लोकेन्द्र प्रसाद यादव
बोदे बरसाईन। सप्तरी जिल्लाको सुरुङ्गा नगरपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुबाट एसईई परीक्षामा उत्कृष्ट अंकसहित A+ ग्रेड ल्याउने ७ जना छात्रछात्रालाई नगदसहित सम्मान गरिएको छ। नगरपालिकाले विद्यार्थीहरुलाइ प्रोत्साहनस्वरूप नगद पुरस्कार प्रदान गरिएको हो।

सम्मानित हुनेहरुमध्ये सर्वोत्कृष्ट नतिजा ल्याउने जनता माध्यमिक विद्यालय शिशुवारीकी कृतिका थापा मगरलाई सुरुङ्गा नगरपालिकाकी मेयर गीता चौधरीले नगद रू. एक लाख रुपैयाँको चेक प्रदान गरेकी छन्। अन्य ६ जना विद्यार्थीहरुलाई जनही १५ हजार रुपैयाँका दरले नगद पुरस्कार प्रदान गरिएको छ।
कार्यक्रममा बधाई ज्ञापन गर्दै समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख गीता चौधरीले विद्यार्थीको मेहनतको कदर हुने बताउदै भनिन्, “सुरुङ्गा नगरपालिकाभरिका जुनसुकै विद्यार्थीले जति मेहनत गर्छ, उसले त्यति नै पुरस्कार पाउनेछ। अब आउने वर्षदेखि जिपिए अनुसारको पुरस्कारको मात्रा पनि बढाइनेछ।”
उनले समुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई थप प्रेरणा मिलोस् भन्ने उद्देश्यले नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिँदै भनेकी थिइन्, “निजी विद्यालयभन्दा सामुदायिक विद्यालयका विद्यार्थी पछाडि छन् भन्ने गलत धारणा अब तोड्नुपर्छ। त्यही उद्देश्यले हामीले यस कार्यक्रमको आयोजना गरेका हौं।”
यस प्रकारको पुरस्कार कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक तथा सम्पूर्ण विद्यालय समुदायमा सकारात्मक सन्देश फैलाउने विश्वास लिइएको नगरप्रमसख चाैधरीको भनाइ रहेको छ।
नगरप्रमुख चाैधरीले विद्यालयहरुको गुणस्तर वृद्धिको लागि नगरपालिकाले हरेक क्षेत्रमा सहयोग गर्न तयार रहेको पनि बताइन् ।
नगरपालिकाका अन्य वक्ताहरूले पनि नगरपालिकाको शैक्षिक गुणस्तर वृद्धि गर्न सामूहिक प्रयास आवश्यक रहेको धारणा राख्दै, आगामी दिनमा नगरपालिकाले शिक्षा क्षेत्रमा थप बजेट तथा नीति कार्यक्रम ल्याउनु पर्नेमा जोडदिनुभयो।
कार्यक्रमको अध्यक्षता वडा नं. ४ का वडा अध्यक्ष देबेन्द्र प्रसाद चौधरीले गरेका थिए। सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत गोरखनाथ मिश्र, जनता मावि सिश्वारीका प्रधानाध्यापक दिनेश कुमार यादव, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केदार कुमार कार्की, शिक्षा अधिकृत धन बहादुर पुलामी लगायतले मंन्तव्य व्यक्त गरेका थिए।
कार्यक्रमको सञ्चालन शिक्षा शाखाका श्रोत व्यक्ति भोगेन्द्र प्रसाद यादवले गरेका थियो।
उक्त पुरस्कारले आगामी वर्षमा विद्यार्थीलाई अझ मेहनत गर्न र उत्कृष्ट परिणाम हासिल गर्न प्रेरणा दिने अपेक्षा नगरपालिकाले लिइएको छ।
प्रतिक्रिया