logo
  • २०८३ बैशाख १६ | Wed, 29 Apr 2026
  • आत्मिक चेतनाबाट जन्मिने उच्च चरित्र 

    आत्मिक चेतनाबाट जन्मिने उच्च चरित्र 

    आत्मिक चेतनाबाट जन्मिने उच्च चरित्र

    तोमनाथ उप्रेती

    उपसचिव, नेपाल सरकार

    मानव जीवनको वास्तविक मूल्य आत्मिक चेतनाको विकासमा निहित हुन्छ। जब मानिसले आफ्नो अन्तरमनलाई बुझ्न र आत्मचिन्तन गर्न थाल्छ, तब उसमा नैतिकता, जिम्मेवारी र मानवताको भाव क्रमशः प्रबल हुँदै जान्छ। यही आत्मिक चेतनाले व्यक्तिलाई सही–गलतको स्पष्ट बोध गराउँदै जीवनलाई मर्यादित र सन्तुलित मार्गतर्फ डोर्याउँछ।

    आत्मिक चेतना जागृत हुँदा मानिसको चरित्र स्वाभाविक रूपमा उच्च र परिष्कृत बन्छ। यस्तो व्यक्ति समाज, प्रकृति र मानवताप्रति उत्तरदायी बन्न थाल्छ। उसको व्यवहारमा सत्यनिष्ठा, सहिष्णुता, करुणा र अनुशासन झल्किन्छ। यी गुणहरू बाह्य दबाब वा बाध्यताबाट होइन, अन्तरआत्माको शुद्ध प्रेरणाबाट उत्पन्न हुन्छन्। त्यसैले आत्मिक चेतनाबाट जन्मिने चरित्र स्थायी, विश्वसनीय र प्रेरणादायी मानिन्छ।

    आजको प्रतिस्पर्धात्मक र भौतिकतावादी परिवेशमा नैतिक मूल्यहरूको संरक्षणका लागि आत्मिक चेतनाको महत्व झन् बढेको छ। जब व्यक्ति आफ्नो अन्तरआत्माको आवाजलाई सम्मान गर्छ, तब उसले जीवनका निर्णयहरू विवेकपूर्ण र जिम्मेवार ढङ्गले लिन सक्छ। यसरी आत्मिक चेतनाले व्यक्तिको चरित्रलाई मात्र उच्च बनाउँदैन, समाजमा पनि सकारात्मक परिवर्तन र नैतिक वातावरण निर्माण गर्न महत्त्वपूर्ण आधार प्रदान गर्छ।

    आत्मचेतनाको स्तरमा पुग्दा मानिसले बाहिरी सम्बन्ध मात्र होइन, आफ्ना लोभ, अहंकार र मोहका जरासमेत देख्छ। यही आत्मावलोकन परिवर्तनको प्रेरणा हुन्छ। बाहिरी नियमले व्यवहार नियन्त्रण गर्छ, तर अध्यात्मले उत्प्रेरणाको जग बदल्छ। उत्प्रेरणा बदलिएपछि कर्म स्वतः धर्ममय हुन्छ।

    गीतामा कृष्णले भनेका छन्—“आफ्नो आत्माबाट आफैलाई उन्नत गर।” यही चेतनाको विस्तार हो—बाह्य इच्छाबाट होइन, आन्तरिक विवेकबाट सञ्चालित। अध्यात्म कुनै धर्मको आडम्बर होइन; यो जीवनसँगको सत्य संवाद हो। आत्मा शान्ति, करुणा, क्षमा र संयमको स्वरूप हो भन्ने बोध भएपछि आचरणको परिवर्तन देखावटी हुँदैन, बरु जीवनशैलीको मूल आधार बन्छ।

    मानव अस्तित्वको मूल प्रश्न  म को हुँ ?” भन्ने जिज्ञासाबाट प्रारम्भ हुन्छ। शरीर क्षणभङ्गुर छ, मन चञ्चल छ, विचार अस्थिर छन्, तर आत्मा चिरस्थायी चेतनाको ज्योति हो। जब मानव आत्मचेतनाको गहिराइमा प्रवेश गर्छ, तब ऊ  आफूलाई चिन्न पुग्दैन, बरु आफ्नो आचरणलाई पनि परिष्कृत गर्छ। आत्मचेतनाको जागरणले जन्माएको आन्तरिक प्रकाशले चरित्र निर्माणको बाटो उज्यालो बनाउँछ।चरित्र  दीर्घकालीन आचरणहरूको समष्टि हो। अस्थायी व्यवहार वा क्षणिक प्रतिक्रिया चरित्र होइन; चरित्र त स्थायित्व, गहिराइ र मूल्यमा टेकेको जीवनशैली हो। आचरण बदलिन्छ भने चरित्रमा पनि क्रमशः रूपान्तरण हुन्छ। तर त्यो परिवर्तन  सतही हुन सक्छ, यदि आत्मचेतना जागृत छैन भने। आत्मचेतनाको आलोकमा मात्र आचरणको आधार नै शुद्ध हुन्छ, र यसरी निर्मित चरित्र स्थायी, दृढ र प्रेरणादायी हुन्छ।

    आध्यात्मिकता आत्मचेतनाको परिपक्व अवस्था हो।  बौद्धिक ज्ञानले मात्र चरित्र बनाउन सक्दैन; त्यसका लागि आवश्यक छ आन्तरिक अनुभूति। उपनिषदहरूले भनेका छन्— आत्मा ज्ञातव्यः आत्मा दृष्टव्यः। आत्मालाई देख्न, आत्मालाई जान्न सके मात्र चरित्र उज्यालो हुन्छ। अध्यात्मले सिकाउँछ कि आचरण कुनै बाहिरी अनिवार्यता होइन, बरु अन्तर्यामी सत्यको स्वाभाविक प्रस्फुटन हो।

    आत्मचेतनाको जागरण कुनै आकस्मिक घटना होइन; यो निरन्तर साधनाको यात्रा हो। ध्यानले मनलाई चञ्चलताबाट मुक्त गरी आत्मसँग तादात्म्य स्थापित गर्न मद्दत गर्छ। स्वाध्यायमार्फत शास्त्र, ज्ञान र सत्संगको अध्ययनले चेतनालाई परिष्कृत बनाउँछ। सत्य, अहिंसा, दया र सेवाजस्ता सदाचारको दैनिक अभ्यासले आत्मचेतनालाई स्थिर राख्छ। साथै आत्मपरीक्षणले दिनभरका कार्यहरूलाई मनको तुलामा राखी सुधारको बाटो खोल्छ।

    जब आत्मजागरण हुन्छ, मानिसको दृष्टिकोण नै रूपान्तरण हुन्छ। ऊ भौतिक लोभभन्दा माथि उठेर आन्तरिक शुद्धतालाई वास्तविक सम्मान ठान्छ। उसको मूल्य–बोध बाहिरी परिस्थितिमा निर्भर रहँदैन, बरु आत्मभित्रैको सत्यमा टेकेको हुन्छ। यसरी आत्मजागरणले आचरणलाई नैतिकता, धैर्य र विवेकको प्रकाशले भरिदिन्छ। चरित्र  औपचारिक अनुशासन वा सामाजिक दबाबमा निर्मित हुँदैन, बरु आत्मको प्रकाशबाट स्वतः फुल्छ। त्यस्तो चरित्र लोभ, ईर्ष्या र द्वेषका छायाबाट मुक्त हुन्छ। आत्मचेतनामा आधारित व्यक्तिले कठिन परिस्थितिमा पनि मूल्यहरूको रक्षा गर्छ, अन्यायसँग सम्झौता गर्दैन। अन्ततः आत्मजागरण नै यस्तो ज्योति हो, जसले मानिसलाई परिस्थितिको गुलाम होइन, मूल्यहरूको स्वामी बनाउँछ। यही नै चरित्र–निर्माणको आध्यात्मिक आधार हो।

    समाजको समग्रता व्यक्तिहरूको चरित्रमा टेकेको हुन्छ। यदि व्यक्तिहरूको चरित्र दुर्बल छ भने समाज पतनतिर जान्छ। तर जब आत्मचेतना जागृत हुन्छ, चरित्रहरू उज्याला हुन्छन्, अनि समाज पनि नैतिक–आध्यात्मिक सभ्यतामा रूपान्तरण हुन्छ। आजको युगमा राजनीति, शिक्षा, प्रशासन, व्यापार—सबै क्षेत्रमा चरित्र संकट देखिन्छ। यस संकटको समाधान बाह्य कानुन वा कठोर नियन्त्रणमा होइन, आत्मचेतनाको जागरणमा छ।

    एक व्यक्तिको आत्मजागरण  उसको निजी जीवनसम्म सीमित रहँदैन; त्यसले राष्ट्रलाई समेत प्रभावित गर्छ। इतिहासले देखाएको छ—महान् व्यक्तिहरू जसको आत्मचेतना जागृत थियो, उनीहरूको चरित्रले राष्ट्रलाई नयाँ दिशा दिएको छ। बुद्धले आत्मज्ञान प्राप्त गरेपछि मानवजातिलाई करुणा र शान्तिको बाटो देखाए। महात्मा गान्धीले आत्मचेतनामा आधारित सत्याग्रहबाट औपनिवेशिक शक्तिलाई झुकाए। यी उदाहरणहरूले प्रमाणित गर्छन् कि आत्मजागरण र चरित्र–निर्माण  व्यक्तिगत होइन, सामूहिक मुक्ति र प्रगतिको पनि आधार हो।

    आत्मचेतनाको जागरणलाई ज्योति भन्न सकिन्छ। यो ज्योति बाह्य अन्धकारलाई होइन, आन्तरिक अज्ञानलाई हटाउँछ। जब यो ज्योति प्रज्वलित हुन्छ, तब मानिसले जीवनलाई सही परिप्रेक्ष्यमा देख्छ। मृत्यु भय होइन, सत्य हुन्छ; दुःख शाप होइन, साधना हुन्छ; र आचरण  औपचारिक नियम नभई आत्माको स्वाभाविक नृत्य हुन्छ।

    चरित्र–निर्माण कुनै काठको मूर्ति जस्तै बाहिरबाट कोरिएको संरचना होइन; यो आत्मभित्रैबाट उम्किएको पुष्प हो। त्यो पुष्प आत्मचेतनाको माटोमा, आध्यात्मिकताको जलले सिंचित भएर मात्र फुल्छ। आजको युगमा शिक्षा, प्रविधि र विकासका नाममा आचरणको पतन देखिँदा, समाधान बाह्य साधनमा होइन, आत्मजागरणमा खोजिनुपर्छ।

    आजको संकटग्रस्त समाजमा, जहाँ नैतिक विचलन, स्वार्थप्रेरित व्यवहार, र मूल्यहीनता बढ्दो छ, समाधानको मूल खानी विधि आत्मचेतनामा आधारित आध्यात्मिक शिक्षाको पुनरुत्थान हो। नियमहरू व्यवहारलाई निर्देशित गर्न सक्छन्, तर  चेतनाको प्रकाशले नै आत्मालाई दिशा दिन सक्छ। यही आत्मिक क्रान्ति नै मानव सभ्यताको साँचो जागरण हो।

    जीवनमा चेतनाको प्रकाश आउँदा मात्र आचरणमा वास्तविक क्रान्ति सम्भव हुन्छ। जब व्यक्ति अन्तरमनलाई जागरुक पार्छ र आध्यात्मिक मूल्यहरू आत्मसात् गर्छ, तब उसको व्यवहार स्वभाविक रूपमा बदलिन्छ। सत्य, करुणा, सहिष्णुता, विनम्रता र सेवा भावजस्ता मूल्यहरू जीवनको आधारशिला बन्छन्। चेतनाले भरिएको जीवन मात्र बाह्य स्वार्थ र अहंकारबाट मुक्त भई शान्ति र आनन्दको मार्गमा प्रवेश गर्न सक्छ।

    आध्यात्मिक चेतनाले सञ्चालित जीवन  व्यक्तिगत मुक्ति वा आत्मसन्तुष्टिमै सीमित रहँदैन; यसले समाज, प्रकृति र मानवीय सम्बन्धमा सकारात्मक रूपान्तरण ल्याउँछ। यस्तो जीवनशैली कर्मकाण्ड वा औपचारिक धर्मपालन होइन, बरु विवेक, करुणा र समर्पणको अभ्यास हो। आचरणको शुद्धता कानुनी दण्ड वा सामाजिक दबाबबाट टिक्दैन; त्यो स्थायित्व आत्मबोध र आध्यात्मिक प्रकाशबाट मात्र सम्भव हुन्छ।

    जब चेतनामा आत्मज्ञान फैलिन्छ, तब व्यक्ति आफ्ना कर्म, चिन्तन र वाणीलाई विवेकका आधारमा नियन्त्रण गर्न सिक्छ। अहंकार, लोभ र क्रोध हटेर संयम, क्षमा र प्रेमको बीउ रोपिन्छ। आत्म–अवलोकन, योग, ध्यान वा सत्सङ्गद्वारा कमजोरीलाई रूपान्तरण गर्ने व्यक्ति समाजकै लागि प्रेरणाको स्रोत बन्छ। यसरी आध्यात्मिकता सामाजिक रूपान्तरणको मूल आधार हो।

    समाज धन र भौतिकताले मात्र टेकिन सक्दैन; उसको दीर्घ अस्तित्वका लागि चेतनाको क्रान्ति र आध्यात्मिक मूल्यहरूको अवलम्बन अपरिहार्य हुन्छ। आत्म–संयम, विवेक र सेवा भावनाले सञ्चालित व्यक्ति नै वास्तविक परिवर्तनको संवाहक हो। जब जीवन अध्यात्ममा आधारित हुन्छ, तब ऊ निरहंकार, सत्यप्रेम र क्षमाको मार्गमा हिँड्छ, जसले मनलाई स्थिर, बुद्धिलाई निर्मल र हृदयलाई विशाल बनाउँछ।आध्यात्मिक दृष्टिले जीवन व्यवस्थापन गर्दा बाहिरी ऐश्वर्यको झिल्को होइन, आन्तरिक प्रकाशमा जीवन संचालन हुन्छ। योग र ध्यानले विचारलाई शुद्ध र व्यवहारलाई शालीन बनाउँछ, जसले व्यक्ति कर्तव्यनिष्ठ, उत्तरदायी र समर्पित बन्छ। यस्तै जीवनशैली समाजमा शान्ति र राष्ट्रमा समृद्धिको जग बसाल्छ।

    आध्यात्मिक चिन्तनले संपूर्ण मानवजगतलाई जोड्ने काम गर्दछ । आध्यात्मिक बाटोमा कुनै निश्चित नियम कानुनको बन्देज हुंदैन। तपाईंहाम्रो अन्तरआत्माले सत्य मानेको, चिन्तन गरेको सत्य नै आध्यात्मिक सत्य हो। कतिपय धार्मिक स्थानमा अर्को धर्मका अनुयायीहरूलाई प्रवेश दिईंदैन । आध्यात्मिक चिन्तनमा कुनै तगारो, नियम कानुन हुँदैन ।धर्मले सत्य बताउँछ ।

    अधिकार र जिम्मेवारीहरू मिलाएर व्यावहारिक जीवनमा निरन्तर सुधार ल्याउन अध्यात्मको मार्गदर्शन महत्त्वपूर्ण भूमिका खेल्दछ । संस्कार, आचरण र व्यवहार सँगसँगै एक स्वस्थ समाजको निर्माणका लागि अध्यात्मले अवश्यक मार्गदर्शन र प्रेरणा प्रदान गर्दछ । संस्कार र व्यवहारलाई सुधार्ने क्रममा अध्यात्मिक अभ्यासहरूले मानिसलाई आफूलाई जान्ने, आत्मिक बल र उच्च नैतिक मूल्यका साथ जीवन यापन गर्न प्रोत्साहित गर्छ। यसले समाजमा व्यक्तिगत र सामूहिक स्थायित्वको संवर्धन गर्न मद्दत गर्दछ ।

    अध्यात्ममा आधारित संस्कारहरूले मानिसलाई आफ्नो कर्तव्य र दायित्वहरूको सही मूल्यांकन गर्न मद्दत गर्दछ । अध्यात्मिक शिक्षाले व्यक्तिलाई सत्य, अहिंसा, प्रेम, करुणा, सहनशीलता, आस्था र आत्मसंयमजस्ता उच्च गुणहरूको अभ्यासमा लाग्न प्रेरित गर्दछ। जब एक व्यक्ति यी आदर्शहरू आफ्नो जीवनमा आत्मसात गर्छ, तब उसले समाजमा आचरणका दृष्टिकोणबाट सकारात्मक परिवर्तन ल्याउन सक्छ ।अध्यात्मिक संस्कारहरूले मानिसको अन्तरात्मालाई शुद्ध बनाउँछ। शुद्ध मन र विचारले मात्र व्यक्ति आफ्नो व्यवहार र आचरण सुधार्न सक्दछ। संस्कारका यी मूलतत्त्वहरूले व्यक्ति र समाजबीचको सम्बन्धलाई प्रगाढ बनाउन मद्दत पुर्याउँछन्, जसका कारण नैतिक समाजको निर्माण सम्भव हुन्छ। अध्यात्मिक अभ्यासहरूले मानिसलाई जीवनका सही उद्देश्यहरूको खोजीमा मद्दत गर्दछ र उनले आफ्ना कार्य र आचरणलाई साँचो मार्गमा स्थापित गर्न सक्छन्।

    जीवनको मूल पाटो बाह्य भौतिक ऐश्वर्यमा होइन, आत्मिक शुद्धिमा निहित हुन्छ। आत्मा, परमात्मा, माया, जन्म–मृत्यु र पुनर्जन्मको गूढतम रहस्यहरूलाई बुझ्न सक्ने सर्वोत्कृष्ट साधन अध्यात्म हो जो विवेक, विचार र अन्तर्बोधद्वारा प्रेरित हुन्छ। यो  दर्शन मात्र होइन, हाम्रो सांस्कृतिक आत्माको आवाज हो, उपनिषद्को दिव्य समर्पण र ऋषि–मुनिहरूको जीवन्त शिक्षाको सङ्ग्रह हो।

    जब जीवन अध्यात्मिक चेतनाबाट निर्देशित हुन्छ, तब आचरण स्वाभाविक रूपमा निर्मल हुन्छ। व्यक्ति आफ्नो क्रोध, ईष्र्या, द्वेष र वासनात्मक भावनालाई नियन्त्रणमा राख्दै सहिष्णुता, करुणा र प्रेमको माध्यमद्वारा समाजसँग सम्बन्ध विस्तार गर्न थाल्दछ। ध्यान र योग जस्ता अभ्यासहरूले आत्माको गहिराइमा डुबेर अन्तर्मनलाई शुद्ध गर्छन्, जसले व्यवहारमा सन्तुलन र संस्कारमा उच्चता ल्याउँछ।

    अध्यात्मिक जीवनशैली   आत्म–साक्षात्कारको यात्रा होइन, यो त जिम्मेवारी, कर्तव्यनिष्ठा र परोपकारको चेतनाले अभिप्रेरित कार्यशील पथ हो। यसले मानिसलाई समाजप्रतिको दायित्व बोध गराउँदै सत्य, न्याय र शान्तिको स्थायित्वमा योगदान पुर्याउँछ। जब व्यक्ति आफ्ना विचार, भावना र कर्मलाई आत्म–अनुशासनद्वारा निर्देशित गर्छ, तब उसको जीवन एक प्रकाशपुञ्ज बन्छ—जसले आफू मात्र होइन, सम्पूर्ण समाजलाई नैतिक पुनर्जागरणतर्फ डो-याउँछ।

    अध्यात्मिक चेतना आचरण व्यवस्थापनको मेरुदण्ड हो, जसले व्यवहारमा विवेक, संस्कारमा शालीनता, र जीवनमा लक्ष्यता प्रदान गर्दछ। यही चेतनाले नै जीवनलाई आत्माभिमुख, उदात्त र सार्थक बनाउँछ—जहाँ हर एक श्वासमा ब्रह्मको अनुभूति सम्भव हुन्छ, र जीवन आफैँ एक निर्मल यात्राको प्रतीक बन्छ। तब समाजको सम्पूर्ण आचरण नै सुधारिन्छ र त्यो समाज अझै अधिक समृद्ध र सुखी बन्न सक्छ।

    जीवनको मूल यात्रामा जब चेतना विकृत भावनाहरू—जस्तै ईर्ष्या, द्वेष, घृणा र प्रतिशोध—द्वारा संचालित हुन्छ, तब सामाजिक सम्बन्धमा विष घुल्छ, मानवता ओझेल पर्छ र सभ्यताको मूल्य स्खलित हुन्छ। यस्ता अव्यवस्थित मनोवृत्तिहरूको व्यवस्थापन कुनै बाह्य प्रशासनिक संरचनाले होइन,  आन्तरिक अध्यात्मिक अनुशासनले गर्न सक्छ। अध्यात्म मार्ग   आस्थाको विषय होइन, यो आत्मसंवादको प्रक्रिया हो, जसले व्यक्ति–व्यक्ति बीचको दूरीलाई प्रेम, क्षमा र सहिष्णुताद्वारा पुलमा रूपान्तरण गर्छ।

    जब व्यक्ति अध्यात्मिक चेतनामा उन्नत हुन्छ, उसले आफ्ना कमजोरीहरूलाई आत्मावलोकनद्वारा पहिचान गरेर सुधारको यात्रामा लाग्दछ। यसले उसलाई अरूको दोष देख्ने होइन, आफूभित्रको अज्ञान हटाएर ज्ञानको उज्यालो फैलाउने साधक बनाउँछ। अध्यात्मले आत्मा र परमात्माबीचको सम्बन्ध पुनःस्थापित मात्र गर्दैन, यसले सामाजिक न्याय, करुणा र सहअस्तित्वका मूल्यहरू पनि पुनःस्थापित गर्दछ।त्यसैले भन्ने गरिन्छ—धार्मिकता बाह्य अनुशासन हो, तर अध्यात्मिकता अन्तर्यात्रा हो। प्रत्येक अध्यात्मिक व्यक्ति धर्मका वास्तविक मर्मसँग अनुरूप हुन्छ, तर प्रत्येक धार्मिक व्यक्ति अध्यात्मिक नहुन सक्छ।

    आजको सन्दर्भमा, अध्यात्म मार्गको पुनराविष्कार कुनै वैकल्पिक अभ्यास होइन, यो एक अनिवार्य सामाजिक आवश्यकता हो—नैतिक प्रशासन, आत्मिक शान्ति, र समष्टि चेतनाको निर्माणका लागि। जब प्रत्येक नागरिकले आफ्ना विचार, वाणी र कर्मलाई अध्यात्मिक मूल्यद्वारा निर्देशित गर्न थाल्छ, तब समाजमा शान्ति र समृद्धिको स्वाभाविक वर्षा हुन्छ। यही मार्ग हो—जीवनको परम अर्थ, सत्य र परमात्माको साक्षात्कार गर्ने उज्यालो पथ।

     

     

     

     

     

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ बैशाख ७, सोमबार २१:२७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP