चुरेको चिहानमाथि पानी माग्दै उभिएका प्रेतहरू
तोमनाथ उप्रेती
उपसिचव, नेपाल सरकार
पहाडहरू भन्छन् –
“हामीलाई काट,
हाम्रो फोक्सो भरीको हरियाली च्यात,
हाम्रो हाडका ढुंगा काढेर शहर बनाउ,
हाम्रो नसा नालीका खोला बेचेको पैसाले ‘बृहत विकास’ मनाउ।”
मध्यरातमा राप्ती खोलाको छेउमा
गोपाल मियाँको हाँडी सुकेको छ,
हातमा बोत्तल, मुटुमा कुँडा–
पानी खोज्दै हिँड्दैछन् उनी,
जसरी सहरका मानिसहरू शान्ति खोज्दै चर्च र मन्दिर छिर्छन्।
“पहिले पहिले खोल्सामा पनि मुहान हुन्थ्यो,”
उनको भनाइको कसम खाएर
चुरेको हरियो गुफाभित्र
एकजना बाघले बिसेक सर्काइरहेको थियो।
अनि सिस्नाले भरिएको खोल्सामा पानी,
फोहर बोकेर बग्दैनथ्यो,
मन्द हावाको स्वरमा टाढा बज्थ्यो–
“आऊ, तिमीहरूलाई बाँच्न दिनेगरी पानी दिउँ।”
अब साउनमा तारा देखिन्छ,
आकाशमा जुन टाँसिन्छ,
र खेतको छाती चिरेर पानि माग्ने बीउहरूको आँखामा आँसु झर्छ।
‘साउनमा जेठ आएको छ,’
भन्छन् आइसा खातुन,
ड्रममा पानी भरिन नसकेको व्यथा,
धारा रोएको सुस्केरा,
र उनको पिउन नपाएको सानो छोरीको रुदै गरेको अनुहार,
यी सबैलाई बालुवा, गिटी र ढुंगासँग साटिएको छ मधेशले।
“हातखुट्टा धोउन पनि फारु गर्नु पर्छ,”
उनको वाक्यभित्र,
नेपालको आर्थिक विकासको महलमा टाँगिएको राष्ट्रिय झण्डा
हावामा फर्फराउँदा
साँझपख सुक्खा हावा पनि काँचको बोत्तलमा बन्द हुन्छ।
चुरेको खोलाबाट उत्खनन गर्नेहरू
हातमा लालकिताब बोकेर आशीर्वाद माग्छन्,
“हामीलाई विकासको नाममा माफ गर्नु।”
सुनिल यादवहरू चिच्याउँछन्:
“यो विकास होइन, यो पानीको चिहान हो!”
जंगलको मुटु काटेर बिदेशिने बालुवा
पेट्रोलियम भन्दा महँगो स्वाभिमानमा बिकेर फर्किँदैन।
मधेशमा बच्ने एक गिलास पानीको लागि
‘धर्म’ बेचेको गन्ध आउँछ।
हिमाल हाँस्छ, तराई रुन्छ,
हावाले फुस्फुसाउँछ–
“तिमीहरू आफैंलाई नै बाढी र खडेरी उपहार दिइरहेका छौ।”
बालकहरू बिहान ३ बजे पोखरीमा पानीको लाइन बस्छन्,
जसरी परीक्षा दिन विद्यालय जाने बेलामा निद्राले पातलो आँखाले भिजाउँछ,
त्यसरी नै उनीहरूका साना औँलाहरू ड्रम समाउँछन्।
पानी त आउँदैन,
तर गाउँमा विकासका भाषणहरू वर्षाजस्तो पर्दछन्।
धूलोमा खेलेर फर्किएका बालकहरूलाई
पानी दिन नपाउने बुढी आमाहरूका गोडामा
दर्शन खोज्छु म,
त्यहाँ हराएको हरियालीको आत्मा रोइरहेको भेट्छु।
पानी ट्यांकरबाट आउँछ,
जसरी राजनीतिक नेताहरू चुनावपछि आश्वासन बाँड्छन्।
तर ट्यांकरको पानीले बाँच्दैन चुरे,
बाँच्दैन मधेश,
बाँच्दैन गोपाल मियाँका पुराना सपना।
पानीको अभावमा बाँचिरहेका मजदुरहरू
घाममा बालुवा टिपेर
राति बालकलाई लोरी गाउँछन्–
“बाबु, भोलि पानी पिउला है।”
तर त्यो भोलि कहिले आउँदैन।
चुरेको हड्डीबाट विकासे पुल बन्छ,
तर खोक्रो चुरेको मुटुले पानी बचाउँदैन।
संसदमा पानीको कुरा गर्दा सासदीहरू पानी पानी गर्दैनन्,
उनीहरूकै छोराछोरीका लागि बोतलको पानी किनिन्छ,
तर मधेशको बच्चाहरूका हात रित्तिन्छ।
आउ अब –
पर्यावरणको नाममा भाषण नबाँडौं,
चुरेलाई जोगाऔं,
ढुंगा–गिटी बेचेर सस्तो सपना नदेखौं,
हरेक खोला, मुहान र जरुवा फर्काउने सौगन्ध खाऔं।
हिमालयका हिमाल पनि हाँस्नेछन्,
चुरे पनि सुस्तरी सास फेर्नेछ,
र पानी झर्छ साउनमा झमझम।
त्यो पानीले माटोमा दाना उम्रन्छ,
त्यो दानाले मधेशको पेट भर्छ,
र मधेश फेरि अन्नको भण्डार बन्छ।
तर त्यस दिन आउनु अघि,
हामीले हाम्रो लोभको नदी सुकाउनु पर्छ,
हाम्रो आँखाको रगतलाई हरियो पानी बनाउनु पर्छ।
यो कवितामा हाँसो पनि छ,
तर त्यो हाँसो हाम्रो मूर्खतामाथि छ।
यो कवितामा दर्शन पनि छ,
तर त्यो दर्शन प्रकृतिको चेतनामा छ।
यो कवितामा पानी पनि छ,
तर त्यो पानी हाम्रो कर्ममा मात्र छ।
त्यसैले, आकाश हेर्दै पर्खौं,
तर प्रकृतिको पुनरुत्थानका लागि हात पनि उठाऔं।
त्यो बेला साउन फेरि साउन हुनेछ।
प्रतिक्रिया