आध्यात्मिक जागरण र गौरवपूर्ण जीवनपथ
तोमनाथ उप्रेती
मानव जीवन चेतना, मूल्य र आत्मबोधको निरन्तर यात्रा हो। जब व्यक्ति बाह्य सफलता र प्रतिस्पर्धाको भीडभन्दा माथि उठेर आफ्नै अन्तरात्मासँग संवाद गर्न थाल्छ, त्यहीँबाट आध्यात्मिक जागरणको आरम्भ हुन्छ। यही जागरणले जीवनलाई केवल अस्तित्वमा सीमित नराखी अर्थपूर्ण, मर्यादित र गौरवपूर्ण बनाउँछ।
आध्यात्मिक जागरण आत्मचिन्तन, आत्मअनुशासन र आत्मपरिष्कारको प्रक्रिया हो। जब मानिसले आफ्नो कमजोरी, स्वार्थ, क्रोध र अहंकारलाई पहिचान गरी सुधारतर्फ अग्रसर हुन्छ, तब उसको चरित्रमा उज्यालो झल्कन थाल्छ। यही उज्यालो नै गौरवपूर्ण जीवनको आधार हो। बाह्य सम्मानभन्दा पहिला आन्तरिक सन्तुलन आवश्यक हुन्छ, किनकि स्थायी गौरव आत्मशुद्धि र सत्यनिष्ठाबाट जन्मिन्छ।
पूर्वीय दर्शनले सदैव आत्मबोधलाई जीवनको केन्द्रमा राखेको छ। भगवद्गीताले कर्मयोग, ज्ञानयोग र भक्तियोगमार्फत मानवलाई आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्न प्रेरित गर्छ। गीता अनुसार साँचो विजय बाह्य शत्रुमाथि होइन, आफ्नै अज्ञान र दुर्बलतामाथि प्राप्त गरिने विजय हो। त्यसैगरी उपनिषद् हरूले “आत्मा नै ब्रह्म हो” भन्ने महान् विचार प्रस्तुत गर्दै प्रत्येक व्यक्तिमा दिव्यता निहित रहेको सन्देश दिन्छन्। जब व्यक्तिले यस दिव्य चेतनालाई अनुभूत गर्छ, तब उसले जीवनलाई सेवा, करुणा र सहअस्तित्वको दृष्टिले हेर्न थाल्छ।
गौरवपूर्ण जीवनपथको अर्को महत्त्वपूर्ण आधार नैतिकता हो। आध्यात्मिक जागरणले मानिसलाई सत्य, अहिंसा, धैर्य र संयमका मूल्यहरूमा अडिग रहन प्रेरित गर्छ। आजको युगमा भौतिक प्रगति तीव्र भए तापनि नैतिक विचलन र मानसिक असन्तुलन बढ्दो छ। यस्तो अवस्थामा आध्यात्मिक दृष्टिको पुनर्स्थापना अत्यन्त आवश्यक देखिन्छ। जब व्यक्ति आन्तरिक रूपमा शान्त हुन्छ, तब उसले परिवार, समाज र राष्ट्रमा सकारात्मक ऊर्जा प्रसारित गर्न सक्छ। यसरी व्यक्तिगत रूपान्तरण सामूहिक रूपान्तरणको आधार बन्छ।
गौरवपूर्ण जीवन भनेको पद, प्रतिष्ठा वा धनसम्पत्तिले मापन गरिने विषय होइन। साँचो गौरव त त्यसमा निहित हुन्छ, जहाँ व्यक्ति आफ्नो कर्तव्यप्रति इमानदार रहन्छ, अरूको अधिकारको सम्मान गर्छ र मानवताको सेवा गर्न तत्पर हुन्छ। आध्यात्मिक जागरणले अहंकारलाई विनम्रतामा, लोभलाई त्यागमा र द्वेषलाई प्रेममा रूपान्तरण गर्ने क्षमता प्रदान गर्छ। यही रूपान्तरण नै जीवनलाई सुन्दर र सार्थक बनाउने मूल शक्ति हो।
मानव जीवनको वास्तविक मूल्य उसको बाह्य उपलब्धि वा भौतिक सम्पत्तिमा मात्र निर्भर गर्दैन। प्राचीन पूर्वीय दर्शनले यस विषयमा गहिरो दृष्टि प्रस्तुत गरेको छ—जहाँ साँचो गौरव व्यक्तिको आत्मज्ञान र अन्तर्मनको उज्यालोमा आधारित हुन्छ। उपनिषद् र भगवद् गीता जस्ता ग्रन्थहरूले ज्ञानलाई बौद्धिक साधन नभई आत्मा शुद्ध गर्ने साधनको रूपमा व्याख्या गरेका छन्। जब व्यक्ति आफ्नो जीवनलाई भौतिक प्रदर्शन र विलासिताबाट अलग गर्दै, आन्तरिक मूल्य, विवेक र आध्यात्मिक चेतनामा केन्द्रित बनाउँछ, तब उसको गौरव स्थायी र गहन हुन्छ।
साँचो गौरव व्यक्तित्वको सम्मान वा समाजिक प्रतिष्ठामा सीमित हुँदैन; यो धर्म, नैतिकता, सेवा र आत्मा जागरणसँग गहिरो रूपमा जोडिएको हुन्छ। पुस्तकालय, ज्ञान बाँड्ने प्रयास, ध्यान, ध्यानयुक्त कर्म र विचार सृजनाले मानवको चेतनालाई उज्यालो बनाउँछन्, जसले समाजमा स्थायी परिवर्तन र सकारात्मक ऊर्जा फैलाउँछ। यस दृष्टिले गौरव केवल बाह्य प्रदर्शन होइन, आत्मज्ञानको यात्रा हो—जहाँ मानिसले आफ्नो वास्तविक मूल्य र जीवनको उद्देश्य बोध गर्छ। यही यात्रामा व्यक्ति मात्र सफल हुँदैन, ऊ सभ्य, विवेकी र आत्मसाक्षात्कारपूर्ण मानव बन्छ।
मानव सभ्यता सधैँ गौरवको खोजमा अग्रसर रहँदै आएको छ। अस्तित्वको बोधसँगै मानिसले आफूलाई अरूभन्दा अलग र श्रेष्ठ देखाउन चाह्यो। कहिले मुकुटमा, कहिले धनमा, कहिले शक्ति र कीर्तिमा। समयसँगै गौरवका प्रतीक फेरिँदै गए। प्राचीन युगमा ज्ञान, तपस्या र सत्यनिष्ठा गौरवका आधार थिए; तर आधुनिक युगमा ती स्थान विलासिता, प्रविधि र प्रदर्शनले ओगटेका छन्। यसरी, गौरवको अर्थ क्रमशः आत्माबाट वस्तुतर्फ सर्दै गएको छ।
आजको समाजमा घडीले समयभन्दा हैसियत देखाउँछ, मोबाइलले संवादभन्दा प्रतिष्ठा जनाउँछ। मानिस कति बुझ्दछ भन्नेभन्दा कति देखाउँछ भन्नेमा मूल्याङ्कन हुन थालेको छ। बाह्य चमक नै सफलताको प्रमाण ठानिएको छ। तर यो चमक क्षणभङ्गुर छ। यसमा चेतनाको उज्यालो छैन। अहंकारको झिल्को छ। साँचो गौरव कुनै ब्रान्डको लेबल होइन, विचारको स्तर हो। कुनै सम्पत्तिको प्रदर्शन होइन, आत्माको परिष्कार हो।
गौरवको पुनर्परिभाषा त्यहीँबाट सुरु हुन्छ, जहाँ व्यक्ति बाह्य वैभवभन्दा भित्री विवेकलाई ठूलो ठान्छ। जब धन होइन, धर्ममा गर्व गरिन्छ; जब वस्तु होइन, मूल्यमा आत्मसन्तोष पाइन्छ। साँचो गौरव त्यो हो, जसले समाजमा प्रकाश फैलाउँछ। अन्धकारमा चेतनाको दियो बाल्छ। प्रश्न उठ्छ—महँगो घडी बाँध्नुमा गौरव के छ, जब समयको अर्थ बुझ्ने चेत हराउँदै गएको छ? महँगो मोबाइल बोक्नुमा गौरव के छ, जब ज्ञानका पानाहरू पल्टाउने इच्छा मरेको छ?
सभ्यता भवन, वस्त्र र प्रविधिले मापन हुँदैन। सभ्यताको आत्मा चेतनामा हुन्छ—ज्ञानमा, विवेकमा र मूल्यमा। आज मानिसलाई “के पढ्यौ?” भन्दा “के बोक्यौ?” भन्ने प्रश्नले परिभाषित गर्न थालिएको छ। सफलताको मापदण्ड घडीको चमक र मोबाइलको मोडेल बनेको छ। तर कसैले सोध्दैन—तिमीले के सोच्छौ? तिमीले समाजलाई के दियौ?
