logo
  • २०८३ जेष्ठ ९ | Sat, 23 May 2026
  • गिद्धहरूको नाचपछि(कविता)

    गिद्धहरूको नाचपछि(कविता)

    गिद्धहरूको नाचपछि(कविता)

     

    तोमनाथ उप्रेती

     

    आकाश आज पनि कालो सूचनापत्र झैँ फिँजिएको छ

    अफवाहहरू फाटेका पातहरू झैं उडिरहेका छन्

    गिद्धहरू समाचारको शीर्षकमा बसेर

    मानिसको श्वासलाई ब्रेकिङ न्युज बनाइरहेका छन्।

    शहर एउटा खुला संसद् जस्तो

    जहाँ कुर्सीहरू बोल्छन्

    मानिसहरू मौन मतदान गर्छन्

    र मृत्यु बहुमतले पास हुन्छ

    सर्वसम्मतिको नाममा।

    माटोले आज संविधान लेख्यो

    र रगतले संशोधन गर्यो

    पोखरीहरूमा पानी होइन,

    पुराना आशाहरूको नुनिलो चिहान तैरिन्छ

    तान्त्रिक हातहरू प्रार्थना होइन

    निराशाको वाइफाइ सिग्नल समातिरहेका छन्।

    एउटा सरकारी प्रतीक्षा

    जहाँ आशा हराउँछ लाइनमा,

    र मृत्यु फोटोसहित उपस्थित हुन्छ समयमै।

    गिद्धहरू नाच्छन्

    तर यो विकासको बजेट हो

    जहाँ सपना कटौती हुन्छ

    र जीवनमा भ्याट थपिन्छ।

    मानिसहरू भन्छन् सब ठीक हुनेछ,

    तर त्यो वाक्य अब

    झुटको राष्ट्रिय गान बनेको छ,

    जसलाई बालबालिकाले पनि

    स्कूलमा उभिएर गाइरहेका छन्।

    र म हेर्छु

    आकाशमा होइन

    आफ्नै भित्रको संसदमा

    जहाँ डरले बहुमत जितेको छ

    गिद्धहरू फेरि उड्छन्,

    पखेटामा समयका टुक्रा बोकेर

    र भन्छन्

    हामी अन्त्य होइनौँ

    हामी त दैनिक अपडेट हौँ।

    तर विडम्बना यति गहिरो छ

    यहाँ मृत्यु पनि अब

    सरकारी परियोजना जस्तो छ

    जहाँ उद्घाटन हुन्छ,

    तर समापन कहिल्यै हुँदैन।

    जब शहर आफैं आफैँलाई खान थाल्छ,

    म बुझ्छु

    समस्या गिद्धहरूको नाच होइन

    समस्या त हाम्रो

    तालिका मिलाएर मर्न सिक्ने बानी हो।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ ९, शनिबार १२:२६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP