खलील जिब्रान : प्रेम, दर्शन र मानवताको अमर स्वर
तोमनाथ उप्रेती
खलील जिब्रान विश्वसाहित्यका ती दिव्य स्रष्टा हुन्, जसका शब्दहरू पढिँदैनन् अनुभूत गरिन्छन् । उनी कवि मात्र होइनन्, मानव आत्माका महान् दार्शनिक, प्रेमका अमर गायक र करुणाका आध्यात्मिक व्याख्याता हुन् । उनको लेखनीमा कविता, दर्शन, अध्यात्म र मानवताको यस्तो अद्भुत समन्वय पाइन्छ, जसले पाठकको मनलाई गहन रूपमा स्पर्श गर्छ ।उनको कालजयी कृति द प्रफेट(देवदूत) ले संसारभरका करोडौं पाठकलाई जीवन, प्रेम, विवाह, सन्तान, स्वतन्त्रता र आत्मिक शान्तिको अर्थ बुझाएको छ । जिब्रानका शब्दहरू बगैंचाको सुगन्धित हावाझैं कोमल छन्, तर ती भित्र महासागरजस्तो गाम्भीर्य पनि लुकेको हुन्छ । उनले प्रेमलाई बन्धन होइन, आत्माको मुक्त उडान माने; दानलाई प्रदर्शन होइन, आत्माको विस्तार भने; अनि मानवतालाई सबै धर्मभन्दा माथि राखे ।उनको साहित्यमा पूर्वीय अध्यात्म, सूफी रहस्यवाद र सार्वभौम मानवतावादको अद्भुत संगम देखिन्छ । यही कारण उनी कुनै एक राष्ट्रका लेखक होइनन्, सम्पूर्ण मानव सभ्यताका साझा चेतना–पुरुष हुन् । खलील जिब्रानका रचनाहरू समय बित्दै जाँदा पुराना हुँदैनन् बरु प्रत्येक पुस्तासँग अझ नयाँ अर्थमा पुनर्जीवित भइरहन्छन् ।
लेबनानी मूलका विश्वप्रसिद्ध साहित्यकार जिब्रान आधुनिक विश्वसाहित्यका ती दुर्लभ स्रष्टामध्ये पर्दछन्, जसले साहित्यलाई सौन्दर्यको विषय मात्र बनाएनन्, बरु आत्मा, प्रेम, करुणा, मानवता र ब्रह्माण्डीय चेतनाको आध्यात्मिक संवादमा रूपान्तरण गरे । उनका शब्दहरू ती प्रार्थनाजस्ता लाग्छन्। उनका विचारहरू दर्शन मात्र होइनन्, ती आत्माको मौन संगीतजस्ता प्रतीत हुन्छन् । विशेषतः उनको कालजयी देवदूत विश्वमानवका लागि एउटा आध्यात्मिक उपदेशग्रन्थकै रूपमा स्थापित भएको छ । उनका “दान”, “सन्तान”, “विवाह” र “प्रेम” जस्ता अध्यायहरूले मानवजीवनका अत्यन्त सूक्ष्म, गहन र सार्वकालिक पक्षहरूलाई अत्यन्त काव्यमय र दार्शनिक उचाइमा प्रस्तुत गरेका छन् । जिब्रानको साहित्यिक वैशिष्ट्यको पहिलो महत्त्वपूर्ण पक्ष हो उनको भाषिक संगीतात्मकता । उनका वाक्यहरूमा कविताको लय, सूक्तिको चमक र धर्मग्रन्थको गाम्भीर्य एकैसाथ उपस्थित हुन्छ । उदाहरणका लागि, “तिमी त्यो धनुष हौ, जसबाट तिम्रा सन्तान जीवित बाणका रूपमा छोडिन्छन्” भन्ने पंक्ति सम्पूर्ण मानव-अस्तित्वको गतिशीलता र सन्तान–स्वतन्त्रताको अद्भुत प्रतिमा हो । यहाँ भाषा कुनै सूचना दिने माध्यम मात्र छैन, आत्मालाई स्पर्श गर्ने आध्यात्मिक कम्पन बनेर आएको छ । यही कारण जिब्रानका रचनाहरू पढ्दा पाठकले अनुभूति गर्दछ, भोग्छ र भित्र कतै मौन रूपले परिवर्तन हुन थाल्छ ।
उनको साहित्यिक शैली अत्यन्त प्रतीकात्मक छ । प्रकृति उनका लागि चेतनाको भाषासमेत हो । वृक्ष, नदी, मरुभूमि, हावा, पक्षी, धनुष, बाण, रोटी, समुद्र यी सबै उनका प्रतीक हुन् । “प्रेमले तिमीलाई जाँतोमा पिँध्छ” भन्ने अभिव्यक्तिमा प्रेमलाई भावनात्मक सम्बन्धका रूपमा मात्र चित्रित गरिएको छैन यहाँ प्रेम आत्माको परिष्कार गर्ने दिव्य अग्नि हो । यसरी जिब्रानको साहित्य प्रतीकहरूको आध्यात्मिक वास्तुकला हो, जहाँ प्रत्येक दृश्यको पछाडि गहन दार्शनिक संकेत लुकेको हुन्छ ।जिब्रानको साहित्यमा पूर्वीय आध्यात्मिक चेतना अत्यन्त प्रबल रूपमा उपस्थित छ । उनको दर्शनमा हिन्दू उपनिषद्, बुद्धदर्शन, सूफी चिन्तन तथा ईसाई रहस्यवादको अद्भुत समन्वय देखिन्छ । “प्रेम केवल स्वयंलाई नै दिन्छ र स्वयंबाट नै पाउँछ” भन्ने विचार अद्वैत वेदान्तको “आत्मा र ब्रह्म एक हुन्” भन्ने मान्यतासँग अत्यन्त निकट देखिन्छ । यहाँ प्रेम कुनै बाह्य सम्बन्ध होइन यो आत्माको विस्तार हो । प्रेममा म र तिमीको भेद हराउँदै जान्छ । यही कारण जिब्रानका प्रेमदर्शनमा अधिकार, स्वामित्व र बन्धनको अस्वीकार गरिएको छ ।
उनको दान सम्बन्धी दृष्टिकोण विशेष रूपमा दार्शनिक छ । जिब्रानका अनुसार साँचो दान भनेको भौतिक वस्तुको वितरण मात्र होइन आत्माको उदार विस्तार हो । आत्म-दान गर्नु नै वास्तविक दान हो भन्ने वाक्यले मानवताको उच्चतम नैतिक चेतना प्रकट गर्दछ । यहाँ दान कुनै सामाजिक प्रदर्शन होइन यो आत्मिक करुणाको स्वाभाविक प्रवाह हो । उनले दानलाई धर्मशास्त्रीय पुण्यसँग होइन, अस्तित्वगत सहअस्तित्वसँग जोडेका छन् । जब उनी भन्छन् “जीवनले नै जीवनलाई दान गरिरहेको हुन्छ,” तब उनी सम्पूर्ण ब्रह्माण्डलाई पारस्परिक आदानप्रदानको एक जीवित चक्रका रूपमा व्याख्या गरिरहेका हुन्छन् ।यो चिन्तन बौद्ध करुणादर्शनसँग पनि अत्यन्त नजिक छ । बुद्धले जस्तै जिब्रान पनि “अहं” लाई दुःखको मूल मान्छन् । जो दान यश, प्रतिष्ठा वा प्रतिफलको अपेक्षाले गरिन्छ, त्यो अपूर्ण छ । साँचो दान त्यतिबेला सम्भव हुन्छ, जब मानिस स्वयंलाई भुल्छ । यस अर्थमा जिब्रानको दान दर्शन आध्यात्मिक आत्मविसर्जनको दर्शन हो ।
उनको सन्तान सम्बन्धी विचार आधुनिक मानव सभ्यताका लागि अत्यन्त क्रान्तिकारी छन् । सामान्यतः समाजले सन्तानलाई अभिभावकको सम्पत्ति ठान्छ । तर जिब्रान भन्छन् “तिम्रा सन्तान तिम्रा सन्तान होइनन् ।” यो वाक्यले परम्परागत स्वामित्ववादी पारिवारिक अवधारणालाई नै चुनौती दिन्छ । उनका अनुसार सन्तान जीवनका स्वतन्त्र अभिव्यक्ति हुन्, जसले आफ्नै चेतना, आफ्नै मार्ग र आफ्नै भविष्य बोकेका हुन्छन् ।यो विचार अस्तित्ववादसँग पनि सम्बन्धित छ । जाँ-पोल सार्त्रले जस्तै जिब्रान पनि व्यक्तिको स्वतन्त्र अस्तित्वलाई महत्त्व दिन्छन् । मानिसलाई अर्को व्यक्तिको इच्छा अनुसार ढाल्ने प्रयास उसको अस्तित्वमाथिको हिंसा हो । “तिमी उनीहरूलाई आफ्नो माया त दिन सक्छौ, तर विचार होइन” भन्ने कथनले स्वतन्त्र चेतनाको सम्मान गर्न सिकाउँछ । यहाँ जिब्रानको दर्शन अत्यन्त आधुनिक, मानवतावादी र लोकतान्त्रिक देखिन्छ ।
विवाह सम्बन्धी उनको दृष्टिकोण पनि अद्वितीय छ । उनी प्रेमलाई बन्धन होइन, स्वतन्त्रताको सहयात्रा मान्छन् । एक अर्कालाई प्रेम त गर, तर प्रेमलाई नेल र हतकडी नबनाऊ भन्ने कथन आधुनिक वैवाहिक सम्बन्धको अत्यन्त प्रगतिशील व्याख्या हो । विवाहमा निकटता आवश्यक छ, तर पूर्ण विलय होइन । व्यक्तित्वको स्वतन्त्रता हराएर बनेको सम्बन्ध प्रेम होइन निर्भरता हो ।“मन्दिरका स्तम्भ हमेशा केही दूरीमा खडा हुने गर्दछन्” भन्ने प्रतीकात्मक अभिव्यक्ति अत्यन्त गहन छ । यदि स्तम्भहरू एकअर्कामा टाँसिए भने मन्दिर ढल्छ । त्यसैगरी सम्बन्धमा अत्यधिक नियन्त्रण, स्वामित्व र हस्तक्षेपले प्रेमलाई नष्ट गर्छ । यस विचारमा पूर्वीय मध्यमार्ग दर्शनको झल्को पाइन्छ, जहाँ सम्बन्धमा सामञ्जस्य त हुन्छ, तर आत्माको स्वतन्त्रता पनि सुरक्षित रहन्छ ।जिब्रानको प्रेम दर्शन उनको सम्पूर्ण साहित्यको केन्द्रबिन्दु हो । उनका लागि प्रेम केवल रोमान्टिक अनुभूति होइन त्यो आत्मा रूपान्तरण गर्ने अग्नि हो । प्रेमले मानिसलाई सुख मात्र दिँदैन उसलाई तोड्छ, गाल्छ, शुद्ध बनाउँछ । “उसले तिमीलाई नङ्ग्याउन कुट्छ र पिट्छ” भन्ने अभिव्यक्ति प्रेमको कठोर आध्यात्मिक प्रक्रिया हो । यहाँ प्रेम एउटा तपस्या हो, जहाँ अहंकार, स्वार्थ र कृत्रिमता जल्छन् ।
यो प्रेम-दर्शन सूफी रहस्यवादसँग अत्यन्त निकट छ । सूफी कवि जालालुद्दीन मोहम्मद रूमीले जस्तै जिब्रान पनि प्रेमलाई ईश्वरसम्म पुग्ने मार्ग मान्छन् । प्रेमले मानिसलाई आफ्नो सीमित अस्तित्वबाट मुक्त गरेर विराट चेतनासँग जोड्छ । त्यसैले जिब्रानका प्रेममा वासना भन्दा आध्यात्मिकता बढी छ । प्रेम आत्मालाई विस्तारित गर्ने अनुभूति हो ।उनको साहित्यमा करुणा र मानवतावाद अत्यन्त सशक्त रूपमा प्रकट हुन्छ । उनले कुनै जाति, धर्म, राष्ट्र वा सम्प्रदायको सीमाभित्र आफूलाई बाँधेनन् । उनको मानवता सार्वभौम छ । यही कारण उनका विचार संसारभरका मानिसका हृदयमा समान रूपमा प्रतिध्वनित हुन्छन् । उनी मानिसलाई विभाजन गर्ने धर्म होइन, जोड्ने आध्यात्मिकता खोज्छन् ।
उनको शैलीमा धार्मिक ग्रन्थको लय र काव्यात्मक सूक्तिको सम्मिश्रण छ । बाइबलका भविष्यवक्ताजस्तै उनका वाक्यहरू छोटा, मार्मिक र भविष्यसूचक छन् । तर उनी कट्टर धार्मिक उपदेशक होइनन् । उनी जीवनका सौन्दर्य, वेदना, प्रेम, मृत्यु र रहस्यलाई खुला चेतनाले हेर्छन् । यही खुलापनले उनलाई सार्वकालिक बनाएको हो ।जिब्रानको साहित्यको अर्को महत्त्वपूर्ण पक्ष हो आत्मिक स्वतन्त्रताको आग्रह । उनी मानिसलाई भय, लोभ, स्वामित्व र कृत्रिम सामाजिक मूल्यबाट मुक्त हुन आह्वान गर्छन् । “आवश्यकताको डर के स्वयं एउटा आवश्यकता होइन र ?” भन्ने प्रश्न आधुनिक उपभोक्तावादी सभ्यतामाथिको तीक्ष्ण व्यंग्य हो । मानिस वस्तुको मालिक बन्न खोज्दा वस्तुकै दास बन्छ । यही कारण जिब्रान भौतिक सम्पत्तिभन्दा आत्मिक सम्पन्नतालाई महत्त्व दिन्छन् ।
उनको साहित्यमा प्रकृति र मानवबीच गहिरो सम्बन्ध स्थापित गरिएको छ । वृक्ष, नदी, पक्षी र हावा सबै जीवनका शिक्षक हुन् । “तिम्रा बगैँचाका वृक्षहरू त यसो भन्दैनन् नि” भन्ने अभिव्यक्तिमा प्रकृतिको निःस्वार्थ दानशीलता मानवका कृत्रिम सीमाभन्दा महान् देखिन्छ । यहाँ प्रकृति नै नैतिक गुरु बनेर उपस्थित हुन्छ । जिब्रानको गद्यमा कविता छ, कवितामा दर्शन छ, दर्शनमा करुणा छ र करुणाभित्र आध्यात्मिक संगीत छ ।उनको साहित्य आधुनिक मानिसको आध्यात्मिक शून्यताको उत्तर पनि हो । आजको युग भौतिक प्रगति, प्रविधि र उपभोगले भरिएको भए पनि मानिस भित्रबाट रिक्त हुँदै गएको छ । सम्बन्धहरू यान्त्रिक बन्दै गएका छन् । प्रेम स्वामित्वमा बदलिएको छ । दान प्रदर्शनमा बदलिएको छ । विवाह बन्धनमा बदलिएको छ । यस्ता बेला जिब्रानका विचारहरू मानव आत्माका लागि औषधिजस्ता देखिन्छन् ।
उनले मानिसलाई सिकाउँछन् प्रेम गर, तर स्वतन्त्र भएर । दान गर, तर अहंकारविना । सन्तानलाई माया गर, तर उनीहरूलाई आफ्नो प्रतिरूप बनाउन नखोज । विवाह गर, तर आत्माको आकाश खुला राखेर । यही कारण उनका विचारहरू केवल साहित्यिक सौन्दर्यका वस्तु होइनन्; जीवन जिउने कला हुन् ।जिब्रानको साहित्यमा वेदना पनि अत्यन्त सौन्दर्यपूर्ण ढंगले अभिव्यक्त हुन्छ । उनका अनुसार पीडा शत्रु होइन आत्मिक जागरणको माध्यम हो । प्रेमले घायल पार्छ, तर त्यसैले मानिसलाई बलियो पनि बनाउँछ । दुःखबाट भाग्ने मानिस जीवनको वास्तविक गहिराइसम्म पुग्न सक्दैन । यो दृष्टिकोण नीत्शे र बुद्ध दुवैसँग कताकता जोडिन्छ । दुःख आत्मा परिष्कारको प्रक्रिया हो ।
उनको सम्पूर्ण दर्शनको मूल केन्द्र “आत्मा” हो । मानिस केवल शरीर वा सामाजिक भूमिका होइन ऊ एउटा चेतना हो । यही कारण उनले बाह्य व्यवस्थाभन्दा आन्तरिक जागरणलाई महत्त्व दिन्छन् । जब मानिस भित्रबाट बदलिन्छ, तब मात्र संसार बदलिन्छ ।जिब्रान विश्वसाहित्यका ती दुर्लभ स्रष्टा हुन्, जसले कविता, दर्शन, अध्यात्म र मानवतालाई एउटै दिव्य प्रवाहमा रूपान्तरण गरे । उनको कृति द प्रफेट(देवदूत) कुनै एक धर्म, देश वा युगको पुस्तक होइन यो सम्पूर्ण मानवजातिको आत्मिक संवाद हो । प्रेम, दान, विवाह, सन्तान, स्वतन्त्रता र करुणाका विषयमा उनका विचार आज पनि त्यत्तिकै सान्दर्भिक छन्, जति उनी लेखिएका बेला थिए ।उनका शब्दहरू समयभन्दा पर छन् । उनी पढिँदा लाग्छ कुनै कवि बोलिरहेको छैन स्वयं जीवनले आफ्नै रहस्य उद्घाटन गरिरहेको छ । यही कारण जिब्रान साहित्यकार होइनन् उनी मानव आत्माका मौन दार्शनिक, प्रेमका भविष्यवक्ता र करुणाका शाश्वत गायक हुन् ।
प्रतिक्रिया