logo
  • २०८३ श्रावण १० | Sun, 26 Jul 2026
  • भानुभक्त : समय, सत्य र सभ्यताको अविराम यात्रा

    भानुभक्त : समय, सत्य र सभ्यताको अविराम यात्रा

    भानुभक्त : समय, सत्य र सभ्यताको अविराम यात्रा

     

    तोमनाथ उप्रेती

     

     

    भानुभक्तलाई बुझ्ने प्रयास गर्दा एउटा अत्यन्त महत्त्वपूर्ण सत्य क्रमशः उद्घाटित हुँदै जान्छ। कुनै पनि महान् व्यक्तित्व शून्यबाट जन्मँदैन। प्रत्येक युगपुरुष आफ्नो समयको सामाजिक चेतना, सांस्कृतिक उत्तराधिकार, भाषिक विकास र ऐतिहासिक अनुभवको दीर्घ यात्राबाट निर्माण भएको हुन्छ। त्यसैले भानुभक्तको व्यक्तित्वलाई केवल व्यक्तिगत प्रतिभाको सीमाभित्र राखेर व्याख्या गर्नु उहाँप्रतिको न्याय हुन सक्दैन। उहाँभन्दा अघिका अनेकौँ कवि, लोकगायक, कथावाचक, संस्कृतविद् र जनजीवनका मौन स्रष्टाहरूले निर्माण गरेको विशाल सांस्कृतिक आधारभूमिमाथि नै भानुभक्तको साहित्यिक व्यक्तित्वले आफ्नो अद्वितीय उचाइ प्राप्त गरेको थियो। कुनै विशाल वटवृक्षजस्तै उहाँको व्यक्तित्व देखिए पनि त्यसको जरा धेरै गहिरो र धेरै टाढासम्म फैलिएको थियो।

    जहाँ भाषा केवल बोलिन्छ, त्यहाँ संस्कृति जन्मिन्छ; तर जहाँ भाषामा कविता जन्मिन थाल्छ, त्यहाँ सभ्यताको आत्मा अभिव्यक्त हुन थाल्छ। भानुभक्त अघिका पूर्ववर्ती कविहरू नेपाली भाषाको आदिम स्वर, मौलिक चेतना र सामूहिक स्मृतिका प्रथम दीपहरू थिए। उनीहरूको योगदानलाई स्वीकार गर्नु भनेको भानुभक्तको महत्त्व घटाउनु होइन; बरु उहाँ उभिनुभएको ऐतिहासिक धरातललाई अझ स्पष्ट रूपमा देख्नु हो।

    इतिहासप्रतिको सम्मान र सत्यप्रतिको प्रतिबद्धता एकअर्काका विरोधी होइनन्। श्रद्धाले स्मृति निर्माण गर्छ भने अनुसन्धानले त्यस स्मृतिलाई स्थायित्व प्रदान गर्छ। कुनै पनि समाज त्यतिबेलासम्म बौद्धिक रूपमा परिपक्व बन्दैन, जबसम्म उसले आफ्ना स्थापित मान्यताहरूलाई पनि विनम्रतापूर्वक परीक्षण गर्ने साहस गर्दैन। प्रश्न गर्नु विद्रोह होइन; प्रश्न गर्नु सत्यप्रतिको निष्ठा हो। विवेकको प्रकाशले मात्र परम्पराको वास्तविक सौन्दर्यलाई उजागर गर्न सक्छ। अन्धस्वीकारले इतिहासलाई मिथकमा रूपान्तरण गर्न सक्छ, तर अनुसन्धानले मिथकभित्र लुकेको यथार्थलाई सम्मानपूर्वक प्रकाशमा ल्याउँछ।

    भानुभक्तीय रामायणको लोकप्रियताको मूलमाको केन्द्रमा एउटा विशाल भाषिक समुदायको साझा भावनात्मक आकांक्षा पनि थियो। संस्कृतका गूढ शास्त्रीय वचनहरू सामान्य जनताको पहुँचभन्दा टाढा थिए। भानुभक्तले ती दिव्य कथाहरूलाई नेपाली भाषाको सहज लयमा रूपान्तरण गरेर ज्ञानलाई अभिजात वर्गको सीमाबाट मुक्त गर्नुभयो। उहाँले ज्ञानलाई जनजीवनमा अवतरण गराउनुभयो। यही कारण उहाँको रामायण नेपाली समाजको सांस्कृतिक संवाद, नैतिक शिक्षालय र भावनात्मक एकताको साझा आधार बन्यो। उहाँका पद्यहरू गाउँका चौतारीदेखि हिमाली बस्ती, तराईका गाउँदेखि प्रवासी नेपालीहरूको घरसम्म समान आत्मीयताका साथ गुञ्जिन थाले।

    घाँसीसँगको भेट नेपाली साहित्यको सबैभन्दा मार्मिक आध्यात्मिक क्षणहरूमध्ये एक मान्न सकिन्छ। त्यो घटना कुनै साधारण प्रेरणाको प्रसङ्ग थिएन। त्यहाँ एउटा सम्पन्न विद्वान्ले एउटा श्रमिकको जीवनदर्शनबाट आत्मबोध प्राप्त गरेका थिए। घाँसीले निर्माण गरेको कुवा  भविष्यप्रतिको उत्तरदायित्वको प्रतीक थियो। उसले आफ्ना सन्तानका लागि मात्र होइन, आफूलाई नचिन्ने अनगिन्ती मानिसहरूको प्यास मेटाउने संकल्प गरेको थियो। त्यही क्षण भानुभक्तले बुझे कि मानिसको अमरत्व धन, पद वा कुलीनतामा होइन, समाजका लागि छोडेर जाने उपयोगी कर्ममा निहित हुन्छ। यही अनुभूतिले उहाँको साहित्यलाई आत्मकेन्द्रित अभिव्यक्तिबाट उठाएर लोकमङ्गलको साधन बनायो।

    पूर्वीय दर्शनले सधैँ एउटा सूक्ष्म सत्य उद्घोष गरेको छ मानिसको बाह्य जीवनभन्दा उसको अन्तःकरणको यात्रा धेरै महत्त्वपूर्ण हुन्छ। भानुभक्तको साहित्यमा यही आध्यात्मिक संवेदना निरन्तर प्रवाहित भएको देखिन्छ। राम, सीता, लक्ष्मण वा भरत केवल पौराणिक पात्रका रूपमा उपस्थित छैनन्। उनीहरू मानव मनभित्रका नैतिक सम्भावनाका प्रतीक हुन्। रावण  अहङ्कार, मोह र आत्मविस्मृतिको रूपक पनि हो। यस दृष्टिले हेर्दा भानुभक्तीय रामायण बाह्य युद्धको कथा कम र मानव आत्माभित्र चलिरहने धर्म र अधर्मको अनन्त सङ्घर्षको काव्यमय अभिव्यक्ति बढी हो।

    समय बदलिँदै जान्छ। समाजका मूल्यहरू परिवर्तन हुँदै जान्छन्। तर केही व्यक्तित्वहरू युगको परिवर्तनसँगै अझ सान्दर्भिक बन्दै जान्छन्। भानुभक्त त्यस्तै व्यक्तित्व हुनुहुन्छ। आज विज्ञान, प्रविधि र कृत्रिम बुद्धिमत्ताले मानव सभ्यतालाई नयाँ मोडमा ल्याइपुर्याएको समयमा पनि भाषा, नैतिकता, सांस्कृतिक स्मृति र मानवीय करुणाको महत्त्व कम भएको छैन। बरु ती मूल्यहरू अझ अपरिहार्य बनेका छन्। भानुभक्तको साहित्यले यही मानवीय संवेदनालाई जोगाइराख्ने अदृश्य दीपशिखाका रूपमा आज पनि आफ्नो उज्यालो फैलाइरहेको छ। त्यसैले उहाँको स्मरण अतीतको औपचारिक अनुष्ठान मात्र होइन वर्तमानलाई मानवीय बनाउन र भविष्यलाई नैतिक दिशातर्फ उन्मुख गराउन आवश्यक सांस्कृतिक साधना पनि हो।

    हामीले भानुभक्तलाई पढ्दा वास्तवमा उहाँलाई मात्र पढिरहेका हुँदैनौँ हामी आफ्नै भाषा पढिरहेका हुन्छौँ। आफ्नै समाजको आत्मकथा पढिरहेका हुन्छौँ। आफ्नै सभ्यताको मौन इतिहाससँग संवाद गरिरहेका हुन्छौँ। उहाँका प्रत्येक पद्यभित्र काव्यको माधुर्य मात्र छैन, त्यहाँ नेपाली समाजले शताब्दीयौँदेखि सङ्गाल्दै आएको सांस्कृतिक स्मृति, नैतिक चेतना, आध्यात्मिक अनुभूति र मानवीय संवेदनाको गहिरो प्रवाह पनि निरन्तर स्पन्दित भइरहेको हुन्छ। त्यसैले भानुभक्तलाई बुझ्नु भनेको नेपाली भाषाको विकासयात्रा, जनजीवनको संस्कार, समाजको आत्मबोध र सभ्यताको निरन्तरतालाई बुझ्नु पनि हो। उहाँका शब्दहरूमा एउटा युगको हृदय धड्किन्छ, एउटा समाजको आशा मुस्कुराउँछ र एउटा राष्ट्रको सांस्कृतिक आत्माले आफ्नै प्रतिबिम्ब देख्छ।

    यही कारण भानुभक्तको खोज कहिल्यै समाप्त हुँदैन। समय परिवर्तनसँगै मानिसका प्रश्नहरू पनि बदलिन्छन्। प्रत्येक पुस्ताले आफ्ना अनुभव, आफ्ना चुनौती र आफ्ना आकाङ्क्षाका आधारमा इतिहासलाई पुनः पढ्ने प्रयास गर्दछ। भानुभक्त पनि यही पुनर्पाठको निरन्तर यात्रामा जीवित रहनुभएको छ। कहिले उहाँ भाषिक एकताका प्रतीकका रूपमा देखिनुहुन्छ, कहिले जनभाषाका प्रवर्द्धकका रूपमा, कहिले लोकमङ्गलका साधकका रूपमा त कहिले आलोचनात्मक विमर्शका केन्द्रका रूपमा। यही बहुआयामिक उपस्थितिले उहाँलाई समयको सीमाभन्दा माथि उठाएको छ। महान् साहित्यको विशेषता नै यही हो त्यो प्रत्येक युगसँग नयाँ संवाद गर्न सक्षम हुन्छ। प्रत्येक पाठले नयाँ अर्थ दिन्छ, प्रत्येक अनुसन्धानले नयाँ क्षितिज खोल्छ र प्रत्येक जिज्ञासाले नयाँ सम्भावनाको ढोका उघार्छ। त्यसैले भानुभक्त कुनै बन्द अध्याय होइनन् उहाँ निरन्तर खुलिरहने चेतनाको विशाल ग्रन्थ हुनुहुन्छ।

    पूर्वीय दर्शनले सत्यलाई अनुभूतिको निरन्तर विस्तारका रूपमा हेर्छ। उपनिषद्हरूले ज्ञानलाई अन्तिम निष्कर्षभन्दा बढी अनन्त अन्वेषण मानेका छन्। यही दार्शनिक दृष्टिले हेर्दा भानुभक्त पनि कुनै अन्तिम व्याख्यामा सीमित हुन सक्ने व्यक्तित्व होइनन्। उहाँलाई जति पढिन्छ, त्यति नै नयाँ अर्थहरू उदाउँछन्। जति बुझिन्छ, त्यति नै नयाँ प्रश्नहरू जन्मिन्छन्। यही प्रश्न र उत्तरबीचको सिर्जनात्मक संवादले साहित्यलाई जीवित राख्छ। श्रद्धा र अनुसन्धान, परम्परा र विवेक, इतिहास र वर्तमानबीचको यही सन्तुलित सम्बन्धले भानुभक्तलाई कालजयी बनाएको छ। उहाँको काव्यले केवल धार्मिक आख्यानको पुनर्कथन गरेको होइन त्यसले नेपाली भाषालाई आत्मविश्वास दियो, समाजलाई सांस्कृतिक आधार दियो र सामान्य मानिसलाई आफ्नै भाषामा सत्य, धर्म, करुणा र कर्तव्यको अनुभूति गर्ने अवसर प्रदान गर्यो।

    भानुभक्त कुनै एउटा शताब्दीका कवि मात्र होइनन् उहाँ नेपाली आत्माको दीर्घ सांस्कृतिक यात्राका उज्ज्वल सहयात्री हुनुहुन्छ। उहाँ समयसँगै हिँड्ने कवि हुनुहुन्छ, समयभन्दा माथि उठेर प्रेरणा दिने चिन्तक हुनुहुन्छ र पुस्तौँपुस्तासम्म नेपाली भाषाको आकाशमा ध्रुवताराझैँ स्थिर रहिरहने सांस्कृतिक प्रकाशपुञ्ज हुनुहुन्छ। जबसम्म नेपाली भाषा बोलिनेछ, जबसम्म नेपाली हृदयमा साहित्यप्रतिको श्रद्धा जीवित रहनेछ र जबसम्म सत्य, करुणा, सौन्दर्य तथा मानवताको खोज जारी रहनेछ, तबसम्म भानुभक्तको यात्रा पनि समाप्त हुने छैन। उहाँ पुस्तकका पानामा सीमित रहने कवि होइनन्। उहाँ प्रत्येक नेपालीको चेतना, स्मृति र आत्मपहिचानमा निरन्तर पुनर्जन्म लिइरहने अमर सांस्कृतिक व्यक्तित्व हुनुहुन्छ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ असार २९, सोमबार १०:५६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP