आत्मज्ञानमा आधारित आध्यात्मिक प्रकाश
तोमनाथ उप्रेती
मानव जीवनको वास्तविक मूल्य उसको बाह्य उपलब्धि वा भौतिक सम्पत्तिमा मात्र निर्भर गर्दैन। प्राचीन पूर्वीय दर्शनले यस विषयमा गहिरो दृष्टि प्रस्तुत गरेको छ जहाँ साँचो गौरव व्यक्तिको आत्मज्ञान र अन्तर्मनको उज्यालोमा आधारित हुन्छ। उपनिषद् र भगवद् गीता जस्ता ग्रन्थहरूले ज्ञानलाई बौद्धिक साधन नभई आत्मा शुद्ध गर्ने साधनको रूपमा व्याख्या गरेका छन्। जब व्यक्ति आफ्नो जीवनलाई भौतिक प्रदर्शन र विलासिताबाट अलग गर्दै, आन्तरिक मूल्य, विवेक र आध्यात्मिक चेतनामा केन्द्रित बनाउँछ, तब उसको गौरव स्थायी र गहन हुन्छ।
मानव सभ्यता सधैँ गौरवको खोजमा अग्रसर रहँदै आएको छ। अस्तित्वको बोधसँगै मानिसले आफूलाई अरूभन्दा अलग र श्रेष्ठ देखाउन चाह्यो। कहिले मुकुटमा, कहिले धनमा, कहिले शक्ति र कीर्तिमा। समयसँगै गौरवका प्रतीक फेरिँदै गए। प्राचीन युगमा ज्ञान, तपस्या र सत्यनिष्ठा गौरवका आधार थिए; तर आधुनिक युगमा ती स्थान विलासिता, प्रविधि र प्रदर्शनले ओगटेका छन्।
साँचो गौरव धर्म, नैतिकता, सेवा र आत्मा जागरणसँग गहिरो रूपमा जोडिएको हुन्छ। पुस्तकालय, ज्ञान बाँड्ने प्रयास, ध्यान, ध्यानयुक्त कर्म र विचार सृजनाले मानवको चेतनालाई उज्यालो बनाउँछन्, जसले समाजमा स्थायी परिवर्तन र सकारात्मक ऊर्जा फैलाउँछ। यस दृष्टिले गौरव आत्मज्ञानको यात्रा हो जहाँ मानिसले आफ्नो वास्तविक मूल्य र जीवनको उद्देश्य बोध गर्छ। यही यात्रामा व्यक्ति मात्र सफल हुँदैन, ऊ सभ्य, विवेकी र आत्मसाक्षात्कारपूर्ण मानव बन्छ।
आजको समाजमा घडीले समयभन्दा हैसियत देखाउँछ, मोबाइलले संवादभन्दा प्रतिष्ठा जनाउँछ। मानिस कति बुझ्दछ भन्नेभन्दा कति देखाउँछ भन्नेमा मूल्याङ्कन हुन थालेको छ। बाह्य चमक नै सफलताको प्रमाण ठानिएको छ। तर यो चमक क्षणभङ्गुर छ। यसमा चेतनाको उज्यालो छैन। अहंकारको झिल्को छ। साँचो गौरव कुनै ब्रान्डको लेबल होइन, विचारको स्तर हो। कुनै सम्पत्तिको प्रदर्शन होइन, आत्माको परिष्कार हो।
जब धन होइन, धर्ममा गर्व गरिन्छ, जब वस्तु होइन, मूल्यमा आत्मसन्तोष पाइन्छ। साँचो गौरव त्यो हो, जसले समाजमा प्रकाश फैलाउँछ। अन्धकारमा चेतनाको दियो बाल्छ। प्रश्न उठ्छ महँगो घडी बाँध्नुमा गौरव के छ, जब समयको अर्थ बुझ्ने चेत हराउँदै गएको छ? महँगो मोबाइल बोक्नुमा गौरव के छ, जब ज्ञानका पानाहरू पल्टाउने इच्छा मरेको छ?
सभ्यता भवन, वस्त्र र प्रविधिले मापन हुँदैन। सभ्यताको आत्मा चेतनामा हुन्छ ज्ञानमा, विवेकमा र मूल्यमा। आज मानिसलाई “के पढ्यौ?” भन्दा “के बोक्यौ?” भन्ने प्रश्नले परिभाषित गर्न थालिएको छ। सफलताको मापदण्ड घडीको चमक र मोबाइलको मोडेल बनेको छ। तर कसैले सोध्दैन तिमीले के सोच्छौ? तिमीले समाजलाई के दियौ?
गौरवलाई वस्तुमा खोज्नु भनेको मन्दिरको मूर्तिलाई सुनले मढाएर भगवान् ठान्नु जस्तै हो जहाँ सजावट त छ, तर दर्शन छैन। घडीले घण्टा बताउँछ, किताबले जीवन। मोबाइलले संसार तिमीलाई देखाउँछ, किताबले तिमीलाई संसार देखाउँछ। पुस्तकालय मानव आत्माको संग्राहलय हो जहाँ प्रत्येक पुस्तक एउटा विचारको जीवन, एउटा सभ्यताको इतिहास र चेतनाको यात्रा हो। जब कुनै समाजले पुस्तकालय निर्माणमा गौरव गर्न थाल्छ, त्यो समाज आत्मनिर्भर र आत्मप्रकाशित बन्छ।
पूर्वीय दर्शनले ज्ञानलाई आध्यात्मिक प्रकाश मानेको छ। उपनिषद् भन्छ—“विद्यया अमृतमश्नुते।” ज्ञानले नै अमरत्व दिलाउँछ। ज्ञान बिना आत्मा अन्धकारमा हुन्छ र त्यो अन्धकार कुनै महँगो घडी वा मोबाइलले हटाउन सक्दैन। ज्ञानले मन उज्यालो बनाउँछ, विवेकले जीवनलाई दिशा दिन्छ यही साँचो गौरव हो।
प्रविधि मानव सृजनशीलताको चमत्कार हो, तर समस्या तब सुरु हुन्छ जब प्रविधि चेतनाभन्दा ठूलो ठानिन्छ, जब वस्तु मूल्यभन्दा माथि राखिन्छ। मोबाइल आवश्यक छ विचार विनिमयका लागि। घडी आवश्यक छ समयको सदुपयोगका लागि। तर दुवै अहंकार प्रदर्शनका साधन बने भने सभ्यता सतही हुन्छ। त्यसैले आज आवश्यकता छ भोगवादी जीवनबाट बोधवादी जीवनतर्फ फर्किने।साँचो गौरव वस्तुमा होइन, विचारमा हुन्छ धनमा होइन, धर्ममा हुन्छ। जब व्यक्ति ज्ञान, सेवा र सत्यमा आफ्नो सफलता खोज्छ, तब ऊ समयभन्दा ठूलो बन्छ। यही नै गौरवको पुनर्परिभाषा हो जहाँ आत्मा धनभन्दा उज्यालो हुन्छ, विवेक शक्तिभन्दा महान् हुन्छ, र मानव वास्तवमै मानव बन्छ।
प्रतिक्रिया