कविता : ब्युरोक्रेटिक घोडा र परिवर्तनको यात्रु
तोमनाथ उप्रेती
दरबारको पुरानो तवेलामा
एक अरबी घोडा बाँधिएको छ
नाम उसको प्रशासन ।
उसको टापमा
इतिहासको धूलो छ
काठीमा
संविधानको कागज
र
लगाम समातेको
सरकारको हात।
घोडा मुस्कुराउँछ
यात्रुहरू बदलिन्छन्
तर
मेरो बाटो उही पुरानो।
राजनीतिक आँधी आउँछ
क्रान्तिको ढोल बज्छ
र
घोषणापत्रहरू
फागुनको परागझैँ उड्छन्।
तर
तबेलाभित्र
घोडाले कान खुज्लाउँदै भन्छ
हामीलाई हतार छैन
क्रान्ति पनि फाइल जस्तै
कहिले हराउँछ
कहिलेकाहीँ
कुनै सेल्डनको योजना जस्तो सपना
फाइलको जंगलमा पस्छ।
तर त्यहाँ
काफ्काको अदालत बस्छ।
निर्दोष नागरिक
कागजको अपराधी बन्छ।
बजेटको रातमा
मन्त्रालयहरूमा चमत्कार हुन्छ
अर्थमन्त्री बदलिन्छन्
तर
बजेटको आत्मा
कुनै पुरानो क्याल्कुलेटरमा
सुतिरहेको भेटिन्छ।
विनियोजन न्याय
टेबलमाथि रोइरहेको हुन्छ
र
अनुदानहरू
राजनीतिक नातेदारझैँ
घर फर्किन्छन्।
घोडा फेरि हाँस्छ
यात्रुहरू क्रान्ति खोज्छन्
म त केवल बाटो चिन्छु।
टेक–न्याटिभ युवाहरू
मोबाइलको मशाल बोकेर
सडकमा निस्कन्छन्।
घोडा उनीहरूलाई हेरेर
हल्का व्यंग्य गर्छ
तिमीहरू डिजिटल हौ
तर मेरो तबेला
अझैँ कागजी युगमा छ।
एक थाकेको यात्रु
घोडाको कानमा फुसफुसाउँछ
हामीलाई
गन्तव्य चाहिएको हो
तिम्रो तबेला होइन।
घोडा केही क्षण चुप लाग्छ।
शायद उसले
पहिलोपटक सोचिरहेको हुन्छ
यदि लगाम
साँचिकै विवेकले समात्यो भने
शायद यो घोडा
तबेला होइन
देश नै पार गराउन सक्छ।
तर अहिले
फाइलहरूको जंगलमा
क्रान्ति
पेन्डिङ भएर बसिरहेको छ।
प्रतिक्रिया