चेतना, ऊर्जा र भौतिकताको समन्वय
तोमनाथ उप्रेती
ब्रह्माण्डको मूलरुप तीन आयाममा बुझ्न सकिन्छ — चेतना, ऊर्जा र भौतिकता । यी तीनै तत्वहरू आपसमा अन्तरसमन्वित छन्, जुन आध्यात्मिक दर्शनदेखि आधुनिक भौतिक विज्ञानसम्म प्रमाणित र विश्लेषण गरिएको छ।
आइन्स्टाइनको प्रसिद्ध सापेक्षतावादको सिद्धान्त अनुसार, ऊर्जा र पदार्थ एक–अर्काका रूपान्तरण हुन्। यसले भौतिक वस्तुहरू ऊर्जामा रूपान्तरित हुन सक्छन् भन्ने कुरालाई पुष्टि गर्छ। यो वैज्ञानिक आधारले देखाउँछ कि सृष्टिको सबै वस्तुहरू एक किसिमको कम्पनात्मक ऊर्जा हुन्।अब चेतनाको पक्षमा जाँदा, आधुनिक न्यूरोसाइन्स भन्छ कि मस्तिष्कको विद्युत गतिविधि नै चेतनाको आधार हो। चेतन प्रेक्षकको भूमिकाले क्वान्टम यान्त्रिक प्रणालीहरूमा पनि प्रभाव पार्न सक्छ भन्ने पत्ता लागेको छ । यसले देखाउँछ कि चेतना कुनै निष्क्रिय अवस्था होइन, तर ऊर्जा प्रवाहमा सक्रिय भूमिका खेल्न सक्छ।
पूर्वीय दर्शन, विशेषतः उपनिषद् र भगवद्गीताजस्ता ग्रन्थहरूले चेतनालाई ब्रह्म (सर्वशक्तिमान् ऊर्जा) सँग जोड्छन्। ॐ ध्वनि, जुन ब्रह्माण्डीय कम्पनको प्रतीक मानिन्छ, चेतना र ऊर्जा बीचको सेतु हो।यसरी हेर्दा, चेतना ब्रह्माण्डको सूक्ष्म कम्पनात्मक जानकारी हो, ऊर्जा यसको गतिशील रूप हो र भौतिकता यसको सघन वा स्थूल रूप। यी तीन तत्वहरू परस्पर क्रियाशील छन्—एकअर्काविना न अपूरा छन्, न बुझ्न सकिन्छ। चेतनाको अनुपस्थितिमा ऊर्जा उद्देश्यहीन हुन्छ, र ऊर्जाविनाको चेतना स्थायित्वविहीन। त्यसैले, चेतना, ऊर्जा र भौतिकताको समन्वय नै अस्तित्वको आधार हो।
वेदान्त दर्शनको महावाक्य “अहं ब्रह्मास्मि” (म ब्रह्म हुँ) केवल आत्मा र ब्रह्मबीचको अद्वैत सम्बन्धको घोषणा मात्र होइन, यो सम्पूर्ण अस्तित्वको तत्त्वमीमांसात्मक समष्टिको परिचय हो। यो वाक्यले शरीर, चेतना, र ऊर्जा — यी तीन प्रमुख तत्त्वहरूको अविच्छिन्न समन्वयको दर्शन प्रस्तुत गर्छ। हामी जब भन्छौं, “म ब्रह्म हुँ,” त्यसको अर्थ म केवल स्थूल शरीर (भौतिक तत्व) होइन, न केवल विचार वा चेतना मात्र पनि होइन; बरु म त्यस्तो समग्र सत्ता हुँ जसमा चेतना (चित्), ऊर्जा (शक्ति), र पदार्थ (रूप) पूर्ण रूपमा अन्तर्भूत छन्। यो समष्टिगत दृष्टिले देखाउँछ कि व्यक्तिको अस्तित्व कुनै एक तत्वको समष्टि नभएर बहुआयामिक र परस्पर अन्तरसम्बन्धित स्वरूप हो। ब्रह्मको त्रीगुणात्मक स्वरूप — सत् (अस्तित्व), चित् (चेतना) र आनन्द (शक्ति) — सृष्टिको मूल सूत्र हो। सत् अर्थात् स्थायित्व र भौतिक आधार; चित् भनेको अनुभूतिको चेतन केन्द्र र आनन्द भनेको दिव्य ऊर्जा वा शुद्ध शक्ति। जब यी तीन तत्व एकै ठाउँमा एकीकृत हुन्छन्, त्यही अवस्था ब्रह्म हो, र जब कुनै व्यक्तिले आफूमा यी सबै तत्वहरूको अनुभव गर्छ, उसले “अहं ब्रह्मास्मि” को वास्तविक अनुभूति गर्छ।
मानव शरीरभित्र यो त्रयतत्त्वको उपस्थिति स्पष्ट देख्न सकिन्छ। भौतिक शरीर सजीव र गतिशील हुनका लागि ऊर्जाको आवश्यक पर्छ र ती ऊर्जा प्रयोग गर्न चेतनाको निर्देशन चाहिन्छ। उदाहरणका लागि, एक साधारण क्रियामा — जस्तै हात उठाउन — शारीरिक मांसपेशीको गतिविधि (पदार्थ) लाई सक्रिय बनाउने शक्ति (ऊर्जा) चाहिन्छ, र त्यो शक्ति प्रयोग कसरी गर्ने भन्ने निर्णय चेतनाले गर्छ। यसरी, चेतना, ऊर्जा र पदार्थ एक अर्कामा निर्भर छन् — एकको अनुपस्थितिमा बाँकी दुई तत्त्व निरर्थक हुन्छन्। आधुनिक विज्ञानले पनि यो अवधारणा पुष्टि गर्छ; ऊर्जा रूपान्तरण (जस्तै, पदार्थ ऊर्जामा बदलिन्छ), चेतनाको न्यूरोलोजिकल आधार र शरीरको बायो-केमिकल प्रक्रिया सबैले भन्छन् कि कुनै पनि जीवनीय प्रणाली त्रयात्मक तत्त्वहरूको समुच्चय हो। यही तत्त्वमीमांसाको सार हो — आत्मा अर्थात् ब्रह्मको अभिव्यक्ति हुनु। चेतना विना ऊर्जा अन्धकार हो, ऊर्जा विना पदार्थ निरुपयोगी हुन्छ र पदार्थ विना चेतनाको अभिव्यक्ति सम्भव छैन। यसैले “अहं ब्रह्मास्मि” भन्नुको अर्थ म यस त्रैगुणिक समष्टिको सार हुँ भन्ने हो — न कुनै एक पक्ष, न केवल शरीर, न केवल आत्मा, तर समग्र सृष्टिको सारभूत अभिव्यक्ति।
यो अवधारणाले व्यक्ति र ब्रह्माण्डबीचको सम्बन्धलाई स्पष्ट बनाउँछ। वेदान्तको अनुसार, प्रत्येक जीव मानव रूपी सानो ब्रह्माण्ड हो र समग्र ब्रह्माण्ड उसको प्रतिबिम्ब हो। यसको अर्थ, ब्रह्माण्डमा जे घट्छ, त्यसको लघुरूप मानव जीवनमा पनि घट्छ। जस्तै, ब्रह्माण्डीय ऊर्जा (सूर्यको ताप, गुरुत्वबल), ब्रह्माण्डीय पदार्थ (ताराहरू, ग्रहहरू), र चेतन प्रणाली (जीवन र मस्तिष्क) जसरी परस्पर अन्तक्रिया गर्छन्, त्यसरी नै शरीरभित्र पनि ऊर्जा, पदार्थ, र चेतनाको परिपक्व समन्वय हुन्छ। आत्मसाक्षात्कार भनेको यही ब्रह्माण्डीय समन्वयलाई आत्मभित्र अनुभव गर्नु हो। जब व्यक्ति आफ्नो आत्माभित्रको पूर्णता, अनन्तता, र चेतनात्मक शक्तिको अनुभूति गर्छ, तब ऊ केवल व्यक्तिगत अस्तित्वको सीमाबाट मुक्त हुन्छ र ब्रह्मसँग एकाकार हुन्छ। यही नै मोक्ष हो, यही नै जीवनको चरम उद्देश्य हो। “अहं ब्रह्मास्मि” को गहिरो अनुभूति जीवन, ब्रह्माण्ड, र अस्तित्वको त्रैगुणिक सम्बन्धको ज्ञानबाट प्राप्त हुन्छ — जहाँ चेतना, ऊर्जा, र पदार्थ परस्पर एकै मूल स्रोतका अभिन्न आयाम हुन्।
चेतना, ऊर्जा र भौतिकता मानव अस्तित्वका तीन आधारभूत स्तम्भहरू हुन्, जसको समन्वयले व्यक्तिको सम्पूर्ण जीवन, व्यवहार र अनुभूतिको जग बसाल्दछ। भौतिकता (शरीर वा रूप) जीवनको स्थूल रूप हो, जसले दृश्य संसारसँग हाम्रो सम्बन्ध स्थापित गर्छ; ऊर्जा (शक्ति) जीवनको प्रेरक तत्व हो, जसले हरेक क्रियालाई गति र बल प्रदान गर्छ; र चेतना आत्माको अभिव्यक्ति हो, जसले अस्तित्वलाई अनुभूति, निर्णय र बोध गराउने काम गर्छ। यी तीन तत्वहरू परस्पर निर्भर र पूरक छन् — एकको अभावमा बाँकी दुई अधूरा रहन्छन्।
वेदान्त र योगदर्शनमा यी तत्वहरूको समन्वय आत्म–साक्षात्कारको मार्ग हो। आधुनिक विज्ञानले पनि यो कुरालाई पुष्टि गर्छ कि चेतन, ऊर्जाशील र भौतिक तत्वहरूको जटिल सन्तुलनले मात्र जीवन सम्भव हुन्छ। “अहं ब्रह्मास्मि” को अनुभूति तब मात्र सम्भव हुन्छ, जब व्यक्ति आफ्नो भौतिक अस्तित्व, आन्तरिक ऊर्जा र सूक्ष्म चेतनाको पूर्ण समन्वयमार्फत ब्रह्मसँग एकाकार हुन्छ।यसैले, चेतना, ऊर्जा र भौतिकताको समन्वित दर्शनले आत्म–पहिचानको मार्ग मात्र देखाउदैन समग्र जीवनलाई सन्तुलित, सशक्त र दिव्य बनाउने आधार निर्माण गर्छ। यही समन्वय नै आध्यात्मिक उन्नति, वैज्ञानिक खोज र मानवीय मूल्यहरूको अन्तिम स्रोत हो।
प्रतिक्रिया