लहान, १४ जेठ ः
नेपालको सहकारी क्षेत्रमा हाल देखिएको तरलता र ऋण असुलीको साझा समस्या पछिल्लो समय सामाजिक अराजकताको कारण बन्न थालेको छ । बजारमा लगानी भएको ऋण समयमै उठ्न नसक्दा सहकारीहरूले बचतकर्ताको रकम फिर्ता गर्न सकेका छैनन्, जसका कारण बचतकर्ताहरूमा चरम निराशा र आक्रोश चुलिँदो छ ।
यही आक्रोशको प्रत्यक्ष असर र गलत पहिचानका कारण हालै लहानमा एक निर्दोष वित्तीय अधिकारीमाथि सडकमै अमर्यादित दुव्र्यवहार र लुटपाट भएको छ ।
विगत सात वर्षदेखि स्वास्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा रहेर काम गर्दै आउनुभएका सत्यनारायण झा गएको जेठ ११ गते सोमबारका दिन लहानमा भीडको हिंसात्मक दुव्र्यवहार र लुटपाटको सिकार हुनुभयो ।
के थियो घटना ?
पीडित झाले जारी गर्नुभएको प्रेस विज्ञप्ति अनुसार, उहाँ जेठ ११ गते सोमबारका दिन स्वास्तिक बचत तथा ऋण सहकारी संस्थामा आयोजित ‘स्टाफ ट्रेनिङ’ मा सहभागी भएर दिउँसो करिब १ बजे पैदल नै घर फर्किरहनुभएको थियो । सोही क्रममा उक्त सहकारीबाट २५ मिटर दक्षिण पुग्ने बित्तिकै १५–२० जना आक्रोशित महिला तथा पुरुषहरूको समूहले उहाँलाई घेराउ ग¥यो ।
नाम मिल्दोजुल्दो भएकै कारण भीडले कुनै तथ्य नबुझी “यही नै स्वास्तिक सहकारीको अध्यक्ष हो” भन्दै गलत पहिचानका आधारमा गालीगलौज र हातपात सुरु गरेको थियो । भीडबाटै “मोबाइल, सिक्री, औंठी सबै खोसेर भए पनि हाम्रो पैसा असुल गर्नुपर्छ” भन्दै उक्साहटपूर्ण नारा लगाउँदै झाको हातमा रहेको मोबाइल समेत लुटपाट गरिएको थियो ।
झाले आफू स्वास्तिक लघुवित्तको अध्यक्ष रहेको र सहकारीसँग साधारण सेयर सदस्य (३२ जना संस्थापक मध्येका एक) बाहेक व्यवस्थापन वा पदाधिकारीका रूपमा कुनै प्रत्यक्ष–अप्रत्यक्ष सम्बन्ध नरहेको स्पष्ट पार्नुभएको छ ।
२२ करोड ऋण फ्रिज, बचत ५ करोड मात्र
यो घटनाले व्यक्तिगत रूपमा झालाई असर पारे पनि यसको अन्तर्यमा नेपालको सहकारी क्षेत्रको एउटा तितो र साझा समस्या लुकेको छ । स्वास्तिक बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष हिरा घिमिरेका अनुसार, संस्था अहिले चरम वित्तीय असन्तुलनबाट गुज्रिरहेको छ ।
अध्यक्ष घिमिरेले दिएको जानकारी अनुसार सहकारीको कुल रु २२ करोड रुपैयाँ ऋण बजारमा लगानी भएको छ भने सर्वसाधारण बचतकर्ताहरूको बचत रकम करिब रु पाँच करोड रुपैयाँ मात्र रहेको छ । प्राविधिक रूपमा संस्था टाट पल्टिएको नभए पनि बजारमा लगानी भएको ऋण असुली हुन नसक्दा यो संकट आएको हो ।
ऋणीहरूले समयमै ऋण र त्यसको ब्याज फिर्ता नगर्दा, बचतकर्ताहरू पैसा माग्न आउँदा भुक्तानी दिन नसकिएको घिमिरेको भनाइ छ । घिमिरेले वर्तमान सहकारी क्षेत्रको मूल समस्यालाई दर्शाउँदै भन्नुभयो, “बजारमा लगानी भएको ऋण उठ्न नसक्दा र ऋणीले पैसा फिर्ता नगर्दा, हामीले कसरी तत्काल बचत फिर्ता गर्ने ? हामी ऋण उठाएर बचतकर्ताको रकम फिर्ता गर्न प्रयासरत छौँ तर बजारको अवस्था निकै अप्ठेरो छ ।”
ऋणीहरूले इमानदारिताका साथ पैसा फिर्ता नगर्ने र संस्थाले बचतकर्तालाई भुक्तानी दिन नसक्ने यो दुष्चक्रले गर्दा सर्वसाधारणको आक्रोश सडकमा पोखिन थालेको छ । तर, तथ्य नै नबुझी भीडको सहारा लिएर निर्दोष व्यक्ति वा अन्य संस्थाका अधिकारीमाथि आक्रमण गर्नु र सामाजिक सञ्जाल (फेसबुक, टिकटक आदि) मा चरित्रहत्या गर्नु गम्भीर कानुनी अपराध भएको विज्ञहरू बताउँछन् ।
लघुवित्तका अध्यक्ष झाले आफूमाथि योजनाबद्ध रूपमा भ्रम फैलाउने, भिडियो बनाएर चरित्रहत्या गर्ने र लुटपाटमा संलग्न हुने जो–कोहीमाथि तत्काल छानबिन गरी हदैसम्मको कानुनी कारबाही गर्न स्थानीय प्रशासन, प्रहरी र नेपाल प्रहरीको साइबर ब्युरोसँग जोडदार माग गर्नुभएको छ ।
अहिलेको आर्थिक मन्दीमा ऋणीहरूले ऋण दबाएर बस्ने वा तिर्न आलटाल गर्ने प्रवृत्ति र अर्कोतर्फ बचतकर्ताको गल्ती नहुँदा नहुँदै पनि उनीहरूको रकम फ्रिज हुने अवस्थाले सहकारी क्षेत्र ठुलो दलदलमा फसेको छ । यस्तो संवेदनशील समयमा नियामक निकाय र स्थानीय प्रशासनले एकातिर ऋणीहरूबाट कडाइका साथ ऋण असुली गराई बचतकर्ताको रकम सुरक्षित गर्नुपर्ने देखिन्छ भने, अर्कोतिर आक्रोशको नाममा हुने भीडतन्त्र र अराजकतालाई समयमै नियन्त्रण गर्नुपर्ने चुनौती थपिएको छ । ———
प्रतिक्रिया