काठमाडौंदेखि मिथिलाको मुटुसम्म सभ्यताको खोज(नियात्रा)
तोमनाथ उप्रेती
यात्रा कहिल्यै गन्तव्यबाट सुरु हुँदैन। यात्रा त मनभित्र उठेको एउटा मौन प्रश्नबाट सुरु हुन्छ। मेरो यात्रा पनि त्यही प्रश्नबाट सुरु भएको थियो। मानिस किन यात्रा गर्छ? नयाँ ठाउँ हेर्न? नयाँ मानिस भेट्न? कि आफूभित्र हराएको कुनै पुरानो आवाज खोज्न? उत्तर मसँग थिएन। त्यसैले एक बिहान, जब काठमाडौंको आकाशमाथि सूर्यले आफ्नो पहिलो सुनौलो अक्षर लेख्दै थियो, म पूर्वतर्फ लागेँ। मलाई लाग्यो, म सडकमा होइन, समयको नदीमा पाइला चाल्दै छु।
काठमाडौं अझै पूर्ण रूपमा ब्युँझिएको थिएन। स्वयम्भूको डाँडाबाट झर्दै गरेको उज्यालो बागमतीको थकित जलमाथि हल्का सुनौलो रेखा कोरिरहेको थियो। पशुपतिनाथका घण्टीहरू टाढाबाट सुस्तरी बजिरहेका थिए। मन्दिरका धूप, सडकको धूलो, चियापसलको पहिलो उकासो र मानिसहरूको दिनचर्याले एउटा नयाँ दिनको उद्घोष गरिरहेका थिए। मैले पछाडि फर्केर उपत्यकालाई अन्तिमपटक हेरेँ। हजारौँ घरहरू, सयौँ मन्दिरहरू र लाखौँ सपनाहरू एउटै उपत्यकामा सास फेरिरहेका थिए। एउटा सहर छोड्नु भनेको केवल एउटा ठाउँ छोड्नु होइन। त्यो आफ्नै स्मृतिको एउटा अध्याय बन्द गर्नु पनि हो।
गाडी नागढुङ्गाको घुम्ती पार गर्दै ओरालो लाग्यो। पहाडहरू विस्तारै पछाडि हट्न थाले। बिहानको कुहिरोले डाँडाहरूलाई सेतो शाल ओढाइदिएको थियो। चट्टानबाट झर्ने ससाना झरनाहरू सूर्यको किरणमा चाँदीका धागाजस्ता चम्किरहेका थिए। मलाई लाग्यो, प्रकृतिले आफ्नो सबैभन्दा सुन्दर कविता कहिल्यै कागजमा लेखिन। उसले त नदीमा लेखी, पहाडमा लेखी, वनमा लेखी र मौनतामा लेखी। मानिसले ती कविताहरू पढ्न सिकेपछि मात्र सभ्यता सुरु भएको हुनुपर्छ।
सडक अगाडि बढ्दै गयो। त्रिशूली नदी कहिले दायाँ, कहिले बायाँ हुँदै यात्राको साथी बनिरही। चट्टानसँग ठोक्किँदै बग्ने नदीको आवाज सुन्दा लाग्थ्यो, पानीले समयलाई पनि घिसारेर अघि बढाइरहेको छ। नदीले मलाई एउटा अद्भुत पाठ सिकाइरहेकी थिई—बगिरहनु नै जीवन हो। रोकिएको पानी सड्छ। रोकिएको विचार पनि सड्छ। रोकिएको सभ्यता पनि अन्ततः इतिहासको भग्नावशेष बन्छ।
महाभारत पर्वत श्रृङ्खला नजिकिँदै जाँदा मैले झ्यालबाहिर धेरै बेर हेरेँ। पहाडहरू कति धैर्यवान् हुन्छन्। उनीहरू हजारौँ वर्षदेखि त्यहीँ उभिएका छन्। आँधी आयो। वर्षा आयो। भूकम्प आयो। साम्राज्यहरू आए र गए। राजाहरू जन्मिए र मरे। तर पहाडले कहिल्यै आफ्नो मौनता छोडेन। मलाई लाग्यो, बलियो हुनु भनेको धेरै बोल्नु होइन। धेरै सहन सक्नु हो।
यात्रा अघि बढ्दै जाँदा चुरे पर्वतको हरियो आकृति देखापर्न थाल्यो। चुरे नेपालको भूगोल मात्र होइन, प्रकृतिको मौन साधना हो। यही पहाडी शृङ्खलाले हिमालबाट झरेको पानीलाई समथर भूमिसम्म पुर्याउँछ। यही वनले लाखौँ जीवलाई आश्रय दिन्छ। यही माटोले तराईलाई उर्वर बनाउँछ। मानिसले विकासका नाममा सडक, सहर र उद्योग बनायो। प्रकृतिले कुनै घोषणा नगरी हजारौँ वर्षदेखि जीवन निर्माण गरिरही। त्यसैले कहिलेकाहीँ मलाई लाग्छ, पृथ्वी सबैभन्दा ठूलो अभियन्ता हो।
चुरे पार गरेपछि भूगोल एकाएक बदलियो। पहाडको साँघुरो क्षितिज अचानक अनन्त भयो। आकाश ठूलो भयो। हावा फराकिलो भयो। सूर्य झन् नजिकै झुल्किएजस्तो लाग्यो। म तराईमा प्रवेश गरिसकेको थिएँ। पहाडले मानिसलाई सहनशील बनाउँछ। तराईले मानिसलाई उदार बनाउँछ। पहाडले उचाइ सिकाउँछ। तराईले विस्तार सिकाउँछ। दुवैको दर्शन फरक छ। तर उद्देश्य एउटै—जीवनलाई सम्भव बनाउनु।
पूर्व–पश्चिम राजमार्गले मेरो यात्रालाई नयाँ लय दियो। सडकका दुवैतर्फ धानका हरिया खेत समुद्रका छालजस्तै हल्लिरहेका थिए। कतै जुटका बोटहरू हावासँग कुरा गरिरहेका थिए। कतै उखुका खेत मिठासको भविष्य बोकेर उभिएका थिए। कतै पोखरीमा माछा पालन भइरहेको थियो। कतै किसानले हलो जोतिरहेका थिए। मैले मनमनै भनेँ,कृषि केवल पेशा होइन। यो पृथ्वीसँग मानिसको सबैभन्दा पुरानो संवाद हो। यही संवादबाट सभ्यता जन्मिएको हो।
यात्राको क्रममा मैले धेरै साना बजारहरू पार गरेँ। चिया पसलमा बसेका वृद्धहरू राजनीति होइन, मौसमको कुरा गरिरहेका थिए। किसानहरू वर्षाको प्रतीक्षा गरिरहेका थिए। विद्यालय जाँदै गरेका बालबालिकाको हाँसोले बिहानलाई अझ उज्यालो बनाइरहेको थियो। मलाई लाग्यो, राष्ट्र संसदमा मात्र बस्दैन। राष्ट्र त यिनै सडकमा, यिनै खेतमा, यिनै विद्यालयमा र यिनै मानिसहरूको अनुहारमा बस्छ।
जब सप्तरी जिल्लाको सीमा नजिकिँदै गयो, मेरो मनमा अनौठो उत्सुकता जाग्यो। यो केवल एउटा जिल्ला थिएन। यो हजारौँ वर्षको समय तह तह भएर बसेको जीवित संग्रहालय थियो। यहाँको प्रत्येक माटोको कणले इतिहास बोकेको थियो। प्रत्येक नदीले एउटा सभ्यता देखेको थियो। प्रत्येक गाउँले एउटा किंवदन्ती बचाएर राखेको थियो।
सप्तरीको नाम उच्चारण गर्दा मलाई मिथिलाको सुगन्ध आउँथ्यो। यो भूमि न त केवल प्रशासनिक नक्साको एउटा भाग हो, न केवल कृषि उत्पादनको केन्द्र। यो त भाषा, लोकस्मृति, दर्शन र सांस्कृतिक चेतनाले बनेको एउटा जीवित सभ्यता हो। यहाँ पृथ्वीको रङ उस्तै देखिए पनि समयको गहिराइ धेरै फरक छ।
म राजविराजतर्फ बढ्दै थिएँ। बाटोभरि फैलिएका खेतहरूले मलाई एउटा मौन प्रश्न सोधिरहेका थिए “के तिमी इतिहासलाई किताबमा मात्र खोज्छौ?” मैले झ्यालबाहिर हेरेँ। उत्तर खेतमै थियो। इतिहास कहिल्यै पुस्तकमा जन्मिँदैन। इतिहास पहिले मानिसको जीवनमा जन्मिन्छ, त्यसपछि मात्र पुस्तकमा पुग्छ।
यही भूमिमा कुनै समय तिरहुत राज्यको प्रभाव फैलिएको थियो। सिम्रौनगढबाट शासन गर्ने कर्नाटवंशी राजा नान्यदेवले संस्कृत, मैथिली, संगीत र विद्वत्ताको एउटा उज्यालो युग निर्माण गरेका थिए। राज्यहरू तलवारले जितिन्छन्, तर सभ्यता ज्ञानले जितिन्छ। नान्यदेवको सबैभन्दा ठूलो विजय सम्भवतः भूभाग होइन, सांस्कृतिक चेतनाको विस्तार थियो।
मैथिली भाषा यहाँको हावामा घुलिएको संगीत हो। गाउँका आँगनमा सुनिने लोकगीत, विवाहका मंगलधुन, छठका आराधना गीत र दैनिक बोलचालमा पनि एउटा अद्भुत लय छ। भाषा जब केवल सञ्चारको माध्यम रहँदैन, तब त्यो सभ्यताको आत्मा बन्छ। सप्तरीमा मैले त्यही आत्माको धड्कन सुन्न थालेँ।
समय फेरि बदलियो। दिल्ली सुल्तानको आक्रमणले सिम्रौनगढको वैभव भत्कियो। हरिसिंह देव उत्तरतिर लागे। दरबारहरू उजाडिए। किल्लाहरू ढले। तर एउटा कुरा ढलेन।संस्कृति। ढुङ्गाका महलहरू नष्ट हुन सक्छन्। तर मानिसको स्मृतिमा बस्ने सभ्यता कहिल्यै समाप्त हुँदैन। त्यसैले इतिहासलाई आगोले जलाउन सक्दैन।
त्यसपछि सेन राजाहरूको समय आयो। मुकुन्द सेन, लोहाङ्ग सेन, जगत सेन, विक्रम सेन र कर्ण सेन।यी नामहरू परिवर्तनका संकेत हुन्। राज्य विभाजित भए। सत्ता फेरियो। सीमाहरू पुनः कोरिए। तर सप्तरीको माटोले कसैलाई अस्वीकार गरेन। उसले विजेतालाई पनि टेक्ने ठाउँ दियो। पराजितलाई पनि विश्राम दियो। मलाई लाग्यो, धरतीभन्दा ठूलो लोकतन्त्र संसारमा छैन।
१७७३ को वर्षले इतिहासको अर्को पाना पल्टायो। गोर्खाली फौज पूर्वतर्फ बढ्यो। चौदण्डीको सत्ता परिवर्तन भयो। सप्तरी नेपाल अधिराज्यको अभिन्न भाग बन्यो। त्यो विजय केवल सैन्य विजय थिएन। त्यो प्रशासन, राष्ट्रिय एकीकरण र भविष्यको पनि नयाँ अध्याय थियो। पृथ्वीनारायण शाहले नेपाललाई भूगोलले मात्र जोडेनन्। उनले विविध सभ्यताहरूलाई एउटै राष्ट्रिय चेतनाभित्र बाँध्ने प्रयास गरे। यही प्रयासको एउटा महत्त्वपूर्ण साक्षी सप्तरी पनि बन्यो।
राजविराज पुग्दासम्म साँझको सूर्य पश्चिममा ढल्न थालिसकेको थियो। सुनौलो किरण धानका खेतमाथि छरिएका थिए। हावाले हरियो बालीलाई लहराइरहेको थियो। मैले सडकछेउ गाडी रोकेँ। केही क्षण मौन बसेँ। त्यही मौनतामा मैले महसुस गरेँ। म काठमाडौंबाट सप्तरीसम्म मात्र आइपुगेको छैन। म त समयको हजार वर्ष लामो यात्राबाट गुज्रिएको छु। यहाँ सडकले दूरी घटाएको छ, तर इतिहासले समयलाई अझ गहिरो बनाएको छ। मलाई लाग्यो, यात्राको वास्तविक गन्तव्य कुनै ठाउँ होइन। चेतना हो। र सप्तरी, त्यो चेतनाको समथर, उर्वर र अनन्त भूमि रहेछ।
राजविराजमा बिताएको पहिलो रात असाधारण रूपमा शान्त थियो। सहर निदाइरहेको थियो, तर मेरो मन निदाएको थिएन। होटलको झ्याल खोलेर बाहिर हेर्दा मधेशको समथर आकाश अनन्त फैलिएको थियो। काठमाडौंमा आकाश पहाडले टुक्र्याइदिन्छ। यहाँ आकाशको कुनै किनारा देखिँदैन। त्यो अनन्त नीलो विस्तारलाई हेर्दा मलाई लाग्यो, मानिसको चेतना पनि यस्तै हुनुपर्छ। सीमाभन्दा ठूलो, स्वार्थभन्दा फराकिलो र समयभन्दा धैर्यवान्। यात्राले मलाई एउटा कुरा सिकाइसकेको थियो। जति धेरै टाढा हिँडिन्छ, उति नै मानिस आफ्नै नजिक आइपुग्छ।
भोलिपल्ट बिहान म शम्भुनाथतर्फ लागेँ। बाटोभरि फैलिएका धानका खेतहरू बिहानको शीतले झिलिमिली गरिरहेका थिए। किसानहरू हलो जोत्दै थिए। कतै महिलाहरू खेतको आलीमा गुनगुनाइरहेका थिए। कतै गाईका घण्टी बजिरहेका थिए। जीवन यहाँ कुनै हतारमा थिएन। समय यहाँ घडीले होइन, सूर्यले नाप्थ्यो। हावामा माटोको सुगन्ध थियो। त्यो सुगन्धले मलाई सम्झायो।सभ्यताको पहिलो अक्षर माटोमै लेखिएको थियो।
शम्भुनाथ मन्दिरको प्राङ्गणमा पुग्दा घण्टीको ध्वनिले मनभित्रका सबै कोलाहलहरू क्रमशः शान्त पार्न थाले। पाँच शताब्दीभन्दा पुरानो इतिहास बोकेको त्यो शिवालय समयसँग संवाद गर्ने एउटा जीवित मञ्च रहेछ। विशाल शिवलिङ्गलाई हेर्दा मलाई लाग्यो, ढुङ्गा पनि कहिलेकाहीँ मौन गुरु बन्छ। हजारौँ भक्त आउँछन्। मनोकामना माग्छन्। फर्किन्छन्। तर शिव भने त्यहीँ उभिएर मानिसको जन्म, अहङ्कार, आँसु र मृत्युका अनन्त चक्रहरू हेर्दै बसिरहेका छन्। समयभन्दा ठूलो साक्षी सायद मौनता नै हो।
मन्दिरअगाडिको पुरानो पोखरीमा केही बेर बसिरहेँ। पानी स्थिर थियो। त्यसमा आकाशको प्रतिबिम्ब देखिन्थ्यो। मैले हात डुबाएँ। तर पानीभन्दा बढी मेरो आफ्नै मन काँपिरहेको थियो। अचानक लाग्यो पोखरीले कहिल्यै आकाश समात्न खोज्दैन। केवल उसको प्रतिबिम्बलाई सम्मान गर्छ। प्रेम पनि सायद त्यस्तै हुनुपर्छ। अधिकार होइन। स्वीकार।
शम्भुनाथबाट फर्कँदा मेरो यात्रा धर्मभन्दा दर्शनतिर मोडिइसकेको थियो। मैले महसुस गरिरहेको थिएँ, सप्तरीका मन्दिरहरू देवताभन्दा बढी मानिसका कथाहरू बोकेर बसेका छन्। यहाँ हरेक शिलालेख एउटा मौन इतिहास हो। हरेक भग्नावशेष एउटा अपूर्ण महाकाव्य हो।
त्यसपछि म राजविराजको राजदेवी मन्दिर पुगेँ। मन्दिरको प्राङ्गणमा भक्तजनहरूको भीड थियो। फूलका थालहरू थिए। धूपको सुगन्ध थियो। महिलाहरूको श्रद्धाभाव थियो। वृद्धहरूको मौन प्रार्थना थियो। सेन राजाहरूको इष्टदेवीका रूपमा स्थापित यो शक्तिस्थलमा उभिँदा मैले महसुस गरेँ राजाहरू इतिहास बन्छन्, तर आस्था कहिल्यै इतिहास बन्दैन। त्यो हरेक पुस्तामा नयाँ भएर जन्मिरहन्छ।
मन्दिरको भित्तामा हात राखेर मैले आँखा बन्द गरेँ। मलाई लाग्यो, यो ढुङ्गाले सयौँ वर्षका स्पर्शहरू सम्झिरहेको छ। राजा, रानी, सैनिक, किसान, व्यापारी, बालक, वृद्ध कति हातहरूले यसलाई छोएका होलान्? कति प्रार्थनाहरू यसले सुनेको होला? कति आँसुहरू यसले निःशब्द पिएको होला? ढुङ्गाहरू बोल्दैनन्, तर तिनले मानिसभन्दा धेरै सम्झन्छन्।
त्यसपछि मेरो यात्रा सखडास्थित छिन्नमस्ता भगवतीतर्फ मोडियो। मन्दिरको नाम सुन्नासाथ मनमा एउटा रहस्यमय कम्पन उठ्यो। यहाँ इतिहास, तन्त्र, आस्था र किंवदन्ती एउटै धागोमा गाँसिएका छन्। मन्दिरभित्र प्रवेश गर्दा धूपको गन्ध, शङ्खध्वनि र मन्त्र उच्चारणले एउटा अदृश्य आध्यात्मिक वृत्त सिर्जना गरिरहेको थियो। भगवतीको मूर्तिलाई धेरै बेर हेरिरहेँ। देवीको स्वरूप उग्र थियो, तर त्यो उग्रताभित्र पनि करुणाको गहिरो तह लुकेको अनुभूति भयो। मैले सोचें।मानिसले शक्तिलाई केवल विनाशसँग जोड्छ। तर वास्तविक शक्ति त आफ्नो अहङ्कार काट्न सक्ने साहस हो।
सखडाको इतिहास सम्झँदा कर्नाट राजाहरूको निर्वासन, शक्रसिंह देव, तिरहुतको पतन र सभ्यताको विस्थापन एकपछि अर्को गर्दै मनमा चलचित्रझैँ चल्न थाले। इतिहास केवल विजेताको कथा होइन। इतिहास त विस्थापितहरूको मौन डायरी पनि हो। हारेका मानिसहरूले पनि सभ्यता बचाइराख्छन्। उनीहरूले मन्दिर बनाउँछन्। भाषा जोगाउँछन्। संस्कार बचाउँछन्। त्यसैले सभ्यता तलवारले होइन, स्मृतिले बाँच्छ।
त्यहाँबाट म कंकालिनी मन्दिर पुगेँ। विशाल पीपल, शान्त प्राङ्गण र निरन्तर बजिरहेको घण्टीको ध्वनिले वातावरणलाई विलक्षण बनाएको थियो। भक्तजनहरू लामबद्ध थिए। कसैले सन्तान मागिरहेका थिए। कसैले स्वास्थ्य। कसैले सफलता। कसैले केवल मनको शान्ति। मानिसका मागहरू फरक थिए। तर आँखा उस्तै थिए—आशाले भरिएका। मैले महसुस गरेँ, संसारका सबै मन्दिरहरूको वास्तुकला फरक हुन सक्छ, तर प्रार्थनाको भाषा सधैँ एउटै हुन्छ।
सप्तरीको यात्रा मन्दिरहरूमा मात्र सीमित थिएन। म गाउँहरूमा पुगेँ। माटोले लिपिएका आँगनहरू देखेँ। मिथिला चित्रकलाले सजिएका भित्ताहरू देखेँ। महिलाहरूको सृजनशील हातले घरलाई पनि क्यानभास बनाइदिएको थियो। यहाँ कला संग्रहालयमा बन्द छैन। कला त मानिसको दैनिक जीवनमा बाँचिरहेको छ। त्यो भित्तामा छ। अँगनमा छ। चुल्होको धुवाँमा छ। विवाहको गीतमा छ। छठको आरतीमा छ।
छठ पर्वको चर्चा जहाँ पुग्थे, त्यहाँ मानिसहरूको अनुहार उज्यालिन्थ्यो। सूर्यलाई अर्घ्य दिने यो पर्वले मलाई एउटा गहिरो सत्य सिकायो। संसारका धेरै सभ्यताले प्रकृतिलाई जित्न खोजे। मिथिलाले प्रकृतिलाई पूजा गर्न सिकायो। त्यसैले यहाँ सूर्य देवता हुन्। नदी आमा हुन्। पृथ्वी देवी हुन्। रूखहरू केवल वनस्पति होइनन्। जीवनका सहयात्री हुन्।
बोदे बर्साइन पुग्दा मैले विकासको अर्को अनुहार देखेँ। हुलाकी राजमार्गले नयाँ सम्भावनाहरू खोलिरहेको थियो। बजारहरू विस्तार हुँदै थिए। विद्यालयहरू बढ्दै थिए। नगरपालिकाले आधुनिक पूर्वाधार निर्माण गरिरहेको थियो। तर त्यो विकासका बीचमा पनि परम्पराले आफ्नो स्थान छोडेको थिएन। नयाँ भवनको छेउमै पुरानो चौतारो थियो। मोबाइल बोकेको युवक पनि घर फर्केर मैथिलीमै बोल्थ्यो। यही सन्तुलनले मलाई प्रभावित गर्यो। आधुनिक हुनु भनेको विगत बिर्सनु होइन। विगतलाई सम्मान गर्दै भविष्य निर्माण गर्नु हो।
माछापालनका पोखरी, उखुका खेत, जुटका बोट, धानका विशाल फाँट र किसानहरूको पसिनाले मलाई बारम्बार सम्झाइरहेको थियो।अर्थतन्त्रको पहिलो विश्वविद्यालय खेत हो। किसान पृथ्वीका मौन वैज्ञानिक हुन्। उनीहरू मौसम पढ्छन्। माटो बुझ्छन्। पानीसँग संवाद गर्छन्। उनीहरूका हातमा डिग्री नहुन सक्छ, तर सभ्यतालाई जीवित राख्ने सबैभन्दा ठूलो ज्ञान उनीहरूसँग छ।
साँझ पर्दै थियो। म बलान नदीको किनारमा धेरै बेर एक्लै बसिरहेँ। नदी बगिरहेकी थिई। पानीमा अस्ताउँदै गरेको सूर्य रातो रङ घोलिरहेको थियो। मैले महसुस गरेँ, नदीले कहिल्यै आफ्ना लागि पानी राख्दिन। ऊ निरन्तर दिन्छे। वृक्षले आफ्ना लागि फल राख्दैन। सूर्यले आफ्ना लागि उज्यालो राख्दैन। प्रकृतिका सबै महान् तत्वहरूको धर्म दिनु हो। मानिस मात्र यस्तो प्राणी रहेछ, जसले लिन सिक्यो, तर दिन बिर्सियो।
मेरो यात्रा अन्त्यतिर पुग्दै थियो। तर मनमा कुनै अन्त्यको अनुभूति थिएन। बरु एउटा नयाँ सुरुवात भइरहेको थियो। मैले महसुस गरेँ, मैले सप्तरी घुमेको होइन। सप्तरीले मलाई पढेको रहेछ। यसका मन्दिरहरूले मेरो अहङ्कार चिर्दिए। यसका खेतहरूले धैर्य सिकाए। यसका नदीहरूले निरन्तरता सिकाए। यसका मानिसहरूले सरलताको गरिमा देखाए। यसका इतिहासले सम्झायो—साम्राज्यहरू ढल्छन्, तर संस्कृति बाँच्छ। शक्ति हराउँछ, तर स्मृति बाँच्छ। समय बित्छ, तर सत्य बाँचिरहन्छ।
काठमाडौंतर्फ फर्किने दिन बिहानै गाडीमा बसेँ। सडक उही थियो। पुलहरू उही थिए। नदीहरू उही थिए। तर म उही थिइनँ। यात्रा सकिँदा सबैभन्दा ठूलो परिवर्तन गन्तव्यमा हुँदैन। यात्रुमा हुन्छ। मैले झ्यालबाहिर अन्तिमपटक सप्तरीको समथर क्षितिज हेरेँ। त्यो क्षितिजले मलाई बिदाइ गरिरहेको थिएन। उसले मलाई एउटा मौन वाक्य उपहार दिइरहेको थियो—”मानिस जहाँ पुगे पनि अन्ततः फर्किने ठाउँ माटो नै हो।”
त्यो क्षण मैले बुझें, इतिहासले ध्यान गरेको भूमि हो। यो मिथिलाको स्पन्दित हृदय हो। यो खेतमा लेखिएको दर्शन हो। यो मन्दिरमा उभिएको समय हो। यो नदीमा बगेको सभ्यता हो। यो आस्थाले सिञ्चिएको भूगोल हो। र सबैभन्दा ठूलो कुरा यो नेपाललाई बुझ्न चाहने हरेक यात्रुले एकपटक आफ्नै आत्मासँग भेट गर्नुपर्ने एउटा जीवित तीर्थ हो।
कोशी, बलान, खाँडो र सुरुङ्गा नदीहरू सभ्यताको शिरा हुन्। जसरी मानिसको शरीरमा रगत बग्छ, त्यसरी नै कुनै भूभागको आत्मामा नदी बग्छ। नदीहरू बिना भूगोल बाँझो हुन्छ। नदीहरू बिना इतिहास मौन हुन्छ। नदीहरू बिना संस्कृति अनाथ हुन्छ। सप्तरीलाई बुझ्न नक्सा हेर्नु पर्याप्त हुँदैन। यसको नदीहरू पढ्नुपर्छ। किनकि नदीहरूले लेखेको इतिहास माटो, स्मृति र मानिसको जीवनमा सुरक्षित हुन्छ।
कोशी सम्पूर्ण दक्षिण एशियाको एक महान् सभ्यतागत नदी हो। हिमालको काखबाट जन्मिएर सातवटा हिमनदीहरूको चेतना बोकेकी यो नदीले सदियौँदेखि तराईको भूगोल बनाएकी पनि छ, भत्काएकी पनि छ। त्यसैले कोशीलाई केवल “दुःख” वा “विनाश” को नदी भनेर बुझ्नु अपूरो हुन्छ। विनाश र सृजन एउटै सिक्काका दुई पाटा हुन्। कोशीले गाउँ बगाएकी छे, तर उर्वर माटो पनि छोडेकी छे। उसले किनारा भत्काएकी छे, तर नयाँ जीवनका मैदान पनि बनाएकी छे। प्रकृतिले कहिल्यै स्थायित्वको वाचा गर्दिन। परिवर्तन नै उसको धर्म हो। कोशीले यही दर्शन सिकाउँछे—जीवनको सबैभन्दा ठूलो स्थिरता परिवर्तन स्वयं हो।
कोशीको बाढीलाई धेरैले विपत्ति भन्छन्। तर सभ्यतागत दृष्टिले हेर्दा बाढी केवल विनाश होइन; त्यो पृथ्वीको पुनर्जन्म पनि हो। हिमालबाट बगाएर ल्याइएका खनिज, बालुवा र गादले तराईलाई संसारकै उर्वर मैदानहरूमध्ये एक बनाएका छन्। किसानको धान, गहुँ, उखु र जुटका खेतहरूमा कोशीको हजारौँ वर्षको यात्रा मिसिएको छ। त्यसैले कोशीको पानी खेतमा पुग्दा त्यो केवल सिँचाइ हुँदैन; त्यो हिमालयले मधेशलाई पठाएको जीवनको प्रसाद हो।
बलान नदी कोशीजत्तिकै विशाल छैन। तर यसको सांस्कृतिक भूमिका अत्यन्त गहिरो छ। बलान सप्तरीको ग्रामीण जीवनको मौन साक्षी हो। यसले किसानको पसिना देखेको छ। यसले बालबालिकाको हाँसो सुनेको छ। यसले छठ पर्वको आराधना देखेको छ। यसले असारे रोपाइँका गीत सुनेको छ। यसका किनारमा मिथिलाका लोकगीत जन्मिएका छन्। विवाहका डोलीहरू गुडेका छन्। मृत्युका मलामीहरू पनि हिँडेका छन्। बलानले जीवनको सम्पूर्ण चक्रलाई नजिकबाट नियालेको छ। त्यसैले यो नदी मानिसको समयको प्रवाह हो।
बलानले एउटा अद्भुत सत्य सिकाउँछ। विशाल हुनैपर्छ भन्ने छैन। गहिरो हुनुपर्छ। संसारका धेरै महान् प्रभावहरू सानै आकारबाट जन्मिएका छन्। एउटा सानो बीउले विशाल वृक्ष जन्माउँछ। एउटा सानो शब्दले क्रान्ति ल्याउँछ। एउटा सानो नदीले पनि हजारौँ मानिसको संस्कृति बचाउन सक्छ। बलान यही विनम्रताको दर्शन हो।
खाँडो नदी सप्तरीको स्मृतिसँग गाँसिएको नदी हो। शम्भुनाथ क्षेत्रसँग जोडिएको ऐतिहासिक र धार्मिक परम्पराले यसलाई केवल प्राकृतिक स्रोतभन्दा धेरै माथि उठाएको छ। जनविश्वासअनुसार यस क्षेत्रबाट शिवलिङ्ग ल्याइएको कथाले नदीलाई आस्थाको वाहक बनाएको छ। त्यसैले खाँडोको पानीमा केवल वर्षाको पानी बग्दैन। यहाँ लोकविश्वास, किंवदन्ती र आध्यात्मिक स्मृतिहरू पनि बग्छन्।
सभ्यताहरू केवल तथ्यबाट बाँच्दैनन्। तिनीहरू विश्वासबाट पनि बाँच्छन्। इतिहासले प्रमाण खोज्छ। संस्कृति अर्थ खोज्छ। धर्म आशा खोज्छ। खाँडो नदी यी तीनै तहलाई जोड्ने एउटा मौन सेतु हो। यसको किनारमा उभिँदा मानिसले केवल पानी देख्दैन; उसले आफ्ना पुर्खाहरूको पदचिह्न पनि खोज्न थाल्छ। यही कारण नदीहरूलाई संसारका सबै पुराना सभ्यताहरूले माता, देवी वा जीवनदायिनीका रूपमा सम्मान गरेका हुन्।
सुरुङ्गा नदी अझ शान्त छ। यसको प्रवाहमा कोशीको उग्रता छैन। बलानको लोकव्यापी परिचय पनि छैन। तर शान्त नदीहरूको आफ्नै दर्शन हुन्छ। ठूलो स्वरमा गर्जिने नदीभन्दा मौन बग्ने नदीले कहिलेकाहीँ धेरै गहिरो कुरा सिकाउँछ। सुरुङ्गा किनारका गाउँहरूले सहअस्तित्वको संस्कृति विकास गरेका छन्। यहाँ खेती छ। माछापालन छ। चरनभूमि छ। नदीले मानिसलाई प्रतिस्पर्धा होइन, सहकार्य सिकाएकी छ। पानी साझा हो। त्यसैले जीवन पनि साझा हुनुपर्छ।
यी चारवटै नदीहरूको एउटा समान विशेषता छ। तिनीहरूले कहिल्यै आफ्नो पानी आफैँका लागि राख्दैनन्। तिनीहरू निरन्तर दिन्छन्। हिमालबाट लिएको पानी समुद्रलाई बुझाउँछन्। बाटोमा खेतलाई जीवन दिन्छन्। वनलाई हरियाली दिन्छन्। चराचुरुङ्गीलाई आश्रय दिन्छन्। माछालाई संसार दिन्छन्। मानिसलाई सभ्यता दिन्छन्। नदीहरूको सम्पूर्ण अस्तित्व नै परोपकारमा आधारित छ। त्यसैले भारतीय दर्शनमा नदीलाई “माता” भनिएको हो। किनकि आमाले पनि आफ्ना लागि होइन, सन्तानका लागि बाँच्ने गर्छिन्।
सप्तरीको भूगोललाई यदि शरीर मान्ने हो भने कोशी यसको मेरुदण्ड हुन्, बलान यसको धड्कन, खाँडो यसको स्मृति र सुरुङ्गा यसको श्वास हुन्। यीमध्ये एउटा नदी पनि हरायो भने भूगोलको सन्तुलन मात्र बिग्रँदैन, सभ्यताको पनि एउटा अध्याय हराउँछ। त्यसैले नदी संरक्षण केवल वातावरणीय मुद्दा होइन। यो सांस्कृतिक उत्तरदायित्व हो। यो ऐतिहासिक दायित्व हो। यो भविष्यप्रतिको नैतिक प्रतिबद्धता हो।
आज नदीहरू अनेक चुनौतीसँग जुधिरहेका छन्। अनियन्त्रित उत्खनन, प्रदूषण, अतिक्रमण, वन विनाश र जलवायु परिवर्तनले तिनीहरूको स्वाभाविक लय बदलिरहेको छ। नदीको मृत्यु भनेको केवल पानी सुक्नु होइन। नदीको मृत्यु भनेको लोकगीत हराउनु हो। माछाको संस्कृति हराउनु हो। खेतीको आत्मनिर्भरता हराउनु हो। तीर्थको पवित्रता हराउनु हो। मानिसले आफ्नै सभ्यताको एउटा शिरा काट्नु हो।
सप्तरीका यी नदीहरूले हामीलाई एउटा अन्तिम दार्शनिक शिक्षा दिन्छन्। नदी कहिल्यै आफ्नो जन्मस्थलमा फर्किँदैन। ऊ निरन्तर अगाडि बढ्छे। तर यात्रा भरि जहाँ जहाँ पुग्छे, त्यहाँ जीवन छोड्दै जान्छे। मानिसको जीवन पनि त्यस्तै हुनुपर्छ। हामी पनि एक दिन समयको समुद्रमा विलीन हुनेछौँ। तर प्रश्न यो होइन कि हामी कति टाढा पुग्यौँ। प्रश्न यो हो कि हाम्रो यात्राले कति जीवनलाई स्पर्श गर्यो। कति संस्कृतिलाई समृद्ध बनायो। कति स्मृतिलाई उज्यालो बनायो।
सायद यही कारणले नदीहरूलाई सभ्यताको पहिलो गुरु भनिएको हो। उनीहरूले कहिल्यै उपदेश दिएनन्। उनीहरूले केवल बगेर देखाए। र बग्दैबग्दै सिकाए।जीवनको सार सङ्ग्रहमा होइन, प्रवाहमा हुन्छ। स्वामित्वमा होइन, समर्पणमा हुन्छ। मानिसको महानता उसले कति लिएर बाँच्छ भन्नेमा होइन, कति दिएर बग्छ भन्नेमा निर्भर हुन्छ।
प्रतिक्रिया