तोमनाथ उप्रेतीका हाइकुहरू
तोमनाथ उप्रेती
१.
घूसको बिउ रोप्यो
न्यायको खेत सुक्यो
फल भ्रष्ट फुल्यो।
२.
कागजी नैतिकता
हावामा उड्छ सधैं
विवेक मौन छ।
३.
भोकाएको नीति
थालीमा घूस पर्यो
सत्य लुकेको।
४.
करको रगतले
सिंचिन्छ महल ठूलो
जनता रित्तो।
५.
कानून अन्धो छ
तराजु झुकेको छ
धनीतिर मात्र।
६.
इमानको दीप
हावाले निभाइदियो
लोभको आँधी।
७.
सिंहासन माथि
सत्यलाई चढाइयो
बलि चढाएर।
८.
न्यायको आँखा
पट्टीले छोपिएको
हात चलायो।
९.
कागजको फूल
सुगन्ध विहीन पूजा
लोकतन्त्र रोयो।
१०.
मूल्यको नदी
फोहोरले भरिएको
माछा अन्धो भए।
११.
भाषणको आगो
काममा चिसो पानी
जनता झुल्छन्।
१२.
शपथको शब्द
मुटुमा नबस्ने
हावामा हरायो।
१३.
विवेक बेचियो
बजारको कुनामा
मोल सस्तो भो।
१४.
लोभको मन्दिर
पुजारी नै चोर छन्
धर्म हरायो।
१५.
सुनको पिंजरा
आत्मा कराउँछ भित्र
स्वतन्त्रता मर्छ।
१६.
बौद्धिक वज्र
अन्धकार चिरेन
डरले थामियो।
१७.
कुर्सीको माया
मानवता बेचियो
हातमा सत्ता।
१८.
कानूनको जाल
साना माछा फस्यो
ठूला त भागे।
१९.
इमानको बीउ
माटोमै कुहियो
पानी विषालु।
२०.
सत्यको बाटो
काँडाले भरिएको
लोभको राजमार्ग।
२१.
सपथको फूल
सत्तामा ओइलायो
रङ मात्रै बाँकी।
२२.
जनताको स्वर
भित्तामा ठोक्कियो
प्रतिध्वनि मात्र।
२३.
नैतिकता रोयो
फाइलभित्र कैद
कलम हाँस्यो।
२४.
अन्धो भीडले
नेताको पूजा गर्यो
विवेक मर्यो।
२५.
धनको देवता
न्यायलाई खान्छ सधैं
मौन अदालत।
२६.
सत्ताको नशा
रगतमा बग्यो जब
मानव हरायो।
२७.
विवेकको चरा
पिंजरामा थुनियो
लोभको हातले।
२८.
न्यायको दीप
हावाले खेलायो
छायाँ बढ्दैछ।
२९.
करुणा सुकेको
मन मरुभूमि जस्तो
मानवता हरायो।
३०.
सदाचार सूर्य
बादलले छोपिएको
प्रभात कुर्दै।
प्रतिक्रिया