आध्यात्मिक जीवनदृष्टि र सामाजिक व्यवहारको एकता
तोमनाथ उप्रेती
उपसचिव, नेपाल सरकार
मानव सभ्यताको इतिहास चेतना र आचरणबीचको निरन्तर द्वन्द्व र समन्वयको कथा पनि हो। मानिसले बाह्य संसारलाई जित्दै जाँदा भित्री संसारलाई कति बुझेको छ भन्ने प्रश्न अझ गहिरो बन्दै गएको छ। यही बिन्दुमा अध्यात्म र सामाजिक व्यवहारको सम्बन्ध निर्णायक बन्छ। अध्यात्म जीवनलाई हेर्ने दृष्टि हो, जसले अस्तित्व, उद्देश्य र नैतिकताको आधार निर्माण गर्छ। सामाजिक व्यवहार भने त्यसै दृष्टिको बाहिरी अभिव्यक्ति हो। जब यी दुईबीच दूरी बढ्छ, समाज यान्त्रिक, स्वार्थी र असन्तुलित बन्छ। तर जब यी एक हुन्छन्, मानव सभ्यता चेतनाको जीवित रूप बन्छ।
आध्यात्मिक जीवनदृष्टि भन्नाले संसारलाई चेतनाको एकताका रूपमा बुझ्नु हो। यो दृष्टिले मानिसलाई आफू मात्र होइन, सम्पूर्ण अस्तित्वसँग सम्बन्धित प्राणीका रूपमा हेर्छ। यहाँ “म” र “अरू” बीचको कठोर पर्खाल कमजोर हुन्छ। जब मानिस आफूलाई सम्पूर्ण जीवन प्रवाहको हिस्सा मान्छ, तब उसको सोच, व्यवहार र निर्णयहरू स्वाभाविक रूपमा जिम्मेवार र करुणामय बन्छन्। यही जिम्मेवारी सामाजिक व्यवहारमा रूपान्तरण हुन्छ।तर आधुनिक समाजमा प्रायः विपरीत दृश्य देखिन्छ। मानिसहरू आध्यात्मिक शब्दहरू प्रयोग गर्छन्, तर व्यवहारमा कठोर प्रतिस्पर्धा, लोभ, असहिष्णुता र असमानता देखिन्छ। यस्तो अवस्थामा अध्यात्म जीवनको मार्गदर्शक शक्ति होइनकेवल औपचारिकता बन्न पुग्छ, । यसको परिणामस्वरूप समाजमा नैतिक संकट गहिरिँदै जान्छ। कानून हुन्छ तर न्याय कमजोर हुन्छ, शिक्षा हुन्छ तर चरित्र कमजोर हुन्छ, विकास हुन्छ तर संवेदनशीलता हराउँछ। यही असन्तुलनले आधुनिक सभ्यताको आन्तरिक संकट देखाउँछ।
यदि अध्यात्मलाई वास्तविक अर्थमा बुझ्ने हो भने, यो पलायन होइन, जागरण हो। यो संसारबाट भाग्ने होइन, संसारलाई गहिरो रूपमा बुझ्ने प्रक्रिया हो। जब मानिस आफ्नो चेतनालाई स्थिर गर्छ, उसले आफ्ना विचार, भावना र कर्मलाई अवलोकन गर्न सक्छ। यही आत्म-अवलोकनले उसको व्यवहारलाई शुद्ध बनाउँछ। क्रोध, लोभ र अहंकार स्वतः कमजोर हुँदै जान्छन्, किनकि तिनको मूल अज्ञानता हो। चेतनाको प्रकाश बढ्दै जाँदा अज्ञानता स्वतः घट्छ। यही प्रक्रिया सामाजिक व्यवहारमा देखिने सुधारको मूल कारण हो।सामाजिक व्यवहार आन्तरिक चेतनाको प्रतिबिम्ब हो। यदि भित्री मन अशान्त, विभाजित र स्वार्थी छ भने बाहिरी व्यवहार चाहे जति सभ्य देखिए पनि कृत्रिम हुन्छ। यस्तो समाज सतही रूपमा व्यवस्थित देखिए पनि भित्रबाट कमजोर हुन्छ। अर्कोतर्फ, यदि आन्तरिक चेतना स्थिर र करुणामय छ भने व्यवहार स्वाभाविक रूपमा नै नैतिक हुन्छ। यस्तो व्यवहारलाई कानूनले मात्र होइन, अन्तःकरणले नियन्त्रण गर्छ।
आध्यात्मिक जीवनदृष्टिले सामाजिक सम्बन्धलाई पनि पुनःपरिभाषित गर्छ। सामान्य दृष्टिमा सम्बन्धहरू स्वार्थ, उपयोगिता वा आवश्यकता आधारित हुन्छन्। तर आध्यात्मिक दृष्टिमा सम्बन्धहरू परस्पर अस्तित्वको स्वीकार हो। “म र तिमी” अलग छैनौँ भन्ने अनुभूति विकसित भएपछि सहयोग, सहिष्णुता र करुणा स्वतः जन्मिन्छ। यस्तो समाजमा हिंसा केवल बाह्य व्यवहार होइन, आन्तरिक असन्तुलनको संकेत हो भन्ने बुझाइ विकसित हुन्छ।तर यो एकता सजिलै प्राप्त हुने अवस्था होइन। यसको लागि निरन्तर आत्मअनुशासन, विचारको शुद्धता र अनुभवको गहिराइ आवश्यक हुन्छ। मानिसले आफूलाई बाह्य संसारको केन्द्र ठान्ने प्रवृत्ति छोड्नुपर्छ। जबसम्म म केन्द्र हुँ भन्ने सोच बलियो हुन्छ, तबसम्म सामाजिक व्यवहार प्रतिस्पर्धात्मक र विभाजनकारी रहन्छ। अध्यात्मले यही केन्द्रभ्रमलाई भङ्ग गर्छ र मानिसलाई व्यापक चेतनासँग जोड्छ।अध्यात्म र सामाजिक व्यवहार अलग होइनन्, एउटै वास्तविकताको दुई अभिव्यक्ति हुन्। एउटा भित्री प्रकाश हो, अर्को त्यसको बाहिरी प्रतिबिम्ब। जब यी दुईबीच दूरी रहँदैन, तब मानव जीवन केवल अस्तित्व होइन, अर्थपूर्ण यात्रा बन्छ। यही यात्रामा मानवता आफ्नो पूर्ण रूप प्राप्त गर्छ।
अध्यात्मिक दृष्टिले जीवनलाई व्यवस्थापन गर्दा योग र ध्यानको माध्यमबाट मनलाई स्थिर बनाइन्छ, जसले विचारलाई शुद्धता र व्यवहारलाई शालीनता प्रदान गर्छ। यस्तो दृष्टिले व्यक्ति आफ्ना कर्तव्यप्रति निष्ठावान्, समाजप्रति उत्तरदायी र राष्ट्रप्रति समर्पित बन्ने मार्ग प्रशस्त गर्छ। आध्यात्मिक चेतना आत्माभिमुख आचरणको मार्गमा सहिष्णुता, करुणा र विनयको विकास गराउँदै व्यक्ति र समाजबीचको सम्बन्धलाई समृद्ध बनाउँछ। जब हरेक कार्य परम उद्देश्य र आत्मिक मूल्यमान्यतासँग जोडिन्छ, तब जीवन आफैंमा एक तपस्या, सेवा र परोपकारको माध्यम बन्छ। यस्तै दृष्टिकोणले मात्र जीवनलाई सार्थक, शुद्ध र उदात्त यात्रामा रूपान्तरण गर्न सम्भव हुन्छ।
जीवन कुनै यान्त्रिक प्रणाली होइन यो चेतनाको तरंगमा बगिरहेको एक अनन्त प्रवाह हो। जब जीवनको मूल आधार भौतिक लोभ, इन्द्रियासक्ति र स्वार्थमा जकडिन्छ, तब व्यवहार विकृत, संस्कार विस्मृत र आचरण प्रदूषित बन्छ। यिनै अन्धकारहरूबाट मुक्तिको मार्ग भनेको अध्यात्म होmजहाँ बाहिरी संसारको आकर्षणभन्दा आत्मिक मौनको शान्ति गहिरो हुन्छ। अध्यात्म भनेको धर्मको कठोर अनुशासन मात्र होइन, यो त आत्माको स्वरुप पहिचान गर्ने आन्तरिक दृष्टिकोण होअध्यात्म र आचरण एकै सिक्काका दुई पाटो हुन् जहाँ अध्यात्म अन्तर्मनलाई शुद्ध बनाउँछ र आचरण त्यस शुद्धताको बाह्य रूप हो। अध्यात्मले मानिसलाई आत्मज्ञान, करुणा र सहिष्णुताको मार्गमा चल्न प्रेरित गर्छ, जसले व्यवहारमा विनम्रता र जिम्मेवारीको भावना जन्माउँछ। जब व्यक्ति आफ्नो आत्मालाई बुझ्न थाल्छ, तब उसले बाहिरी संसारप्रति सहानुभूति र समर्पण देखाउन सिक्छ। योग, ध्यान र आत्मचिन्तनले मनलाई स्थिर र विवेकपूर्ण बनाउँछन्, जसले ईर्ष्या, क्रोध र द्वेषका भावनालाई कमजोर पार्छन्। परिणामस्वरूप, मानिसमा संयम, सद्भाव र सत्यप्रेमको उदय हुन्छ।
अध्यात्मले आचरणलाई जीवनको मूल मूल्यमा रूपान्तरण गर्छ। यसले व्यक्तिलाई आफ्नो कर्मप्रति सचेत बनाउँदै समाज र मानवताका लागि समर्पित जीवनको प्रेरणा दिन्छ। जब हाम्रो व्यवहार अध्यात्मिक चेतनाबाट निर्देशित हुन्छ, तब त्यो केवल अनुशासन होइन, सेवा र समर्पणको अभिव्यक्ति हुन्छ। अध्यात्मले व्यक्ति र समाज दुवैमा नैतिक स्थायित्व, आन्तरिक शान्ति र सहअस्तित्वको भावना जागृत गर्छ। अन्ततः, अध्यात्म र आचरणको समन्वय नै साँचो जीवन रूपान्तरणको मूल सूत्र होजहाँ बाह्य कर्म र आन्तरिक चेतना एकअर्कामा सन्तुलित भएर जीवनलाई पवित्रता र अर्थपूर्णताबाट उज्यालो पार्छन्।अध्यात्मिक जीवनशैली जिम्मेवारी, कर्तव्यनिष्ठा र परोपकारको चेतनाले अभिप्रेरित कार्यशील पथ हो। यसले मानिसलाई समाजप्रतिको दायित्व बोध गराउँदै सत्य, न्याय र शान्तिको स्थायित्वमा योगदान पुर्याउँछ। जब व्यक्ति आफ्ना विचार, भावना र कर्मलाई आत्म–अनुशासनद्वारा निर्देशित गर्छ, तब उसको जीवन एक प्रकाशपुञ्ज बन्छ—जसले आफू मात्र होइन, सम्पूर्ण समाजलाई नैतिक पुनर्जागरणतर्फ डो-याउँछ।
अध्यात्मिक चेतना आचरण व्यवस्थापनको मेरुदण्ड हो, जसले व्यवहारमा विवेक, संस्कारमा शालीनता, र जीवनमा लक्ष्यता प्रदान गर्दछ। यही चेतनाले नै जीवनलाई आत्माभिमुख, उदात्त र सार्थक बनाउँछ जहाँ हर एक श्वासमा ब्रह्मको अनुभूति सम्भव हुन्छ, र जीवन आफैँ एक निर्मल यात्राको प्रतीक बन्छ तब समाजको सम्पूर्ण आचरण नै सुधारिन्छ र त्यो समाज अझै अधिक समृद्ध र सुखी बन्न सक्छ।जीवनको मूल यात्रामा जब चेतना विकृत भावनाहरू जस्तै ईर्ष्या, द्वेष, घृणा र प्रतिशोधद्वारा संचालित हुन्छ, तब सामाजिक सम्बन्धमा विष घुल्छ, मानवता ओझेल पर्छ र सभ्यताको मूल्य स्खलित हुन्छ। यस्ता अव्यवस्थित मनोवृत्तिहरूको व्यवस्थापन कुनै बाह्य प्रशासनिक संरचनाले होइन, केवल आन्तरिक अध्यात्मिक अनुशासनले गर्न सक्छ। अध्यात्म आत्मसंवादको प्रक्रिया हो, जसले व्यक्ति–व्यक्ति बीचको दूरीलाई प्रेम, क्षमा र सहिष्णुताद्वारा पुलमा रूपान्तरण गर्छ।
जब व्यक्ति अध्यात्मिक चेतनामा उन्नत हुन्छ, उसले आफ्ना कमजोरीहरूलाई आत्मावलोकनद्वारा पहिचान गरेर सुधारको यात्रामा लाग्दछ। यसले उसलाई अरूको दोष देख्ने होइन, आफूभित्रको अज्ञान हटाएर ज्ञानको उज्यालो फैलाउने साधक बनाउँछ। अध्यात्मले आत्मा र परमात्माबीचको सम्बन्ध पुनःस्थापित मात्र गर्दैन, यसले सामाजिक न्याय, करुणा र सहअस्तित्वका मूल्यहरू पनि पुनःस्थापित गर्दछ।त्यसैले भन्ने गरिन्छ—धार्मिकता बाह्य अनुशासन हो, तर अध्यात्मिकता अन्तर्यात्रा हो।प्रत्येक अध्यात्मिक व्यक्ति धर्मका वास्तविक मर्मसँग अनुरूप हुन्छ, तर प्रत्येक धार्मिक व्यक्ति अध्यात्मिक नहुन सक्छ।आजको सन्दर्भमा, अध्यात्म मार्गको पुनराविष्कार कुनै वैकल्पिक अभ्यास होइन, यो एक अनिवार्य सामाजिक आवश्यकता हो नैतिक प्रशासन, आत्मिक शान्ति, र समष्टि चेतनाको निर्माणका लागि। जब प्रत्येक नागरिकले आफ्ना विचार, वाणी र कर्मलाई अध्यात्मिक मूल्यद्वारा निर्देशित गर्न थाल्छ, तब समाजमा शान्ति र समृद्धिको स्वाभाविक वर्षा हुन्छ। यही मार्ग हो जीवनको परम अर्थ, सत्य र परमात्माको साक्षात्कार गर्ने उज्यालो पथ।
आजको युगमा मानिस प्राविधिक र भौतिक रूपमा अगाडि बढेको छ, तर मानसिक र नैतिक रूपमा अधोगति भएको छ। प्रतिस्पर्धा, स्वार्थ,लोभ र अहंकारले मानिसलाई आत्मिक रूपमा रिक्त बनाइरहेको छ। यस्तो अवस्थामा अध्यात्म र आचरणको पुनर्जागरण अत्यावश्यक छ।अध्यात्म र आचरण मानव जीवनका दुई पाटो मात्र होइन, जीवन परिवर्तनका दुई शक्ति हुन्। अध्यात्मले आत्मा जगाउँछ, र आचरणले त्यस आत्मजागरणलाई कर्ममा परिणत गर्छ। जब मानिसले आफ्नो अन्तरात्मालाई सुन्छ र त्यस अनुसार बाँच्न थाल्छ, तब उसको जीवनमा शान्ति, सन्तुलन र सौन्दर्य स्वतः प्रकट हुन्छ।अध्यात्मले आचरणलाई दिशा दिन्छ र आचरणले अध्यात्मलाई स्थायित्व। दुवैको मिलनले नै व्यक्ति महान् र समाज सुन्दर बन्छ। त्यसैले, आजको समयको सबैभन्दा ठूलो आवश्यकता यही हो आध्यात्मिक चेतना र नैतिक आचरणको पुनर्जागरण, जसले मानव जीवनलाई अर्थपूर्ण बनाउँछ।
प्रतिक्रिया