धुवाँ पछाडिको घाम
तोमनाथ उप्रेती
धुवाँबाट उक्लेको घाम,
रगतले रङ्गिएको सूर्यको चोला,
निष्पक्षताको शिखरमा उभिएर पनि
सत्य छायामा लुकेको छ, गोप्य आदेशहरूमा।।
राष्ट्रिय सम्मानको नाममा,
हावामा उडाइएका ढोंगका पखेटाहरू,
नेता शंख फुक्छन् विजयको घोषणा,
तर बालुवामा झरेको रक्तको छायाले भन्छ—
‘तिमीले हारेका थियौ, तर सिक्न अस्वीकार गर्यौ।’।
टुटेका हड्डीहरूको सन्देश लेखिन्छ,
धुलोमा भिजेका लासहरू नजिकै,
त्यहाँ कविता लेख्छन् मृत सैनिकहरूको मौनता,
‘हामी झुटो गौरवका लागि मरेका हौं।’।
कवच–कुण्डल छैन सत्यको,
न हातमा अस्त्र नै,
तर सत्यले मात्र जित्छ अन्ततः,
र राष्ट्र बलियो बन्छ आफ्ना गल्ती स्वीकार्दा।।
लोकतन्त्रको बगैँचामा युद्धका झुटा फूलहरू,
रगतको मलमा उम्रन्छन्,
तर सत्यको वर्षाले मात्र ती फूलहरूलाई धुन सक्छ,
ढोंगको काँडाले घायल भएको जमिनलाई शुद्ध पार्न।।
नेता ढोंगका आकाशमा उड्छन्,
तर सत्यको गुरुत्वाकर्षण बलियो हुन्छ,
प्रोपगान्डाको महल भत्काउँछ,
र सिकाइको बीज रोप्छ—
‘अजेयताको भ्रम, विनाशको बीजारोपण हो।’।
पिउनु छ भने सत्यको अमृत पिउ,
अस्वीकृतिको विष खाँदै नगर्नू,
सच्चा शान्ति केवल युद्ध रोक्दा होइन,
गल्ती स्वीकार्ने साहसमा फक्रन्छ।।
रगतको नदी पार गर,
तर फर्केर हेर, के बग्यो र के बाँकी रह्यो?
नत्र युद्धको जितझैं देखिने पराजय,
कहिल्यै नसकिने शोकगीत बन्न जान्छ।।
त्यसैले—
सैनिकको पसिनालाई गिन, उनीहरूको मृत्युको सन्तुलन खोज,
नेताहरूका भाषणको धुवाँ हटाई, घाउमा मल्हम राख,
र राष्ट्रलाई बलियो बनाउने हो भने
पहिले उसको कमजोरी अँगाल।।
प्रतिक्रिया