युद्धविराम
तोमनाथ उप्रेती
युद्धविराम आयो रे !
तर ढुक्क हुने बेला होइन
बजारको पेटमा
अदृश्य बमहरू
अझै टिक–टिक गर्छन् ।
तेलको मूल्यले
देशको नसा समातेर
सास फेर्दैछ
हर साससँगै महँगीको करेन्ट ।
ढुवानी जहाजहरू
अब
विश्वका नसाहरू हुन्
जहाँ एउटा मिसाइलको सपना
तरकारीको मूल्य भएर उफ्रिन्छ ।
बहुपक्षीय संस्था
पुरानो दराजमा थन्किएको छाता
वर्षा भने अझै आकाशमै राजनीति गर्छ ।
नेताहरू भन्छन् “स्थिरता”
स्थिरता
उडिरहेको आगोको फोटो हो
भित्तामा टाँसिएको ।
नेपालको अर्थतन्त्र
भूपरिवेष्ठित होइन रे
यो त
महँगीले घेरिएको किल्ला हो
जहाँ ढोका होइन मूल्य खुल्छ ।
चामलले अब पेट भर्दैन
चामलले अब
सरकारसँग वार्ता गर्छ
“मलाई कति कर लगाइयो?” भनेर ।
रेमिट्यान्स
विदेशबाट आउने प्रेमपत्र होइन
थकित पसिनाको
करकटिएको हवाई टिकट हो ।
कालोबजारी
अब अपराध होइन
छायाँ अर्थशास्त्रको
सबैभन्दा सफल पीएचडी हो ।
सरकारको राहत
डराएको बिरालोलाई
डिजिटल दूध देखाउने सपना
तर बर्तन खाली नै रहन्छ ।
जनता
महँगीको प्रयोगशालामा राखिएका
सामान्य मुटुहरू हुन्
जहाँ प्रत्येक दिन
नयाँ पीडा टेस्ट हुन्छ ।
र
अन्त्यमा युद्ध होइन
शान्तिको घोषणा हुन्छ
तर शान्ति भने
तरकारी पसलमा
आँसुको मूल्य टाँसिएको पोस्टर मात्र हो ।
प्रतिक्रिया