गौरवलाई वस्तुमा खोज्नु भनेको मन्दिरको मूर्तिलाई सुनले मढाएर भगवान् ठान्नु जस्तै हो—जहाँ सजावट त छ, तर दर्शन छैन। घडीले घण्टा बताउँछ, किताबले जीवन। मोबाइलले संसार तिमीलाई देखाउँछ, किताबले तिमीलाई संसार देखाउँछ। पुस्तकालय मानव आत्माको संग्राहलय हो—जहाँ प्रत्येक पुस्तक एउटा विचारको जीवन, एउटा सभ्यताको इतिहास र चेतनाको यात्रा हो। जब कुनै समाजले पुस्तकालय निर्माणमा गौरव गर्न थाल्छ, त्यो समाज आत्मनिर्भर र आत्मप्रकाशित बन्छ।
पूर्वीय दर्शनले ज्ञानलाई आध्यात्मिक प्रकाश मानेको छ। उपनिषद् भन्छ—“विद्यया अमृतमश्नुते।” ज्ञानले नै अमरत्व दिलाउँछ। ज्ञान बिना आत्मा अन्धकारमा हुन्छ र त्यो अन्धकार कुनै महँगो घडी वा मोबाइलले हटाउन सक्दैन। ज्ञानले मन उज्यालो बनाउँछ, विवेकले जीवनलाई दिशा दिन्छ—यही साँचो गौरव हो।
प्रविधि मानव सृजनशीलताको चमत्कार हो, तर समस्या तब सुरु हुन्छ जब प्रविधि चेतनाभन्दा ठूलो ठानिन्छ, जब वस्तु मूल्यभन्दा माथि राखिन्छ। मोबाइल आवश्यक छ—विचार विनिमयका लागि। घडी आवश्यक छ—समयको सदुपयोगका लागि। तर दुवै अहंकार प्रदर्शनका साधन बने भने सभ्यता सतही हुन्छ। त्यसैले आज आवश्यकता छ—भोगवादी जीवनबाट बोधवादी जीवनतर्फ फर्किने।
गौरव त्यो होइन जसले अरूलाई प्रभावित गरोस्; गौरव त्यो हो जसले आफूलाई सुधारोस्। साँचो गौरव वस्तुमा होइन, विचारमा हुन्छ; धनमा होइन, धर्ममा हुन्छ। जब व्यक्ति ज्ञान, सेवा र सत्यमा आफ्नो सफलता खोज्छ, तब ऊ समयभन्दा ठूलो बन्छ। यही नै गौरवको पुनर्परिभाषा हो—जहाँ आत्मा धनभन्दा उज्यालो हुन्छ, विवेक शक्तिभन्दा महान् हुन्छ र मानव वास्तवमै मानव बन्छ।
आध्यात्मिकता र विज्ञान परस्पर विरोधी होइनन्; बरु परिपूरक हुन्। विज्ञानले बाह्य संसारको रहस्य उद्घाटन गर्छ भने आध्यात्मिकताले आन्तरिक संसारलाई उजागर गर्छ। दुवैको सन्तुलनमा नै समग्र विकास सम्भव हुन्छ। जब चेतना र प्रगति एकैसाथ अघि बढ्छन्, तब व्यक्ति र समाज दुवै दीर्घकालीन रूपमा सुदृढ बन्छन्।आध्यात्मिक जागरण एक दिनमा प्राप्त हुने उपलब्धि होइन; यो निरन्तर अभ्यास, धैर्य र आत्मपरिष्कारको परिणाम हो। यस यात्रामा चुनौतीहरू आउँछन्, तर प्रत्येक चुनौती आत्मविकासको अवसर पनि हो। जब व्यक्तिले आफ्नो अन्तरात्माको मार्गदर्शनलाई स्वीकार्छ, तब जीवन केवल समयको प्रवाह हुँदैन; यो मूल्य, मर्यादा र गौरवले भरिएको पवित्र यात्रा बन्छ। यही नै आध्यात्मिक जागरणद्वारा निर्देशित गौरवपूर्ण जीवनपथको सार हो।
प्रतिक्रिया