logo
  • २०८३ भाद्र २६ | Fri, 11 Sep 2026
  • नियात्राः   अरुणको किनारबाट आत्माको क्षितिजसम्म

    नियात्राः   अरुणको किनारबाट आत्माको क्षितिजसम्म

    नियात्राः   अरुणको किनारबाट आत्माको क्षितिजसम्म

    तोमनाथ उप्रेती

    यात्रा  कुनै निश्चित गन्तव्यमा पुग्नु मात्र होइन। गन्तव्य त केवल नक्सामा कोरिएको एउटा बिन्दु हो। वास्तविक यात्रा भनेको प्रत्येक पाइलामा जागृत हुँदै जानु हो। जब मानिस भन्छ— म गन्तव्य खोजिरहेको थिइनँ” तब उसले उपलब्धि, प्रतिस्पर्धा र बाह्य सफलताभन्दा माथि उठेर जीवनको प्रत्येक क्षणलाई पूर्ण रूपमा अनुभव गरिरहेको हुन्छ। यही अवस्थाबाट गन्तव्यहीनताको आनन्द जन्मिन्छ। जहाँ पुग्नुभन्दा पनि हिँड्नु महत्वपूर्ण हुन्छ। जहाँ अन्तिम बिन्दुभन्दा पनि बाटो नै जीवनको विद्यालय बन्छ।

    मौन बाटोमा हिँड्दा मन भने अझ जागृत हुँदै जान्छ। बाहिरको निस्तब्धताले भित्रको कोलाहललाई शान्त बनाउँछ। त्यही मौनताभित्र चेतनाको पहिलो स्वर सुनिन्छ। अरुण नदीको किनारमा उभिएर हिमालबाट झर्ने चिसो हावा महसुस गर्नु, वनफूलको मृदु सुगन्धलाई श्वाससँग मिसाउनु, नदीको अनवरत प्रवाह सुन्नु यी सबै ध्यानका जीवित रूप हुन्। यहाँ मानिस संसारबाट भाग्दैन बरु आफैँभित्र फर्किन्छ। उसले बाहिरी दृश्य हेर्दाहेर्दै अन्ततः आफ्नै अन्तरात्माको दृश्य देख्न थाल्छ।

    प्रकृतिसँगको सम्बन्ध पनि यही यात्राको अर्को आयाम हो। हिमालको कुहिरो, बिहानको सुनौलो प्रकाश, चराहरूको मधुर स्वर र चिसो बतासले एउटा मौन सत्य उद्घाटित गर्छन् मानिस प्रकृतिबाट अलग अस्तित्व होइन। हामी पृथ्वीका पाहुना होइनौँ हामी स्वयं प्रकृतिको चेतनशील अभिव्यक्ति हौँ। नदी हाम्रो रगतझैँ बगिरहेको हुन्छ। हिमाल हाम्रो धैर्यको प्रतिमूर्ति बन्छ। वन हाम्रो श्वासको विस्तार बन्छ। त्यसैले प्रकृतिलाई हेर्नु भनेको अन्ततः आफ्नै अस्तित्वलाई हेर्नु हो।

    पूर्व क्षितिजबाट फैलिने सुनौलो किरणले चेतनाको नयाँ प्रभात पनि बोकेर आउँछ। अन्धकार हट्नु भनेको केवल रात सकिनु होइन, अज्ञानको पर्दा हट्नु पनि हो। जब पहिलो किरण हिमालको टाकुरामा पर्छ, त्यसैगरी ज्ञानको पहिलो प्रकाश मानवहृदयमा पनि उदाउँछ। यही क्षण आध्यात्मिक जागरणको प्रतीक बन्छ। यहाँ सूर्य केवल आकाशमा उदाएको हुँदैन चेतनाभित्र पनि उदाइरहेको हुन्छ।

    यात्राको सबैभन्दा ठूलो उपलब्धि गन्तव्य भेट्नु होइन, आफूलाई भेट्नु हो। हजारौँ किलोमिटर हिँडेर पनि मानिस आफैँबाट टाढा हुन सक्छ। तर कहिलेकाहीँ एउटा नदीको किनारमा केही क्षण मौन बसेर उसले आफ्नो सम्पूर्ण अस्तित्वलाई भेट्न सक्छ। यही कारणले यात्रा बाहिरी दूरीको होइन, भित्री गहिराइको विषय हो।

    उत्तरतिर हिमालका विशाल काखबाट जन्मिएकी अरुण नदी लजालु युवतीझैँ देखिन्थी। उसले आफ्नो सम्पूर्ण सौन्दर्य एकैपटक कहिल्यै देखाउँदिनथी। कहिले कुहिरोको घुम्टाभित्र लुक्थी। कहिले चट्टानको ओटमा मुस्कुराउँथी। कहिले हरिया वनबीच चाँदीको धागोजस्तै चम्कन्थी। उसको लज्जा कमजोरी थिएन। त्यो त प्रकृतिको सौन्दर्यलाई मर्यादाले सजाउने अलौकिक शालीनता थियो। जसरी संस्कारी कन्याको सौन्दर्य उसको मौन मुस्कानमा झल्किन्छ, त्यसरी नै अरुणको अनुपम रूप उसका शान्त मोडहरूमा, उसका निर्मल छालहरूमा र उसका मौन किनारहरूमा प्रकट हुन्थ्यो।

    हिमालका शिखरहरू टाढाबाट उसलाई आशीर्वाद दिइरहेका ऋषिहरूझैँ देखिन्थे। मकालुको गौरवशाली श्वेतता आकाशसँग संवाद गरिरहेको थियो। कञ्चनजङ्घाका हिमशिखरहरू बिहानको पहिलो किरणले सुनौलो बन्दै थिए। ती दुई महाशिखरहरूको बीचबाट अरुणले आफ्नो मार्ग बनाएकी थिई। हजारौँ मिटर गहिरो उपत्यकाले पृथ्वीको मौन तपस्याको कथा सुनाइरहेको थियो। माथि हिमाल। तल नदी। बीचमा हरिया वन। यस्तो लाग्थ्यो, सृष्टिकर्ताले आफ्नो सबैभन्दा सुन्दर चित्र यही ठाउँमा कोरेका हुन्।

    नदीको किनार हुँदै यात्रा अगाडि बढ्यो। चट्टानसँग ठोक्किँदा पानीले मधुर सङ्गीत निकाल्थ्यो। त्यो कुनै कोलाहल थिएन। त्यो ध्यानको धुन थियो। प्रत्येक छालले एउटै मन्त्र दोहोर्याइरहेको जस्तो लाग्थ्यो। बगिरह। नरोकिनु। नथाक्नु। नदीले मलाई सिकाइरही जीवनको सार सङ्ग्रहमा होइन, प्रवाहमा छ। जो बग्छ, ऊ शुद्ध रहन्छ। जो अड्किन्छ, ऊ धमिलो बन्छ।

    वनहरू क्रमशः गहिरिँदै गए। साल, उत्तिस, गुराँस, सल्ला र देवदारका रुखहरू मौन साधकझैँ उभिएका थिए। तिनका जराहरू पृथ्वीभित्र गहिरिएका थिए। तिनका हाँगाहरू आकाशतिर फैलिएका थिए। मैले महसुस गरेँ मानिस पनि त्यस्तै हुनुपर्छ। जरा संस्कारमा गाडिएका। दृष्टि अनन्ततिर उन्मुख। चराहरूको कलरवले वनलाई जागृत बनाइरहेको थियो। झरनाहरू चट्टानबाट झर्दै चाँदीका हारझैँ देखिन्थे। हावाले पातहरूलाई स्पर्श गर्दा प्रकृतिको अदृश्य वीणा बजिरहेको अनुभूति हुन्थ्यो।

    गाउँहरू बिस्तारै देखापर्न थाले। पहाडका काखमा अडिएका साना बस्तीहरू प्रकृतिको काखमा निदाएका बालकझैँ लाग्थे। खेतका गराहरू सिँढीझैँ उकालो चढेका थिए। किसानहरू मौन परिश्रममा थिए। उनीहरूको पसिना अरुणको पानीजस्तै निर्मल थियो। मैले बुझ्दै गएँ सभ्यता ठूला भवनले बन्दैन। श्रम, सरलता र सन्तोषले बन्छ।

    कहिले नदी शान्त बग्थी। कहिले चट्टानसँग ठोक्किएर गर्जिन्थी। मानिसको जीवन पनि यस्तै रहेछ। सुख र दुःख नदीका दुई किनार हुन्। दुवैलाई अँगालेर मात्र यात्रा पूरा हुन्छ। भगवद्गीताको एउटा भाव मनमा उदायो कर्म गर, परिणाममा आसक्त नबन। अरुणले कहिल्यै आफू कहाँ पुग्छु भनेर चिन्ता गर्दिन। ऊ केवल आफ्नो धर्म निभाउँछ। त्यसैले अन्ततः विशाल सप्तकोशीमा विलीन हुन्छे।

    साँझ पर्न थाल्यो। अस्ताउँदो सूर्यका किरणहरू नदीको सतहमा सुनका हजारौँ कणझैँ छरिए। कुहिरो फेरि बिस्तारै ओर्लिन थाल्यो। अरुणले फेरि आफ्नो घुम्टो तानिन्। मानौँ दिनभरि मुस्कुराएकी लजालु युवती फेरि मौन भइन्। उनको त्यो संकोचमा अद्भुत आकर्षण थियो। प्रकृतिले सायद यही सिकाउन खोजेकी हो साँचो सौन्दर्य प्रदर्शनमा होइन, शालीनतामा हुन्छ। सुगन्धले कहिल्यै आफ्नो घोषणा गर्दैन। फूलले कहिल्यै आफ्नै प्रशंसा गर्दैन।

    अन्तिम पटक मैले नदीतिर फर्केर हेरेँ। अरुण अझै बगिरहेकी थिई। न थाकी। न रोकी। न कुनै गुनासो गर्दै। त्यही क्षण उपनिषद्को सत्य मनमा उज्यालो बन्यो सबै प्रवाह अन्ततः एउटै महास्रोतमा पुग्छन्। नदीहरू फरक हुन्छन्। समुद्र एउटै हुन्छ। शरीरहरू फरक हुन्छन्। आत्मा एउटै हुन्छ। यात्राहरू अनेक हुन्छन्। गन्तव्य एउटै हुन्छ।

    म त्यहाँबाट फर्किएँ। तर अरुण नदी मसँगै फर्किइन्। पानीका रूपमा होइन, चेतनाका रूपमा। उनका लहरहरू मेरो स्मृतिमा आएनन् उनी त मेरो अन्तःकरणको स्पन्दनमै बसिन्। उनका तरङ्गहरू अब बाहिर बग्दैनन्, भित्र बग्छन्। उनका किनारहरू अब भूगोलमा सीमित छैनन्; ती मेरो आत्माको परिधिमा फैलिएका छन्। त्यसैले त्यो यात्रा सकिएको छैन। त्यो अझै पनि मेरो प्रत्येक श्वाससँगै अघि बढिरहेको छ।

    अरुणले मलाई सिकाइन् जीवन हिमालजस्तै अडिग बनाऊ। आँधी आउन्, बादल गर्जून्, समयले परीक्षा लिऊन्, तर आफ्नो सत्यबाट कहिल्यै नडगमगाऊ। हिमालको महानता उसको उचाइमा मात्र होइन, अनन्त धैर्यमा पनि हुन्छ। ऊ हजारौँ वर्षदेखि मौन उभिएको छ। उसले कुनै घोषणा गर्दैन, तर उसको मौनताले नै दृढताको सबैभन्दा गहिरो पाठ पढाउँछ।

    उनले फेरि भनिन् नदीजस्तै निरन्तर बग। प्रवाह नै जीवनको धर्म हो। रोकिएको पानी दुर्गन्धित हुन्छ; बगेको पानी जीवनदायी बन्छ। मानिस पनि परिवर्तनलाई अँगाल्दै, अनुभवहरूलाई आत्मसात् गर्दै, निरन्तर अघि बढ्न सके मात्र जीवित रहन्छ। विगतलाई बोकेर होइन, त्यसबाट सिकेर भविष्यतर्फ बग्नु नै जीवनको सौन्दर्य हो।

    वनले अर्को शिक्षा दियो धैर्य। एउटा विशाल वृक्ष एकै दिनमा उम्रँदैन। एउटा वन शताब्दीको प्रतीक्षा, ऋतुहरूको संघर्ष र समयको मौन साधनाबाट जन्मिन्छ। त्यसैले फलभन्दा पहिले जरा बलियो बनाउनुपर्छ। सफलता भन्दा पहिले चरित्र निर्माण गर्नुपर्छ। प्रकृतिले कहिल्यै हतार गर्दैन, तर उसका प्रत्येक सिर्जना पूर्ण हुन्छन्। धैर्य नै समयसँग गरिएको सबैभन्दा पवित्र सम्झौता हो।

    अनि मलाई एउटा लजालु युवतीको मुस्कान सम्झना आयो। त्यो मुस्कानमा कुनै प्रदर्शन थिएन, कुनै अहंकार थिएन, केवल निष्कपटता र विनम्रताको उज्यालो थियो। प्रकृतिको सौन्दर्य पनि यस्तै हुन्छ। फूल कहिल्यै आफ्नो सुगन्धको विज्ञापन गर्दैन। नदीले आफ्ना गीतहरूको घोषणा गर्दिन। हिमालले आफ्ना उचाइहरूको घमण्ड गर्दैन। उनीहरू केवल आफ्नो स्वभावमा रहन्छन्। त्यसैले उनीहरू सुन्दर छन्। त्यसैले उनीहरू शाश्वत छन्।

    मैले बुझें, विनम्रता नै प्रकृतिको सबैभन्दा उज्यालो आभूषण हो। झुकेको हाँगोमा नै फल लाग्छ। नम्र बादलले नै वर्षा दिन्छ। गहिरो नदीले नै मौन भएर बग्न जान्दछ। जहाँ अहंकार समाप्त हुन्छ, त्यहीँबाट चेतनाको उज्यालो सुरु हुन्छ। जहाँ विनम्रता जन्मिन्छ, त्यहीँबाट मानवता फुल्न थाल्छ।

    आज म अरुण नदीदेखि धेरै टाढा छु। तर उनी मेरो हृदयभित्र अझै अविरल बगिरहेकी छन्। प्रत्येक कठिन क्षणमा उनले हिमालको साहस सम्झाउँछिन्। प्रत्येक परिवर्तनमा नदीको प्रवाह सम्झाउँछिन्। प्रत्येक प्रतीक्षामा वनको धैर्य सम्झाउँछिन्। प्रत्येक सफलतामा विनम्रताको फूल फुलाउन प्रेरित गर्छिन्। तब लाग्छ प्रकृतिले मलाई कुनै दृश्य मात्र दिएकी थिइनन्; उनले त जीवन जिउने एउटा दर्शन नै उपहार दिएकी थिइन्। र अन्ततः मैले बुझें प्रवाह नै जीवनको सबैभन्दा पवित्र प्रार्थना हो, अनि विनम्रता त्यस प्रार्थनाको सबैभन्दा निर्मल स्वर।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ भाद्र २०, शनिबार ०९:०४
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP