अहिंसाको आत्मा र मानवताको यात्रा
तोमनाथ उप्रेती
जीवनदृष्टि
मानव सभ्यताको इतिहास हिंसा र अहिंसाको द्वन्द्वबीच विकसित भएको यात्रा हो। बाहिरी रूपमा देखिने युद्ध, संघर्ष र शक्ति-संघर्षहरूभन्दा मानव चेतनाभित्र निरन्तर चलिरहने द्वन्द्व नै यसको मूल कारण हो। अहिंसा शारीरिक रूपमा कसैलाई चोट नपुर्याउने व्यवहार मात्र होइन यो त चेतनाको एक उच्च अवस्था हो, जहाँ मन, वचन र कर्म सबै करुणा र प्रेममा स्थिर हुन्छन्।अहिंसाको आत्मा मानवताको मूल स्वरूप हो। जब मानवले आफ्नो अस्तित्वलाई केवल स्वार्थ, लोभ र अहंकारमा सीमित गर्छ, तब हिंसा जन्मिन्छ। तर जब ऊ आफूलाई सम्पूर्ण सृष्टिको एक अंशको रूपमा बुझ्छ, तब करुणा स्वतः प्रकट हुन्छ। यही करुणाबाट अहिंसाको यात्रा सुरु हुन्छ। यो यात्रा बाह्य सुधारभन्दा पहिले आन्तरिक रूपान्तरणको माग गर्छ।दर्शनशास्त्रमा अहिंसा जीवनको सर्वोच्च सत्य हो। उपनिषद्हरूले “सर्वभूतहिते रताः” भन्ने आदर्शमार्फत सबै प्राणीहरूको हितमा रमाउने चेतनालाई सर्वोच्च धर्म बताएका छन्। अहिंसा त्यही चेतनाको व्यवहारिक रूप हो। जब मानिसले अरूको पीडालाई आफ्नै पीडाजस्तै अनुभव गर्न थाल्छ, तब हिंसाको सम्भावना स्वतः घट्छ।
मानवताको यात्रा अहिंसाको अभ्यास बिना अधुरो हुन्छ। आधुनिक समाजमा विज्ञान र प्रविधिले भौतिक प्रगति त दिएको छ, तर मानसिक शान्ति र नैतिक स्थिरता कमजोर बनाएको छ। यस्तो अवस्थामा अहिंसा सामाजिक आवश्यकता बनेको छ। परिवार, समाज, राजनीति र अन्तर्राष्ट्रिय सम्बन्धसम्म अहिंसाको सिद्धान्त लागू नभएसम्म स्थायी शान्ति सम्भव छैन।मानव जीवनको वास्तविक मूल्य उसको सोच, व्यवहार र दृष्टिकोणमा निहित हुन्छ। प्रेम, न्याय र अहिंसाको जीवनदृष्टि यस अर्थमा मानवको उच्च चेतना र सभ्यताको प्रतीक हो। प्रेमले मानिसको हृदयमा दया, करुणा, सहिष्णुता र समझदारीको बीउ रोप्छ। यसले व्यक्तिगत सम्बन्ध मात्र नभई समाजमा आपसी सद्भाव र सौहार्द स्थापित गर्न योगदान पुर्याउँछ। प्रेमका माध्यमबाट व्यक्तिले अन्यको दुःखमा सहानुभूति प्रकट गर्न र सहयोग गर्न उत्प्रेरित हुन्छ।अहिंसा जीवनको अर्को महत्वपूर्ण मार्ग हो। यो शारीरिक हिंसाको विरोध मात्र होइन, मानसिक, भाषिक वा भावनात्मक रूपमा कसैलाई पीडा नपुर्याउने व्यवहार पनि हो। अहिंसाले व्यक्तिलाई संयम, शान्तचित्त र सहिष्णु बन्न प्रेरित गर्छ। जब मानिस आफ्नो क्रोध, द्वेष र आक्रोशलाई नियन्त्रण गर्न सिक्छ, तब उसले समाजमा सकारात्मक ऊर्जा फैलाउन सक्छ र संघर्षलाई सृजनात्मक समाधानमा रूपान्तरण गर्न सक्षम हुन्छ।यी तीन मूल्य प्रेम, न्याय र अहिंसा साथसाथमा अपनाउँदा व्यक्ति मात्र नभई समाज नै मानवतामय र समृद्ध बन्न सक्छ। प्रेम,न्याय र अहिंसामा आधारित जीवन नै स्थायी शान्ति र विकासको आधार हो। व्यक्तिले यी मूल्यहरू आफ्नो दैनिक जीवनमा अभ्यास गर्दा, उनी न केवल आफ्नो आत्मालाई उच्च बनाउँछन्, तर अरूलाई पनि सकारात्मक उदाहरण प्रस्तुत गर्छन्।
प्रेम, न्याय र अहिंसाले जीवनलाई अर्थपूर्ण, शान्तिपूर्ण र सभ्य बनाउँछ। यी मूल्यहरूको अभ्यासले व्यक्तिको आचरण, परिवार, समाज र राष्ट्रमा नैतिक, आध्यात्मिक र सामाजिक उन्नति सुनिश्चित गर्छ। मानवता, सद्भाव र सामाजिक न्यायको मार्गमा यी मूल्यहरू नै हाम्रो जीवनको सच्चा प्रकाश हुन्।
गुरुजी श्री मंगलदास महाराज आजिवन सद्भाव, प्रेम, अहिंसा र न्यायका प्रतीक रहनु भएको छ। उहाँको दर्शनलाई मंगल दर्शन भनेर बुझिन्छ, जसले आत्मबोध, जीवन मार्गदर्शन र नैतिक मूल्यको शिक्षा दिन्छ। गुरुजीको जन्म वि.सं. १९५३ आश्विन शुक्ल द्वादशीमा पूर्वी नेपालको इलाम जिल्लाको मेहेलबोटेमा भएको थियो।बाल्यकालमै उहाँले पिताजीको माया र शिक्षाको अनुभव प्राप्त गर्नुभयो, तर प्रारम्भिक समयमा पिताजीको निधनले परिवारमा चुनौती ल्यायो। त्यसपछि गुरुजी आसाम र पन्ना धामहरूमा विभिन्न गुरुद्वारा र महात्माहरूसँग अध्ययन र तालिम लिनुभयो, जसले उहाँको आध्यात्मिक जीवन र समाज सेवा मार्गलाई निर्धारण गर्यो।वि.सं. २०२९ मा गुरुजीले गुरुजी प्रणामी मिसन ट्रष्ट स्थापना गर्नुभयो। उहाँले समाज सेवा, मानव कल्याण, शिक्षा र धर्मको प्रचारप्रसारमा जीवन समर्पित गर्नुभयो। मन्दिर, स्कूल, आश्रम, धर्मशाला, गौशाला, अस्पताल जस्ता संस्था निर्माण गरेर सामाजिक कल्याण र नारी शिक्षामा विशेष योगदान दिनुभयो। वि.सं.२०३५ मा इटहरीमा श्रीकृष्ण प्रणामी मुक्ति धाम स्थापना गर्नुभयो र भारतमा पनि धर्मशालाहरूको निर्माण गर्नुभयो।गुरुजीले समाजका सबै वर्गसँग प्रेम, सहिष्णुता र एकता कायम राख्न जोड दिनुभयो। उहाँका सेवामुखी कार्यहरूमा बालिका शिक्षा, वृद्धहरूको सम्मान, संस्कृत विद्यालयको स्थापना, धार्मिक साहित्य प्रकाशन, महिला र युवालाई धार्मिक सेवामा संगठित गर्नु, अनाथहरूको संरक्षण, तथा साधारण जनताको स्वास्थ्य र कल्याण समेटिएका छन्। उहाँले सरल, सादगीपूर्ण जीवन शैली अपनाउँदै समय,श्रम र साधनको महत्त्वलाई व्यक्तिगत उदाहरणद्वारा देखाउनुभयो।श्री मंगलदास महाराजको जीवन र सेवाले समाजमा सद्भाव,न्याय र अहिंसाको अभ्यासका लागि प्रेरणा प्रदान गर्दछ। उहाँका प्रयासहरूले धार्मिक चेतना, सामाजिक जिम्मेवारी र आध्यात्मिक उन्नतिका मूल्यहरू वर्तमान र भावी पिढ़ीमा फैलिन सहयोग पुर्याउँछन्। उहाँको मार्गदर्शनले समाजमा स्थायी प्रेम, सहयोग र मानव कल्याणको संस्कार स्थापित भएको छ।
धर्मको नाममा पशुपक्षीको बली दिने प्रथा,जातपातका आधारमा गरिने भेदभाव र छुवाछुत जस्ता कुरीतिहरू तथा कर्मकाण्ड मात्रलाई धर्म मान्ने चलन रहेको क्षेत्रमा विभेद हटाउन गुरुजी अहोरात्र लागि पर्नुभएको हो । उहाँले विभिन्न जातजाति, भाषाभाषी जनतामा आध्यात्मिक जागरणको लागि मन्दिर निर्माण गर्ने, नारी शिक्षामा जोड दिन कन्या पाठशाला खोल्ने, अनाथ बालबालिकाको लागि सेवा आश्रम सञ्चालन गर्ने, गौशाला, निःशुल्क औषधालय र सेवामुलक यस्ता अनेकौ कार्य गर्नुभयो । मानव कल्याण, देश सेवा र समाज सेवा, जीवनको लक्ष्य हुनुपर्छ भन्ने विश्वासका साथ उहाँ कर्मक्षेत्रमा लाग्नुभयो । उहाँ धार्मिक साहित्यका प्रचारक आध्यात्मिक ज्ञानको वैज्ञानिक तथा व्यवहारिक प्रयोग कर्ता र जीव हिंसाका कट्टर विरोधी हुनुहुन्थ्यो । गुरुजी मंगलदास, क्रषिमुनि र महात्माको तपोभूमि नेपालको गौरव हुनुहुन्छ। ८९ वर्षको लामो जीवन यात्रामा समाजका सबै तह, वर्ग र सम्प्रदायहरूबाट उहाँ सम्मानित हुनुहुन्छ। उहाँको स्मृतिमा कालिम्पोङमा मंगलधाम र मेहेलबोटे इलाममा मंगल मन्दिर , सुनसरी जिल्लाको इटहरी उपमहानगरपालीकामा मुक्तिधाम, झापाको भद्रपुरमा मंगल पार्क निर्माण भएका छन् ।गुरुजी अहिंसा,मानव कल्याण ,दया, सेवा , प्रेम र न्यायका पर्याय बन्नु भएको छ ।गुरुजी मङ्गलदशजी महराजको जीवन र शिक्षाले हामीलाई आध्यात्मिक, सामाजिक र नैतिक मार्गदर्शन प्रदान गर्दछ। उहाँले सरलता,सादगी र भव्यता र आडम्बरविरुद्धको सचेत जीवनशैली अपनाउन प्रेरित गर्नुभयो। उनका उपदेशहरूले नफरत, द्वन्द्व र असहमतिको स्थानमा प्रेम, शान्ति, सहिष्णुता र सद्भावको महत्त्व स्थापित गरेका छन्। समाजमा उहाँको योगदान केवल धार्मिक परम्परामा सीमित नभई सामाजिक कल्याण, मानवसेवा, शिक्षा, वृद्ध, बालबालिका र विपन्न वर्गको उत्थानमा समेत व्यापक रूपमा फैलिएको छ।
गुरुजीको शिक्षाले मानिसको मानसिकता, सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने शक्ति राख्छ। उहाँले देखाएको मार्गले हामीलाई साँचो धार्मिकता, मानवता र नैतिकताको अभ्यास गर्न प्रोत्साहित गर्दछ। उनका जीवनपद्धति र समाजोपयोगी कार्यहरूबाट हामीले शान्ति, सहिष्णुता, निष्ठा, न्याय र असल आचरणका गुणहरू आत्मसात गर्नु आवश्यक छ।अतः, गुरुजीको जीवन दर्शन र शिक्षालाई अपनाएर हामी व्यक्तिगत जीवनमा मात्र नभई समाज र विश्वस्तरमा मानवतावाद, अहिंसा, प्रेम र सद्भावको संवर्धन गर्न सक्दछौं। उहाँका मूल्य र आदर्शहरू वर्तमान र भविष्यका पिढ़ीका लागि प्रेरणा र मार्गदर्शन बन्नेछन्, जसले हाम्रो जीवन र समाजलाई सधैं मंगलमय बनाउने विश्वास दिलाउँछ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)
प्रतिक्रिया