आत्मिक शान्तिको खोजमा मानव चेतनाको यात्रा
तोमनाथ उप्रेती
मानव जीवन जन्म, संघर्ष, उपलब्धि र मृत्युको यान्त्रिक चक्र मात्र होइन। यो चेतनाको विकास, आत्मपहिचान र सत्यको खोजको अद्भुत यात्रा पनि हो। मानिसले बाह्य संसारमा जति धेरै प्रगति गरे पनि उसको अन्तर्मनमा शान्तिको खोज सधैँ जीवित रहन्छ। भौतिक सुविधाहरूको विस्तार, विज्ञानको उन्नति र प्रविधिको चमत्कारले जीवनलाई सहज बनाउन सक्छन्, तर आत्मिक शान्तिको स्थान ती कुनै पनि उपलब्धिले लिन सक्दैनन्। मानव इतिहासको अध्ययन गर्दा देखिन्छ कि प्रत्येक युगका मानिसले सुख, आनन्द र शान्तिको खोज गरेका छन्। तर बाह्य वस्तुहरूमा खोजिएको शान्ति प्रायः क्षणिक सावित भएको छ। स्थायी शान्ति भने मानव चेतनाको गहिराइमा भेटिने अमूल्य निधि हो।
मानव चेतनाको यात्रा बाह्य संसारबाट अन्तर्जगततर्फको यात्रा हो। बाल्यकालदेखि नै मानिसको ध्यान बाहिरी वस्तु, सम्बन्ध, प्रतिष्ठा र उपलब्धितर्फ केन्द्रित हुन्छ। ऊ आफ्नो अस्तित्वलाई बाह्य सफलतासँग जोडेर हेर्न थाल्छ। धन, पद, शक्ति र प्रसिद्धि प्राप्त भएपछि जीवन पूर्ण हुन्छ भन्ने भ्रमले उसको चेतनालाई घेरेको हुन्छ। तर जब यी उपलब्धिहरूले अपेक्षित सन्तुष्टि दिन सक्दैनन्, तब उसको अन्तरमनमा एउटा नयाँ प्रश्न जन्मिन्छ—“म वास्तवमा को हुँ?” यही प्रश्न आत्मिक यात्राको सुरुआत हो। यही प्रश्नले मानिसलाई आफ्नो चेतनाको गहिराइमा प्रवेश गर्न प्रेरित गर्छ।
पूर्वीय दर्शनले मानव जीवनलाई आत्मसाक्षात्कारको यात्रा मानेको छ। उपनिषद्हरूले “आत्मानं विद्धि” अर्थात् “आफ्नो आत्मालाई चिन” भन्ने सन्देश दिएका छन्। यस दृष्टिकोणअनुसार मानिसको वास्तविक स्वरूप शरीर वा मन होइन, बरु चेतनाको दिव्य तत्व हो। शरीर परिवर्तनशील छ, विचार परिवर्तनशील छन्, भावनाहरू परिवर्तनशील छन्, तर चेतनाको मूल स्रोत शाश्वत छ। जब मानिसले आफ्नो पहिचानलाई परिवर्तनशील वस्तुहरूसँग जोड्छ, तब ऊ अशान्त बन्छ। जब उसले आफ्नो वास्तविक अस्तित्वलाई चिन्ने प्रयास गर्छ, तब शान्तिको अनुभूति हुन थाल्छ।
मानव चेतनाको विकासमा सबैभन्दा ठूलो बाधा अहंकार हो। अहंकारले मानिसलाई आफूलाई केन्द्रमा राख्न सिकाउँछ। यसले तुलना, प्रतिस्पर्धा, ईर्ष्या, द्वेष र असन्तोषलाई जन्म दिन्छ। अहंकारले मानिसलाई अरूभन्दा माथि देखिन प्रेरित गर्छ। यही कारणले मानिस बाह्य उपलब्धिहरूको पछि दौडिरहन्छ। तर अहंकारको भोक कहिल्यै मेटिँदैन। एउटा इच्छा पूरा भएपछि अर्को इच्छा जन्मिन्छ। एउटा सफलता प्राप्त भएपछि अर्को सफलताको तृष्णा जाग्छ। यसरी मानिस अनन्त दौडमा फसिरहन्छ। शान्ति भने त्यहाँ सम्भव हुन्छ जहाँ अहंकारको प्रभुत्व समाप्त हुन्छ र विनम्रताको उदय हुन्छ।
भगवद्गीताले मानव चेतनाको यही संघर्षलाई अत्यन्त गहिराइका साथ व्याख्या गरेको छ। कुरुक्षेत्रको युद्ध केवल बाह्य युद्ध होइन; त्यो मानव अन्तरात्मामा चलिरहेको युद्धको प्रतीक पनि हो। एकातिर लोभ, मोह, भय र अहंकार छन् भने अर्कोतिर विवेक, धर्म, करुणा र आत्मबोध छन्। अर्जुनको भ्रम वास्तवमा प्रत्येक मानिसको भ्रम हो। श्रीकृष्णको उपदेश प्रत्येक चेतनाको जागरणको आह्वान हो। जब मानिसले आफ्नो कर्तव्यलाई निष्काम भावले गर्न सिक्छ, तब उसको मन शान्त हुन थाल्छ। कर्ममा रहँदै पनि कर्मको बन्धनबाट मुक्त हुने मार्ग नै आत्मिक शान्तिको मार्ग हो।
आधुनिक युगमा मानिसले अभूतपूर्व भौतिक प्रगति हासिल गरेको छ। तर यही युग मानसिक तनाव, चिन्ता, अवसाद र असन्तोषको पनि युग बनेको छ। सूचनाको अत्यधिक प्रवाह, सामाजिक सञ्जालको प्रभाव र उपभोक्तावादी संस्कृतिले मानिसको ध्यान निरन्तर बाहिरतर्फ तानेको छ। मानिससँग समय छ तर शान्ति छैन। साधन छन् तर सन्तोष छैन। सम्पर्कहरू छन् तर आत्मीयता छैन। यस परिस्थितिमा आत्मिक शान्तिको खोज झन् महत्त्वपूर्ण बनेको छ। चेतनालाई बाह्य कोलाहलबाट मुक्त गरेर अन्तरमनको मौनतासँग जोड्नु आजको युगको आवश्यकता हो।
आत्मिक शान्ति चेतनाको परिष्कारबाट प्राप्त हुने अवस्था हो। जब मानिसले आफ्नो विचारलाई शुद्ध बनाउँछ, भावनाहरूलाई सन्तुलित राख्छ र जीवनलाई नैतिक मूल्यहरूसँग जोड्छ, तब शान्तिको अनुभूति हुन थाल्छ। सत्य, करुणा, क्षमा, प्रेम र सेवा जस्ता गुणहरू चेतनाको उन्नयनका आधार हुन्। यी गुणहरूले मानिसलाई आफ्नो सीमित स्वार्थभन्दा माथि उठ्न मद्दत गर्छन्। जहाँ स्वार्थ घट्छ, त्यहाँ शान्ति बढ्छ। जहाँ करुणा बढ्छ, त्यहाँ द्वन्द्व घट्छ।
ध्यान, आत्मचिन्तन र मौन साधना मानव चेतनालाई परिष्कृत गर्ने प्रभावकारी माध्यम हुन्। जब मानिस केही समयका लागि बाह्य संसारको कोलाहलबाट अलग भएर आफ्नै अन्तरमनसँग संवाद गर्छ, तब उसले आफ्नो वास्तविक अवस्थालाई बुझ्न थाल्छ। ध्यानले विचारहरूको भीडलाई शान्त बनाउँछ। आत्मचिन्तनले कमजोरीहरूलाई पहिचान गर्न मद्दत गर्छ। मौनताले चेतनाको गहिराइमा लुकेका सत्यहरूलाई उजागर गर्छ। यही कारणले संसारका लगभग सबै आध्यात्मिक परम्पराहरूले ध्यान र आत्मअनुशासनलाई महत्त्व दिएका छन्।अशान्त व्यक्तिहरूले शान्त समाज निर्माण गर्न सक्दैनन्। जब व्यक्तिको चेतना लोभ, घृणा र असहिष्णुताले भरिएको हुन्छ, तब समाजमा पनि विभाजन र द्वन्द्व बढ्छ। तर जब व्यक्तिहरूमा आत्मबोध, सहिष्णुता र करुणाको विकास हुन्छ, तब समाजमा सद्भाव र सहअस्तित्वको वातावरण निर्माण हुन्छ। त्यसैले आत्मिक शान्ति केवल व्यक्तिगत सुखको विषय होइन; यो सामाजिक रूपान्तरणको आधार पनि हो।
मानव चेतनाको सर्वोच्च उपलब्धि आत्मबोध हो। आत्मबोध आफ्नो वास्तविक स्वरूपलाई अनुभव गर्नु हो। यो बौद्धिक ज्ञान होइन, अनुभूत सत्य हो। जब मानिसले आफूलाई सीमित शरीर वा अहंकारका रूपमा होइन, व्यापक चेतनाको अंशका रूपमा अनुभव गर्छ, तब उसको दृष्टिकोण परिवर्तन हुन्छ। ऊ अरूलाई प्रतिस्पर्धी होइन, सहयात्रीका रूपमा देख्न थाल्छ। प्रकृतिलाई शोषणको वस्तु होइन, सहअस्तित्वको आधारका रूपमा बुझ्न थाल्छ। जीवनलाई संघर्षको बोझ होइन, चेतनाको अवसरका रूपमा ग्रहण गर्न थाल्छ। यही अनुभूतिले वास्तविक शान्तिको जन्म गराउँछ।युद्ध सधैं प्रतिशोधको रक्तरञ्जित नदी हो, जसको एउटा छालले अर्को छाललाई बोलाउँछ, एउटा मृत्युले अर्को मृत्युलाई निम्तो दिन्छ।यो एउटा अन्तहीन श्रृङ्खला हो, जहाँ घृणाले घृणालाई जन्माउँछ, हिंसाले हिंसालाई उब्जाउँछ। युद्धविरामका सम्झौताहरू केवल आँपको पातले सर्पको विष ढाक्ने प्रयत्न हुन्, वास्तविक उपचार होइन। किनकि ती घाउहरू जमिनमा होइन, मानव आत्माको आकासमा छन्। चेतनाको गहिराईमा छटपटाइरहेका ती घाउहरू कहिल्यै बाहिरी सन्धिहरूबाट निको हुँदैनन्।
कसरी हुन सक्छ युद्ध पवित्र, जब रक्तले रेखिएको भूमिमा शिशुहरूको करुण क्रन्दनले आकाश च्यात्छ? कसरी हुन सक्छ युद्ध पवित्र, जब आमाहरूका आँसुहरूले पृथ्वी भिजाउँछन्, जब मृत्युलाई विजयको स्वरुपमा सजाएर राखिन्छ? युद्धले कहिल्यै न्यायको सुगन्ध नल्याउँछ, केवल विजय र पराजयको भ्रमित धुवाँ फैलाउँछ, जसले करुणा र करारलाई कुहिन दिन्छ।वास्तवमा युद्ध भनेको आत्माको युद्ध हो, जसमा हाम्रो अहंकार, लोभ र क्रोधले हाम्रो अन्तरआत्मालाई बन्दी बनाउँछ। जब हामी हाम्रो घृणालाई धर्मको मन्दिरमा पूजा गर्न थाल्छौं, तब हाम्रो चेतनाको ज्योति निभ्छ। युद्ध भनेको अन्धकारको त्यो गहिरो खाल्डो हो, जसमा घृणा र अभिमानले हात समाएर नाच्छन्। जब युद्धलाई धर्मको पर्दामा पवित्रता दिइन्छ, तब यो संसारको सबैभन्दा घातक पाप बन्छ।हाम्रो साँचो युद्ध शत्रुसँग होइन, हाम्रो आन्तरिक अन्धकारसँग हो। जबसम्म यो अन्धकार हाम्रो अन्तरात्माको आकासमा बादल भएर बसिरहन्छ, तबसम्म शान्ति केवल एक कल्पना मात्र हुनेछ। हाम्रो हृदयमा सहअस्तित्वको शंखनाद नगरेसम्म, करुणा र क्षमाको ज्योति बल्दैन।
युद्ध न त शक्तिको पर्व हो, न त वीरताको विजय; युद्ध भनेको चेतनाको चिहान हो। केवल करुणा र आत्मजागरणले मात्र यो रगतले रञ्जित वृत्तबाट हामीलाई मुक्ति दिलाउन सक्छ। शान्ति कुनै सम्झौताको दस्तावेज होइन, शान्ति चेतनाको परिष्कार हो, आत्माको अभ्युदय हो। जब हामी क्षमा गर्न सिक्छौं, जब हामी प्रतिशोधको सट्टा प्रेमको बाटो रोज्छौं,तब मात्र युद्धको यो यन्त्रणा चक्र चिरिएर शान्तिको सूर्य उदाउँछ।जबसम्म प्रतिशोधको श्रृङ्खला भङ्ग हुँदैन, शान्तिको बीज उम्रिँदैन एक चोटले अर्को चोटलाई निम्तो दिन्छ, एक युद्धले अर्को युद्धलाई बोलाउँछ, र यही अनन्त चक्रमा मानवता थिचिन्छ। युद्धको सबैभन्दा ठूलो विडम्बना यही हो—विजयको भ्रममा हामी आफ्नो नैतिक हार स्वीकारिरहेका हुन्छौं।
शान्ति स्थायी हुनको लागि चेतनाको परिवर्तन अपरिहार्य छ। दया, करुणा र सह-अस्तित्वका सिद्धान्तहरूमा आधारित चेतना नै शान्तिको साँचो आधार हो। जब राष्ट्रहरू करुणालाई कमजोरी होइन, बलको रूपमा स्वीकार गर्छन्, तब मात्र युद्धको अन्त्य सम्भव हुन्छ।साँचो शान्ति तब आउँछ जब घृणाको सट्टा करुणा छरिन्छ, जब प्रतिशोधको ठाउँमा क्षमाले बास गर्छ जब हामी शत्रुलाई पराजित गर्नुको सट्टा आफ्नो घृणालाई पराजित गर्छौं, तब हामी विजेता बन्न सक्छौं।
आत्मिक शान्तिको खोजमा मानव चेतनाको यात्रा बाह्य उपलब्धिहरूको सीमाबाट असीम चेतनातर्फको यात्रा हो। यो यात्रा धनबाट होइन, धैर्यबाट सम्पन्न हुन्छ। शक्ति वा प्रतिष्ठाबाट होइन, आत्मबोधबाट पूर्ण हुन्छ। संसारको सबैभन्दा ठूलो विजय अरूमाथिको विजय होइन, आफ्नै अशान्त मनमाथिको विजय हो। जसले आफ्नो चेतनालाई प्रकाशमय बनाउन सक्छ, उसले जीवनको अर्थलाई स्पर्श गर्न सक्छ। त्यही व्यक्तिले परिस्थितिको उतारचढावबीच पनि शान्त रहन सक्छ। वास्तवमा आत्मिक शान्ति जागृत चेतनाले निरन्तर अनुभव गर्ने जीवनपद्धति हो। मानव जीवनको सच्चा सफलता यही शान्ति, यही आत्मबोध र यही चेतनाको उज्यालोमा निहित छ।
प्रतिक्रिया