दमक । लायन्स क्लब अफ इटहरी स्मार्टसिटीकी अध्यक्ष रञ्जना शर्माको प्रेरणादायी तथा संवेदनशील नेतृत्वमा भद्रपुर नगरपालिका–९, झापास्थित एक अति विपन्न चौधरी परिवारका लागि पक्की घर तथा शौचालय निर्माण गरी हस्तान्तरण गरिएको छ।
लायन्स अन्तर्राष्ट्रियको ‘मिसन १.५’ अभियान अन्तर्गत सम्पन्न यो परियोजना एक १० वर्षीया बालिकामाथि भएको पीडादायी घटनाबाट उत्पन्न मानवीय संवेदनाको परिणाम हो। उक्त घटनाले गहिरो असर पारेपछि अध्यक्ष शर्माले व्यक्तिगत रूपमा अग्रसरता लिँदै सुरक्षित आवास निर्माणको पहल गर्नुभएको हो।
परियोजनालाई सफल बनाउन अध्यक्ष शर्माले व्यक्तिगत रूपमा रु. २ लाख २८ हजार ५४० सहयोग गर्नुभयो भने क्लबमार्फत थप रु. १ लाख संकलन गरिएको थियो। उहाँको दृढ इच्छाशक्ति र नेतृत्व क्षमताले अन्य सदस्यहरूलाई समेत प्रेरित गर्दै ३६ भन्दा बढी सदस्यहरूको सहकार्यमा कुल रु. ५ लाख ८९ हजार लागतमा घर निर्माण सम्पन्न भएको हो।
सो उद्घाटन कार्यक्रममा बबरजंग थापा (डिष्ट्रिक्ट गभर्नर, लायन्स डिष्ट्रिक्ट ३२५ C) ले अध्यक्ष शर्माको नेतृत्वको उच्च प्रशंसा गर्दै भन्नुभयो, “जहाँ आवश्यकता, त्यहाँ लायन्स भन्ने नारालाई व्यवहारमा उतार्ने उत्कृष्ट उदाहरण यही हो।”
भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल र उपप्रमुख राधा कार्कीले समेत अध्यक्ष शर्माको समर्पण, दूरदृष्टि र सेवाभावको खुलेर प्रशंसा गर्नुभयो।
कार्यक्रममा बोल्दै अध्यक्ष रञ्जना शर्माले भावुक हुँदै भन्नुभयो—
“यो घर निर्माण गर्नु केवल एउटा संरचना बनाउनु होइन, एउटा पीडित परिवारलाई आश्रय र आत्मविश्वास दिनु हो। सबै सहयोगीप्रति हार्दिक धन्यवाद।”
उहाँले विशेष रूपमा परियोजना सफल बनाउन दिनरात खटिनुभएका भरत खतिवडा, भूपाल भट्टराई र योगेन्द्र पौडेलप्रति आभार व्यक्त गर्नुभयो।
नयाँ घर प्राप्त गरेपछि चौधरी परिवारले खुशी व्यक्त गर्दै अध्यक्ष रञ्जना शर्मा तथा सम्पूर्ण सहयोगीप्रति कृतज्ञता प्रकट गरेको छ।
यो परियोजना अध्यक्ष शर्माको मानवीय नेतृत्व, समर्पण र समाजप्रतिको उत्तरदायित्वको एक उत्कृष्ट उदाहरण बनेको छ।
प्रतिक्रिया