बोदेबरसाईन । सप्तरीको खडक नगरपालिका मधेश प्रदेशको दोस्रो बालमैत्री स्थानीय शासनयुक्त पालिकाको रूपमा घोषणा भएको छ। “बालमैत्री स्थानीय शासन पद्धति र व्यवहार : समृद्ध खडकको आधार” भन्ने मूल नारासहित आयोजित विशेष समारोहमा मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले घोषणा–पत्र वाचन गर्दै नगरपालिकालाई औपचारिक रूपमा बालमैत्री स्थानीय शासनयुक्त पालिका घोषणा गरेका हुन्।

शुक्रबार नगरपालिकाको प्राङ्गणमा आयोजित कार्यक्रममा मुख्यमन्त्री यादवले बालमैत्री पालिका घोषणा भएकोमा नगरपालिकालाई बधाई दिँदै बालबालिकाको विकास, संरक्षण र अधिकार सुनिश्चित गर्न प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।
मुख्यमन्त्रीले पछिल्लो समय बालबालिकामा लागूऔषध दुर्व्यसनको जोखिम बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै अभिभावकलाई आफ्ना बालबालिकाको नियमित हेरचाह र निगरानी गर्न आग्रह गरे। साथै विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयको पहुँचमा ल्याउन प्रदेश सरकार प्रतिबद्ध रहेको पनि उनले बताए।
खडक नगरपालिकाका नगरप्रमुख जयप्रकाश चौधरीले बालमैत्री स्थानीय शासनका ५१ वटै सूचक पूरा गरेपछि नगरपालिकालाई मधेश प्रदेशकै दोस्रो बालमैत्री स्थानीय शासनयुक्त पालिकाको रूपमा घोषणा गरिएको जानकारी दिए। उनले अब नगरपालिकाले बनाउने नीति, योजना तथा निर्णय प्रक्रियामा बालबालिकाको सहभागिता अनिवार्य गरिने बताए।
कार्यक्रममा मधेश प्रदेश सभा सदस्य माला कर्णले बालमैत्री स्थानीय शासनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न स्थानीय तहले निरन्तर अनुगमन र मूल्याङ्कन गर्नुपर्नेमा जोड दिइन् ।
घोषणा समारोहमा प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, अग्निसाइर कृष्णासवरण गाउँपालिकाकी उपाध्यक्ष कल्पना चौधरी, वडा नं. १० का अध्यक्ष राजेन्द्र चौधरी, मधेश प्रदेश बाल क्लब सञ्जालका अध्यक्ष निरज साहलगायतले बालमैत्री स्थानीय शासनका सूचकहरूको प्रभावकारी कार्यान्वयनका लागि सबै सरोकारवालाले आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
खडक नगरपालिका कार्यपालिकाको आयोजनामा तथा सेभ द चिल्ड्रेन , सबल नेपाल र नगर बाल क्लबको समन्वय तथा सहकार्यमा घोषणा समारोह सम्पन्न भएको खडक नगरपालिकाकी बाल कल्याण अधिकारी अनिता कुमारी साहले जानकारी दिइन्।
कार्यक्रममा स्वागतमंतव्य खडक नगरपालिका उपप्रमुख रिता चाैधरीले राखेका थिइन् ।
प्रतिक्रिया