विश्वपरिवेशमा मानवीय संवेदनाको खोज:अमेरिकाको घाम
तोमनाथ उप्रेती
नेपाली साहित्यका बहुआयामिक स्रष्टा छविरमण सिलवाल कविता, नियात्रा, बालसाहित्य, समीक्षा तथा हास्यव्यङ्ग्यका माध्यमबाट आफ्नो विशिष्ट साहित्यिक व्यक्तित्व स्थापित गर्न सफल भएका सर्जक हुन्। उनको लेखनीमा जीवनको यथार्थ, मानवीय संवेदना, सामाजिक चेतना र विश्वदृष्टिको सन्तुलित समन्वय पाइन्छ। उनी अनुभूति, चिन्तन र जीवनदर्शनलाई यात्रासँग अन्तरसम्बन्धित गर्ने सशक्त साहित्यकार हुन्। कवितासङ्ग्रह डोरम्याट ले नेपाली साहित्यमा नयाँ विमर्श जन्माएको थियो भने ग्रिनविचको साँझ नियात्रासङ्ग्रहमार्फत उनले विदेशी भूमिमा नेपाली संवेदनाको सशक्त अभिव्यक्ति प्रस्तुत गरिसकेका थिए। यही सिर्जनात्मक यात्राको परिपक्व विस्तारका रूपमा अमेरिकाको घाम नेपाली नियात्रा साहित्यमा उल्लेखनीय कृतिका रूपमा उभिएको छ।
करिब एक सय पचास पृष्ठमा विस्तारित यस नियात्रासङ्ग्रहमा समावेश तेह्रवटा नियात्राले अमेरिका, स्लोभेनिया, चीन र तिब्बतका भौगोलिक, सांस्कृतिक तथा मानवीय आयामहरूलाई जीवन्त रूपमा उद्घाटित गरेका छन्। यी नियात्राहरू यात्राका क्रममा लेखकले अनुभूत गरेका भाव, देखेका दृश्य, भेटेका मानिस, सुनेका कथाहरू र अन्तर्मनमा जागेका दार्शनिक प्रश्नहरूको सजीव दस्तावेज हुन्। त्यसैले यस कृतिमा यात्रा चेतनाको यात्रा बनेर प्रकट भएको छ।
सङ्ग्रहको आरम्भिक नियात्रा ‘अमेरिकाको घाम’ ले लस भेगासदेखि लस एन्जलससम्मको यात्रालाई आधार बनाएर अमेरिकी सभ्यताको भौतिक सम्पन्नता, व्यवस्थापन कौशल, सामाजिक अनुशासन र बहुसांस्कृतिक जीवनशैलीलाई अत्यन्त प्रभावकारी ढङ्गले चित्रण गरेको छ। आधुनिक प्रविधि, व्यवस्थित सडक, भव्य वास्तुकला र नागरिक अनुशासनका दृश्यहरू लेखकको दृष्टिमा सुशासन, योजनाबद्ध विकास र नागरिक चेतनाका जीवन्त उदाहरण हुन्। यिनै दृश्यहरूको पृष्ठभूमिमा उनले नेपालको अविकास, प्रशासनिक जडता र राजनीतिक अकर्मण्यताको पीडादायी यथार्थसँग तुलना गर्दा पाठकको मनमा आत्मपरीक्षणको तीव्र चेतना जागृत हुन्छ।
लेखकले लेखेका छन् “राज्य सञ्चालकहरू कयौँ पटक यहाँ आएर भत्ता मात्र पचाउने काम गरेका छन्। त्यसैले उनीहरूलाई हाम्रो लेखले के नै हुन सक्छ र? तापनि आफूले देखेका र भोगेका कुराहरूलाई लेख्ने जमर्को मात्र गरेको छु।” (पृ. ४०)यो अभिव्यक्ति व्यक्तिगत असन्तुष्टिको उद्घोष मात्र होइन राष्ट्रप्रतिको गहिरो दायित्वबोध, नागरिक विवेक र सामाजिक आत्मालोचनाको साहित्यिक अभिव्यक्ति हो। विदेशमा देखिएको समृद्धिलाई लेखकले विस्मयका रूपमा मात्र ग्रहण गरेका छैनन्; त्यसलाई आफ्नै देशको विकासचेतनासँग तुलना गरेर पाठकलाई गम्भीर प्रश्नहरूका सामु उभ्याएका छन्।
यस कृतिमा अमेरिकी प्राकृतिक तथा सांस्कृतिक सम्पदाको चित्रण पनि उत्तिकै जीवन्त छ। हुबर ड्यामको विराटता, रुबी फल्सको भूमिगत रहस्यलोक, युनिभर्सल स्टुडियोको कल्पनाशील संसार आदिको वर्णन पढ्दा पाठक आफैँ ती दृश्यहरूको साक्षी बनेको अनुभूति गर्छ। विशेषतः रुबी फल्सको गुफाभित्र प्रकृतिले निर्माण गरेका आकृतिहरूमा लेखकले देखेको आध्यात्मिक सौन्दर्यले नियात्रालाई सूचनामूलक विवरणबाट उठाएर सौन्दर्यबोधको उच्च तहमा पुर्याएको छ।
स्लोभेनियामा केन्द्रित नियात्राहरूमा लेखकको दृष्टि अझ संवेदनशील, आत्मीय र जीवनस्पर्शी बनेर प्रकट हुन्छ। पहिलोपटक समुद्रसँगको साक्षात्कार, स्थानीय संस्कृतिसँगको घुलमिल, मित्रवत् व्यवहार, उत्सवधर्मिता र मानव सम्बन्धको सहज ऊष्माले लेखकको अन्तर्मनलाई स्पर्श गरेको छ। उनी लेख्छन् “पहिलो पटक मैले समुद्र नजिकबाट देखेँ। नीलो समुद्रको नुनिलो स्वाद चाख्दै रमाइलो मानेर बिरमानजी अब हामी कोपरमा गएर समुद्रमा नुहाउने भन्दै मलाई लोभ्याउन थाले।”यस छोटो प्रसङ्गभित्र पनि यात्राको बाह्य दृश्यभन्दा बढी मानवीय सम्बन्धको आत्मीयता, मित्रताको सहजता र अनुभवको अनिर्वचनीय आनन्द ध्वनित भएको छ। यही संवेदनशीलता सिलवालका नियात्राहरूको विशिष्ट सौन्दर्य हो।
चीन र तिब्बतसम्बन्धी नियात्राहरूमा सांस्कृतिक भिन्नता, भाषिक असहजता, खानपानको विविधता तथा यात्राका रोचक चुनौतीहरूलाई लेखकले अत्यन्त स्वाभाविक र विनोदपूर्ण शैलीमा प्रस्तुत गरेका छन्। कुन्मिङमा भोजन खोज्ने क्रममा उनले अनुभव गरेको प्रसङ्गले पाठकलाई हँसाउँछ पनि, संस्कृतिगत भिन्नताप्रति सजग पनि बनाउँछ। लेखकको शब्दमा “होटलमा चिनियाँ अक्षरमा लेखिएका ठूलठूला मेनु हामीले बुझ्ने कुरै भएन। यसो हेरेर फर्कन्थ्यौँ, घुम्दै जाँदा हामी एउटा होटलभित्र पस्यौँ। भित्तामा टाँगिएको मेनु सन्तोष हेर्दै थिए। मैले तन्दुरी जस्तै झिरमा टाँसिएको देखेँ र यसो गएर हेरेको त सिङ्गो कुकुर नै पो रहेछ।”
यस प्रकारका प्रसङ्गहरूले नियात्रालाई केवल सूचनामूलक नभई जीवन्त, रोचक र पाठकमैत्री बनाएका छन्।अमेरिकाको घाम को सबैभन्दा उल्लेखनीय विशेषता यसको मानवीय संवेदनशीलता हो। यात्राको केन्द्रमा भूगोल छ। मानिस छ। सम्बन्ध छ। आत्मीयता छ। लेखकले विदेशी भूमिमा भेटेका मानिसहरूको आतिथ्य, सहृदयता र माया स्नेहलाई अत्यन्त आत्मीयताका साथ अभिव्यक्त गरेका छन्। अझ आफ्ना छोरा लोकेशसँगको पुनर्मिलनले नियात्रालाई पारिवारिक प्रेम, भावनात्मक ऊष्मा र सम्बन्धको गहिराइले उज्यालो बनाएको छ। यस प्रसङ्गले पाठकलाई सबै यात्राहरूको अन्तिम गन्तव्य अन्ततः आफ्नै मानिसहरूको प्रेम हो।
शैलीगत दृष्टिले सिलवालको भाषा सरल, प्रवाहमय र काव्यात्मक छ। उनले नियात्रामा निबन्धात्मक विश्लेषण, कथात्मक प्रस्तुति र डायरीमूलक आत्मीयतालाई सन्तुलित रूपमा संयोजन गरेका छन्। त्यसैले उनका नियात्राहरू पढ्दा पाठकले जानकारी मात्र प्राप्त गर्दैन अनुभूति गर्छ, दृश्यसँग संवाद गर्छ र लेखकको अन्तर्मनसँग सहयात्रा गर्छ।
कृतिमा लेखकले नेपालको सामाजिक, राजनीतिक र प्रशासनिक अवस्थाप्रति पनि गहिरो चिन्ता व्यक्त गरेका छन्। विदेशको सुशासन र नेपालका अव्यवस्थित सडक, कमजोर पूर्वाधार तथा राजनीतिक संस्कृतिबीचको तुलना गर्दा उनी लेख्छन् “नेपालको सडकको हालत सम्झेर आफैँले आफैँलाई धिक्कारेँ। यस्तै यस्तै नालायक नेताहरूलाई हामीले निरन्तर भोट दिएर सिंहासनमा बसाएका छौँ। गल्ती हामीजस्ता जनताको पनि हो।”यो स्वीकारोक्ति लेखकको नागरिक इमानदारीको परिचायक हो। दोष केवल नेतृत्वमाथि थोपर्ने प्रवृत्तिभन्दा माथि उठेर उनले जनताको सामूहिक उत्तरदायित्वलाई पनि औँल्याएका छन्। यस अर्थमा अमेरिकाको घाम सामाजिक चेतना जगाउने सशक्त साहित्यिक दस्तावेज पनि हो।
सिलवालका नियात्राहरूमा दृश्यभन्दा दृष्टि ठूलो छ। यात्राभन्दा अनुभूति गहिरो छ। भूगोलभन्दा मानवता व्यापक छ। हिमाल, समुद्र, सहर, सडक, गुफा र सांस्कृतिक सम्पदाहरू दृश्यात्मक वस्तु बनेर मात्र आएका छैनन्। तिनले जीवन, समय, सभ्यता र मानवीय अस्तित्वमाथि गम्भीर विमर्श सिर्जना गरेका छन्। यही कारण उनका नियात्राहरू बाह्य यात्राका वृत्तान्त मात्र नभई अन्तर्जगत्को आध्यात्मिक यात्राका अभिलेख पनि बनेका छन्।अमेरिकाको घाम नेपाली नियात्रा साहित्यको समृद्ध परम्परामा उज्यालो थप्ने एक महत्त्वपूर्ण कृतिका रूपमा दीर्घकालसम्म स्मरणीय रहनेछ।
प्रतिक्रिया