logo
  • २०८३ बैशाख ४ | Fri, 17 Apr 2026
  • “समयको छायाँमा हराइरहेको आत्मा”

    “समयको छायाँमा हराइरहेको आत्मा”

    “समयको छायाँमा हराइरहेको आत्मा”

                  तोमनाथ उप्रेती

    दौडिरहेका छन् पाइलाहरू —
    कहाँ? किन? कसका निम्ति?
    एक हात स्टेयरिङमा, अर्को सूचना सागरमा,
    मनको सवारी दिशाहीन मोडमा।

    वर्तमान झैँ लाग्दैन वर्तमान,
    भविष्यको प्यासमा हाल हराएको
    अस्तित्वको खरानी…
    अनि हिजोको आत्मा — तातो चियाजस्तै चिसिँदै।

    सम्बन्धहरू अब फूल होइनन् —
    तिनीहरू सुकाएका पानाहरू हुन्,
    “Seen”, “Like” र “React” को शब्दविहीन पुष्पमालामा
    भावनाहरू गाढा छैनन्, केवल संकेत बाँकी छन्।

    हामी समयका मालिक थिए कुनै दिन,
    आज डिजिटल दास भएका छौं,
    एउटा घण्टी बज्छ — र हामी जीवन बिर्सिन्छौं।
    संसार नजिक छ — तर मुटुहरू टाढा… चर्किएर।

    बुवाको ढुँढ्याइ आवाज, आमाको चुलोको धुवाँ,
    आज ती सबै स्मृतिका अजङ्गका मूर्तिहरू भएका छन्,
    जसमा न आत्मा बस्छ, न समय फर्किन्छ।

    अन्तरिक्षमा घनघोर दौडदैछौं हामी,
    तर मनको सूर्यग्रहण कहिल्यै हट्दैन।
    हामी सफलताको सुनौलो बाकस बोकेर
    सन्तुष्टिको चाबी हराइरहेका ती यात्रु हौं।

    प्रविधिको बिजुलीले मार्ग देखायो —
    तर अन्तर्मनको घरमा अध्यारो छ।
    कति पटक आत्माले करायो,
    “एक छिन त मलाई पनि सुन्ने गर…”

    जीवन शिखर होइन, सन्तुलन हो।
    दौड अन्ततः थकान हो — यदि गन्तव्य आत्मा नभए।

    समयलाई होइन —
    शून्यतालाई स्पर्श गर, मौनतालाई अँगाल।
    त्यही मौनतामा सुन्न सकिन्छ —
    अझै बाँकी छ एउटा इन्तजार गर्ने आत्मा…
    तिमी भित्रै कतै, सुनसान भएर बसेको।

    (रतुवामाई ५, मोरङ)

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८२ श्रावण १३, मंगलवार ११:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP