मौन अवधिमा संयम र लोकतान्त्रिक संस्कार
तोमनाथ उप्रेती
बिषय प्रवेश
मौन अवधि लोकतन्त्रको अन्तिम परीक्षा हो—जहाँ शब्दभन्दा बढी महत्व शान्ति र संयमले पाउँछ। चुनावी कोलाहलपछि आउने यो विरामले मतदातालाई स्वतन्त्र सोच र विवेकपूर्ण निर्णयको अवसर दिन्छ। यही क्षणमा राजनीतिक संस्कारको वास्तविक पहिचान प्रकट हुन्छ। दल र उम्मेदवारहरूले प्रचारको उत्कटता त्यागी नियमको मर्यादा स्वीकार्दा लोकतन्त्र परिपक्व बन्छ। संयम नागरिक चेतनाप्रतिको सम्मान पनि हो। मौन अवधिको अनुशासनले प्रतिस्पर्धालाई शिष्ट बनाउँदै जनविश्वास बलियो बनाउँछ। शान्त क्षणहरू नै लोकतान्त्रिक मूल्य र उत्तरदायी नेतृत्वको सशक्त प्रतिबिम्ब बन्छन्।
निर्वाचन प्रक्रियामा मौन अवधि अत्यन्त संवेदनशील र महत्वपूर्ण चरण मानिन्छ। सामान्यतया मतदान हुनुभन्दा ४८ घण्टा अगाडिको समयलाई मौन अवधि भनिन्छ। यस अवधिमा राजनीतिक दल, उम्मेदवार तथा तिनका समर्थकहरूले कुनै पनि प्रकारको चुनावी प्रचार–प्रसार गर्न पाउँदैनन्। यसको उद्देश्य मतदातालाई शान्त, स्वतन्त्र र दबाबमुक्त वातावरणमा आफ्नो निर्णय लिन अवसर प्रदान गर्नु हो।
मौन अवधिको आचारसंहिताअनुसार सार्वजनिक सभा, जुलुस, घरदैलो कार्यक्रम, सामाजिक सञ्जालमार्फत मत माग्ने अभियान, विज्ञापन प्रकाशन वा प्रसारणजस्ता गतिविधिहरू निषेध गरिन्छ। यसले मतदातालाई अन्तिम समयमा हुने प्रभाव, प्रलोभन वा दुष्प्रचारबाट जोगाउन मद्दत गर्दछ। विशेष गरी सामाजिक सञ्जालको तीव्र प्रभाव रहेको वर्तमान सन्दर्भमा मौन अवधिको पालना झन् आवश्यक देखिन्छ, किनकि डिजिटल माध्यमबाट हुने प्रचारले मतदाताको मनोविज्ञानमा तत्काल प्रभाव पार्न सक्छ।
यस अवधिमा सञ्चारमाध्यमहरूले पनि नयाँ चुनावी सामग्री प्रसारण गर्न मिल्दैन। तथापि, पहिल्यै प्रकाशित सामग्रीको अभिलेखीय प्रयोग वा सामान्य समाचार प्रकाशन गर्न भने रोक हुँदैन, तर त्यसले मतदातालाई प्रभावित गर्ने उद्देश्य राख्नु हुँदैन। यसले सूचना स्वतन्त्रता र निष्पक्षताको सन्तुलन कायम राख्न सहयोग पुर्याउँछ।
मौन अवधिको आचारसंहिता उल्लङ्घन भएमा कानुनी कारबाहीको व्यवस्था पनि हुन्छ। निर्वाचन आयोग वा सम्बन्धित निकायले निगरानी गरी आवश्यक कारबाही गर्न सक्छ। तर यसको प्रभावकारिता कानुनी दण्डभन्दा पनि राजनीतिक संस्कार र नैतिक प्रतिबद्धतामा निर्भर हुन्छ। दलहरू र उम्मेदवारहरूले यसलाई लोकतान्त्रिक शुचिता र मतदाताप्रतिको सम्मानका रूपमा ग्रहण गर्नुपर्छ।
जीवनमा सन्तोष, संयम, धैर्यता, विवेक, कर्म, सत्य र आध्यात्मिक अनुशासनले हाम्रो व्यक्तिगत चरित्र निर्माण गर्छ। यही चरित्र नागरिक चेतना निर्माणको आधार हो। जब नागरिकले आफ्नो मन नियन्त्रण गर्न सक्छ, क्रोधमा मौन रहन सक्छ र दुःखमा धैर्य राख्न सक्छ, तब उसले केवल आफ्नो जीवनमा सफलता पाउँछ भन्ने मात्र होइन, समाजमा स्थायित्व र शान्ति पनि सुनिश्चित गर्छ।२०८२ सालको प्रतिनिधि सभा निर्वाचन नेपालका लागि लोकतान्त्रिक संस्कारको परीक्षा पनि हो। निर्वाचन आचारसंहिता कानुनी दस्तावेज मात्र होइन, यो आत्मनियन्त्रणको सार्वजनिक घोषणा हो।
निर्वाचनको समय भावनाको ज्वारभाटा हो—नारा, आरोप, आश्वासन र उत्तेजनाले वातावरण तताउँछ। तर राष्ट्रको भविष्य क्षणिक आवेगले होइन, स्थिर सोचले निर्धारण हुन्छ।राजनीतिक दलका लागि पनि यही सन्देश लागू हुन्छ। असफलताबाट हिंसातर्फ मोडिनु दुर्बलता हो; संवाद र सुधारतर्फ बढ्नु परिपक्वता हो। “खाली खडा भएर पानी हेर्दैमा नदी तर्न सकिँदैन।” परिवर्तन चाहनेहरूले आलोचना गरेर पुग्दैन; मतदान, नीति बहस, नागरिक सहभागिता र उत्तरदायित्व माग गर्ने अभ्यास आवश्यक हुन्छ। निष्क्रिय आशा परिवर्तनको शत्रु हो।
निर्वाचन आचारसंहिता मूलतः आन्तरिक अनुशासनको सार्वजनिक घोषणा हो। जसरी सजग व्यक्ति क्रोधमा मौन रहन सिक्छ, दुःखमा धैर्य राख्न सिक्छ र उत्साहमा अन्धो निर्णय गर्दैन, त्यसरी नै राजनीतिक दल र उम्मेदवारले पनि आवेगभन्दा विवेकलाई प्राथमिकता दिनुपर्छ।आचार्य चाणक्यले जीवनका लागि तीन अमूल्य मन्त्र दिएका छन्—“आनन्दको बेला वचन नदेऊ, क्रोधको बेला जवाफ नदेऊ, दुःखको बेला निर्णय नलेऊ।” यी वाक्य राष्ट्र जीवनका लागि पनि उत्तिकै प्रासङ्गिक छन्। जब राज्य आनन्दको उन्मादमा हुन्छ, उसले अविवेकी प्रतिबद्धता गर्न सक्छ। जब सत्ता क्रोधमा हुन्छ, प्रतिशोधी निर्णय लिन सक्छ। जब राष्ट्र दुःख र सङ्कटमा हुन्छ, त्यतिबेला हतारमा लिइएका नीतिले दीर्घकालीन क्षति पुर्याउन सक्छ।
२०८२ सालको प्रतिनिधि सभा निर्वाचन नजिकिँदै गर्दा नेपाल पुनः आत्मपरीक्षणको घडीमा उभिएको छ। निर्वाचन जनआस्था, नैतिकता र उत्तरदायित्वको परीक्षण हो। निर्वाचन आचारसंहिता केवल कानुनी दस्तावेज मात्र होइन, लोकतान्त्रिक आत्माको दर्पण हो। यदि आचारसंहिता पालन गरिन्छ भने लोकतन्त्र सुदृढ हुन्छ; उल्लङ्घन भएमा लोकतन्त्र कमजोर बन्छ। मनुष्यको जीवन योजना, लगनशीलता र धैर्यता बिना सफल हुन सक्दैन। तर योजना मात्रै पर्याप्त छैन; प्रेरणा पनि अपरिहार्य छ। प्रेरणा बिना व्यक्ति आफ्ना लक्ष्यमा स्थिर रहन सक्दैन, चुनौती सामना गर्न सक्दैन र जीवनको गहिरो अर्थ पत्ता लगाउन असफल हुन्छ। हामी प्रायः आफ्नो जीवनसँग गुनासो मात्र गर्छौं। असफल भएका र अधुरा काम सम्झेर समय खेर फालिरहेका हुन्छौं।
सार्वजनिक स्रोतको दुरुपयोग नगर्नु भनेको राज्यलाई निजी सम्पत्ति नठान्नु हो। जातीय, धार्मिक वा क्षेत्रीय विद्वेष नफैलाउनु भनेको समाजको आत्मालाई नचिर्नु हो। मतदातालाई प्रलोभन नदिनु भनेको मतलाई सम्मान गर्नु हो, किनकि मत कुनै वस्तु होइन—विश्वासको अभिव्यक्ति हो। सञ्चार माध्यमको मर्यादा कायम राख्नु भनेको सत्यलाई विकृत हुन नदिनु हो।यी सबै प्रावधानको आध्यात्मिक आधार संयम नै हो। “पानीलाई जतिसुकै तातो बनाए पनि अन्ततः शीतल हुन्छ।” चुनावी ताप पनि क्षणिक हुन्छ, तर सम्बन्ध, सहअस्तित्व र सामाजिक विश्वास दीर्घकालीन हुन्छ। त्यसैले क्षणिक क्रोधलाई स्थायी द्वेषमा रूपान्तरण गर्नु लोकतन्त्रप्रति अन्याय हो।
मौन अवधिको आचारसंहिता लोकतन्त्रको परिपक्वताको संकेत हो। यसले चुनावलाई प्रतिस्पर्धाको तीव्र वातावरणबाट शान्त निर्णय प्रक्रियातर्फ रूपान्तरण गर्छ। मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गले आफ्नो मताधिकार प्रयोग गर्न सकून् भन्ने उद्देश्यले यो प्रावधान राखिएको हो। त्यसैले यसको पालना गर्नु सबै राजनीतिक पक्ष, सञ्चारमाध्यम र नागरिकको साझा जिम्मेवारी हो।
सही निर्णय, सही नीति र सही नेतृत्वले दीर्घकालीन प्रभाव पार्छ। असफलता अन्त्य होइन; सुधारको अवसर हो। लोकतन्त्रको सुन्दरता यही छ—गल्ती स्वीकार गरेर अघि बढ्ने ठाउँ दिनु। आध्यात्मिक मूल्यले स्पष्ट सन्देश दिन्छ—“यदि तिमी कसैलाई अपमान गर्दैछौ भने तिमीले आफ्नो सम्मान गुमाउँदैछौ।” निर्वाचनको समयमा शब्दहरू हतियार जस्तै प्रयोग हुन्छन्। चरित्र हत्या, व्यक्तिगत आक्रमण र मिथ्या प्रचारले क्षणिक ताली पाउन सक्छ, तर दीर्घकालमा राजनीतिक संस्कृतिलाई खोक्रो बनाउँछ।
राजनीतिक प्रतिस्पर्धा स्वाभाविक रूपमा विचार, नीति र कार्यक्रमको प्रतिस्पर्धा हो। तर यदि यसलाई नियमन गर्ने स्पष्ट मापदण्ड नहुँदा व्यक्तिगत आक्षेप, दुष्प्रचार, घृणात्मक अभिव्यक्ति र अस्वस्थ गतिविधिहरू बढ्न सक्छन्। आचारसंहिताले यस्ता व्यवहारलाई निरुत्साहित गर्दै बहसलाई विषयवस्तुमा केन्द्रित राख्न प्रेरित गर्छ। यसले उम्मेदवारहरूलाई व्यक्तिगत आरोप–प्रत्यारोपभन्दा माथि उठेर आफ्नो दृष्टिकोण र योजना प्रस्तुत गर्न प्रोत्साहित गर्छ। परिणामस्वरूप मतदाताले सूचित र विवेकपूर्ण निर्णय लिन सक्ने वातावरण सिर्जना हुन्छ।
आचारसंहिताको अर्को महत्वपूर्ण पक्ष समान अवसरको सुनिश्चितता हो। चुनावी मैदानमा सबै दल र उम्मेदवार समान कानुनी सीमाभित्र रहनुपर्छ। राज्यस्रोतको दुरुपयोग, अनुचित प्रचारप्रसार, वा आर्थिक असमानताका कारण सिर्जित असन्तुलनलाई आचारसंहिताले नियन्त्रण गर्न खोज्छ। यसले प्रतिस्पर्धालाई निष्पक्ष बनाउँदै लोकतन्त्रप्रति जनविश्वास बलियो बनाउँछ। जब नागरिकले देख्छन् कि सबै पक्षले एउटै नियम पालना गरिरहेका छन्, तब उनीहरूको निर्वाचन प्रक्रियाप्रतिको भरोसा अझ सुदृढ हुन्छ।
आचारसंहिताले शान्तिपूर्ण वातावरण कायम राख्न पनि महत्वपूर्ण भूमिका खेल्छ। निर्वाचनको समयमा उत्तेजना, भीड व्यवस्थापन, र प्रचारको तीव्रता बढ्ने सम्भावना हुन्छ। यस्ता अवस्थामा संयमित व्यवहार, घृणात्मक भाषणबाट परहेज, र कानुनी मर्यादाको पालनाले सम्भावित द्वन्द्वलाई न्यून गर्छ। राजनीतिक दलहरूले आफ्ना कार्यकर्ता र समर्थकलाई अनुशासनमा राख्दा सामाजिक सद्भाव कायम रहन्छ। यसले लोकतन्त्रलाई केवल राजनीतिक संरचना मात्र नभई सामाजिक सहअस्तित्वको आधारका रूपमा स्थापित गर्छ।
यद्यपि आचारसंहिताको सफल कार्यान्वयनका लागि राजनीतिक इच्छाशक्ति, निगरानी संयन्त्र, र नागरिक सचेतना आवश्यक हुन्छ। दलहरू स्वयंले आचारसंहितालाई औपचारिक बाध्यता नभई नैतिक प्रतिबद्धताको रूपमा स्वीकार्नुपर्छ। साथै, सञ्चारमाध्यम र नागरिक समाजले पनि उल्लङ्घनप्रति सजग दृष्टि राख्नुपर्छ। जब सबै सरोकारवालाले साझा जिम्मेवारी बोध गर्छन्, तब मात्र आचारसंहिताले अपेक्षित परिणाम दिन सक्छ।आचारसंहिताद्वारा मर्यादित राजनीतिक प्रतिस्पर्धा लोकतन्त्रको परिपक्वताको संकेत हो। यसले शक्ति प्राप्तिको दौडलाई नैतिक सीमाभित्र राख्दै प्रतिस्पर्धालाई विचार, नीति र सेवामुखी दृष्टिकोणमा केन्द्रित गराउँछ। स्वस्थ प्रतिस्पर्धा नै सशक्त लोकतन्त्रको आधार हो, र त्यस आधारलाई दृढ बनाउन आचारसंहिता अपरिहार्य मार्गदर्शक सिद्ध हुन्छ।
नेता देवता होइनन्; उनीहरू जनप्रतिनिधि हुन्। नेतृत्वको मूल्यांकन कार्य, नीतिगत स्पष्टता र नैतिक आचरणको आधारमा गर्नुपर्छ। मतदाता भावनामा बगेर मात्र निर्णय गरे, लोकतान्त्रिक उत्तरदायित्व कमजोर हुन्छ। यहाँ विवेकशील नागरिकको भूमिका निर्णायक हुन्छ। जब नागरिक स्वतन्त्र, सजग र उत्तरदायी हुन्छन्, तब राजनीति पनि उत्तरदायी हुन्छ।“सबैलाई त्यही तराजुमा तौलिनुपर्छ, जहाँ हामी आफुलाई तौल्छौं।” पारदर्शिता माग्नेले स्वयं पनि पारदर्शी हुनुपर्छ। दोहोरो मापदण्डले विश्वास तोड्छ र लोकतन्त्र कमजोर बनाउँछ।
निर्वाचन आचारसंहिता सार्वजनिक आध्यात्मिक अनुशासन हो। जीवनका सूक्तिहरू—आनन्दमा संयम, क्रोधमा मौनता, दुःखमा धैर्य—अनुशासनमा परिणत भएपछि निर्वाचन शान्त, निष्पक्ष र गरिमामय हुन्छ।कर्ममा विश्वास, लोभ त्याग, अपमानबाट दूरी, विवेकशील सहभागिता—यी मूल्य राजनीतिक संस्कृतिमा रूपान्तरण गर्दा लोकतन्त्र सुदृढ हुन्छ। नागरिक सक्रिय, सजग र उत्तरदायी भएपछि नेतृत्व जवाफदेही बन्न सजिलो हुन्छ।
२०८२ सालको प्रतिनिधि सभा निर्वाचन आत्मशासनको परीक्षा हो। नेतृत्व जब आध्यात्मिक मूल्यमा आधारित हुन्छ, तब शासन विश्वसनीय हुन्छ; नागरिक जब संयमित र विवेकशील हुन्छन्, तब लोकतन्त्र सुरक्षित रहन्छ।लोकतन्त्रको सुदृढता बाहिरी संरचनामा होइन, आन्तरिक चरित्रमा निर्भर गर्छ। आफ्नो मन शीतल राख्दा, कर्ममा विश्वास गर्दा र संयमलाई संस्कार बनाउँदा—नेपालको निर्वाचन आध्यात्मिक पुनर्जागरणको उत्सव बन्न सक्छ।
प्रतिक्रिया