logo
  • २०८३ जेष्ठ ११ | Mon, 25 May 2026
  • युद्धविराम

    युद्धविराम

    युद्धविराम

     

    तोमनाथ उप्रेती

    युद्धविराम आयो रे !

    तर ढुक्क हुने बेला होइन

    बजारको पेटमा

    अदृश्य बमहरू

    अझै टिक–टिक गर्छन् ।

    तेलको मूल्यले

    देशको नसा समातेर

    सास फेर्दैछ

    हर साससँगै महँगीको करेन्ट ।

    ढुवानी जहाजहरू

    अब

    विश्वका नसाहरू हुन्

    जहाँ एउटा मिसाइलको सपना

    तरकारीको मूल्य भएर उफ्रिन्छ ।

    बहुपक्षीय संस्था

    पुरानो दराजमा थन्किएको छाता

    वर्षा भने अझै आकाशमै राजनीति गर्छ ।

    नेताहरू भन्छन् “स्थिरता”

    स्थिरता

    उडिरहेको आगोको फोटो हो

    भित्तामा टाँसिएको ।

    नेपालको अर्थतन्त्र

    भूपरिवेष्ठित होइन रे

    यो त

    महँगीले घेरिएको किल्ला हो

    जहाँ ढोका होइन मूल्य खुल्छ ।

    चामलले अब पेट भर्दैन

    चामलले अब

    सरकारसँग वार्ता गर्छ

    “मलाई कति कर लगाइयो?” भनेर ।

    रेमिट्यान्स

    विदेशबाट आउने प्रेमपत्र होइन

    थकित पसिनाको

    करकटिएको हवाई टिकट हो ।

    कालोबजारी

    अब अपराध होइन

    छायाँ अर्थशास्त्रको

    सबैभन्दा सफल पीएचडी हो ।

    सरकारको राहत

    डराएको बिरालोलाई

    डिजिटल दूध देखाउने सपना

    तर बर्तन खाली नै रहन्छ ।

    जनता

    महँगीको प्रयोगशालामा राखिएका

    सामान्य मुटुहरू हुन्

    जहाँ प्रत्येक दिन

    नयाँ पीडा टेस्ट हुन्छ ।

    अन्त्यमा युद्ध होइन

    शान्तिको घोषणा हुन्छ

    तर शान्ति भने

    तरकारी पसलमा

    आँसुको मूल्य टाँसिएको पोस्टर मात्र हो ।

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    भ्वाइस खबर    
  • २०८३ जेष्ठ ३, आईतवार २१:३८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP