिका सीमाहरू पार गरेर मानव जीवनलाई गहिरो अर्थ दिन्छ।

    भगवद्गीतामा श्रीकृष्णले अर्जुनलाई युद्धभूमिमा जुन उपदेश दिए, त्यो  युद्धको सन्दर्भमा सीमित थिएन। त्यो उपदेश जीवनको सम्पूर्ण सङ्घर्ष, द्वन्द्व, निर्णय र जिम्मेवारीका क्षणहरूमा मार्गदर्शन गर्ने सार्वकालिक सूत्र हो। गीता भन्छ — जीवनको मूल स्वरूप कर्ममै निहित छ, तर त्यो कर्म आसक्ति, स्वार्थ र अहंकारबाट मुक्त हुनुपर्छ। यतिबेला विश्वभर विद्यमान असमानता, हिंसा, र विभाजनका कारण मानवता संकटमा परेको छ। यस सन्दर्भमा श्रीकृष्णको “निष्काम कर्मयोग” को सन्देशले व्यक्तिलाई आत्मज्ञान र निःस्वार्थ सेवाको बाटो देखाउँछ।

    मानवताको आधार करुणा, सत्य, प्रेम र सहिष्णुतामा टेकेको हुन्छ। यी मूल्यहरू श्रीकृष्णका शिक्षाको केन्द्रमा छन्। उनले “समदर्शन” अर्थात सबैमा समान दृष्टि राख्ने भावलाई जीवनको सर्वोच्च गुण माने। गीता भन्छ — ब्राह्मण, गाई, हात्ती, कुकुर वा चाण्डाल — सबैमा एकै दिव्य आत्मा देख्ने व्यक्ति नै सच्चा ज्ञानी हो। आजको विश्वमा जातीय, धार्मिक, भाषिक वा राजनीतिक विभाजनका कारण हुने द्वन्द्वको समाधान यिनै समदर्शन र सार्वभौमिक प्रेमका सिद्धान्तमा भेटिन्छ।

    श्रीकृष्णले अध्यात्मलाई निष्क्रिय ध्यान वा  साधना मात्र नभई सक्रिय कर्मसँग जोडे। उनले अर्जुनलाई पलायनको बाटो छोडेर धर्मानुकूल कार्य गर्न प्रेरित गरे। यही भाव आजको सामाजिक जीवनमा पनि लागु हुन्छ — अन्याय, शोषण, र हिंसाको सामना गर्न साहसपूर्वक खडा हुनु नै आध्यात्मिक जिम्मेवारी हो। मानवताको कल्याणका लागि अध्यात्मले निष्क्रिय शान्तिवाद होइन, सक्रिय र सृजनात्मक सहभागिताको बाटो देखाउँछ।

    विश्व शान्ति कुनै सम्झौताबाट मात्र सम्भव हुँदैन, यो त मानवको आन्तरिक चेतनाको परिवर्तनबाट सुरु हुन्छ। जबसम्म व्यक्तिको मन लोभ, घृणा र अहंकारबाट मुक्त हुँदैन, तबसम्म बाह्य संसारमा स्थायी शान्ति आउन सक्दैन। यस दृष्टिले श्रीकृष्णको शिक्षाले शान्तिको वास्तविक आधार आन्तरिक आत्मज्ञानलाई मानेको छ। जब व्यक्तिले आफ्नो जीवनलाई परम सत्य र सार्वभौमिक प्रेममा स्थापित गर्छ, उसको व्यवहार स्वतः मानवताको हिततर्फ मोडिन्छ।

    भगवान श्रीकृष्णले गीतामा देखाएको कर्मयोगको मूल सन्देश हो— इमान्दारीपूर्वक, लगनशीलताका साथ स्वधर्म पालन गर्दै कर्मलाई नै पूजा मान्नु। जे फल प्राप्त हुन्छ, त्यसलाई आफ्नै कर्मको परिणाम ठानी सहर्ष स्वीकार गर्न सके जीवनमा सन्तुष्टि, शान्ति र आनन्दको अनुभूति हुन्छ। सुख–दुःख दुवै विगतका कर्मका फल हुन्, र वर्तमानका कर्मले भविष्य निर्माण गर्छन्। असल कर्म गर्नेको वर्तमान सम्पन्न नदेखिए पनि उसको भविष्य आनन्दमय हुन्छ। श्रीकृष्णका अनुसार धर्मको ह्रास र अधर्मको वृद्धिमा आफू प्रकट भई सत्य र धर्मको पुनःस्थापना गरिन्छ। पवित्र हृदय भएका व्यक्तिले ईश्वरज्ञान पाउँछन्, जसरी आत्मज्ञानले अज्ञानको अन्धकार हटाउँछ। विषय आसक्तिले कामना, क्रोध, अविवेक र पतन ल्याउँछ, तर आत्मसंयमले रागद्वेषरहित भएर अन्तःकरणको प्रसन्नता दिलाउँछ। गीता भन्छ— कर्मफलको लोभ नगरी असल कर्ममा लाग, किनकि सबै कार्यको साक्षी भगवान हुन्। कर्मयोग, भक्तियोग र ज्ञानयोगलाई जीवनमा आत्मसात् गरेर निःस्वार्थ भावले कर्म गर्न सक्नु नै उत्कृष्ट जीवनको बाटो हो।

    भागवत गीताको दिव्य ज्ञानले असल आचरणको विकास गर्ने, सदाचार पालनामा सहयोग गर्ने , आप्mनो मनलाई नियन्त्रणमा राखेर काम गर्ने, तर फलको आशा नगर्ने,मान्यजनको सेवा तथा आदर सत्कार गर्ने,जस्तोसुकै कठिन परिस्थितिमा पनि संयमित भई कर्म गर्ने,आप्mनो कर्ममा विश्वास गर्ने,ज्ञानयोगको माध्यमबाट समाजमा अब्बल रूपमा ज्ञानी बनेर अरुलाई बाटो देखाउने कार्यमा सक्रिय हुने,सांसारिक मोहबाट टाढा रहने र कुनै कुरा पाउन नसकेको खण्डमा पश्चाताप नगर्ने आदि।

    भगवान श्रीकृष्णको दिव्य ज्ञानले सदाचार र नैतिक संस्कृति विकास गर्न प्रेरित गर्दछ, जसको अनुभूति मात्र उत्कृष्ट जीवनको मार्ग देखाउँछ। नागरिक चेतना, समाजको लोकतन्त्रीकरण र प्रविधिको प्रसारले मानवलाई आध्यात्मिक, नैतिक, व्यावसायिक र सदाचारी बनाउन सहयोग पुर्याउँछ। भागवत गीताको दिव्य ज्ञान, अध्यात्म, नैतिकता र आचरणले विश्वास अभिवृद्धि गर्दै मानव समाजमा अमूल्य रत्नको काम गर्दछ। सरकारी सेवा, सुविधा र विकास कार्यलाई प्रभावकारी बनाई सुशासन कायम गर्न यसले महत्वपूर्ण भूमिका खेल्दछ। मानव हृदयका सद्भाव र सद्गुणलाई जागृत गरी सुखी, शान्त र समृद्ध जीवन बनाउन गीता सन्देशको कुशल प्रयोग आवश्यक छ।

    श्रीकृष्णको शाश्वत दर्शनले हामीलाई एउटा स्पष्ट सत्य बुझाउँछ — अध्यात्म र मानवता एउटै वृक्षका दुई शाखा हुन्। एकले अर्को बिना पूर्णता पाउँदैन। आत्मज्ञानले प्रेम र करुणाको आधार बनाउँछ, र प्रेमले आत्मज्ञानलाई जीवन्त बनाउँछ। यही द्वन्द्वमुक्त, एकीकृत चेतनामा नै मानव जीवनको सर्वोच्च सौन्दर्य र विश्वको वास्तविक कल्याण निहित छ।

    (उप्रेती कोष तथा लेखा नियन्त्रक कार्यालय मोरङका कोष प्रमुख हुन् ।)

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ चैत्र १, आईतवार १९:४९
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP