फूलहरूको फाँटमा जब हरियो सपनाहरू हाँस्छन्
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
ढोरपाटनका फाँटहरू,
राता, पहेंला, बैजनी, गुलाबी
फूलहरूको हाँसोले भरिन्छ,
मानौँ आकाश आफैं झरेर
पृथ्वीमा रंग फिजाएर बसेको छ ।
घाम र बादलको लुकामारीबीच
वनफूलहरू सल्किन्छन्,
फूलहरूमा रमाउँछन् घोडा, भेडाबाख्रा,
र वस्तुहरूका पाइलामा
गोबरका न्यानो स्पर्श पाउँछन्,
जसले बिउहरूलाई पिरोला बनाउँछ,
जसले माटोलाई ममतामयी बनाउँछ ।
फूलसँग रमाउन आएका मान्छेहरू
फूल टिप्दै, फोटो खिच्दै,
संसारलाई देखाउँछन्
फूलसँग बस्दा प्राप्त हुने शान्ति,
तर थाहा छैन,
फूलको मुटुमा पनि डर हुन्छ—
सडकको धूलोमा मसिने डर,
जथाभावी गाडीका पाङ्ग्राले कुल्चिने डर,
र विकासको नाममा
बिलाउँदै जाने डर ।
ढोरपाटन,
तिम्रो हरियाली आँगन,
तिम्रो आकाशमा उड्ने चील,
तिम्रा फाँटमा फिजिएको हावा,
र फूलहरूको सुगन्ध—
सबै मिलेर एउटा गीत गाउछन्,
जहाँ
“विकास र संरक्षण” एउटै यात्रा हुन् ।
फूलसँग रमाउन आएकाहरू,
फूललाई प्रेम गर्न सिक,
फूललाई जोगाउन सिक,
फूलको मुस्कान र रंगमा
भविष्यका आशाहरू उम्रिन्छन्,
संसारको थकाइ मेट्ने शुद्धता पलाउँछ ।
ओ ढोरपाटन,
तिमी स्वर्ग होइन,
तर स्वर्गको बाटोमा भएको विश्राम स्थल हौ,
जहाँ फूलहरू बोल्दैनन्,
तर जीवनका कविता सुनाउँछन्,
जहाँ पर्यटकहरू आउँछन्,
तर रित्तामन फर्कदैनन् ।
फूलहरूको रक्षा गरौं,
फूलहरूको आकाश निलो रहोस्,
ढोरपाटन रहोस् फुलिरहेका
मानव र प्रकृतिको सँगालो बनेर,
जहाँ विकास होस्,
तर विनाश होइन,
जहाँ फूलसँग रमाउँदा
फूल फुल्ने आशा अझ गाढा होस्,
जहाँ हाम्रो पाइला संरक्षणको प्रतिज्ञा होस्,
र फोटो खिच्ने हातले फूल संरक्षण गर्ने कसम खाओस्।
प्रतिक्रिया