कृति समीक्षा
विविशारा: वर्गीय विभाजन, असमानता र मानवीय संवेदनाको सूक्ष्म प्रतिबिम्ब
तोमनाथ उप्रेती
१.बिषय प्रवेश
सुन्दर हरैंचाका साहित्यकार छवि वैरागी घिमिरे नेपाली साहित्यको समकालीन सशक्त सर्जकका रूपमा स्थापित नाम हुन्। उनी शास्त्रीय छन्द कविता, गद्य साहित्य र विविध विधामा समान दक्षतासाथ कलम चलाउने बहुआयामिक प्रतिभा हुन्।हालै उनलाई अमेरिकन विश्वविद्यालय सीडरब्रुक, नयादिल्लीले मानार्थ विद्यावारिधि तथा “साहित्य गौरव स्वर्ण पदक” द्वारा सम्मानित गर्नु नेपाली साहित्यकै लागि गौरवपूर्ण क्षण हो। यो सम्मान नेपाली भाषासाहित्यको अन्तर्राष्ट्रिय पहिचानको सशक्त प्रतीक पनि हो।
उनका कृतिहरू जस्तै “केवल तिम्रै लागि”, “जून तारा”, “माटाको आस्था”, “आहत विपत”, “छन्दपान” र “किनारीकृत माइली” ले नेपाली साहित्यमा सामाजिक संवेदना, सौन्दर्य चेतना र सांस्कृतिक मूल्यलाई गरेका छन्। उनका लेखनमा जीवनका पीडा, समाजका यथार्थ र मानव संवेदनाको सूक्ष्म चित्रण पाइन्छ।उनको लेखन शैलीमा परम्परा र आधुनिकताको सुन्दर समिश्रण देखिन्छ। विशेषतः छन्द कवितामा उनको दक्षता नेपाली काव्य परम्परालाई नयाँ उचाइमा पुर्याउने प्रयास हो। उनले साहित्यलाई चेतना, मूल्य र सामाजिक जागरणको माध्यम बनाएका छन्।
विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरूबाट विभूषित घिमिरेको योगदानले उनलाई समकालीन नेपाली साहित्यको सम्मानित र प्रेरणादायी व्यक्तित्व बनाएको छ। उनका रचनाहरूले नेपाली भाषा र साहित्यलाई विश्वस्तरमा परिचित गराउने दिशामा महत्वपूर्ण भूमिका खेलेका छन्।
घिमिरेद्वारा लिखित उपन्यास ‘विविशारा’ समकालीन नेपाली साहित्यमा सामाजिक यथार्थवाद र मानवीय संवेदनाको अमुल्य दस्तावेजका रूपमा उभिन्छ। यो एक युगको मनोवैज्ञानिक अभिलेख हो। जहाँ बाल्यकाल, पीडा, वर्गीय विभाजन, प्रेम, विछोड र अस्तित्वको प्रश्न एकै धागोमा गाँसिएका छन्।
यो उपन्यास पढ्दा पाठक स्वयं घटनाभित्र बग्न थाल्छ। पात्रहरूको पीडा, संघर्ष र आशा उसको आफ्नै अनुभूति बन्न पुग्छ। यही यसको मुख्य साहित्यिक शक्ति हो।
२. शीर्षकको संरचना र प्रतीकात्मकता
‘विविशारा’ शब्द परम्परागत अर्थमा कुनै शब्दकोषीय इकाइ होइन। यो चार पात्रहरूको नामका प्रारम्भिक अक्षरहरूको संयोजनबाट निर्मित एक कृत्रिम तर अर्थयुक्त संरचना हो। यसले साहित्यमा नामको परम्परागत भूमिका तोड्छ। नाम यहाँ एक संरचनात्मक चेतना हो।
दार्शनिक दृष्टिले हेर्दा यो शीर्षक अस्तित्वको विखण्डन र पुनःसंयोजनको प्रतीक हो। अलग–अलग जीवनहरू, अनुभवहरू र स्मृतिहरू मिलेर एउटा साझा मानव कथाको निर्माण गर्छन्। व्यक्तिगत अस्तित्व यहाँ सामूहिक चेतनामा विलीन हुन्छ।
यस प्रकारको शीर्षकले भाषालाई अर्थको साधन मात्र होइन, संरचनात्मक माध्यमका रूपमा स्थापित गर्छ। शब्द स्वयंमा एक विचार होइन, विचारको निर्माण प्रक्रिया बन्छ। यहीँ ‘विविशारा’ को प्रयोगात्मक सौन्दर्य निहित छ।
यसलाई जेम्स जॉयसको चेतनाको प्रवाह परम्परासँग तुलना गर्न सकिन्छ, जहाँ चेतना क्रमबद्ध नभई प्रवाहमान हुन्छ। त्यस्तै संरचनात्मक प्रयोगवादी लेखनमा पनि अर्थ स्थिर हुँदैन, बरु निरन्तर रूपान्तरण भइरहन्छ। ‘विविशारा’ मा नाम, स्मृति र चेतना एउटै बिन्दुमा मिसिन्छन्। यसरी यो शीर्षक अस्तित्वको बहुलता र मानव अनुभवको समग्रताको दार्शनिक रूपक बन्छ।
३. कथानक संरचना
उपन्यास ‘विविशारा’ ३६ वटा शीर्षकहरूमा संरचित हुनु यसको औपचारिक सौन्दर्य मात्र होइन, यसको वैचारिक गहिराइ पनि हो। प्रत्येक शीर्षक स्वतन्त्र जस्तो देखिन्छ, तर ती सबै आपसमा अदृश्य धागोले बाँधिएका छन्। यही अन्तर्सम्बन्धले उपन्यासलाई एपिसोडिक यथार्थवादको सशक्त उदाहरण बनाउँछ। यहाँ जीवन एक निरन्तर कथा होइन, बरु टुक्रा–टुक्रामा अनुभूत हुने अस्तित्व हो।
प्रत्येक अध्यायलाई छुट्टै घाउको रूपमा पढ्न सकिन्छ। कुनै घाउ बाल्यकालको हुन्छ, कुनै गरिबीको, कुनै प्रेमको, कुनै अपमानको। तर यी घाउहरू अलग शरीरका होइनन्। यी सबै एउटै सामाजिक शरीरका विभिन्न पीडा हुन्। यहीँ उपन्यासको दार्शनिक शक्ति निहित छ व्यक्तिगत पीडा वास्तवमा सामूहिक पीडाको प्रतिबिम्ब हो।
परम्परागत उपन्यासहरूमा कथा प्रायः रेखीय रूपमा अघि बढ्छ। सुरुवात, विकास र निष्कर्षको निश्चित संरचना हुन्छ। तर ‘विविशारा’ ले यो संरचना तोड्छ। यहाँ समय सीधा रेखामा हिँड्दैन। यो भाँचिन्छ, मोडिन्छ र पुनः जोडिन्छ। जीवनजस्तै, जहाँ स्मृति, वर्तमान र अपेक्षा एउटै क्षणमा मिसिन्छन्।
यस प्रकारको संरचनाले पाठकलाई निष्क्रिय दर्शक बनाउँदैन। ऊ प्रत्येक अध्यायमा प्रवेश गर्छ र त्यहाँको अनुभूति बोक्न बाध्य हुन्छ। कथा पढ्नु मात्र यहाँ उद्देश्य होइन, कथा भोग्नु मुख्य प्रक्रिया हो। पाठक स्वयं पात्रको मनोवैज्ञानिक यात्रामा समावेश हुन्छ।
आधुनिक साहित्यमा यो शैली जेम्स जॉयसद्वारा स्थापित चेतनाप्रवाहात्मक लेखनसँग नजिकको सम्बन्ध राख्छ।जहाँ चेतना क्रमबद्ध हुँदैन, तर निरन्तर बगिरहन्छ। त्यस्तै, संरचनात्मक दृष्टिले पनि यो उपन्यास फ्रेन्च उत्तरसंरचनावादी लेखनसँग नजिक देखिन्छ, जहाँ अर्थ स्थिर हुँदैन, बरु प्रत्येक पाठकसँग पुनःनिर्मित हुन्छ।
यहाँ कथा घटनाको अनुक्रम होइन, अनुभूतिको जाल हो। प्रत्येक शीर्षक एक झ्याल हो, जसबाट जीवनको फरक दृश्य देखिन्छ। तर ती सबै झ्यालहरू एउटै घरभित्र खुल्छन् ।त्यो हो मानव अस्तित्वको घर। यो जीवनको दार्शनिक प्रतिकृति हो। यहाँ अस्तित्व एकैपटक खण्डित पनि छ र एकीकृत पनि। यही द्वैधतामा उपन्यासको सौन्दर्य र सत्य दुवै बस्छन्।
४. विपन बाल अस्तित्वको दार्शनिक प्रश्न
विपन उपन्यासको केन्द्र पात्र मात्र होइन। ऊ एक प्रश्न हो। ऊ एउटा चलायमान चेतना हो, जसले परम्परागत अर्थमा बालक हुनुको सीमालाई नै चुनौती दिन्छ। सात वर्षको बालक भएर पनि उसका प्रश्नहरू केवल जिज्ञासाको तहमा सीमित छैनन्। ती प्रश्नहरू चेतनाको गहिरो तहबाट उठेका अस्तित्ववादी कम्पनहरू हुन्।
“गणेश भगवान् जीवित हुँदा कस्ता थिए?”
“प्रकृति पुज्दा हुन्न र?”
यी प्रश्नहरू साधारण बाल जिज्ञासा जस्ता लागे पनि, तिनको भित्री संरचना अत्यन्त गहन छ। यहाँ बालकले देवत्वको ऐतिहासिकता, प्रतीकात्मकता र मानवीय निर्माणमाथि अनजाने तर प्रखर प्रश्न उठाउँछ। धर्मलाई ऊ अन्धविश्वासको रूपमा होइन, अनुभव र तर्कको प्रकाशमा जाँच्न खोज्छ। यहीँबाट उपन्यास अस्तित्ववादसँग जोडिन्छ।
विपनको सोचाइमा परम्परा र स्वतन्त्र चेतनाबीच निरन्तर द्वन्द्व छ। ऊ प्रश्न गर्छ, किनभने उसको चेतना अझै बन्द भएको छैन। यहाँ बाल्यकाललाई निर्दोषताको एक रेखीय परिभाषाबाट बाहिर निकालिन्छ। बाल्यकाल यहाँ खुला दार्शनिक क्षेत्र हो, जहाँ सोच अझै कठोर संरचनामा कैद भएको छैन।
यो चरित्रले फ्रान्ज काफ्काको बाल्य मनोविज्ञानसँग समानता देखाउँछ। काफ्काका पात्रहरू जस्तै विपन पनि एउटा अनिश्चित संसारमा बाँचिरहेको छ, जहाँ नियमहरू स्पष्ट छन् तर तिनको न्याय अस्पष्ट छ। त्यस्तै, दोस्तोएभ्स्कीका पात्रहरूजस्तै ऊ पनि नैतिक प्रश्नहरूको भारी बोकेर बाँचिरहेको छ, तर अझै पूर्ण रूपमा भ्रष्ट वा पूर्ण रूपमा निर्दोष कुनै पनि अवस्थामा स्थिर छैन।
विपनको बाल चेतना वास्तवमा एउटा दार्शनिक प्रयोगशाला हो। यहाँ धर्म, प्रकृति, समाज र अस्तित्व सबै पुनःपरिभाषित हुन्छन्। उसले देवतालाई बाहिरको शक्तिको रूपमा होइन, प्रश्नको रूपमा अनुभव गर्छ। यही कारणले उसको सोचाइ परम्परागत धार्मिक संरचनाभन्दा फरक दिशामा जान्छ।
उपन्यासमा बालकको दृष्टि दर्शनको प्रवेशद्वार हो। बाल मन यहाँ निरन्तर लेखिँदै गएको चेतनाको सतह हो। उसले देखेको संसार पूर्ण छैन। त्यसैले उसले प्रश्न गर्छ।
विपनको चरित्रले स्पष्ट गर्छ बाल्यकाल निर्दोष स्मृतिको समय होइन, बरु गहिरो दार्शनिक सम्भावनाको आरम्भ हो। यदि वयस्क चेतना स्थिर संरचना हो भने, बाल चेतना प्रवाह हो। यही प्रवाहमा प्रश्नहरू जन्मिन्छन् र ती प्रश्नहरूले नै मानव सभ्यताको आधार हल्लाउँछन्। विपन अस्तित्वको प्रारम्भिक कम्पन हो। ऊ समाजले बनाएको सत्यको पहिलो दरार हो। ऊ त्यो बिन्दु हो जहाँ विश्वासले प्रश्नसँग भेट गर्छ र प्रश्नले स्वतन्त्र चेतनाको बाटो खोल्छ।
५. ग्रामीण यथार्थ र सामाजिक संरचना
उपन्यासको पृष्ठभूमि ग्रामीण नेपाल हो। सिन्धुलीको बेल्टार, टाँडे घर, वर्षाको अनिश्चितता, श्रमको कठोरता र अभावको निरन्तरता यस उपन्यासको दृश्य संसार निर्माण गर्छन्। तर यो दृश्य सामाजिक संरचनाको गहिरो विश्लेषण हो। यहाँ स्थान सामाजिक चेतनाको प्रतिबिम्ब हो।
गरिबीलाई उपन्यासले प्राकृतिक अवस्थाको रूपमा स्वीकार गर्दैन। यो कुनै भाग्य वा मौसमजस्तो आकस्मिक घटना होइन। यो संरचनागत उत्पादन हो। सामाजिक व्यवस्था, शक्ति सम्बन्ध र ऐतिहासिक असमानताहरूले यसलाई निरन्तर पुनःउत्पादन गरिरहेका हुन्छन्। यही बिन्दुमा उपन्यासले गरिबीलाई व्यक्तिगत असफलता होइन, सामूहिक संरचनाको परिणामका रूपमा प्रस्तुत गर्छ।
अन्तर्जातीय विवाह, सामाजिक बहिष्कार र आर्थिक संघर्ष यहाँ सबै सामाजिक नियन्त्रणका यान्त्रिक रूपहरू हुन्, जसले परिवारलाई निरन्तर दबाबमा राख्छन्। व्यक्ति स्वतन्त्र देखिए पनि ऊ संरचनाको अदृश्य सीमाभित्र कैद हुन्छ। यही कैदले ग्रामीण जीवनलाई सौन्दर्यको रूपमा होइन, संघर्षको रूपमा चित्रण गर्छ।
तर यस संघर्षभित्र पनि प्रेम जीवित छ। यही उपन्यासको सबैभन्दा गहिरो मानवीय सत्य हो। कठिनाइले प्रेमलाई नष्ट गर्दैन, बरु अझ गहन बनाउँछ। प्रेम यहाँ विलासिता होइन, अस्तित्वको आधार बन्छ। भोक, अभाव र अपमानबीच पनि मानवीय सम्बन्धहरू टिकिरहन्छन्, जुन जीवनको मौन प्रतिरोध हो।यस द्वन्द्वले उपन्यासलाई साधारण यथार्थवादभन्दा माथि उठाउँछ।
यो दृष्टिकोणले थोमस हार्डीको प्राकृतिक नियतिवाद र म्याक्सिम गोर्कीको सामाजिक यथार्थवादसँग केही समानता देखाउँछ। तर ‘विविशारा’ मा विशेषता के छ भने यहाँ पीडा अन्तिम सत्य होइन। पीडाभित्र पनि मानवीय सम्बन्ध, करुणा र आशाको सानो उज्यालो निरन्तर चम्किरहेको हुन्छ।
६. प्रकृति, मौसम र प्रतीकात्मक वातावरण
भदौरे झरी, घना जंगल, खोल्साको अस्थिर बहाव, चिसो रातको कठोरता र वनझाँक्रीको त्रास यी सबै तत्वहरू उपन्यासभित्र मनोवैज्ञानिक संरचनाका रूपमा काम गर्छन्। यहाँ प्रकृति बाह्य संसार होइन, आन्तरिक चेतनाको विस्तार हो।
प्रकृति यस उपन्यासमा पात्रजस्तै सक्रिय छ। कहिले यो मातृत्वजस्तो आश्रय दिन्छ, कहिले विनाशकारी शक्तिका रूपमा उभिन्छ। यसको द्वैध चरित्रले मानव अस्तित्वको अनिश्चिततालाई प्रतिबिम्बित गर्छ। मानिस यहाँ प्रकृतिको शासक होइन, यसको नियमभित्र बाँधिएको एक असहाय साक्षी मात्र हो।
वर्षा निरन्तर परिवर्तन, क्षय र विनाशको संकेत हो। यसले जीवनको अस्थिरतालाई प्रतीकात्मक रूपमा उजागर गर्छ। जब वर्षा आउँछ, भूमि मात्र भिज्दैन, पात्रहरूको मनोवैज्ञानिक अवस्था पनि भत्किन थाल्छ।
जंगल अनिश्चितताको प्रतीक हो, जहाँ प्रत्येक वृक्ष जीवनका अपार रहस्यहरूझैँ मौन उभिएका हुन्छन्। त्यसभित्र बाटो हराउनु जीवनको अर्थ र उद्देश्य गुमाउनु हो। मानव अस्तित्व पनि यस्तै जंगल हो जहाँ निर्णयहरू धुम्मिन्छन्, सत्य र भ्रम एकैसाथ मिसिन्छन्। अन्धकार यहाँ चेतनाको धुवाँ हो, जसले दृष्टिलाई मात्र होइन, बोधलाई पनि ढाकिदिन्छ। यस्तो अवस्थामा आत्मा दिशाहीन हुन्छ, तर यही दिशाहीनतामा आत्मअन्वेषणको बीज लुकेको हुन्छ। जब मानिस अन्धकारलाई स्वीकार गर्छ, तब मात्र भित्रको प्रकाश जागृत हुन थाल्छ। जंगल भित्री चेतनाको आध्यात्मिक यात्रा हो, जहाँ हराउनु नै कहिलेकाहीँ पाउनु बन्न पुग्छ।
वनझाँक्रीको त्रास अज्ञातप्रतिको मानवीय मनोविज्ञानको गहिरो रूपक हो। जब तर्क र अनुभवको सीमा कमजोर हुन्छ, तब कल्पनाले शक्ति ग्रहण गर्छ र भयले मिथकको रूप लिन्छ। वनझाँक्री जङ्गलको अन्धकारमा बस्ने कुनै बाह्य अस्तित्व होइन, बरु मानव चेतनाभित्रै लुकेको अनिश्चितताको प्रतिरूप हो। अपूर्ण ज्ञानले सिर्जना गर्ने खाली ठाउँहरूमा डरले आफ्नै कथा बुन्छ र त्यो कथा संस्कृतिमा विश्वास बनेर बस्छ। यसरी मिथक मानव मनको रक्षायन्त्र पनि हो जसले अज्ञातलाई अर्थ दिन खोज्छ र अस्तित्वको असहज मौनतालाई प्रतीकात्मक भाषा प्रदान गर्छ।
यस प्रकारको प्रकृति चित्रणले उपन्यासलाई थोमस हार्डीको प्राकृतिक नियतिवादसँग नजिक पुर्याउँछ। हार्डीका उपन्यासहरूमा जस्तै यहाँ पनि मानव जीवन प्रकृतिको कठोर नियमसँग बाँधिएको छ। मानिसले चाहेर पनि आफ्नो नियति पूर्ण रूपमा नियन्त्रण गर्न सक्दैन। बाह्य शक्तिहरू प्रकृति, समाज र परिस्थितिहरू उसको जीवनलाई निरन्तर निर्देशित गर्छन्।
तर ‘विविशारा’ मा प्रकृति नियति होइन, चेतनाको ऐना हो। बाहिरी आँधीले भित्रको आँधीलाई उजागर गर्छ। यही द्वन्द्वले उपन्यासलाई यथार्थवादी होइन, दार्शनिक बनाउँछ। यहाँ प्रकृति र मन एउटै भाषामा बोल्छन् अनिश्चितता, भय र अस्तित्वको मौन प्रश्नको भाषामा।
७. बाल श्रम, अपमान र मानव गरिमा
विपनको बाल्यकाल ठूले साहुको घरमा श्रमिक जीवनमा बित्छ। यो व्यक्तिगत दुखको कथा होइन, संरचनागत हिंसाको निरन्तर अभ्यास हो। उसलाई कुकुरभन्दा तल व्यवहार गरिनु कुनै एक पात्रको क्रूरता मात्र होइन, समाजभित्र गहिरो रूपमा जरा गाडेको असमान शक्ति सम्बन्धको प्रतिफल हो। काम कहिल्यै नसकिने, आराम कहिल्यै नपाइने र अपमान कहिल्यै अन्त्य नहुने यो चक्र एक प्रकारको अदृश्य दासत्व हो।
तर उपन्यासले यसलाई सामाजिक आलोचनाको तहमा मात्र सीमित राख्दैन। यो अवस्थालाई नैतिक प्रश्नको रूपमा उभ्याउँछ। मानव गरिमा कहाँ हराउँछ? र अझ महत्वपूर्ण प्रश्न मानव गरिमा हराउँदा समाज किन मौन रहन्छ? यही मौनता नै सबैभन्दा ठूलो अन्याय बन्छ।
यहाँ विपनको जीवनमार्फत उपन्यासले कार्ल मार्क्सको वर्गीय शोषण सिद्धान्तलाई कथात्मक रूप दिन्छ। श्रम र मूल्यबीचको असमानता, शक्ति र अधिकारबीचको दूरी र सम्पन्न वर्गको प्रभुत्व यहाँ सैद्धान्तिक अवधारणाबाट बाहिर निस्केर जीवनको कठोर यथार्थ बन्छ।
तर लेखक राजनीतिक आलोचक होइनन्। उनी संवेदनशील कथाकार हुन्। त्यसैले शोषणको चित्रणसँगै मानवीय संवेदना पनि हराउँदैन। पीडाभित्र पनि सानो सहानुभूति, क्षणिक स्नेह वा मौन प्रतिरोधका झिल्काहरू देखिन्छन्। यही संवेदनशीलता उपन्यासलाई एकपक्षीय घोषणापत्र बन्नबाट जोगाउँछ।
८. कुइनेटो: न्यूनतम स्नेहको दर्शन
कुइनेटो शीर्षक विविशारा उपन्यासको सबैभन्दा मार्मिक र प्रतीकात्मक खण्डमध्ये एक हो। यहाँ घटनाको सतह अत्यन्त सरल छ, तर त्यसको भित्री अर्थ अत्यन्त प्रतिकातमक छ। एउटै घरभित्र दुई फरक अस्तित्व एक कुकुर र एक बालक बीचको असमान स्नेह वितरणले सम्पूर्ण सामाजिक संरचनामाथि प्रश्न उठाउँछ। कुकुरको जन्मदिन केक, बत्ती, फोटो र हाँसोको उत्सवसहित धुमधामसँग मनाइन्छ तर विपनको जन्मदिन एउटा बिस्कुटको टुक्रामा सीमित हुन्छ। यही दृश्य बाहिरी रूपमा सामान्य लागे पनि यसको भित्री अर्थ गहिरो छ। मानव मूल्यको असमान विन्यास छ। यहाँ प्रेम वस्तुमा होइन, दृश्यता र प्रदर्शनमा मापन हुन्छ। जर्ज ओरवेलले देखाएको जस्तो सामाजिक व्यंग्य यहाँ पुनः प्रतिध्वनित हुन्छ, जहाँ संवेदना भन्दा प्रतीकात्मकता बलियो हुन्छ। फ्रान्ज काफ्काको अस्तित्ववादी पीडाजस्तै, विपनको मौनता पनि कुनै स्पष्ट विद्रोह होइन, तर भित्री विघटन हो जहाँ मानिस आफ्नै मूल्य प्रणालीभित्र अदृश्य हुन्छ।
नयाँ युगका साहित्यिक पुरस्कार विजेताहरू जस्तै ओल्गा टोकार्चुक वा हान काङले देखाएको मनोवैज्ञानिक गहिराइ यहाँ स्मरण हुन्छ, जहाँ साधारण घटना नै सभ्यताको नैतिक दर्पण बन्छ। कुकुरको उत्सव र बालकको बिस्कुटबीचको दूरी नैतिक र दार्शनिक खाडल हो। यही असमानता कथाको मौन चिच्याहट हो जसले सोध्छ: मानवता वास्तवमै कहाँ हरायो? जब जीवनको मूल्य मनोरञ्जनको स्तरमा झर्छ, तब साहित्य स्वयं अदृश्य पीडाको र नबोलेको सत्यको एउटा साक्षी बन्छ।
यो दृश्य गहिरो प्रतीकात्मक संरचना हो। यहाँ स्नेह वस्तुजस्तै वितरण हुन्छ। प्रेम पनि उपभोग्य वस्तु बनेको छ, जसलाई आवश्यकता, प्राथमिकता र सामाजिक मूल्यअनुसार बाँडिन्छ। यसले आधुनिक उपभोक्तावादी संस्कृतिको विडम्बना उजागर गर्छ, जहाँ सम्बन्धहरू पनि बजारको तर्कअनुसार मूल्याङ्कन हुन्छन्।
कुकुरको उत्सव र बालकको उपेक्षा बीचको अन्तर भावनात्मक असमानता होइन। यो अस्तित्वगत असमानता हो। एक जीवनलाई पूर्ण ध्यान, हेरचाह र उत्सव मिल्छ, अर्को जीवनलाई न्यूनतम अस्तित्व मात्र। यहाँ मानवता आफैं प्रश्नको घेरामा आउँछ के संवेदना चयनात्मक हुन सक्छ?
यस खण्डमा सानो स्नेह पनि ठूलो दार्शनिक संकेत बन्छ। जीवनको अर्थ कहिलेकाहीँ ठूलो घटनामा होइन, सानो व्यवहारमा लुकेको हुन्छ। जीवनको असमानता कहिलेकाहीँ चिच्याएर होइन, मौन रूपमा देखिन्छ। विपनले पाएको एउटा बिस्कुट खाना मात्र होइन, समाजले उसलाई दिएको न्यूनतम मान्यता हो। तर त्यो मान्यता पनि अपूर्ण, असमान र पीडादायी छ।
यो क्षणलाई अल्बेयर कामुको अबसर्ड दर्शनसँग तुलना गर्न सकिन्छ। कामुको संसारमा मानवले न्याय, अर्थ र समानताको अपेक्षा गर्छ, तर संसारले ती अपेक्षालाई सधैं पूरा गर्दैन। विपनको अनुभव पनि त्यस्तै छ। ऊ प्रेम खोज्छ, तर उसलाई असमानता भेटिन्छ। ऊ अपनत्व खोज्छ, तर उसलाई उपेक्षा प्राप्त हुन्छ।
तर यही अबसर्ड भित्र उपन्यासले मौन प्रतिरोध पनि जन्माउँछ। जब संसार अन्यायपूर्ण हुन्छ, तब सानो स्नेह पनि असाधारण अर्थ बोकेर आउँछ। जीवनदाइले दिएको बिस्कुट करुणाको प्रतीक बन्छ। मानवता पूर्ण रूपमा हराएको छैन, तर अत्यन्त सीमित र नाजुक अवस्थामा बाँचेको छ भन्ने यसले देखाउँछ।
९. विद्रोह र पलायन
विपनको घर छोड्ने निर्णय अस्तित्वगत विद्रोह हो, जहाँ बाल चेतना पहिलोपटक स्वीकारको सीमालाई अस्वीकार गर्छ। उसले अपमानलाई नियति मान्दैन। ऊ आत्मसम्मानलाई अस्तित्वको आधार बनाउँछ। यही क्षणमा विपन बालक मात्र रहँदैन, ऊ निर्णयकर्ता चेतना बन्छ। एउटा यस्तो चेतना, जसले पीडालाई सहन होइन, प्रश्न गर्न थाल्छ।
घर, जसले सुरक्षा दिनुपर्ने थियो, त्यही घर उसको अपमानको संरचना बनेपछि, त्यस संरचनाबाट बाहिर निस्किनु पुनर्जन्मको आरम्भ हो। ऊ बाहिर निस्कँदा केवल भौतिक स्थान छोड्दैन, ऊ सामाजिक परिभाषाहरू छोड्छ। “नोकर”, “गरिब”, “अनाथ” जस्ता ट्यागहरूलाई चुनौती दिन्छ।
रातको जंगल, डर र भोकबीच सुरु हुने उसको यात्रा बाह्य संसारको यात्रा मात्र होइन। यो चेतनाको गहिराइतर्फको अवतरण हो। अन्धकार यहाँ शत्रु होइन, अनिश्चितताको शिक्षक हो। भोक अर्थको खोज हो। डर अस्तित्वको सचेत संकेत हो।
यस यात्रामा विपनको जीवन रेखीय कथा नभई आध्यात्मिक प्रक्रिया बन्छ। प्रत्येक कदमसँगै ऊ बाहिरी संसारबाट भित्री संसारतर्फ सर्दै जान्छ। यही रूपान्तरणले उपन्यासलाई साधारण सामाजिक यथार्थवादबाट माथि उठाएर दार्शनिक यात्रामा प्रवेश गराउँछ।
यहाँ उपन्यास हरमन हेसेको सिद्धार्थ जस्तै आध्यात्मिक यात्रासँग तुलनीय देखिन्छ। जस्तै सिद्धार्थले सबै सामाजिक संरचना र शिक्षालाई पार गरेर आत्मअनुभूतिको बाटो रोज्छ, त्यस्तै विपनले पनि अपमानित संरचनाबाट बाहिर निस्केर आफ्नै अस्तित्व खोज्न थाल्छ। तर फरक के छ भने, विपनको यात्रा बाल्य चेतनाबाट सुरु हुन्छ जहाँ प्रश्न अझै शुद्ध छन् र अनुभव अझै पूर्ण रूपमा कठोर बनेको छैन।
यो यात्रा कुनै निश्चित गन्तव्यतर्फ होइन, निरन्तर आत्मअन्वेषणतर्फ उन्मुख छ। यहाँ घरको अर्थ पनि परिवर्तन हुन्छ। घर अब भौतिक स्थान होइन, आत्मसम्मानको अवस्था बन्छ। यसरी विपनको प्रस्थान चेतनाको घोषणा हो जहाँ एक बालकले संसारलाई होइन, आफ्नो अस्तित्वलाई पुनःपरिभाषित गर्न सुरु गर्छ।
१०. सहर: आधुनिकताको विडम्बना
सहर प्रवेशपछि विपनको जीवन रूपान्तरण हुन्छ, तर त्यो रूपान्तरण मुक्तिको दिशामा होइन, नयाँ प्रकारको नियन्त्रणतर्फ उन्मुख हुन्छ। गाउँमा उसले प्रत्यक्ष शोषण भोगेको थियो। सहरमा शोषण संरचनागत र अदृश्य बन्छ। यहाँ शक्ति अनुहारमा देखिँदैन, प्रणालीमा लुकेको हुन्छ।
सहर बाहिरबाट हेर्दा सम्भावनाको केन्द्र जस्तो देखिन्छ। भीड, आन्दोलन, विचार र आधुनिकताको चमक देखिन्छ। तर यही भीडभित्र मानवीय संवेदना क्रमशः क्षीण हुँदै गएको हुन्छ। मानिसहरू एकै ठाउँमा भए पनि एकअर्काबाट टाढा हुन्छन्। शारीरिक निकटता भए पनि भावनात्मक दूरी गहिरो हुन्छ।
गरिब र धनीबीचको खाडल यहाँ अझ स्पष्ट र परिष्कृत रूपमा देखिन्छ। गाउँमा गरिबी सीधा र खुला थियो, तर सहरमा गरिबीलाई लुकाइन्छ, सजाइन्छ र कहिलेकाहीँ सामान्यीकृत पनि गरिन्छ। यही अदृश्य असमानता सहरको सबैभन्दा ठूलो विडम्बना हो।
तीन हजार रुपैयाँको मूल्य गाउँ र सहरमा फरक हुनु मूल्यव्यवस्थाको नैतिक संकट हो। गाउँमा त्यो रकम जीवनको आधार बन्न सक्छ जमिन, श्रम वा अस्तित्वसँग जोडिएको। तर सहरमा त्यही रकम क्षणिक खर्च, उपभोग वा विलासितामा हराउँछ। यसले देखाउँछ पैसाको मूल्य स्थिर होइन, यो सामाजिक संरचनाले निर्धारण गर्ने अर्थप्रणाली हो।
यस तुलनाले आधुनिक अर्थतन्त्रको गहिरो नैतिक विफलता उजागर गर्छ। अर्थतन्त्रले समानता र समृद्धिको वाचा गर्छ, तर व्यवहारमा असमानता उत्पादन गर्छ। मूल्य सिर्जना गर्छ, तर मानव मूल्यलाई कमजोर बनाउँछ।
यस सन्दर्भमा सहर आधुनिकताका विरोधाभासहरूको केन्द्र हो। यहाँ प्रगति छ, तर न्याय छैन;विकास छ, तर संवेदना कमजोर छ। विपनको अनुभवले यो स्पष्ट गर्छ कि सहरमा प्रवेश गर्नु भनेको स्वतन्त्रता होइन, बरु नयाँ संरचनागत सीमाभित्र प्रवेश गर्नु हो।उपन्यासले सहरलाई मुक्तिको प्रतीक होइन, चेतनात्मक परीक्षणको स्थलका रूपमा प्रस्तुत गर्छ, जहाँ मानव मूल्य र आर्थिक मूल्यबीचको द्वन्द्व निरन्तर चलिरहन्छ।
११. शान्ता प्रेम र प्रतिरोधको प्रतीक
शान्ता ‘विविशारा’ उपन्यासको उज्यालो पक्ष हुन्। तर यो उज्यालो दार्शनिक पनि हो। उनी अन्धकारमाथि राखिएको एउटा सानो तर स्थिर प्रकाशजस्तै हुन्, जसले सम्पूर्ण कथानकलाई नैतिक स्पष्टता प्रदान गर्छ।
उनले समाज, जात, वर्ग र परिवारका कठोर संरचनाभन्दा माथि उठेर प्रेम रोज्छिन्। यो रोजाइ आकस्मिक भावना होइन। यो चेतनापूर्ण निर्णय हो। जहाँ व्यक्ति परम्परागत दबाब, सामाजिक अपेक्षा र सांस्कृतिक नियन्त्रणलाई चुनौती दिन्छ। शान्ताको प्रेम चयन व्यक्तिगत इच्छाको परिणाम मात्र होइन, संरचनागत विद्रोह हो।
यो विद्रोह हिंसात्मक छैन। यो मौन छ, तर गहिरो छ। उनले समाजसँग चिच्याएर होइन, आफ्नो निर्णयमार्फत संवाद गर्छिन्। यही मौनता उनको शक्तिको स्रोत हो। समाजले निर्माण गरेका सीमाहरूलाई स्वीकार नगर्नु नै उनको प्रतिरोध हो।
दार्शनिक दृष्टिले हेर्दा शान्ताको चरित्र अस्तित्ववादी स्वतन्त्रताको अभ्यास हो। जाँ पल सार्त्रको विचार अनुसार मानिस स्वतन्त्र हुन बाध्य हुन्छ। शान्ता पनि त्यही स्वतन्त्रताको जिम्मेवारी स्वीकार गर्छिन्। उनी सजिलो बाटो होइन, सत्य लाग्ने बाटो रोज्छिन्।
उनको प्रेम भावना होइन, नैतिक निर्णय हो। यो निर्णयले प्रेमलाई भावनात्मक स्तरबाट उठाएर नैतिक चेतनाको तहमा पुर्याउँछ। यहाँ प्रेमले आकर्षण होइन, उत्तरदायित्वको रूप लिन्छ। यस चरित्रलाई लियो टोल्स्टोयको नैतिक प्रेमसँग तुलना गर्न सकिन्छ। टोल्स्टोयका पात्रहरूजस्तै शान्ताको प्रेम पनि सामाजिक मान्यता होइन, आन्तरिक सत्यमा आधारित छ। टोल्स्टोयको संसारमा प्रेम तब मात्र शुद्ध हुन्छ जब त्यसमा अहंकार घट्छ र करुणा बढ्छ। शान्ताको प्रेम पनि त्यही दिशामा अघि बढ्छ जहाँ व्यक्तिगत स्वार्थभन्दा माथि मानवता प्राथमिक हुन्छ।
तर शान्ताको विशेषता के हो भने उनी आदर्शवादी मात्र होइनन् यथार्थसँग पनि जुध्छिन्। समाजको विरोध, परिवारको दबाब र वर्गीय अवरोधबीच पनि उनी आफ्नो निर्णयमा अडिग रहन्छिन्। यही अडानले उनलाई दार्शनिक प्रतीक बनाउँछ।
उनको प्रेमले उपन्यासमा सन्तुलन ल्याउँछ। विपनको पीडा, संघर्ष र अस्तित्वगत खोजबीच शान्ता आशाको संरचना बन्छिन्। उनी देखाउँछिन् मानव समाज पीडाको संग्रह मात्र होइन, त्यसमा प्रतिरोध र करुणाको सम्भावना पनि छ।
शान्ता प्रेमको परम्परागत परिभाषाभन्दा बाहिर जान्छिन्। उनी प्रेमलाई सम्बन्ध होइन, चेतनाको अवस्था बनाउँछिन्। जहाँ प्रेम गर्नु भनेको कसैलाई रोज्नु होइन, बरु सामाजिक संरचनाभन्दा माथि उठेर मानवतालाई रोज्नु हो।अन्ततः शान्ता उपन्यासको नैतिक केन्द्र हुन्। उनी अन्धकारभित्रको प्रकाश होइनन् मात्र, अन्धकारलाई प्रश्न गर्ने उज्यालो हुन्। उनको चरित्रले प्रमाणित गर्छ साँचो प्रेम विद्रोह पनि हुन सक्छ र साँचो विद्रोह प्रेम पनि हुन सक्छ।
१२. विमला र सामाजिक विफलता
विमला उपन्यासकी त्यस्ती पात्र हुन्, जसमा आधुनिकताको बाहिरी चमक त छ, तर भित्री सन्तुलन हराएको छ। उनी सामाजिक सफलताको प्रतीक जस्तो देखिन्छिन्, तर गहिराइमा उनी सामाजिक विफलताको परिणाम हुन्। यहाँ विफलता व्यक्ति स्तरको होइन, संरचनात्मक हो परिवार, शिक्षा र मूल्य प्रणालीको सामूहिक असफलता।
उनको जीवनमा पैसा छ, तर समय छैन। सुविधा छ, तर संस्कार छैन। यो असन्तुलन आधुनिक परिवारको मूल संकट हो। जहाँ आर्थिक समृद्धिले भावनात्मक उपस्थिति विस्थापित गर्छ, त्यहाँ सम्बन्धहरू यान्त्रिक बन्न थाल्छन्। आमाबुबा भौतिक रूपमा सक्षम हुन्छन्, तर मानसिक रूपमा अनुपस्थित। यही अनुपस्थितिले बाल्य मनोविज्ञानलाई प्रभावित गर्छ।
उपन्यासले स्पष्ट रूपमा देखाउँछ पालनपोषण आर्थिक जिम्मेवारी होइन, यो भावनात्मक प्रक्रिया हो। बच्चालाई खाना, कपडा र शिक्षा मात्र होइन, समय, ध्यान र नैतिक मार्गदर्शन पनि आवश्यक हुन्छ। जब यी तत्वहरू छुट्छन्, तब व्यक्तित्व भित्रैबाट असन्तुलित हुन्छ। विमलाको चरित्र यही असन्तुलनको मनोवैज्ञानिक परिणाम हो।
यहाँ उपन्यास मनोवैज्ञानिक यथार्थवादमा प्रवेश गर्छ। पात्रको बाह्य व्यवहारभन्दा उसको आन्तरिक विखण्डन महत्वपूर्ण बन्छ। विमला गलत बाटो हिँड्ने व्यक्ति होइनन्, उनी भावनात्मक रिक्तताबाट बनेको व्यक्तित्व हुन्। उनको निर्णयहरू व्यक्तिगत कमजोरी होइन, भावनात्मक अभावको परिणाम हुन्।
यस दृष्टिले विमलाको चरित्रलाई विश्व साहित्यका महान लेखकहरूसँग तुलना गर्न सकिन्छ। गुस्ताभ फ्लोबेयरकी एमा बोवारी जस्तै उनी पनि बाहिरी आकर्षण र भित्री असन्तोषबीच विभाजित छन्। एमा जस्तै विमला पनि सामाजिक अपेक्षा र व्यक्तिगत खालीपनबीचको द्वन्द्वमा बाँचिरहेकी छन्।
त्यस्तै लियो टोल्स्टोयका पात्रहरूमा देखिने नैतिक विघटन यहाँ पनि झल्किन्छ, तर फरक सन्दर्भमा। टोल्स्टोयले प्रायः आध्यात्मिक पतनलाई नैतिक चेतनाको कमीसँग जोड्छन्, जबकि यहाँ विमलाको समस्या नैतिकता भन्दा बढी भावनात्मक अनुपस्थितिसँग सम्बन्धित छ।
फ्योदोर दोस्तोएभ्स्कीको मनोवैज्ञानिक गहिराइ पनि यहाँ सम्झिन्छ। विशेषगरी उनका ती पात्रहरू, जसमा बाह्य जीवन सामान्य देखिन्छ तर भित्री संसार द्वन्द्वले भरिएको हुन्छ। विमलाको मनोविज्ञान पनि त्यस्तै विभाजित छ।उनी आफूले चाहेको कुरा र आफूले पाएको जीवनबीच निरन्तर संघर्षमा छिन्।
तर ‘विविशारा’ ले विमलालाई केवल दोषी पात्र बनाउँदैन। उपन्यासले उनलाई सामाजिक प्रणालीको उपजका रूपमा प्रस्तुत गर्छ। यो दृष्टिकोण आधुनिक मनोवैज्ञानिक यथार्थवादको महत्वपूर्ण विशेषता हो जहाँ व्यक्ति दोषी होइन, संरचनाको परिणाम हो।यसरी विमलाको चरित्रले उपन्यासलाई नैतिक निर्णयबाट बाहिर निकालेर विश्लेषणात्मक चेतनामा पुर्याउँछ। यहाँ प्रश्न उनी किन बिग्रिइन्? होइन, समाजले किन यस्तो व्यक्तित्व निर्माण गर्यो? भन्ने हुन्छ।
विमला आधुनिकताको एउटा मौन आलोचना हुन्। उनी देखाउँछिन् सुविधा मात्र पर्याप्त छैन, र समृद्धि मात्र पूर्णता होइन। जब समय, प्रेम र उपस्थितिको अभाव हुन्छ, तब मानव व्यक्तित्व बाहिरी रूपमा सफल तर भित्री रूपमा विखण्डित बन्न पुग्छ। यही विखण्डन विविशाराको मनोवैज्ञानिक यथार्थवादको केन्द्र हो।
१३. धार्मिकता, संस्कृति र प्रश्न
उपन्यासमा धर्ममाथि प्रत्यक्ष आक्रमण देखिँदैन, तर त्यसको स्थिर संरचनाभित्र निरन्तर कम्पन भने अवश्य छ। यो कम्पन बाह्य विरोधको रूपमा होइन, बाल चेतनाबाट उठेका निर्दोष प्रश्नहरूको रूपमा प्रकट हुन्छ। विपनका प्रश्नहरूले धर्मलाई अस्वीकार गर्दैनन्, तर त्यसलाई पुनःपरीक्षणको दायरामा ल्याउँछन्। यहीँबाट उपन्यास परम्परागत धार्मिक स्वीकारोक्तिबाट हटेर दार्शनिक जिज्ञासाको क्षेत्रमा प्रवेश गर्छ।
यहाँ धर्म अन्धविश्वासको रूपमा प्रस्तुत हुँदैन, बरु खोजको विषय बन्छ। ईश्वर निश्चित उत्तर होइन, एउटा खुला प्रश्न जस्तै देखिन्छ। बालक विपनको दृष्टिमा देवत्व कुनै अन्तिम सत्य होइन, बरु बुझ्नुपर्ने रहस्य हो। यही दृष्टिकोणले धर्मलाई स्थिर संरचनाबाट चलायमान चेतनामा रूपान्तरण गर्छ।
उसका प्रश्नहरू गणेश भगवान् कस्ता थिए, प्रकृति पुज्दा किन नहुने यी सबै प्रश्नहरू परम्परागत विश्वास र अनुभवजन्य सोचबीचको पहिलो टकराव हुन्। यस टकरावले धर्मलाई निष्क्रिय श्रद्धाबाट सक्रिय विचार प्रक्रियामा बदल्छ।
दार्शनिक दृष्टिले हेर्दा यो दृष्टिकोण रवीन्द्रनाथ टैगोरको आध्यात्मिक मानवतावादसँग मेल खान्छ। टैगोरका विचारमा ईश्वर कुनै बाह्य सत्ता मात्र होइन, मानव चेतनाभित्रको अनन्त खोज हो। त्यस्तै विविशारामा पनि ईश्वरभन्दा ठूलो प्रश्न मानव स्वयं बन्छ।
यहाँ मानव अनुभव प्राथमिक हुन्छ। धर्म त्यसको व्याख्या होइन, त्यसको विस्तार हो। ईश्वरको अर्थ मानव पीडा, करुणा र जिज्ञासाबाट अलग छैन। यसरी उपन्यासले आध्यात्मिकतालाई आस्थाको सीमाबाट निकालेर अनुभव र चेतनाको क्षेत्रमा ल्याउँछ।
यो दृष्टिकोणले धर्मलाई न त नकार्छ, न त अन्ध रूपमा स्वीकार गर्छ। बरु त्यसलाई निरन्तर संवादको रूपमा प्रस्तुत गर्छ। जहाँ विश्वास स्थिर हुँदैन, प्रश्नसँगै विकसित हुन्छ। यही गतिशीलता उपन्यासको आध्यात्मिक गहिराइ हो।
१४. कथन शैली र भाषिक प्रवाह
‘विविशारा’ उपन्यासको भाषा सतही रूपमा सरल देखिन्छ, तर यसको भित्री संरचना अत्यन्त गहिरो छ। यहाँ सरलता कमजोरी होइन, सौन्दर्य हो। छोटा वाक्यहरूको प्रयोगले कथनलाई तीव्र, स्पष्ट र प्रत्यक्ष बनाउँछ। तर यही सादगीभित्र अर्थका तहहरू निरन्तर विस्तार भइरहेका हुन्छन्।
यो शैली परम्परागत नेपाली उपन्यासहरूको अलङ्कारिक, दीर्घ र वर्णनात्मक भाषाशैलीभन्दा भिन्न छ। यहाँ भाषा बोझिलो छैन। यो सजाइएको छैन, तर अनुभूत गरिएको छ। यही कारणले पाठकलाई थकान होइन, आकर्षण महसुस हुन्छ।
छोटो वाक्यहरूको प्रभाव संरचनात्मक मात्र होइन, मनोवैज्ञानिक पनि हो। प्रत्येक वाक्य एक सासजस्तो हुन्छ छोटो, तर जीवन्त। ती वाक्यहरू एकपछि अर्को आउँदा विचारको प्रवाह रोकिँदैन, बरु तीव्र हुन्छ। पाठक भाषा पढ्दैन मात्र, भाषा भित्र बग्न थाल्छ।
यस शैलीले आधुनिक कथनमा एक नयाँ प्रयोग प्रस्तुत गर्छ, जहाँ अर्थ विस्तार वाक्यको लम्बाइबाट होइन, भावनात्मक घनत्वबाट आउँछ। यही घनत्वले कथालाई साधारण घटनाबाट दार्शनिक अनुभवमा रूपान्तरण गर्छ।
विश्व साहित्यसँग तुलना गर्दा यो शैली अर्नेस्ट हेमिङ्वेको आइसबर्ग थ्योरी ( हिमशैल सिद्धान्त) सँग नजिक देखिन्छ। हेमिङ्वेले पनि सतहमा सरल वाक्य प्रयोग गर्थे, तर गहिराइमा जटिल भाव र अर्थ लुकेको हुन्थ्यो। ‘विविशारा’ मा पनि घिमिरेको त्यही प्रवृत्ति देखिन्छ जे भनिएको छ, त्योभन्दा धेरै नबोलेको कुरा महत्वपूर्ण हुन्छ।
त्यस्तै अल्बेयर कामुको लेखन शैलीसँग पनि यसको साम्यता देखिन्छ। कामुका वाक्यहरू सरल तर अस्तित्वगत भारले भरिएका हुन्छन्। उनी जीवनको निरर्थकताबारे जटिल दार्शनिक व्याख्या होइन, सरल कथनमार्फत गहिरो अनुभूति सिर्जना गर्छन्। विविशारामा पनि वैरागी त्यही दिशामा अघि बढ्छन जहाँ भाषा कम बोल्छ, तर अनुभूति धेरै बोल्छ।
फ्रान्ज काफ्काको लेखनमा देखिने क्लस्ट्रोफोबिक सरलता पनि यहाँ सम्झिन योग्य छ। काफ्काले जटिल अवस्थालाई अत्यन्त सरल वाक्यमा प्रस्तुत गरेर अझ भयावह बनाउँथे। त्यस्तै ‘विविशारा’ मा पनि सरल भाषा भित्र सामाजिक अन्याय, बाल पीडा र अस्तित्वगत असुरक्षा झन् तीव्र रूपमा प्रकट हुन्छ।
तर यो शैली पश्चिमी प्रभावको नक्कल भने होइन। यसमा नेपाली मौखिक परम्पराको पनि छायाँ छ जहाँ कथा लामो व्याख्याभन्दा छोटा, सीधा र अर्थपूर्ण वाक्यमा व्यक्त गरिन्छ। यही लोकसरलता र आधुनिक चेतनाको मिश्रणले यसलाई विशिष्ट बनाउँछ।
सबैभन्दा महत्वपूर्ण कुरा के हो भने, यो भाषाशैलीले पाठकलाई बाहिरबाट हेर्ने दर्शक बनाउँदैन। बरु भित्र तान्छ। पाठक वाक्यको संरचनाभित्र होइन, अनुभूतिको प्रवाहभित्र प्रवेश गर्छ। प्रत्येक छोटो वाक्यले एउटा ढोका खोल्छ र प्रत्येक ढोकापछि नयाँ अर्थ भेटिन्छ।सरलता यसको सतह हो, तर गहिराइ यसको आत्मा हो। यही कारणले यो उपन्यास आधुनिक नेपाली कथनमा एक महत्वपूर्ण प्रयोगका रूपमा उभिन्छ जहाँ कम शब्दले धेरै संसार बोल्छ।
१५. दार्शनिक दृष्टि : अस्तित्व, पीडा र आशा
विविशारा’ उपन्यासको मूल दार्शनिक संरचना पीडा, अस्तित्व र आशा तीन आधारमा उभिएको छ । यी तीन तत्वहरू चेतनाका तीन तह हुन्। पीडा यहाँ सुरुवात बिन्दु हो, अस्तित्व प्रश्न हो र आशा अन्तिम प्रकाश। यी तीनबीचको सम्बन्धले उपन्यासलाई साधारण यथार्थवादबाट उठाएर अस्तित्ववादी दर्शनको दार्शनिक संरचनामा प्रवेश गराउँछ।
पीडा यहाँ आकस्मिक घटना होइन। यो जीवनको पहिलो सत्य हो। विपनको बाल्यकालदेखि सहरसम्मको यात्रा, सामाजिक विभेददेखि व्यक्तिगत अपमानसम्म, सबै पीडाका विभिन्न रूप हुन्। तर यो पीडा निष्क्रिय छैन। यसले चेतनालाई जगाउँछ।
त्यसपछि अस्तित्व प्रश्न बन्छ। “म किन छु?” “मेरो मूल्य के हो?” “संसार किन यस्तो छ?” यी प्रश्नहरू अस्तित्ववादी चिन्तनका केन्द्र हुन्। जाँ–पल सार्त्रका पात्रहरूजस्तै यहाँ पनि व्यक्ति स्वतन्त्र छ, तर त्यो स्वतन्त्रता भारी छ। किनभने स्वतन्त्रता भनेको जिम्मेवारी पनि हो।
अल्बेयर कामुको दर्शनसँग तुलना गर्दा ‘विविशारा’ मा निरर्थक अवस्थाको स्पष्ट छायाँ देखिन्छ। कामुका पात्रहरू जस्तै विपन पनि यस्तो संसारमा बाँचिरहेको छ, जहाँ अर्थ खोजिन्छ तर अर्थ स्थिर रूपमा भेटिँदैन। जीवन निरन्तर प्रश्न हो, तर निश्चित उत्तर छैन।
तर ‘विविशारा’ र शुद्ध अस्तित्ववादबीच एउटा महत्वपूर्ण भिन्नता छ। सात्रे र कामुका धेरै पात्रहरू निराशा र निरर्थकतामा रोकिन्छन्। उनीहरूको संसारमा आशा प्रायः क्षणिक हुन्छ वा पूर्ण रूपमा अनुपस्थित हुन्छ। तर ‘विविशारा’ त्यहाँ रोकिँदैन।
यहाँ आशा अन्तिम प्रकाशका रूपमा बाँकी रहन्छ। यो आशा संरक्षित पनि होइन, तर संघर्षबाट जन्मिएको हो। पीडाको गहिराइबाट, अस्तित्वगत प्रश्नहरूको बीचबाट, मानव सम्बन्ध र करुणाको सानो उज्यालो यहाँ बाँकी रहन्छ।
यस दृष्टिले उपन्यासलाई दस्तोएभ्स्कीको नैतिकआध्यात्मिक अस्तित्ववादसँग पनि तुलना गर्न सकिन्छ। दस्तोएभ्स्कीका पात्रहरू जस्तै यहाँ पनि पीडा विनाश होइन, रूपान्तरणको माध्यम हो। पीडाबाट नै नैतिक चेतना जन्मिन्छ।
त्यस्तै भिक्टर फ्राङ्कलको लोगोथेरापी (अर्थकेन्द्रित मनोचिकित्सा)सँग पनि यसको समानता देखिन्छ। फ्राङ्कलका अनुसार अत्यन्त पीडामा पनि अर्थ निर्माण गर्न सकिन्छ। विविशारामा पनि विपनको यात्रा यही अर्थ खोज्ने प्रयास हो, जहाँ निराशा अन्तिम बिन्दु होइन।
यहाँ त्रिकोणीय संरचना स्थिर प्रणाली होइन, गतिशील प्रक्रिया हो। पीडाले अस्तित्वलाई प्रश्नमा बदल्छ र प्रश्नले आशालाई सम्भावनामा रूपान्तरण गर्छ। यही गतिशीलता उपन्यासको दार्शनिक शक्ति हो।
१६. तुलनात्मक साहित्यिक दृष्टि
उपन्यास ‘विविशारा’ लाई विश्व साहित्यको परिप्रेक्ष्यमा राखेर हेर्दा यसको सौन्दर्य स्थानीय यथार्थमा मात्रै सीमित रहँदैन। यो कृति विभिन्न दार्शनिक र साहित्यिक परम्पराहरूको संवादस्थल बनेको देखिन्छ। यहाँ पूर्व र पश्चिम, व्यक्तिगत र सार्वभौमिक, यथार्थ र दर्शनबीच निरन्तर अन्तरक्रिया भइरहेको छ।
दोस्तोएभ्स्कीको प्रभाव यस उपन्यासमा विशेष रूपमा मानसिक द्वन्द्व र नैतिक प्रश्नहरूको तहमा देखिन्छ। उनका पात्रहरूजस्तै ‘विविशारा’ का पात्रहरू पनि निरन्तर आत्मसंघर्षमा छन्। राम्रो र नराम्रो, सही र गलत, प्रेम र पीडा बीचको सीमारेखा स्पष्ट छैन। विपनको जीवनमा देखिने आन्तरिक प्रश्नहरू दोस्तोएभ्स्कीका रस्कोल्निकोभ वा इभान क्यारामाजोभको नैतिक अस्थिरतासँग तुलना गर्न सकिन्छ।
अल्बेयर कामुको प्रभाव अस्तित्वगत निरर्थकतामा देखिन्छ। कामुको संसारमा जीवनले स्पष्ट अर्थ दिन सक्दैन, तर मानिसले अर्थ खोज्न छोड्दैन। ‘विविशारा’ मा पनि विपनको यात्रा यही निरर्थक अवस्थाको पुनःव्याख्या हो। पीडा निरन्तर छ, तर त्यसभित्र पनि चेतनाको संघर्ष जारी रहन्छ। यहाँ निराशा अन्तिम सत्य होइन, बरु प्रश्नको निरन्तरता हो।
फ्रान्ज काफ्काको संसारजस्तै यस उपन्यासमा पनि व्यक्ति र प्रणालीबीचको दूरी स्पष्ट देखिन्छ। काफ्काका पात्रहरू जस्तै विपन पनि अदृश्य शक्तिहरू समाज, वर्ग, नियम र संरचनासँग जुधिरहेको छ। तर ती शक्तिहरू कहिल्यै पूर्ण रूपमा देखिँदैनन्। दमन अस्पष्ट छ, तर प्रभाव अत्यन्त वास्तविक छ। यही असहायता काफ्कीय वातावरणको संकेत हो।
लियो टोल्स्टोयको प्रभाव नैतिक प्रेम र सामाजिक आलोचनामा झल्किन्छ। टोल्स्टोयका कृतिहरूमा प्रेम नैतिक जिम्मेवारी हो। ‘विविशारा’ मा पनि प्रेम पात्रहरूको व्यक्तिगत छनोट मात्र होइन, सामाजिक संरचनाको पुनःप्रश्न हो। जात, वर्ग र संस्कारभन्दा माथि उठेको प्रेम टोल्स्टोयको नैतिक आदर्शसँग मिल्दोजुल्दो देखिन्छ।
हरमन हेसेको प्रभाव आध्यात्मिक यात्रामा देखिन्छ। विशेषगरी सिद्धार्थ जस्तै, विपनको यात्रा पनि बाहिरी संसारबाट भित्री चेतनातर्फको खोज हो। यहाँ यात्रा स्थानान्तरण होइन, आत्मपरिवर्तन हो। पीडा, भोक र संघर्षले चेतनालाई परिष्कृत गर्छ, र व्यक्तित्वलाई पुनःनिर्माण गर्छ।
तर यी सबै समानताहरूको बीचमा ‘विविशारा’ केवल अनुकरण होइन भन्ने कुरा स्पष्ट हुन्छ। यो कृति पश्चिमी साहित्यिक परम्पराको नक्कल होइन, बरु त्यसको स्थानीय पुनःव्याख्या हो। यहाँ युरोपेली अस्तित्ववाद, रूसी मनोवैज्ञानिक यथार्थवाद र भारतीय नेपाली आध्यात्मिक संवेदनाको संगम देखिन्छ।
यो रूपान्तरणको प्रक्रिया अत्यन्त महत्वपूर्ण छ। किनभने यहाँ विश्व साहित्यका विचारहरू नेपाली ग्रामीण यथार्थसँग मिसिन्छन्। सिन्धुलीको बेल्टार, टाँडे घर, भदौरे झरी र नेपाली सामाजिक संरचनाले यी वैश्विक विचारहरूलाई नयाँ सन्दर्भ दिन्छन्। यसले दर्शनलाई पुस्तकालयबाट निकालेर जीवनको धुलोमा ल्याउँछ।
१७. आध्यात्मिक दृष्टिकोण
‘विविशारा’ को अन्तर्निहित आध्यात्मिकता अत्यन्त सूक्ष्म र अप्रत्यक्ष प्रकृतिको छ। यहाँ ईश्वर कुनै दृश्य, संस्थागत वा प्रत्यक्ष उपस्थित शक्ति रूपमा देखिँदैन। तर यसको अनुपस्थितिमा पनि चेतनाको निरन्तर उपस्थिति अनुभूत हुन्छ। यही अनुपस्थित उपस्थित द्वैधले उपन्यासलाई साधारण सामाजिक यथार्थवादबाट उठाएर दार्शनिक आध्यात्मिकतामा प्रवेश गराउँछ।मानव पीडाभित्र दिव्यता खोज्ने प्रयास यस उपन्यासको मूल आध्यात्मिक संकेत हो। पीडा यहाँ दुख होइन, चेतनाको शुद्धीकरण प्रक्रिया हो। विपनको संघर्ष, अभाव र अपमान केवल सामाजिक अनुभव मात्र होइनन्, ती आत्मिक प्रश्नहरूको ढोका पनि हुन्। पीडाको गहिराइमा नै मानव अस्तित्वको सूक्ष्म प्रकाश लुकेको छ भन्ने संकेत उपन्यासले निरन्तर दिन्छ।यहाँ मुक्ति बाहिरको कुनै गन्तव्य होइन। यो कुनै स्थान, समय वा बाह्य उपलब्धि पनि होइन। बरु मुक्ति भित्री अनुभूतिको रूपान्तरण हो। जब चेतना बाह्य संरचनाबाट मुक्त भएर स्वयंलाई चिन्ने अवस्थामा पुग्छ, त्यही क्षणलाई मुक्ति भनिन्छ। यही विचारले उपन्यासलाई पूर्वीय दार्शनिक परम्परासँग जोड्छ।
विशेषतः उपनिषदिक चेतनासँग यसको गहिरो सामिप्यता देखिन्छ। उपनिषदहरूले पनि आत्मा र ब्रह्मको एकत्व, भित्री ज्ञान र बाह्य भ्रमबाट मुक्ति जस्ता विचारलाई केन्द्रमा राख्छन्। ‘विविशारा’ मा पनि बाह्य संसारको अस्थिरता र भित्री चेतनाको स्थायित्वबीचको द्वन्द्व स्पष्ट देखिन्छ।
यहाँ ईश्वर बाह्य सत्ता होइन, अनुभवभित्रको जागरण हो। यही कारणले आध्यात्मिकता कुनै धार्मिक सीमामा बन्द हुँदैन, बरु मानव चेतनाको सार्वभौमिक क्षमतामा विस्तार हुन्छ। यस दृष्टिले उपन्यासले धर्मलाई संस्था होइन, अनुभूतिको निरन्तर खोजका रूपमा पुनःपरिभाषित गर्छ।
१७. कमजोरिहरूः
‘विविशारा’ को आध्यात्मिक आयाम सूक्ष्म, गहन र विचारोत्तेजक भए पनि यस पक्षमा केही सीमाहरू देख्न सकिन्छ। उपन्यासले आध्यात्मिक चेतनालाई अत्यन्त प्रतीकात्मक र अप्रत्यक्ष रूपमा प्रस्तुत गरेको छ, जसका कारण सामान्य पाठकका लागि त्यसको अर्थ सहज रूपमा खुल्न सक्दैन। कतिपय स्थानमा आध्यात्मिक संकेतहरू यति सूक्ष्म छन् कि तिनले कथाको भावनात्मक प्रभावलाई बलियो बनाउनुको सट्टा अस्पष्टता सिर्जना गर्न सक्छन्।
उपन्यासले पीडालाई आत्मिक शुद्धीकरण र चेतनाको उन्नयनको माध्यमका रूपमा चित्रण गरेको छ। तर यस दृष्टिकोणले कहिलेकाहीँ सामाजिक तथा आर्थिक अन्यायका वास्तविक कारणहरूलाई पर्याप्त रूपमा सम्बोधन नगरेको अनुभूति दिन्छ। विपनको दुःखलाई आध्यात्मिक अर्थ प्रदान गर्ने क्रममा संरचनागत गरिबी, वर्गीय विभेद र सामाजिक असमानताको आलोचना अपेक्षाकृत कमजोर बनेको देखिन्छ। परिणामतः पाठकले पीडाको सामाजिक आयामभन्दा त्यसको दार्शनिक व्याख्यामा बढी जोड दिइएको महसुस गर्न सक्छ।
त्यसैगरी, मुक्ति र आत्मबोधका अवधारणाहरू उपन्यासमा प्रस्तुत भए तापनि तिनको स्पष्ट विकास र निष्कर्ष पर्याप्त रूपमा देखिँदैन। पात्रको आन्तरिक रूपान्तरण कुन स्तरमा पुगेको छ भन्ने कुरा कतिपय स्थानमा अनिश्चित रहन्छ। यसले उपन्यासको आध्यात्मिक यात्रालाई पूर्णता प्राप्त गर्न नदिएको आभास दिन सक्छ।
उपनिषदिक र पूर्वीय दार्शनिक चिन्तनसँगको सामीप्यता उपन्यासको महत्वपूर्ण विशेषता भए पनि कतिपय प्रसङ्गमा यी दार्शनिक संकेतहरू कथानकसँग पूर्ण रूपमा एकाकार हुन सकेका छैनन्। केही विचारहरू पात्रहरूको स्वाभाविक अनुभवबाट भन्दा लेखकको दार्शनिक दृष्टिकोणको विस्तारजस्ता प्रतीत हुन्छन्। यसले कथा र दर्शनबीच सन्तुलन कायम गर्न चुनौती सिर्जना गरेको छ।
अर्कोतर्फ, आध्यात्मिकताको प्रस्तुति मुख्यतः अन्तर्मुखी र वैयक्तिक छ। सामूहिक चेतना, सामाजिक सहअस्तित्व वा समुदायगत आध्यात्मिक अनुभूतिको पक्ष अपेक्षाकृत कम विकसित छ। यसले उपन्यासको आध्यात्मिक क्षितिजलाई केही हदसम्म सीमित बनाएको देखिन्छ।
विविशारा’ले पीडा, अस्तित्व र आशाको त्रिकोणीय संरचनामार्फत गहन दार्शनिक विमर्श प्रस्तुत गरे पनि यस पक्षमा केही सीमाहरू देखिन्छन्। उपन्यासले अस्तित्ववादी प्रश्नहरूलाई प्रभावकारी रूपमा उठाए पनि तिनको वैचारिक गहिराइ सबै स्थानमा समान रूपमा विकसित हुन सकेको छैन। कतिपय प्रसङ्गमा पात्रका अस्तित्वगत प्रश्नहरू स्वाभाविक जीवनानुभवबाट भन्दा लेखकको दार्शनिक अभिप्रायबाट निर्देशित जस्ता प्रतीत हुन्छन्, जसले कथात्मक स्वाभाविकतालाई केही कमजोर बनाउँछ।
पीडालाई चेतना जागरणको माध्यमका रूपमा प्रस्तुत गर्ने क्रममा उपन्यासले कहिलेकाहीँ पीडाको वास्तविक सामाजिक, आर्थिक र राजनीतिक कारणहरूलाई दोस्रो तहमा पुर्याएको देखिन्छ। विपनको दुःखलाई दार्शनिक अर्थ दिने प्रयास सफल भए पनि त्यसले वर्गीय असमानता, संरचनागत गरिबी र सामाजिक विभेदको कठोर यथार्थलाई अपेक्षित तीव्रताका साथ विश्लेषण गर्न सकेको छैन। परिणामस्वरूप पीडा कहिलेकाहीँ सामाजिक समस्याभन्दा व्यक्तिगत आध्यात्मिक यात्राको साधन मात्र बनेको अनुभव हुन्छ।
अल्बेयर कामु र जाँ–पल सार्त्रका अस्तित्ववादी पात्रहरू जस्तै गहिरो आत्मसंघर्ष उपन्यासमा देखिए पनि अस्तित्वगत संकटको चरम बिन्दु पर्याप्त रूपमा विकसित भएको पाइँदैन। विपनले जीवनका प्रश्नहरू भोग्छ, तर ती प्रश्नहरूको मानसिक र दार्शनिक प्रभावलाई अझ गहिरो रूपमा चित्रण गर्न सकिने सम्भावना थियो। कतिपय अवस्थामा प्रश्नहरू उठाइन्छन्, तर तिनको अन्तर्द्वन्द्वात्मक विस्तार सीमित रहन्छ।
उपन्यासको अर्को सीमा आशाको प्रस्तुति हो। आशा कथाको महत्वपूर्ण शक्ति भए पनि कतिपय पाठकका लागि यो आशा यथार्थको कठोर धरातलबाट भन्दा लेखकको नैतिक आग्रहबाट उत्पन्न भएको जस्तो लाग्न सक्छ। पीडाको व्यापकता र सामाजिक जटिलताको तुलनामा आशाको आधार अपेक्षाकृत कम विकसित देखिन्छ। यसले अस्तित्ववादी द्वन्द्वको तीक्ष्णतालाई केही कम गरेको अनुभूति दिन सक्छ।
त्यसैगरी, दस्तोएभ्स्की र भिक्टर फ्राङ्कलसँग गरिने तुलनाले उपन्यासको वैचारिक उचाइ देखाए पनि पात्रहरूको मनोवैज्ञानिक जटिलता ती कृतिहरूको स्तरसम्म विस्तार भएको देखिँदैन। केही पात्रहरू प्रतीकात्मक रूपमा बलिया भए पनि बहुआयामिक मनोवैज्ञानिक निर्माणमा अझ गहिराइ सम्भव थियो।
यद्यपि यी सीमाहरूका बाबजुद ‘विविशारा’ नेपाली उपन्यास परम्परामा पीडा, अस्तित्व र आशाको सम्बन्धलाई गम्भीर रूपमा उठाउने उल्लेखनीय कृति हो। यसको कमजोरीहरू पनि यसको वैचारिक महत्त्वाकांक्षाकै परिणाम हुन्, जसले पाठकलाई जीवनका मूलभूत प्रश्नहरूसँग साक्षात्कार गराउँछन्।
१८. निष्कर्ष :
‘विविशारा’ जीवनको बहुस्तरीय अनुभूति हो। यो समाजको दर्पण हो, जसमा वर्गीय विभाजन, असमानता र मानवीय संवेदनाको सूक्ष्म प्रतिबिम्ब देखिन्छ। यो बाल्यकालको चिच्याहट हो, जहाँ निर्दोष चेतना पहिलोपटक अन्यायसँग ठोकिन्छ र प्रश्न बन्न थाल्छ। यो गरिबीको मौन आवाज हो, जुन बोल्दैन तर निरन्तर उपस्थित भएर समाजलाई असहज बनाइरहन्छ।
यो प्रेमको प्रतिरोध हो, जहाँ प्रेम सामाजिक संरचनामाथिको चुनौती बन्छ। र अन्ततः यो मानव अस्तित्वको गहिरो प्रश्न हो म किन छु, र मेरो जीवनको अर्थ के हो? यसैले ‘विविशारा’ नेपाली समकालीन साहित्यमा एक महत्वपूर्ण र अर्थपूर्ण स्थान राख्छ। यसको शक्ति यसको उत्तरमा होइन, यसको प्रश्नमा निहित छ।
प्रतिक्रिया