लोकेन्द्र प्रसाद यादव
बोदेबरसाईन । नेपाल सरकारको ”राष्ट्रिय पोषण लेखाजोखा अभियान’ सप्तरी जिल्लाका १८ वटै स्थानीय तहमा सुरु गरिएको छ। यो अभियान राष्ट्रियब्यापी रूपमा वैशाख १५ सुरू भएको र ३० गतेसम्म सञ्चालन हुनेछ। यो अभियान अन्तर्गत सप्तरी जिल्लाभरिका ६ देखि ५९ महिनासम्मका करिब ६० हजारभन्दा बढी बालबालिका तथा सुनौलो हजार दिनका आमाहरूको पोषण अवस्था पहिचान तथा मूल्यांकन गरिनेछ। बालबालिकाको उचाइ, तौल तथा पाखुराको मध्य भाग (MUAC) को परिधि मापन गरी पोषण अवस्थाको वैज्ञानिक मूल्यांकन गरिने स्वास्थ्य, पोषण, शिक्षा तथा कृषि अनुसन्धान विकास नेपालका कार्यकारी निर्देशक राकेश कुमार यादवले जानकारी दिएका छन्। उक्त अभियानमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा नजिकका स्वास्थ्य संस्थामार्फत घरघरमै पुगेर बालबालिकाको उचाइ, तौल र पाखुराको नाप लिने कार्य भइरहेको छ। साथै, कुपोषण पहिचान भएका बालबालिकालाई बहिरङ्ग सेवा (Outpatient Therapeutic Care) मार्फत ‘तयारी उपचारात्मक खाना’ (RUTF) निःशुल्क उपलब्ध गराइने व्यवस्था गरिएको छ। नेपाल सरकारको राष्ट्रिय पोषण रणनीतिअनुसार यो अभियान स्वास्थ्य संस्था, खोप केन्द्र, विद्यालय, सामुदायिक क्लिनिक, वडा कार्यालय, सामुदायिक भवन तथा प्रारम्भिक बाल विकास केन्द्रहरूमा सञ्चालन भइरहेको छ। यस अभियानमा स्वास्थ्य कार्यालय सप्तरीको महत्वपूर्ण समन्वयात्मक तथा प्राविधिक नेतृत्व रहेको छ। साथै स्वास्थ्य, पोषण, शिक्षा तथा कृषि अनुसन्धान विकास नेपाल (HEARD Nepal) कार्यान्वयन साझेदार संस्थाको रूपमा सक्रिय रूपमा परिचालित छ । यस्तै हेलेन केलर इन्टरनेशनलको आर्थिक सहयोगमा कार्यक्रम सञ्चालन भइरहेको छ। स्थानीय तहहरूको पूर्ण सहकार्यले अभियानलाई थप प्रभावकारी बनाएको छ।

‘Nutrition for Life (जीवनका लागि पोषण)’ कार्यक्रमअन्तर्गत हेलेन केलर इन्टरनेशनलको आर्थिक सहयोगमा HEARD Nepal ले ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ कार्यक्रममार्फत जिल्लाका सबै पालिकाहरूमा कार्यक्रम सञ्चालन गर्दै लक्षित वर्ग—विशेष गरी बालबालिका तथा सुनौलो (हजार) दिनका आमाहरूको पोषण सुधारमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ। त्यसैगरी HEARD Nepal अन्तर्गत पोषण सहजकर्ताहरू प्रत्येक १८ वटै पालिकामा २/२ जनाका दरले परिचालन गरिएको छ, जसले समुदायस्तरमा सेवा प्रवाह, तथ्याङ्क संकलन तथा अनुगमनलाई अझ व्यवस्थित बनाएको छ। यस अभियानमा स्थानीय तहहरूको समेत सक्रिय भूमिका रहेको छ। प्रत्येक पालिकाका मेयर, उपमेयर, कार्यकारी प्रमुख, स्वास्थ्य शाखा प्रमुख तथा सम्पूर्ण पालिका टोलीहरू प्रत्यक्ष रूपमा अभियानमा संलग्न रही समन्वय र सहजीकरण गरिरहेका छन्। जिल्लास्तरीय स्वास्थ्य टोली, प्राविधिक समूह तथा सम्पूर्ण सरोकारवाला निकायहरूको सक्रिय सहभागिता र समन्वयमा अभियानलाई सफल बनाउन निरन्तर प्रयास भइरहेको छ। सबै पक्षको संयुक्त प्रतिबद्धताले सप्तरीमा बाल तथा मातृ पोषण सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया