गिद्धहरूको नाचपछि(कविता)
तोमनाथ उप्रेती
आकाश आज पनि कालो सूचनापत्र झैँ फिँजिएको छ
अफवाहहरू फाटेका पातहरू झैं उडिरहेका छन्
गिद्धहरू समाचारको शीर्षकमा बसेर
मानिसको श्वासलाई ब्रेकिङ न्युज बनाइरहेका छन्।
शहर एउटा खुला संसद् जस्तो
जहाँ कुर्सीहरू बोल्छन्
मानिसहरू मौन मतदान गर्छन्
र मृत्यु बहुमतले पास हुन्छ
सर्वसम्मतिको नाममा।
माटोले आज संविधान लेख्यो
र रगतले संशोधन गर्यो
पोखरीहरूमा पानी होइन,
पुराना आशाहरूको नुनिलो चिहान तैरिन्छ
तान्त्रिक हातहरू प्रार्थना होइन
निराशाको वाइफाइ सिग्नल समातिरहेका छन्।
एउटा सरकारी प्रतीक्षा
जहाँ आशा हराउँछ लाइनमा,
र मृत्यु फोटोसहित उपस्थित हुन्छ समयमै।
गिद्धहरू नाच्छन्
तर यो विकासको बजेट हो
जहाँ सपना कटौती हुन्छ
र जीवनमा भ्याट थपिन्छ।
मानिसहरू भन्छन् सब ठीक हुनेछ,
तर त्यो वाक्य अब
झुटको राष्ट्रिय गान बनेको छ,
जसलाई बालबालिकाले पनि
स्कूलमा उभिएर गाइरहेका छन्।
र म हेर्छु
आकाशमा होइन
आफ्नै भित्रको संसदमा
जहाँ डरले बहुमत जितेको छ
गिद्धहरू फेरि उड्छन्,
पखेटामा समयका टुक्रा बोकेर
र भन्छन्
हामी अन्त्य होइनौँ
हामी त दैनिक अपडेट हौँ।
तर विडम्बना यति गहिरो छ
यहाँ मृत्यु पनि अब
सरकारी परियोजना जस्तो छ
जहाँ उद्घाटन हुन्छ,
तर समापन कहिल्यै हुँदैन।
जब शहर आफैं आफैँलाई खान थाल्छ,
म बुझ्छु
समस्या गिद्धहरूको नाच होइन
समस्या त हाम्रो
तालिका मिलाएर मर्न सिक्ने बानी हो।
प्रतिक्रिया